क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
रातको १२ बज्न लागेको थियो । राष्ट्रिय टेबुलटेनिस खेलाडी रामुले आफ्नो डायरी लेख्दै गयो ।
आज २३ डिसेम्बर २०९९ ।
म बिहान ७ बजे कौसीमा गएँ, वातावरण चिसो थियो र हुस्सुले सबै छर्लङ्ग देखिएन । टेलिफोनको घण्टी बजेको आवाज आयो, म कोठामा आएँ । क्युवाको हवाना विश्वविद्यालयका एकजना मित्रले मार्च र अप्रिलको बिचमा नेपाल आउने सूचना दियो । पूर्वी एसियाको संस्कृतिसम्बन्धी विद्यावारिधि गर्ने मार्टि भन्ने त्यस साथीले टेलिफोनमा नेपाल र भक्तपुरको कला र संस्कृतिको अध्ययनबाट साह्रै प्रभावित भएको र आफ्नो विद्यावारिधिको शोधपत्र पनि भक्तपुरकै विषयमा हुने बतायो ।
मैले दराज खोलेँ, मेरो हात अचानक एक मोटो पुस्तकमा पुग्यो । पुस्तकको शीर्षक थियो– ‘भक्तपुर सन् १९९९।’
पानाका पङ्क्ति र हरफहरूमा मेरो आँखा सलल बग्यो । लेखिएको थियो– ‘योम्हरी पुन्ही, २२ डिसेम्बर १९९९ । भक्तपुर नगरका झन्डै एकचौथाइ भवनहरू सिमेन्ट वा कङ्क्रिटको बनिसकेका छन् । टौमढी र लायकुबिचकै कति भवनहरू सिमेन्ट, डण्डी र ढलानका छन् र बाहिर मानिसहरूका लुगाजस्तै नेपाली इँटा र झिँगटी टाँसिदै छन् । नगरपालिकाको भवनको मापदण्डलाई मिचेर पाँच÷छ तलाका घरहरू बनेका छन् र छाना तथा कौसीमा काला काला पानीका भाँडा वा ट्याङ्कीहरू छन्, टीभीका एन्टेना र सौर्य ऊर्जाबाट पानी तताउने साधनहरूले भक्तपुरको भवनको माथिल्लो वास्तुकलाको स्वरुप कुरूप देखिएको छ । पाँचतले देवल र भैरव मन्दिरका माथिल्ला तलाहरू मात्रै देखिएका छन् । नेपाली शैली र झिँगटीका छाना र कौसी होइन खरानीजस्तो खैरो र अत्यन्त अग्ला र होचा, बेढङ्ग आकारका सिमेन्टका कौसी र छानाहरू मात्र देखिन्छन् । जहाँतहीँ विविध रङ्ग र मोटाइका तारहरू मात्र छन्– माकुराका जालजस्तै विद्युत्का तार, टेलिफोनका तार, टीभीका एन्टेनाका तारहरू !
सुकुलढोकाको बजारमै वषौँदेखि घरहरू भत्केका छन् । विभिन्न देशका राजकीय पाहुनाहरूले ‘यी घरहरू किन नबनाएका, वातावरण कस्तो नराम्रो छ हगि ?’ भनेर सांस्कृतिक मन्त्री, पुरातत्व विभागका निर्देशक र नगरप्रमुखहरूलाई सोधे । तर ‘हामी बन्दोबस्त गर्दै छौँ भनेर वर्षाैँसम्म टार्दै गए– जिम्मेवार व्यक्तिहरूले । गःहितिको एउटा राम्रो घर पनि भत्किँदै थियो, त्यसलाई जोगाउनुको सट्टा प्रहरीले पानीको फोहरा हानेर एक डेढ वर्ष अगाडि भत्काइदियो । वातावरण कुरूप छ ।
क्यामेरा क्लिक क्लिक गर्दै विदेशी पर्यटकहरू सुकुलढोकाको मठको काष्ठकलाका तस्बिरहरू खिच्दै गोल्मढीतिर बढे । एउटा कपडा पसल र जुत्ता पसल (रुद्रप्रसाद कायष्ठ र माधवशङ्कर जोशी) को घरनेर टक्क रोकिँदै आपसमा कुरा गर्न थाले– ‘यी कस्तो रूप नमिलेका घरहरू हगि ! के यहाँ नगरपालिकाले जस्तो पनि घर बनाउन दिन्छ ?’
