भर्खरै :

बालेन सरकार साँच्चिकै हाम्रो सरकार हो र ?

बालेन सरकार साँच्चिकै हाम्रो सरकार हो र ?

प्रतिनिधिसभाको निर्वाचनबाट नयाँ पुस्ता (जेनजी पुस्ता) को सरकार भनेर बालेन सरकारलाई पाउँदा हामी नयाँ पुस्ता खुसी बनेका थियौँ । तर, सरकारको निर्णय हेर्दा यो सरकार हाम्रो हो र ? भन्ने प्रश्न उठ्न थालेको छ । हामीलाई त हात्ती आयो, हात्ती आयो फुस्सा बनाइएको छ ।
कक्षा १० का दाइ दिदीहरूको एसईई परीक्षाको नतिजा चाँडै प्रकाशित गर्ने कुरा सुन्दा हामी ज्यादै खुसी भएका थियौँ तर परीक्षा केन्द्रमा नै कापी परीक्षण गर्दा विद्यार्थीहरूको सही मूल्याङ्कन हुनेमा शङ्का उत्पन्न हुन थालेको छ । परीक्षा केन्द्रमा कुन–कुन विद्यालयका को–को विद्यार्थीहरू छन् भन्ने प्रस्ट थाहा भइहाल्छ । कापी जाँच्नेले विद्यालय र विद्यार्थीलाई चिनेर नम्बर दिनेमा धाँधली नगर्ला कसरी भन्ने ? त्यसमाथि कापी जाँचेको लात् भिडियो फेसबुक र टिकटकमा राखेको देख्दा परीक्षाको गोपनियतामाथि औँला उठाउनुपर्ने परिस्थिति आयो । हाम्रो भविष्यमाथि खेलबाड गर्ने अधिकार कसले दियो ?
बालेन सरकारले हाम्रो भविष्यमाथि खेलबाड गर्ने अर्को निर्णय गरेको छ । शैक्षिक सत्र वैशाख १५ बाट सुरु गर्ने र हाम्रो पढाइ वैशाख २१ गतेबाट सुरु गर्ने निर्देशन पठाइएको छ । जहानियाँ राणा शासन र निरङ्कुश पञ्चायत शासनको विरोध गर्नुका कारण हामीले कक्षामा पढेको छौँ । बालेन सरकारको मनपरीतन्त्र राणा शासन र पञ्चायतभन्दा कुन अर्थमा फरक छ ?
हाम्रो विद्यालयको अन्तिम परीक्षा चैतको मध्यमा सकियो, रिजल्ट चैतको २५ गते आयो । त्यसबेलादेखि वैशाख २१ गतेसम्म हामी के गरी बस्ने ? हाम्रो बाल मनोविज्ञान कसले बुझेको छ ? बालेन सरकारका मन्त्रीहरू जेनजी पुस्ताका भनिएका छन् तर हाम्रो भविष्यमाथि तिनैले खेलिरहेका छन् । वैशाख २ गतेबाट सुरु हुनुपर्ने शैक्षिक सत्र २१ गतेबाट सुरु गर्ने, अनि हप्ताको दुई दिन बिदा दिने बुद्धि बालेन सरकारलाई कहाँबाट आयो ? युरोप, अमेरिकाजस्ता धनी देशहरूमा आइतबार बिदा दिइन्छ भनेर हाम्रो देशमा पनि दिन खोजेको हो भने हामीमाथि ठुलो घात हुन्छ । हामीलाई पनि जिसस क्राइस्टको भक्त बनाउन खोजिएको हो ? विदेशमा हाम्रोमा जस्तो दसैँ तिहार बिदा, गर्मी र जाडो बिदा भनेर लामो बिदा हुन्छ र ? सार्वजनिक बिदा नेपालमा जति अरु देशमा छ र ? अनि किन फेरि आइतबार बिदा दिएको ? एक वर्षमा ३६५ दिन हुन्छ, त्यसमध्ये मुश्किलले २०० दिन हाम्रो पढाइ हुन्छ । त्यसमाथि आइतबार थप बिदा दिएपछि १५० दिन पनि पढाइ हुन्न । अनि हाम्रो कोर्स सकिन्छ ? हामीले १२ महिनाको फिस तिर्ने, अनि पढाइ आधा पनि नहुने ? के यो न्यायोचित छ बालेन सरकार ?
हामी नयाँ पुस्ताको भावनाविपरीत पुराना शासक दलहरूले काम गरे, भ्रष्टाचार गरे भनेर भदौ २३ र २४ को आन्दोलनको नेतृत्व गरेको होइन र सरकार ? हाम्रा दाइ दिदीहरू ७६ जनाको बलिदान र देशको खर्बाैँको सम्पत्ति ध्वस्त गरेर आएको बालेन सरकारले हामीलाई दिएको उपहार यही हो ? हामी आफ्नो अधिकारको लागि फेरि सडकमा आउनुपर्ने हो सरकार ? बेलैमा बुद्धि पलाओस् । नभए तपाईँहरूले जे सिकाउनुभयो, त्यही गर्ने त होला नि नयाँ पुस्ताले ।
– रेजा र विद्यालयका साथीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *