अथातो घुमक्कड–जिज्ञासा घुमक्कडी : मानव सभ्यताको अदृश्य मेरुदण्ड
- बैशाख ३, २०८३
सन्दर्भ मातातीर्थ औँसी, वैशाख कृष्ण औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ । मातृ दिवस भावनात्मक पर्व मात्र होइन, यो परिवार, नातासम्बन्ध र सामाजिक संरचनाभित्र आमाको भूमिकालाई पुनः पुष्टि गर्ने एक महत्वपूर्ण सांस्कृतिक अभ्यास हो । यसले आमाको अदृश्य श्रम, भावनात्मक योगदान, सन्तान पालनपोषण र सामाजीककरण प्रक्रियामा उहाँको केन्द्रीय भूमिकालाई सार्वजनिक रूपमा स्वीकार गर्ने अवसर प्रदान गर्छ । मातृ दिवसले समाजमा आमा–सन्तान सम्बन्धलाई अझ मजबुत बनाउने मात्र होइन, पारिवारिक मूल्य, संस्कार र सामाजिक एकताको पुनः स्मरण गराउने काम पनि गर्छ । यसले महिलाको श्रम र योगदानलाई दृश्य बनाउने सामाजिक चेतना पनि विस्तार गर्छ ।
समाजशास्त्रीय दृष्टिले, आमा जैविक सम्बन्धको आधारमा मात्र नभई सामाजिक संस्थाको केन्द्र पनि हुनुहुन्छ । परिवारभित्र उहाँ सन्तानको पालनपोषण गर्दै उनीहरूको शारीरिक, मानसिक र भावनात्मक विकासमा मुख्य भूमिका खेल्नुहुन्छ । उहाँ सन्तानलाई समाजका मूल्य, मान्यता, संस्कार र व्यवहार सिकाउने सामाजिकीकरणको पहिलो र सबैभन्दा प्रभावशाली माध्यमको रूपमा काम गर्नुहुन्छ । बाल्यकालमा बच्चाले बोल्न, व्यवहार गर्न, सोच्न र सामाजिक नियम बुझ्न आमाबाटै सिक्छ । यसरी आमा पहिलो शिक्षक मात्र नभई “प्राथमिक सामाजिकीकरणकर्ता” पनि हुनुहुन्छ । त्यसैले व्यक्तित्व निर्माणमा आमाको भूमिका निर्णायक मानिन्छ ।
आजको मातृ दिवस केवल औपचारिक पर्व होइन, यसले हाम्रो संस्कृति, सम्बन्ध र भावनात्मक सम्बन्धलाई पुनः जोड्ने अवसर प्रदान गर्छ । नेपाली समाजमा मातृ दिवसको विशेष महत्व छ किनकि यहाँ आमा परिवारको आधार मात्र होइन, सम्पूर्ण घरको शक्ति र संस्कारको केन्द्र हुनुहुन्छ । आज मातृ दिवस मनाउने तरिकामा परिवर्तन आएको छ । पहिले आमाको मुख हेर्ने, मिठाइ र फलफूल लिएर आशीर्वाद लिन जाने, घरमै बसेर आमा–सन्तानबिच आत्मीय कुराकानी गर्ने र भावना साट्ने परम्परा थियो । आमासँग प्रत्यक्ष समय बिताउने, उहाँको हातबाट आशीर्वाद लिने चलनले पारिवारिक सम्बन्ध अझ मजबुत बनाउँथ्यो ।
तर अहिले आधुनिकताको प्रभावले धेरै परिवर्तन आएको छ । पहिलेको कुरा आत्मसात गरे पनि धेरैले सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने, फेसबुक, म्यासेन्जर वा अन्य माध्यमबाट शुभकामना दिने गर्छन् । कतिपयले घरभन्दा बाहिर रेस्टुरेन्ट जाने, केक काट्ने र फोटो सेसन गर्ने जस्ता आधुनिक शैली अपनाएका छन् । यी अभ्यास नराम्रा त होइनन् तर यसले कहिलेकाहीँ आफ्नोपन, भावनात्मक आत्मीयता र पारिवारिक न्यानोपन कमजोर बनाएको महसुस हुन्छ ।