त्यसैबेला डिजेलको धुवाँ उडाउँदै ट्याक्टर गुड्छ, मोटरसाइकल, कार, मिनीट्रक, जीपजस्ता यातायातका साधनहरू हर्न बजाउँदै ओहोरदोहोर गर्छन् । पर्यटकहरू कोही नाक छोप्छन् र कोही पछाडि फर्कन्छन् ।
मुख अँध्यारो पार्दै गएका पर्यटकहरूले राम झोपडीको उत्तरतिरको गहिरो धारातिर हेरे । एकजना पर्यटकले नाक खुम्च्याउँदै टिप्पणी गर्यो– ‘कस्तो फोहोर पोखरी ।’
इनाचो र दत्तात्रयको बिचमा ती पर्यटकहरू दायाँबायाँका घरहरू हेर्दै गए । खासखुस कुरा गर्दै गए– ‘एउटै घर किन आधा प्राचीन र सुन्दर, आधा नयाँ कुरूप घर ? यहाँ विदेशीहरू आएर नेवारी कला र संस्कृति भाँड्न पो खोजेका छन् कि ? सायद यस देशमा सांस्कृतिक मन्त्रालय र नगरपालिका छैनन् क्यारे ?’
मलाई डर लाग्यो, कस्तो विवरण ठीक सय वर्ष अगाडि । मेरो नगर पुनः अवलोकन गर्न मन लाग्यो । पुस्तक बन्द गरेँ, फेरि कौसीमै पुगेँ ।
घाम झुल्किसकेको थियो । अहँ, अग्ला र होचा छाना र कौसीहरू थिएनन्, सबै राताराता झिँगटी भएका सुन्दर छानाहरू मात्र छन्, काला काला पानीका विरूप ट्याङ्कीहरू, विद्युत्, टेलिफोन र एन्टेना र त्यसका जालजस्तो फैलिएका तारहरू थिएनन् । ङातापोल्हँको पाँचै तला छाना र भैरवनाथको तीन तला छाना देखेँ । मलाई अत्यन्त खुसी लाग्यो । मेरो मन गर्वले फुल्यो– मेरा छाना, कौसी र मन्दिरहरू पहिले जस्तै गौरवमय र सुन्दर छन् ।
पुस्तकको बयानले मलाई गःहिति पु¥यायो । त्यहाँ पुरानै घरहरू यथावत् छन्, सुकुलढोकामा कुनै घर भत्केको थिएन, मठको लहरै प्राचीन शैलीका घरहरू छन् । गोल्मढीका दुइटा घर पसल पनि नेपाली शैलीका दायाँबायाँका घर र झ्यालहरूजस्तै बनिसकेको थियो । इनाचो र तचपालको बिचमा पनि पुरानै गौरव फर्किसकेको थियो ।
गोल्मढीको गहिरोधाराका धाराहरू, इनार र कुवालाई विदेशीहरू चाख मानेर हेर्दै थिए । केही भक्तपुरकै कला संस्थानमा अध्ययनरत विदेशी छात्रछात्राहरू चित्र कोर्दै थिए ।
एउटी जापानी युवतीले अर्को जर्मन केटोसँग सोध्दै थिई, नेवारी भाषामा – ‘तपाईं कति वर्षदेखि नेपालमा हुनुहुन्छ ?’ जर्मन केटोले पनि नेवारी भाषामा उत्तर दियो, ‘म यहाँको भाषा विश्वविद्यालयमा पढ्दै छु । ४ वर्ष भयो, म हरेक वर्ष २ महिनाको निम्ति घर जान्छु ।’
जापानी केटीले जर्मन केटोको उत्तरमा थप्दै गई, ‘म त ४ वर्षदेखि नेपाली वास्तुकलामा यहाँ इन्जिनियरिङ अध्ययन गर्दै छु । मेरो विशेष ध्यान यहाँका मन्दिरहरूको वास्तुकला सिक्नमा गएको छ । मेरा अरू पनि जापानी साथीहरू चोक भएको नेवारी शैलीको घर, साँझ्या (भोटे झ्याल) आदिबारे व्यावहारिक तालिम लिँदै छन् । त्यसो त हाम्रा केही साथीहरू अन्य ल्याटिन अमेरिकी विद्यार्थीसँग यहाँको भाषा र संस्कृतिको पनि अध्ययन गर्दै छन् ।’
विदेशी छात्रछात्राहरूको नेवारी भाषाको त्यस संवादले मेरो मन प्रफुल्ल भयो । हो त, भक्तपुर जिल्लाको गाउँ गाउँमा आज भाषा, इन्जिनियरिङ, संस्कृति, पुरातत्व आदि विषयका महाविद्यालय र विश्वविद्यालयहरू स्थापित भएका छन् । सय वर्ष पहिलेजस्तै भक्तपुरमा इँटा भट्टाहरूको नामनिशाना छैन । ती धुवाँ फाल्ने ठाउँहरूमा आज उच्चस्तरीय विद्यालयहरू छन् । यहाँका चिकित्सा अध्ययन संस्थानमा पश्चिमी चिकित्सा शास्त्र (एलोपेथी) मात्र होइन, आयुर्वेद, होमियोपेथी, प्राकृतिक, सियोले घोच्ने अकुपञ्चर, चुम्बकीय र अन्य प्रकारका उपचार विधिको पनि अध्यापन हुन्छ । थिमि, नगदेश र बोडेमा पनि नेवारी नाचगानका संस्थानहरूमा विभिन्न महादेशका छात्रछात्राहरू अध्ययन गर्दै छन् । नगरको सडक र गल्लीमा अब कुनै ट्याक्टर, ट्रक, कार, जीप, मोटरसाइकलजस्ता धुवाँ फाल्ने कुनै साधन आवतजावत गर्दैनन् ।
रातको १२ बज्यो, म अब सुत्छु ।
हाम्रा नगर र सहरहरू
सन् २०९९ डिसेम्बर २५ को दिन बिहान ८ बजे, नेपाली साहित्यको महाविद्यालयको एक चिटिक्क परेको छात्रावासको सभाभवनमा विद्यावारिधिका नेपाली विद्यार्थी रामुले भन्दै गए, ‘मित्रहरू, आज हामी भक्तपुरबाट पश्चिम नेपालका नगर र सहरहरू यात्रा गर्न जाँदै छौँ । ठीक सय वर्षअगाडि नेपालका राजनीतिज्ञहरू, सरकारी विद्वानहरूले देशका सहर र नगरहरूको आकार, विशेषता, नगरवासीहरूको रोजगार, सफाइ, ढल र फोहोर पानी सफा गर्ने उपचार पोखरी, फोहोर गाड्ने डम्पिङ साइट र पुनः प्रयोगका उपायहरूको बारे ध्यान दिएका थिए । यसको अर्थ हो– एक सय वर्षअगाडि नेपालका सहर र नगरहरू सा¥है फोहोर, अव्यवस्थित र अनियमित आवासहरू बन्दै गएका थिए । हरेक राष्ट्रिय राजमार्गको दायाँबायाँ जोडिँदै बस्तीहरू बढ्दै गएका थिए ।
त्यसैले, दुर्घटनाहरू हुने, आवासलाई बन्दोबस्त गर्न नसकिने, प्रदूषण बढ्ने, सवारीको गतिमा बाधा आउने आदिबारे न यातायात मन्त्रालय, न आवास तथा भौतिक मन्त्रालय न त स्थानीय विकास मन्त्रालयलाई मतलब थियो । मन्त्रीहरू र मन्त्रालयका सचिव र निर्देशकहरू राज्यबाट प्राप्त अधिकार र सहुलियतहरूबाट व्यक्तिगत स्वार्थ मात्रै सिद्ध गर्थे । नगर र सहरका मेयर, उपमेयर, जनप्रतिनिधिहरू तथा जिविस र गाविसका सभापति र अध्यक्षहरूलाई पनि आफ्नो पार्टी र व्यक्तिका स–साना स्वार्थभन्दा अरू मतलब थिएन । तिनीहरूमा न वैचारिक उचाइ थियो न त व्यापकता र कर्तव्यप्रति गम्भीर चिन्ता ! तिनीहरू विकास रकमहरूसमेत आ–आफ्ना मानिसहरूलाई विकासका झूटा योजनाहरू बनाई पैसा बाँड्दै राजनैतिक कार्यकर्ताहरूको चरित्र बिगार्ने गर्थे । पार्टी नेताहरू तल्लास्तरका कार्यकर्ताहरूबाट ठगिन्थे ।’
‘विश्वमा आएका अनेक परिवर्तन र जानकारीहरू, देश र विदेशमा नेपाल सरकार र राजनैतिक पार्टीहरूप्रति देखापरेका आलोचना र निन्दाले बिस्तारै पदमा बस्ने मानिसहरूमा चेतना जाग्यो । देश विदेशबाट आएका नेपालीहरूमा विदेशी भक्ति हट्दै आफ्नो देश राम्रो भएन भने विदेशमा पनि हेलाहोचो हुने तथा श्रीहीन र गौरवहीन जीवन साह्रै कष्टप्रद हुने अनुभव गरे । भौतिक सुविधाका निम्ति मर्यादा र इज्जतबिनाको जीवन बाँच्ने भावनामा परिवर्तन आयो ।
जनताको चर्को विरोध, ऐन–नियममा कडाइ, जाँचबुझका नयाँ नयाँ संयन्त्र तथा पारदर्शिताको आन्दोलनले भ्रष्टाचारमा लगाम लाग्दै गयो ।
त्यसमा ठूलो भूमिका कर्मचारीहरूको तलबमा दोब्बर वृद्धिले खेल्यो । आवास र खाद्यान्न, स्वास्थ्योपचार र छोराछोरीको निम्ति शिक्षाका सहुलियतहरू पाए । त्यही नियम शिक्षक, मजदुर वा अन्य कामदारहरूलाई पनि लागू भयो ।’
बैठकमा सबै सहभागीहरू विभिन्न देशका छात्र–छात्राहरू आ–आफ्नै शैलीका लुगा लगाएर मिलेर बसेका थिए । रामुले आफ्नो भनाइलाई अन्त गर्दै भने, ‘आज नेपालमा ३०० सहर र नगरहरू छन्, त्यसमध्ये १५ ओटा ५ लाखभन्दा बढी जनसङ्ख्या भएको, ५० ओटा १ लाखसम्मको जनसङ्ख्या भएको र २०० ओटा २५००० जनसङ्ख्याभन्दा कमका नगरहरू छन् । तर, सबै नगरहरूका ढलहरू छोपिएका छन्, खुला छैनन्, ती सबै ढलका फोहोर उपचार पोखरीमा जान्छ र सफा गरेपछि मात्रै खोला र नदीमा बग्न दिइन्छ, २–४ ओटा सहरको फोहोरको थान्को लगाउने एक एक ठाउँमा बन्दोबस्त भइसकेको छ । हरेक नगरपालिकाहरूको आ–आफ्नो नगर अस्पताल, शिशुशालाहरू, बालोद्यानहरू, विद्यालय र महाविद्यालयहरू छन् । पुराना केही नगरपालिकाहरूले विश्वविद्यालयसमेत सञ्चालन गरेका छन् । नगरपालिकाहरूको आफ्नै उद्योगधन्दा, बजार व्यवस्था, आवास क्षेत्रहरू, खानेपानीको बन्दोबस्त, अतिथि सदन, भोजनालयहरू छन् । ती सबै आम्दानीका स्रोतहरू हुन् । वर्षमा नेपालमा ३० लाखभन्दा बढी पर्यटकहरू आउँछन् । नेपालका नगर, जिविस र केही गाविसहरूका आम्दानीको स्रोत नै पर्यटन उद्योग भएको छ । छरिएका गाउँहरू विस्तारै एक ठाउँमा केन्द्रित हुँदै सहरहरूको सङ्ख्या बढ्यो, गाउँको सङ्ख्या घट्यो ।’
रामुको भनाइ नटुङ्गिदै एक नयाँ भियतनामी छात्राले सोधिहालिन, ‘पासा रामु, नेपालका पुराना र नयाँ सहर र नगरहरूको जानकारीको लागि धन्यवाद दिन चाहन्छु र भियतनामको मुक्तिको बेला सन् १९६५ तिर नेपालको संवत् २०१७ सालपछि पहिलो पटक सं.रा. अमेरिकी साम्राज्यवादको आक्रमणको विरोधमा भियतनामी जनताको समर्थनमा प्रदर्शन गर्ने भक्तपुर र नेपाली जनताप्रति आभार प्रकट गर्न चाहन्छु । नेपालको भाषा र साहित्यको अध्ययन गर्न म ४–५ महिना पहिले मात्र नेपाल आएकी हुँ। नेपाली भाषा म अहिले पढ्न, लेख्न र बोल्न सक्छु, संस्कृत र हिन्दीसँग सम्बन्धित शब्दहरू अलि उच्चारण गर्न गाहो अनुभव गर्छु । तर, मलाई नेवारी भाषा तुलनात्मक रूपले सजिलो लाग्छ । के हाम्रो पश्चिम नेपालको यात्रा १५ दिनको हो, पासा रामु ?’
