म भैल खः हुँ
- बैशाख ४, २०८३
सरकारको कर व्यवस्था करलाग्दी र निकै कर्कश छ । सम्झ्यो कि मलाई त कान खाने करी कराउन मन लाग्छ । नेपाली उखानले भन्छ, “हुने हार दैव नटार ।” तर, अहिलेको राजनीतिक परिवेशले त्यसलाई नयाँ पहिरन पहि¥याएको छ, “अनावश्यक कर जनता नटार ।” कुनै पनि देशको राज्य सञ्चालनको सार करमा अडिएको छ । तर, हाम्रो देशको करको शैली र सन्दर्भले गणतन्त्र र सङ्घीयतापछि नाटकीय मोड लिएको छ । पहिले सानो संरचना, सीमित आवश्यकता र सामान्य खर्चले राज्य सजिलै चल्थ्यो, अहिले सङ्घीयताको सिँढीले सत्ता संरचनालाई सहरदेखि गाउँसम्म फैलाइदिएको छ । सत्ताका टाउका बढ्दै जाँदा तिनलाई पाल्ने ढुकुटी जसरी पनि मोटाउनुपर्ने बाध्यता छ । यही बाध्यतालाई बेस्सरी बुझ्दा र सार्वजनिक ऋणको अङ्क झन्झन् बढेको सुन्दा कुनै न कुनै उपायले भए पनि करको विषय र दर अझै बढाउनै पर्ने देखिन्छ ।
कर लाउनुपर्ने पहिलो विषय हो – भुँडी । हामी सबैको देखिने ‘ठुलो सम्पत्ति’ भनेकै भुँडी हो । सबैले एउटा एउटा टमक्क लाएर बोक्यो, हिँड्यो । जत्रोसुकै बोकियोस् – यो न कतै नापजाँचको झन्झटमा पर्छ न कुनै कार्यालयमा कागजी प्रक्रियामा अल्झिन्छ तर सार्वजनिक रूपमा सधैँ प्रदर्शनमा हुन्छ नै । भुँडी जति ठुलो, भोग त्यति गहिरो र श्रम त्यति पातलो भन्ने सामाजिक सङ्केत छ । यदि राज्यले भुँडीको आयतनअनुसार कर तोक्ने हो भने, त्यो कर तिर्नेभन्दा पहिले मानिसले पेट घटाउने प्रयास गर्नेछन् । तपाईँले कहिल्यै विचार गर्नुभएको छ ? करको डरले बिहानबिहानै त्यसमा पनि खासगरी पीपलको रूख ताकेर बेतोडले कुदेको मान्छे स्वस्थ हुन्छ । त्यस्तो स्वस्थ नागरिकले अस्पताललाई बेरोजगार बनाउँछ । यस्तो करामती नीतिले एकैचोटि दुईतिर दुई चोट हान्छ । एकातिर स्वास्थ्य सुधार, अर्कोतिर आर्थिक उदार ¤ देशका सबै नागरिकले ‘भुँडी घटाउने बजेट बढाउने’ यो शैली अवलम्बन गर्ने हो भने देश विकासको नारा नै फेरिएर, ‘पेटमा प्रहार, देशमा सुधार’ बन्न बेर छैन ।
हाम्रा केही व्यसन र बानीबेहोरालाई पनि कर लाउनुपर्ने भएको छ । हाम्रो नीति विचित्रको विडम्बनाले भरिएको छ – घरकै भाँडोमा पकाएको जाँडलाई अपराध ठानिन्छ तर विदेशी बोतलमा बन्द मदिरालाई सम्मानको आसन दिइन्छ । यस्तो अवस्थामा हाम्रो कर नीति नै राष्ट्रियताप्रतिको कठोर प्रहार बनेको देखिन्छ । विदेशी बियर र चुरोटमा करको दर केही नभए पनि तेब्बर बढाइयो भने त्यो किन्नेहरू किन्नुअघि तीन पटक सोच्नेछन् । “धुवाँ उडाउन खोज्नेले पहिले गोजी उडाउनुपर्छ” भनेझैँ धूमपान गर्नेजति सबैलाई सवारी साधनको रिन्यु गराए जस्तो सालैपिच्छे ‘धुवाँ कर’ लगाइदिने हो भने जानअन्जानमा गर्ने गरिएको धूमपान आफैँ घट्नेछ । अर्कोतर्फ, हाम्रो ‘तीनपाने’ लाई तिरस्कार होइन, व्यापारिक पहिचान दिन सकियो भने त्यो अन्तर्राष्ट्रिय बजारमा पनि चम्किन सक्छ । यसरी व्यसनलाई नियन्त्रण मात्र होइन, शासन र अवसरमा रूपान्तरण गर्ने नीति लिइएमा ‘स्वदेशी ऐला खपत, विदेशी रक्सी जफत’ को सूत्र साकार हुन बेर लाग्ने छैन ।
‘समय’ लाई नै कर लाउने सवाल झन् रोचक छ । आजको पुस्ताले सुनजस्तो समयलाई सस्तो स्क्रोलिङमा साटिरहेको छ । पुरुषहरू कपालको कलर मिलाउन घण्टौँ खर्च गर्छन् । मोबाइलको माया मस्तिष्कमा मडारिन्छ र श्रमको सट्टा सेल्फीको संस्कार बढिरहेको छ । यदि लामो कपाल पाल्नेलाई ‘सौन्दर्य कर’ लगाइयो भने त्यो केवल कपाल काट्ने बहाना होइन, समय बचाउने अभियान बन्न सक्छ । मोबाइलको अत्यधिक प्रयोगमाथि ‘डिजिटल डिटक्स कर’ लगाउँदा मान्छे भर्चुअल भुलभुलैयाबाट निस्केर वास्तविक खेतबारीतिर फर्किनेछन् । “जब स्क्रोल घट्छ तब उत्पादन बढ्छ” भन्ने नारा व्यवहारमा उतार्न यस्तो करले मद्दत गर्न सक्छ । यसरी समयलाई करको तराजुमा राख्दा जीवनको लय नै बदलिन सक्छ ।
शृङ्गार र सुनको प्रसङ्गमा हाम्रो समाज ‘देखासिकी’ को दलदलमा डुबेको छ । परम्परागत सौन्दर्यले सभ्यता सजाउँछ तर अति शृङ्गारले अर्थतन्त्र सुकाउँछ । ब्युटी पार्लरहरूले अनुहारसँगै आम्दानी पनि रङ्ग्याइरहेका छन् । यदि अनावश्यक शृङ्गारमा कर लगाइयो भने त्यो खर्चमा कटौती मात्र होइन, सादगीको संस्कारको पुनर्जागरण हुनेछ । “ओठमा लालीको ओस होइन, खातामा कति बाँकी छ भन्ने होस र आज म यति काम गर्छु भन्ने जोस चाहिन्छ । यस्तो सोच विकास गर्न ‘समय र शृङ्गार कर नीति’ ले सहयोग पु¥याउँछ । शृङ्गारकै सम्बन्धमा कुरो के भने, सुनको अत्यधिक प्रदर्शनले सुरक्षा जोखिम मात्र होइन, पुँजीको निष्क्रियता पनि बढाउँछ । यदि सुनलाई बैङ्कमा राखेर उत्पादनमा लगाइयो भने अर्थतन्त्र गतिशील बन्न सक्छ । “घाँटीमा झुन्डिएको सुन सुत्छ, लगानीमा गएको सुन उठ्छ” – यस्तो चेतना जगाउन करको कडाइ उपयोगी हुन सक्छ ।
‘भोजभतेर कर’ – लगाउन बाँकी कर यो पनि हो । सामाजिक उत्सवहरूको कुरा गर्दा त हाम्रो समाजले प्रदर्शनको पराकाष्ठा पार गरेको छ । विवाह, भोजभतेर र व्रतबन्ध – सबै ठाउँमा प्रतिस्पर्धा, प्रदर्शन र खर्चको चर्को चाप छ । सयौँ पाहुनालाई बोलाउने, लाखौँ रूपैयाँ खर्च गर्ने, र टनका टन खाना खेर फाल्ने प्रवृत्तिले समाजलाई आर्थिक रूपमा कमजोर बनाउँदै छ । यदि सरकारले खासगरी बिहेको जन्ती र भोजको गन्ती गरी पाहुनाको सङ्ख्या सीमित ग¥यो र नियम उल्लङ्घन गर्नेहरूलाई खर्च बराबरको ‘विलासिता कर’ तिरायो भने त्यो सामाजिक सुधारको सशक्त उपाय बन्न सक्छ । “खानाभन्दा करको डर ठुलो भयो भने थाल सानो हुन्छ तर ढुकुटी ठुलो हुन्छ” – यस्तो सोचले समाजलाई सन्तुलित बनाउँछ ।
समग्रमा हेर्दा यी प्रस्तावहरू सतहमा हास्यास्पदजस्ता देखिए पनि गहिराइमा गम्भीर अर्थशास्त्र बोकेका छन् । करको दायरा केवल आम्दानीमा सीमित नराखी व्यवहार, बानी र जीवनशैलीसम्म विस्तार गर्दा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । भुँडी घटाउने बहानामा स्वास्थ्य सुधार, व्यसन नियन्त्रणको नाममा स्वदेशी उत्पादनको प्रवद्र्धन, समय बचतको माध्यमबाट उत्पादन वृद्धि र विलासिता नियन्त्रणबाट आर्थिक सन्तुलन – यी सबै उपायहरू देवकोटाको दिमागलाई सम्झेर उत्पन्न भएका व्यवहारिक विचार हुन् । यति भनेपछि यहाँ प्रस्तुत गरिएका दरा विचारलाई कसैले पनि दबाउन सक्ला जस्तो लाग्दैन मलाई ।
अन्ततः, देश बनाउने कुरा केवल नीतिको नारा होइन, नागरिकको निष्ठा र जीवनशैलीको लय पनि हो । जब नागरिक सादगी अपनाउँछन्, श्रममा रमाउँछन् र खर्चमा संयम देखाउँछन्, तब मात्र राज्य सुदृढ बन्छ । कर तिर्नु कर्तव्य हो, तर कर लगाउने ठाउँको चयन नै सबैभन्दा संवेदनशील विषय हो । गरिबको थाप्लामा कर थोपर्नुभन्दा धनीको भुँडी र विलासितामा कर लगाउनु नै न्यायसङ्गत हुन्छ । अन्तिममा फेरि भन्न मन लाग्यो, “भुँडी घट्यो भने विकास बजेट बढ्छ, विलासिता घट्यो भने विकासको गति उकालो चढ्छ ।” यही सूत्रात्मक सन्तुलन समात्न सके मात्र हाम्रो अर्थतन्त्रले साँच्चिकै नयाँ मोड पहिल्याउन सक्छ ।
Leave a Reply