बलले विचारलाई दबाउन नसकिने
- बैशाख २७, २०८३
‘सुँगुरको खोरजस्तो भक्तपुर’ शीर्षकको समाचार पढेका धेरैलाई ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक पढ्दा सम्भव होला र भन्ने लाग्छ । जीवित सङ्ग्रहालय, नाचगानको राजधानी, कला–संस्कृति र सम्पदामा धनी भए पनि उचित संरक्षण नहुँदा त्यस्तो आशङ्का अस्वाभाविक थिएन । तर, ‘सय वर्षपछिको भक्तपुर’ ले उत्साह, उत्प्रेरणा र मार्ग दर्शन गरेपछि भक्तपुरले आज काँचुली फेरेको छ । भक्तपुरले शिक्षाको केन्द्र, पर्यटकीय गन्तव्य, सफा र सुसंस्कृत नगरको उद्देश्य बोकेर अगाडि बढिरहेको सर्वत्र चर्चाको विषय बनेको छ । त्यसैले ‘सय वर्षपछिको भक्तपुरलाई भक्तपुर नपाले आफ्नो मार्ग दर्शक भन्दै पूर्वाधार तयार गरिरहेको हामी सबैले देखिरहेका छौँ ।
‘सय वर्षपछिको भक्तपुर’ वास्तवमा भक्तपुर नपाको मार्गदर्शक मात्र होइन कार्ययोजना भने पनि फरक पर्दैन जस्तो लाग्छ । भक्तपुर नपाका थुप्रै क्रियाकलाप पुस्तकमा वर्णित उत्कृष्ट नगर बनाउनमा केन्द्रित देखिन्छ । पुस्तकका स्रष्टा अध्यक्ष बिजुक्छेँले भन्नुभएझैँ देशकै सानोमध्येको एक भक्तपुरलाई ‘टेस्ट टुयुब’ को रूपमा विकास गरे देशका अन्य भागका कला–संस्कृति, सम्पदाको विकास गर्न एउटा खाका बन्ने छ । यसले समग्रमा विश्व मानचित्रमा नेपाल एक प्रतिष्ठित देशको रूपमा स्थापित गर्न सहयोग पुग्छ । तसर्थ, यो पुस्तक केवल भक्तपुरको लागि होइन देशकै लागि हो । यसमा वर्णित विषयवस्तुले समग्र देशकै लागि मार्ग दर्शन गरेको छ भन्दा अत्युक्ति हुँदैन ।
यसैक्रममा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउन धेरै समयदेखि प्रयास भइरहेको छ । तर, सरकारमा जाने र बस्नेहरूलाई त्यसबारे ज्ञान नभएर हो वा अन्य कारणले प्रयास सफल भएको छैन । त्यसो त कतिपय संस्कृतिविद्, सम्पदाविद् र पुरातत्वविद्हरू सरकारले घोषणा गरे पनि नगरे पनि भक्तपुर सांस्कृतिक नगर नै हो भनी उत्साह प्रदान गर्छन् । भक्तपुर नपाले देश र जनताको हितमा काम गर्न खोज्दा सिंहदरबारलाई प्रायः टाउको दुख्ने गरेको देखिन्छ । भक्तपुर नपाले कलेज सञ्चालन गर्न खोज्दा पनि उनीहरूले अनावश्यक ठानेका थिए । आज ख्वप सर्कलले ख्याती पाउन थालेपछि आफ्ना सन्त्तानको लागि त्यहाँ भर्ना खोजेको पनि सुनिएको छ । ख्वप विश्वविद्यालयको सन्दर्भमा त धेरै वटा सरकार आए – गए तर अझै ‘माछा माछा भ्यागुतो’ नै छ ।
भक्तपुर नपाले राम्रो काम गर्न खोज्दा विलम्ब गर्ने, बाधा दिने, भ्रम फैलाउने काम शासक दलका नेता–कार्यकर्तादेखि उच्चाधिकारीहरूले पटक–पटक गरेका छन् । विगतमा राष्ट्रिय सम्पत्ति सम्पदा जीर्णाेद्धार र पुनः निर्माणको लागि कर छुटको काठ खोज्दा एक पुरातत्वविद् हाकिमले सबैले त्यस्तै माग गरे के गर्ने भने र जवाफ दिएका थिए । तर, हरियो वन तस्करको धन रोक्न तिनीहरूको ध्यान गएन ।
