भर्खरै :

लियोन सहरको विद्रोह

  • बैशाख १०, २०८३
  • का. रोहित
  • विचार
लियोन सहरको विद्रोह

सन् १८३१ मा पहिलो विद्रोह
युरोप महादेशमा फ्रान्स भन्ने देश छ । त्यस देशको राजधानी पेरिस हो । पेरिस त्यसबेलाको फ्रान्सको धेरै कलकारखाना भएको सहर थियो । पेरिसजस्तै फ्रान्समा लियोन भन्ने सहर छ । लियोनमा पनि धेरै कारखानाहरू थिए । त्यस सहरमा रेशम र मखमल कपडाका कारखानाहरू धेरै थिए । ती कपडा बुन्ने मजदुरहरूलाई जुलाहा भनिन्थ्यो । लियोनमा ३० हजार जुलाहाहरू लुगा बुन्थे । तिनीहरूले सा¥है कम ज्याला पाउँथे । त्यस ज्यालाबाट तिनीहरू एक छाक मात्रै खान सक्थे । तिनीहरूले आधा पेट खाएर काम गर्नुपर्दथ्यो । यसकारण, गरिब र भोका मजदुरहरू भित्रभित्र सा¥है रिसाएका थिए । जुलाहा ज्यामीहरू आफ्नो गरिबी हटाउन चाहन्थे; भरपेट खान पाउनु पर्छ भन्ने मनमा राख्थे । यसकारण, तिनीहरूले कारखाना मालिकसँग ज्याला बढाइ देउ भनेर माग गरे । ज्यामीहरू एक हुन थाले । यो कुरो सन् १८३१ को थियो ।
कारखानाका मालिकहरूले ज्याला बढाउन मानेनन् । मजदुरहरू पनि भोकै अथवा आधा पेट खाएर काम गर्न मानेनन् । लियोनका सबै मजदुरहरू उठे । यो देखेर कारखानाका मालिकहरूले सरकारसँग गुहार मागे । सरकारले मजदुरहरूलाई समात्न, थुन्न र मारपिट गर्न पुलिस र पल्टन पठायो । पुलिस र पल्टनले मजदुरहरूलाई सभा गर्न दिँदैनथ्यो, भाषण र हडताल गर्न दिँदैनथ्यो । पुलिस र पल्टनले मजदुरहरूले पनि सहन सकेनन् । तिनीहरू झन् एक भएर पुलिस र पल्टनसँग लड्न थाले । भिडन्त झन्झन् चर्कँदै गयो । आखिरमा मजदुरहरूले सरकारी पल्टनमाथि धावा बोल्न थाले । भिडन्त तीन दिनसम्म चल्यो । सरकारको सेना सहरबाट बाहिर धपाइए, लियोन सहर मजदुरहरूले कब्जा गरे ।
विद्रोही मजदुरहरूको झन्डा कालो थियो । ‘काम गरेर जिउ अथवा लड्दा लड्दै मरिजाउ’ भनेर त्यो झन्डामा लेखिएको थियो । कालो झन्डा तिनीहरूको झोंकको चिह्नमात्रै थियो अथवा कालो झन्डा असन्तोषको अभिव्यक्ति मात्रै थियो । तीन दिनसम्म मजदुरहरू सहर कब्जा गर्न लडे । सहर कब्जा भयो । सहर कब्जा गरेपछि के काम गर्ने हो भन्ने तिनीहरूलाई थाहा थिएन, तिनीहरूसँग कुनै योजना र उद्देश्य थिएन ।
अब के गर्नुपर्छ भन्ने कुरा पनि तिनीहरूलाई राम्रो थाहा थिएन । तैपनि, तिनीहरूले १० दिनसम्म सहरलाई आफ्नो कब्जामा राखे । लियोन सहरमा १० दिनसम्म मजदुरहरूको झन्डा फहरिरह्यो । मजदुरहरू सहरका अधिकारी थिए ।