‘हो, पासा डिन्, हामी नारायणी नदीको किनारको पुरानो नारायणघाट र भरतपुरको नयाँ ५ लाखभन्दा बढी जनसङ्ख्या भएको औद्योगिक सहर, त्यस्तै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी (भैरहवा) र व्यापारिक नगर बुटवलमा एक एक दिन बस्नेछौँ । बिचबिचका राजमार्गका दायाँ–बायाँका स–साना नगरहरूमा चिया खाँदै त्यहाँका विभिन्न जाति र भाषाभाषीहरूका नाचगान हेर्दै हामी अगाडि बढ्नेछौँ । तर अहिले राजमार्गहरूसँगै जोडिएका बस्तीहरू छैनन् । सबै नगरहरू राजमार्गहरूभन्दा ५–१० मिनेटकै टाढा–टाढा बनेका छन्, व्यवस्थित छन् । सबै नगरहरूमा तार, टेलिफोन, विद्युत्, महाविद्यालय, हुलाक, पुस्तकालय आदि सबैको राम्रो बन्दोबस्त छ । जाडोको मौसममा तराईको हावापानी राम्रो हुन्छ । पूर्व–पश्चिम राजमार्गमा अब विद्युत्का रेल र ट्रलिबसहरू चल्छन् ।’
लक्ष्मीप्रसाद देवकोटाको काव्यबारे विद्यावारिधि गर्ने एक अर्जेन्टिनी छात्र भेनाले भने, ‘पासा रामु, नेपालमा सबभन्दा पहिले अर्जेन्टिनी क्रान्तिकारी सिपाही तथा विचारक चेको बारेमा पढ्ने र लेख्ने नेपाली नगर भक्तपुर नै हो । यस्तो सहर र देशमा आएर नेपालका एक परिवर्तनवादी कविको बारेमा अध्ययन गर्न पाउनु गौरवको कुरा हो । म देवकोटालाई हाम्रो स्पेनियाली कवि पाब्लो नेरुदासँग तुलना गर्न मन पराउँछु । के पश्चिम नेपालमा हामी कुनै साहित्यिक वा कवि गोष्ठीमा भाग लिने कार्यक्रम बनाउन सक्दैनौँ ?’
‘हो, हो, मित्र, तपार्इँले मेरो मनकै कुरा बोल्नुभयो । भैरहवामा बुद्धको जन्मस्थान लुम्बिनीको यात्रापछि हामी दाङको संस्कृत विश्वविद्यालय पुग्नेछौँ । पहिले जस्तो त्यो यात्रा लामो हुनेछैन, बिचको पहाडमा सुरुङ मार्ग बनिसकेको छ । त्यहीँ हामी एउटा साहित्य सम्मेलनमा भाग लिनेछौँ । हाम्रो देशको सबभन्दा ठूलो विश्वविद्यालय अहिले त्यही हो । अहिले त्यसलाई हामी भाषा, आयुर्वेद, पुरातत्व र इतिहासको विश्वविद्यालयको रूपमा हेर्छौँ । सङ्ख्याको हिसाबले यो देशको सबभन्दा बढी छात्रछात्रा र विद्वान्हरूको अध्ययन र अध्यापन गर्ने स्थल भएको छ । यो नेपालको सबभन्दा ठूलो उपत्यका हो । दाङ किसान आन्दोलनको थलो पनि हो ।’
‘मित्रहरू, हामी बिचबिचमा वनजङ्गल, तलाउ, पोखरी र नदीहरूको पनि सयर गर्दै सुर्खेत पुग्नेछौँ, त्यो देशको तेस्रो ठूलो उपत्यका हो, त्यहाँ एउटा प्राचीन विहार छ† काँक्रेबिहार भन्ने त्यस बौद्ध क्षेत्रको जीर्णोद्धार यसै शताब्दीमा भएको हो । त्यहाँ हामी एक दिन बस्छौँ, गर्मी बिदामा हामी सुर्खेतबाट रज्जुमार्ग हुँदै जुम्ला, हुम्ला र मुगुको रारामा पुग्नेछौँ ।’
वातानुकूल बन्दोबस्त भएको, विद्युत् र सौर्य ऊर्जाले समेत चल्ने त्यो बसले ९ बजेतिर भक्तपुर छोड्यो । त्यस यात्रा दलसँग धिमाय् बाजा, बाँसुरी र मादल आदि बाजागाजाका सामान पनि थिए । त्यस यात्रा दलमा सबै महादेशका छात्रछात्राहरू र अन्वेषकहरू थिए ।
उत्सवको सहर
एकजना गाइड स्पेनियाली भाषामा बोलिभिया, पेरु, कोलम्बिया, चिली र ग्वाटेमालाका पर्यटकहरूको दललाई भक्तपुर नगरबारे बताउँदै जान्छ– ‘ठीक सय वर्षअगाडि यहाँका नगरका जनताले आफ्नै अगुवाइमा यस नगरको पुनःनिर्माण गर्न सुरु गरेका थिए । १६५ वर्षदेखि २०० वर्ष अगाडिका भूकम्पहरूले यहाँका पुराना दरबार, बस्ती र नगरभित्र पस्ने ढोका तथा पर्खालहरू भत्काएका थिए ।
‘२५० वर्षसम्म नगरको विकास अवरुद्ध भयो । यस नगरको ठाउँ–ठाउँमा २००० वर्ष पहिलेका किराँत र लिच्छवि शासन अवधिका अवशेषहरू र चालू ढुङ्गेधाराहरू छन् । स्थानीय नेवारी भाषाको नाममा यहाँका ठाउँका नामहरूले इतिहास र अर्थलाई अभिव्यक्त गर्छ । तुलाछँे (इनारहरू भएको बस्ती वा बाटो), खिछेँ–खिउँगु छेँ (अँध्यारो बाटो), चोछेँ (उचाइमा रहेको बस्ती), ताला–तुंछी (गहिरो इनारको ठाउँ), तहा मला (लामो गल्ली), याता (पारिलो ठाउँ), गःहिति (गहिरो धारा) जस्ता ठाउँका नामहरू स्थानीय भाषामा २–४ अक्षरले चिटिक्क परेका नामहरू अहिले पनि प्रचलित छन् । यहाँकै धेरैजसो मठ–मन्दिर, विहार, पौवा, पाटी, ढुङ्गेधारा, इनार र कुवा २ सयदेखि २ हजार वर्षभन्दा पुराना छन् । तर, ती सबै अहिलेसम्म प्रयोगमा छन् । त्यसैले यस सहरलाई विदेशी विद्वान्हरू ‘जीवित स्मारकहरूको सङ्ग्रहालय’ पनि भन्ने गर्छन् ।
गाइडले भन्दै जान्छ– ‘अहिले यस सहरका केही ढोकाहरू, पर्खालहरू यसै शताब्दीमा पुनस्थार्पित गरिएका छन् । आज पर्खालभित्रको प्राचीन नगरमा १ लाख जनता बस्छन् तर आधा जति पर्यटकहरू छन् । विदेशी पर्यटकहरू हरेक दिन ५ हजारभन्दा बढी आउँछन् । तिनीहरूमध्ये एकतिहाइले यही रात बिताउँछन् । राति तिनीहरू विभिन्न सांस्कृतिक कार्यक्रमहरू हेर्छन्, नेपालका विभिन्न जाति र भाषाभाषीहरूका खाना चाख्छन् । बिहान तिनीहरू नगरकोट, चाँगु, सूर्यविनायक, ल्हासापाको ससुद्यः आदि मन्दिर, वन–जङ्गल, पार्क र मनोरञ्जनका स्थलहरू घुम्छन् र त्यहीँ ८ बजे चिया वा बिहानको खाजा खान्छन् ।‘
‘दिउँसो सिद्धपोखरी, भाज्यापुखु, नपुखू, कमलपोखरी आदि पोखरीमा स–साना डुङ्गाहरूको शयर गर्छन् र नगरकै टोल–टोलका खाने पसलहरूमा रोजीरोजी खाना खान्छन् । आश्चर्य के हो भने पर्यटकहरू खाना खाँदा भक्तपुरे दही मागेर खान्छन् र जाने बेलामा एक पोका पुष्टकारी वा मिश्रिपाक किन्न बिर्सिँदैनन्, ‘नेपाली चकलेट’ भन्दै ।’
गाइड बोल्दै जान्छ– ‘साँझ–साँझ हरेक टोलमा सांस्कृतिक कार्यक्रमहरू भइरहन्छन् । बाँसुरी, धेमा, देवीनाच, नागाचा नाचजस्ता अनेकौँ प्राचीन नाचगान कार्यक्रमहरू चोक चोकमा बन्दोबस्त गरिएको हुन्छ भने ठाउँठाउँमा आधुनिक सङ्गीत र साहित्यिक गतिविधिसमेत भइरहेको हुन्छ । ती सबै नाच, गान र साहित्यिक गतिविधिबारे धेरै विदेशी भाषामा लेखिएका पुस्तिकाहरू हुन्छन् र हेडफोन (कानमा राखेर सुन्ने यन्त्र) ले आफूले बुझ्ने भाषामा सुन्छन् ।
‘गल्ली र टोलहरू सा¥है सफा छन्, पर्यटकहरूको घुइँचो सबै ठाउँमा त्यत्तिकै छ । स–साना घरहरू ठूल–ठूला भइसकेका छन् तर उचाइ भने मापदण्डअनुसार नै छ । दक्षिणको हनुमन्ते र उत्तरको खासाङखुसुङलगायत सबै ठाउँमा पुराना र नयाँ घाटहरू छन् र मिचेका सबै जग्गा फिर्ता लिएर चौडा पारिएका छन् । ५/६ फिटसम्म पानी सदा रहिरहन्छ । ब्रह्मायणी, माहेश्वरी, त्रिवेणी (हनुमानघाट), चुपींघाट, राममन्दिर र बाराही घाटको दायाँबायाँ रेस्टुराँ र पसलहरू पर्यटकहरूले भरेका छन् । पुरानो नगरको बाहिर चारैतिर अर्थात् लिबालिबी, कमलविनायक, ब्यासी आदि ठाउँमा नयाँ शैलीका बस्ती, महाविद्यालय, संस्थान र विश्वविद्यालयका विभागहरू बनिसकेका छन्, सँगसँगै छात्रावासहरू बनेका छन् । तर ती नयाँ बस्तीहरूमा स–साना बगैँचा र बोटबिरुवाहरूको कमी देखिन्न ।
एकजना जापानी केटी पर्यटकले एकजना भक्तपुरे पसलेसँग आफ्नो भाषामा सोध्छिन्–
‘के मलाई एक महिना नेपाली परिवारमै खाने र बस्ने बन्दोबस्त हुनसक्छ ?’ जापानी केटीले झोलाभरि भक्तपुरका सामान किनेकी छिन् । ती सबै भक्तपुरकै गल्ली र चोकमा बनाइएका हुन् । बुट्टा कुँदेका काठका, धातुका, ढुङ्गाका र कपडाका उपहार दिने सामान र केही पुस्तक उनको झोलामा थियो ।