त्यस्तै, पर्यटक सेवा शुल्क लगाउँदा पनि तत्कालीन मन्त्रीले नपा नै विघटन गरिदिने धम्की दिएका थिए । केही पर्यटन व्यवसायी र पथ प्रदर्शकले भक्तपुरलाई कीर्तिपुर बनाइदिने भनी पर्यटकहरूलाई बिच्काउने प्रयास गरेका थिए । तर, आज भक्तपुरले सुरुआत गरेको पर्यटन शुल्क धेरै ठाउँमा लगाइएको छ । भक्तपुर नपाले लगाएको पर्यटक सेवा शुल्कको अधिकतम सदुपयोगले भक्तपुर आज शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, कला–संस्कृतिका संवद्र्धन, सफाइ, सीपमूलक र भाषा तालिम, पर्यटन उद्योगको विकासमा सहयोग पुगिरहेको छ ।
भक्तपुरलाई सांस्कृतिक नगर घोषणाको सन्दर्भमा पनि भक्तपुरलाई खोर बनाउने भयो, ढुङ्गेयुगमा फर्काउन खोजेको जस्तो भ्रम फैलाएका थिए । तर, सांस्कृतिक नगरको लागि पूर्वाधारहरू बन्दै गएपछि नगर र नगरवासीको व्यापक हित देखिन थालेको छ । बाधा अड्चनलाई पन्छाउँदै, भ्रमहरूलाई चिर्दै अगाडि बढेको कारण भक्तपुरका सुनसान गल्लीहरूमा समेत पर्यटकहरूको घुइँचो देखिन थालेको छ । मौलिक उत्पादनका बजार विस्तार भएको छ† भाषा, सीपमूलक तालिम, बाजा–गाजाको तालिम लिन नगरवासीहरू उत्साहित भएका छन् ।
‘सय वर्षपछिको भक्तपुर’लाई मार्गदर्शकको रूपमा लिएर भक्तपुरमा जे राम्रा कार्यहरू भइरहेका छन् । त्यसप्रति पूर्वाग्रह राख्नेहरू पनि नदेखिएका होइनन् । ती पूर्वाग्रहीहरू के ठान्दछन् भने सबै राम्रो काम नेमकिपालाई निष्कन्टक गर्न दिए हामी के गर्ने ? भन्न मन लाग्छ, सत्तामा जाने दलहरूले बग्रेल्ती काण्डहरू गरेका छन्† काण्ड नगर्ने नेमकिपाको खुट्टा तान्ने काम नगरे पुग्छ । नेमकिपाले जाने बुझेसम्म जस खोज्न, पुरस्कृत हुन होइन देश र जनताको निःस्वार्थ सेवा गर्न समर्पित भएर काम गरिरहेको छ । त्यसैले ‘सय वर्षपछिको भक्तपुर’ ले मार्ग दर्शन गरेअनुरूप भक्तपुर नपाले काम गर्दै जाने आशा र विश्वास छ । निश्चय पनि समय लाग्छ । तर, शिक्षा र संस्कृतिको केन्द्र, पर्यटकीय गन्तव्य, सभ्य र सुसंस्कृत नगर बनाउने उद्देश्यमा रतिभर विचलित नभई अग्रसर हुनेछ र सफल होस् भन्ने शुभकामना छ ।
भक्तपुर नपाबाट प्रकाशित तेस्रो संस्करणमा केही नयाँ तस्बिरका साथै केही छानिएका सन्दर्भ सङ्ग्रहित गरिएको छ । यसबाट स्रष्टाको विचारको सान्दर्भिकतालाई विभिन्न कोणबाट पुष्टि गरेको छ† थप उत्साहित र उत्प्रेरणा दिएको छ । छोटो शब्दमा पुस्तक थप पठनीय र सङ्ग्रहणीय बनेको छ । यसको निम्ति प्रकाशक भक्तपुर नपालाई धन्यवाद दिनैपर्छ ।
अन्तमा, श्रद्धेय श्रष्टा अध्यक्ष बिजुक्छेँको दूरद्रष्टा र विचारोेत्तेजक रचनाप्रति आभार व्यक्त गर्दै आगामी समयमा यस्तै मार्गदर्शन गर्ने रचनाको आशा गर्दै भनाइ यही विसर्जन गर्ने अनुमति चाहन्छु ।
Leave a Reply