तर, त्यसबेला मजदुरहरूको आफ्नो कुनै राजनैतिक पार्टी थिएन । आफ्नो राजनैतिक पार्टी नहुँदा कसरी जनताको माग पूरा गर्ने, कसरी सरकार बनाउने र पछि आफ्नो शत्रुसँग कसरी लड्ने भन्ने कुरा बुझ्न सकेका थिएनन् ।
हुन त मजदुरहरू आफ्नो सरकार गठन गर्न चाहन्थे र इच्छा गर्थे । तर, स–साना कारखानाका मालिकहरूसमेत तिनीहरूको विरोधमा थिए । ती कारखाना मालिकहरूले अनेक जालझेल, बाधा–अडकाउ तेस्र्याइदिए । मुख्य शत्रुलाई हान्न सानातिना शत्रुलाई एक छिनको निम्ति हातमा लिनुपर्छ भन्ने कुरा मजदुरहरूले जानेनन् । अरु पनि धेरै कारणले आफ्नो सरकार कायम गर्ने कुरामा मजदुरहरू असफल भए । मजदुरहरूलाई राजसत्ता कब्जा गर्ने अनुभव थिएन । अन्तमा, राजधानी पेरिसबाट सरकारले ठुलो पल्टन पठायो । पल्टनले लियोन सहरमाथि धावा बोल्यो । बन्दुक र हातहतियारको बलले सरकारी पल्टन लियोन सहरभित्र पस्यो । सरकारले लियोन सहर फेरि आफ्नो कब्जामा लियो ।
विद्रोहको महत्व
विद्रोह धेरै दिनसम्म टिकेन । सहरमाथिको जीत अस्थायी भयो । तर, त्यसबेला लियोन फ्रान्सको एक महत्वपूर्ण सहर भएको हुनाले त्यस विद्रोह र घटनाले सारा फ्रान्स र युरोपका मजदुरमा खैलाबैला मच्चाइदियो । फ्रान्स र सारा युरोपका मजदुर र क्रान्तिकारीवर्गमा त्यसको ठुलो प्रभाव पर्यो । यसकारण, लियोन सहरको विद्रोह अस्थायी भए पनि त्यसको ठुलो महत्व थियो ।
सन् १८३४ को दोस्रो विद्रोह
सरकारले १८३१ मा मजदुरहरूको विद्रोहलाई दबाइदियो । तर, मजदुरहरूको आर्थिक अवस्थामा कुनै हेरफेर आएन । गरिबी र भोकमरी जस्ताको तस्तै थियो । बरु, उल्टो सरकारी पुलिस र पल्टनको अत्याचारले मजदुरहरू झन् रिसाएका थिए । पल्टनले गरेको अपमानलाई तिनीहरूले बिर्सेका थिएनन् । एकचोटि सङ्गठित भएर विद्रोह गरेका मजदुरहरू अन्याय–अत्याचार सहेर बस्न सक्दैनन् । त्यसकारण, दुई वर्षपछि अर्थात् १८३४ मा लियोनका जुलाहा मजदुरहरू फेरि उठे र विद्रोह गरे । आफ्नो स्थितिलाई बदल्न चाहे । पुरानो अनुभवलाई लागू गरे ।
त्यस विद्रोहमा मजदुरहरू पहिलेभन्दा अति होशियार भए । पहिलेका सफलता र असफलताबाट शिक्षा लिए । मजदुरहरूले मुख्य वर्गशत्रुको विरोधमा अरु वर्गलाई पनि आफूतिर तान्ने नीति लिए ।
त्यो नीतिअनुसार विद्रोहमा मजदुरहरू र क्रान्तिकारी पुँजीपतिवर्ग एक भए । क्रान्तिकारी पुँजीपतिवर्ग राजालाई गद्दीबाट निकाल्न चाहन्थे । सामन्तवाद खतम गर्न चाहन्थे । छोटकरीमा तिनीहरू पुँजीवादी गणतन्त्र चाहन्थे । तिनीहरू राजा नभएको प्रजातन्त्र चाहन्थे । त्यसैलाई गणतन्त्र भनिन्छ ।