‘अवश्य ¤ ‘नेपालीले जापानी भाषामा सम्झाउँदै भन्छ ‘यहाँ तपाईं कुनै पनि टोलमा गएर बस्न सक्नुहुन्छ, तपार्इँले आफ्नो परिचयपत्र वा राहदानी देखाउनु होला, मूल्य निश्चित छ, आफ्नो मनपर्ने खाजा र खाना अनि खाने समय मिलाउनु होला, घरकी आमा घरपतिले कोठाको पनि बन्दोबस्त गरिदिनुहुनेछ ।’
जापानी केटी सोध्छिन्, ‘के घरपति आमा र बाले जापानी भाषा बोल्नुहुन्छ ?’ ‘अँ, यहाँका हरेक तेस्रो व्यक्ति जापानी, जर्मन र ल्याटिन भाषा बोल्छन् र बुझ्छन् । अङ्ग्रेजी त झन्डै आधी मानिसहरू बोल्छन् र बुझ्छन् । त्यस्तै यहाँ मानिसहरू चिनियाँ र भारतीय भाषाहरू पनि बोल्छन् ।’
‘कसरी ?’– जापानी केटी जिज्ञासा पोख्छिन् ।
‘यहाँ हरेक विद्यार्थीले दुई विदेशी भाषा पढ्छन् । माध्यमिक शिक्षापछि अन्य भाषाहरू पनि पढ्छन् । यहाँ विभिन्न भाषाका धेरै अध्ययन संस्थान र महाविद्यालयहरू छन्’– नेपालीले पाहुनाको जिज्ञासा मेटाउँछ ।
साँझपख सबै पोखरीहरूमा रङ्गीचङ्गी झिलिमिली बत्ती बलिरहन्छन् । चारैतिर फोहराले वर्षाएका पानीका थोपाहरूमा रङ्गीचङ्गी बत्तीले इन्द्रेणीलाई फिक्का बनाइदिन्छ । नगरभित्र यातायातको कुनै साधन चल्दैनन्, सबै पर्यटकहरू फूर्तिसाथ चारैतिर हेर्दै फोटो खिच्दै पैदल घुम्छन् । बाटोको बायाँबाट जाने र दायाँबाट आउने बन्दोबस्तले गर्दा भीडको अनुभव हुँदैन । तर हरेक पुरुष पर्यटकले एउटा भादगाउँले टोपी लगाएकै हुन्छ भने केटी पर्यटकले एउटा सानो भक्तपुरे खास्टो वा झोला भिरेकै हुन्छ ।
लाय्कू, टौमढी, दत्तात्रय चोक र गल्ली सबै बत्तीले झकिझकाउ छन् । एक क्यानाडेली युवकले आफ्नो केटी साथीलाई ङातापोल्हँ पोस्टकार्डमा पत्र लेख्दै थियो– ‘भक्तपुर आश्चर्यजनक नगर हो । बिहान प्राचीन सहर जस्तो ¤ दिउँसो विश्वविद्यालय जस्तो र राति साँच्चै प्राचीन लुगा लगाएकी आधुनिक नर्तकी वा सुन्दरी जस्तो ¤ म एक महिना नेपाल बस्छु, यहाँको जनजीवन अध्ययन गर्छु, त्यतिबेलासम्म तिमी आइपुग्ने छौ भन्ने म आशा र विश्वास गर्छु । यो साँच्चै पृथ्वीको स्वर्ग हो । यहाँका मानिसहरू साह्रै सरल, मिलनसार र मायालु छन् । नेपाल तिमीलाई पराइ लाग्ने छैन, यहाँ तिम्रो भाषा बुझ्ने मात्र होइन बडो राम्रो बोल्छन् पनि । यहाँ अब मानिसले मानिसलाई शोषण गर्दैन ।’
विभिन्न देशका पर्यटकहरू आ–आफ्नै देशका भेषभूषा वा मनपर्ने लुगा लगाएर आवतजावत गर्दा र विविध भाषा र उच्चारण सुन्दा भक्तपुर साँच्चै ‘उत्सवको सहर’ वा ‘बाह्रैमासे चाडको नगर’ भनी पर्यटकहरू टिप्पणी गर्छन् ।
एकजना चिनियाँ पत्रकारले नेपाली मित्रलाई भन्छ, ‘के तपाईँ लाई थाहा छ, आज संसारमा सबभन्दा बढी चित्र भक्तपुरकै छापिन्छ ।’ भारतीय मित्रले हिन्दीमा थप्यो, ‘यो कुरो त मैले पनि सुनेँ ।’
त्यसैले भन्दै छन्, ‘नेपाल आएर भक्तपुर आएन भने उसले आधा संसारकै यात्रा नगरे सरह हुन्छ ।’
Leave a Reply