भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, ३ वैशाख । अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरूले मन्त्रिपरिषद्को २०८२ चैत १२ गतेको वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णय तथा २०८२ चैत २३ गतेको सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय अव्यवहारिक भएको भनी सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा बिहीबार ज्ञापनपत्र बुझाए ।
ज्ञानपपत्र बुझाउँदै अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले हरेक वर्ष भर्ना अभियानको समयमा विभिन्न झमेलाहरू उत्पन्न गरी अभिभावकहरूलाई विदेशमा पढाउन पठाउन बाध्य पार्ने कामहरू भइरहेको बताउँदै संविधानमै माध्यमिक विद्यालय सञ्चालन एकल अधिकार स्थानीय तहको भएको बताउँदै सङ्घ सरकारले निर्णय थोपर्नु स्वायत्तता र विकेन्द्रीकरणको सिद्धान्तविपरीत भएको बताउनुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, आर्थिक मन्दी र अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको कारण अभिभावकहरूको मजदुरी, नोकरी, व्यापार–व्यवसाय आदि कामले खान लाउन धौ धौ परेको अवस्थामा कामदार अभिभावकहरूका लागि बिदाको दिनमा बालबालिकाको हेरचाह, निगरानी कसले गर्ने भन्ने चिन्ताका साथै बिहान ९ बजेदेखि विद्यालय सञ्चालन गर्दा मजदुरी गर्ने अभिभावकहरू आफ्नो काम छोडेर बालबालिकाहरूलाई ७ बजे नै तयार गर्नुपर्ने अवस्थाले रोजिरोटीसमेत गुम्ने सम्भावना रहेकोले आइतबारको बिदा दिनु उचित नभएको बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले विदेशमा दुई दिनको बिदा अभ्यासमा रहेकोले नमुनाको रूपमा प्रयोग गर्न खोजेको हुनसक्ने बताउनुभयो । उहाँले जायज माग र काम गरी खाने अभिभावकको समस्याबारे प्रमुखसमक्ष पेस गरी शिक्षा समितिमा छलफल गरेर निर्णय गर्ने बताउनुभयो ।
त्यस्तै ज्ञापनपत्र बुझ्दै चाँगु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले सरकारको निर्णयअनुसार कर्मचारीले काम गर्नुपर्ने बाध्यता रहेको बताउँदै ज्ञापनपत्रबारे प्रमुखमा पेस गरी शिक्षा समितिमा छलफल गर्ने बताउनुभयो । शिक्षा निर्देशक जनार्दन रिजालले आर्थिक वर्षको सत्र र शैक्षिक सत्र एउटै बनाउन पनि यो भर्ना अभियान र कक्षा सञ्चालन पछाडि पार्दै मिलाउन खोजेकोले यस्तो निर्णय आएको बताउँदै ज्ञापनपत्र शिक्षा मन्त्रालय पु¥याइदिने बताउनुभयो ।
उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा सान्तराम दुलालले बिदाको समयमा बालबालिकहरूमा मोबाइल र टीभीको कुलतमा परेर अध्ययनबाट टाढा हुने र एकोहोरो हुने जोखिम छ भने अतिज्म हुने र धेरै बिदाले विद्यार्थीहरूको पढाइ बिग्रन सक्ने र बानी—व्यवहार बिगे्रर कुलतमा फस्ने बताउनुभयो ।
कार्यक्रममा सहसचिव राजकुमार लघुले शिक्षा मन्त्रालयको सूचनाअनुसार १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पढाइ सुरु गर्ने निर्णय व्यवहारिक नभएको हुँदा बालबालिकाको पढाइ बिग्रिने सम्भावनालाई मध्यनजर गरी नयाँ सत्र वैशाख सङ्क्रान्तिदेखि सुरु गर्नुपर्ने माग गर्नुभयो ।
कार्यक्रममा अभिभावक सङ्घ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका सचिव आशराम सुवाल र कोषाध्यक्ष कृष्णप्रसाद दुमरुको पनि उपस्थिति थियो ।
Leave a Reply