यसरी आधुनिकता बढ्दै जाँदा हाम्रो आफ्नोपन र प्रत्यक्ष भावनात्मक सम्बन्ध केही हदसम्म हराउँदै गएको देखिन्छ । संस्कृति परिवर्तन हुनु स्वाभाविक भए पनि आफ्ना मूल्य–मान्यतालाई जोगाउनु आवश्यक छ । मातृ दिवस केवल देखावटी उत्सव होइन, यो आमा र सन्तानबिचको गहिरो सम्बन्धलाई अझ मजबुत बनाउने अवसर हो ।
नेपाली सन्दर्भमा मातृ दिवसको महत्व अझ गहिरो छ । यहाँ आमा जन्म दिने व्यक्ति मात्र होइन, सम्पूर्ण जीवनको मार्गदर्शक, संस्कार दिने पहिलो गुरु र परिवारलाई एकतामा बाँध्ने शक्ति हुनुहुन्छ । त्यसैले यस दिनले आमा–सन्तान सम्बन्धलाई सम्मान, सम्झना र कृतज्ञतामा बदल्ने अवसर दिन्छ ।
हामी सन्तानको कर्तव्य मातृ दिवसमा शुभकामना दिने मात्र होइन, हरेक दिन आमालाई सम्मान गर्नु, माया गर्नु र सेवा गर्नु हो । उहाँहरूको भावना बुझ्नु, समय दिनु, सहयोग गर्नु र खुसी राख्नु हाम्रो जिम्मेवारी हो । आधुनिकताको नाममा आफ्ना संस्कार र पारिवारिक मूल्यहरू बिर्सनु हुँदैन । आजको आधुनिक समाजमा धेरै सामाजिक समस्याहरू देखिन थालेका छन् । तीव्र प्रविधि विकास, सामाजिक सञ्जालको प्रभाव र पाश्चात्य संस्कृतिको बढ्दो प्रभावका कारण किशोर–किशोरीहरूमा मूल्य–मान्यताको कमी, गलत सङ्गत र अस्वस्थ जीवनशैलीतर्फ आकर्षण बढ्दो देखिन्छ । परिवारको भूमिकामा पनि चुनौती थपिएको छ । यस्तो अवस्थामा आमाको भूमिका झन् महत्वपूर्ण हुन्छ । सन्तानलाई सही मार्ग देखाउने, नैतिक शिक्षा दिने र गलत बाटोमा जान नदिने पहिलो जिम्मेवारी आमाकै हुन्छ । तर, आधुनिक व्यस्त जीवनशैलीका कारण आमाबुबा र सन्तानबिचको संवाद घट्दै गएको छ, जसले पुस्ताबिचको दूरी बढाएको छ । आजको आवश्यकता भनेको छोराछोरीलाई सानै उमेरदेखि सचेत, जिम्मेवार र संस्कारयुक्त बनाउनु हो ताकि उनीहरू सामाजिक विकृति, गलत लत र अस्वस्थ प्रभावबाट टाढा रहन सकून् । परिवारभित्र खुला संवाद, विश्वास र समझदारी कायम राख्न सके मात्र यस्ता समस्याबाट बच्न सकिन्छ । विशेषगरी विवाहपछि टाढा रहेका छोरी–बुहारीहरूले पनि आफ्ना आमासँग सम्बन्ध कायम राख्नु अझ महत्वपूर्ण हुन्छ । यसले पारिवारिक सम्बन्धलाई मजबुत बनाउनुका साथै भावनात्मक सहारा पनि प्रदान गर्छ ।
हामी सन्तानको कर्तव्य मातृ दिवसमा शुभकामना दिने मात्र होइन, हरेक दिन आमालाई सम्मान गर्नु, माया गर्नु र सेवा गर्नु हो । उहाँहरूको भावना बुझ्नु, समय दिनु, सहयोग गर्नु र खुसी राख्नु हाम्रो जिम्मेवारी हो ।
आज जब समाज बदलिँदै गएको छ, मातृ दिवसले हामीलाई हाम्रो जरा, संस्कार र पारिवारिक मूल्य सम्झाउने महत्वपूर्ण भूमिका खेल्छ । आमाको माया अमूल्य हुन्छ, जसको तुलना संसारका कुनै पनि धन–सम्पत्तिसँग गर्न सकिँदैन ।
Leave a Reply