त्यस विद्रोहमा जनवादी गणतन्त्रको एक निश्चित नारा थियो । मजदुरहरूले कालो झन्डाको ठाउँमा जनवादी गणतन्त्रको रातो झन्डा बोकेका थिए । मतलब तिनीहरू राजाको शासनको ठाउँमा जनताको शासन स्थापना गर्ने माग गर्दै थिए । विद्रोहीहरूको घोषणामा लेखिएको थियो–
हामी सारा मानव जातिको निम्ति लड्छौँ ।
हामीहरू आफ्नो देशको सुखको निम्ति लड्छौँ ।
हामीहरू भविष्यको सुरक्षाको निम्ति लड्छाँै ।
मजदुरहरूले लियोनलाई आफ्नो कब्जामा लिए । त्यसबेला फ्रान्सका राजा लुई फिलिप थिए । लुई फिलिप सा¥है लोभी र अत्याचारी राजा थिए । लियोन सहरको विद्रोह दबाउन राजाले पेरिसबाट पल्टन पठाए । पल्टनले लियोन सहरमाथि आक्रमण गर्यो । लियोनका बहादुर मजदुरहरू सहरको रक्षाको निम्ति एक हप्तासम्म पल्टनसँग लडिरहे । रगतको खोलो बग्यो । पुँजीपतिवर्गले राजालाई मद्दत गर्यो । राजा र पुँजीपतिहरूले मजदुरहरूलाई निर्दयतापूर्वक दबाएर पुँजीवादी व्यवस्थालाई जिउँदो राखे । यसरी १८३४ को लियोन सहरका मजदुरहरूको विद्रोहलाई दबाई दियो ।
लियोन विद्रोहको शिक्षा
लियोनका मजदुरहरूको विद्रोह हुनुभन्दा एक वर्षअगाडि १८३० मा फ्रान्समा जुलाईको क्रान्ति भएको थियो । त्यो क्रान्ति एक पुँजीवादी क्रान्ति थियो । त्यसबेला मजदुरवर्ग पुँजीपतिवर्गको नेतृत्वमा पछि पछि लागेको थियो । तर, १८३१ र १८३४ मा मजदुरवर्ग आफैँले एक स्वतन्त्र विद्रोह गर्न जाने । ती विद्रोहमा पुँजीपतिवर्गले साथ दिएनन् । विद्रोहमा मजदुरवर्गले शक्तिलाई राम्रोसँग आफ्नो कब्जामा राखेको थियो । तैपनि, मजदुरवर्गको आफ्नो अलग राजनैतिक पार्टी नहुँदा लड्ने तरिका र उद्देश्य प्रस्ट थिएन । आफूसँग मिल्न सक्ने सबै वर्गलाई आफूतिर तान्न सकेन । छोटोमा, मजदुरहरूको आफ्नो राजनैतिक सङ्घर्ष अनुभव र सङ्गठन थिएन । रणनीति, नेतृत्व र वर्गहरूको सम्बन्धबारे अनुभवको कमी थियो । यसकारण, विद्रोहलाई धेरै अगाडि लैजान सकेनन् र विद्रोह दबाइयो ।
तर, लियोन विद्रोहले एउटा नयाँ कुरा देखाइदियो । मजदुरवर्ग पनि एक राजनैतिक शक्ति हो भन्ने कुरो देखाइदियो । त्यो शक्ति राज्य सत्ताको निम्ति लड्न चाहन्छ भन्ने कुरो प्रस्ट थियो । राज्य सत्ताको निम्ति मजदुरवर्गको सङ्घर्ष सुरु भयो भन्ने देखाइदियो । लियोन विद्रोहको यही शिक्षा थियो । त्यसबेला यो शिक्षा एउटा ठुलो र ऐतिहासिक शिक्षा थियो ।
– विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरूबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *