भर्खरै :

बाँच्दा बोझ, मर्दा सम्पत्ति

बाँच्दा बोझ, मर्दा सम्पत्ति

गाउँको किनारमा एउटा पुरानो घरमा एउटा बुढो बुबा बस्थेजसको जीवनको एक मात्र लक्ष्य थियो, छोराछोरीलाई दुःख नहोस् । यही सोचले उनलाई कहिल्यै थाक्न दिएन । बिहानको पहिलो उज्यालोसँगै उनी अर्काको खेतमा पसिनासँग जुध्न पुग्थे र बेलुका अँध्यारोले थाकेका पाइला सम्हाल्दै घर फर्किन्थे । आफ्नो लागि उनले कहिल्यै केही मागेनन् । तर, सन्तानका लागि उनी जस्तोसुकै बाटो हिँड्न तयार भए ।
त्यो क्रममा उनले कहिलेकाहीँ अरूको हक मिचे, कसैलाई धोका दिए, कसैको मन दुखाए । तर, आफूलाई सान्त्वना दिन्थे—“सबै आफ्नै सन्तानका लागि त हो नि ।”
त्यो घरको जग, भित्ताहरू, आँगन—सबैमा उनको पसिना, दुःख र सम्झना मिसिएको थियो । वर्षौँको सङ्घर्षपछि जग्गा बढ्यो, घर ठुलो भयो, लालपुर्जा थुप्रिए । उनी गर्व गर्थे—“अब मेरा छोराहरू मात्र होइन, सात पुस्तासम्म दुःख पाउँदैन ।”
तर, समयले आफ्नो हिसाब आफैँ राखिरहेको थियो । उमेरले शरीर झुकायो, रोगले ओछ्यानमा थिच्यो । बुबा बिरामी परे । डाक्टरले आराम गर्न भन्यो, औषधि नियमित खान भन्यो । तर बुबाको बानी फेरिएन । “अझै केही जोड्न बाँकी छ…”
यो सोचले उनलाई ओछ्यानबाट पनि कामतिर तान्थ्यो । तर छोराहरूको नजरमा, यो सङ्घर्ष होइन, समस्या थियो । बुबालाई औषधि खान भन्यो, मान्दैन । आराम गर भने पनि जिद्दी गर्छ । नजाऊ भने पनि जान्छ, आफैँ दुःख निम्त्याउँछ ।
कहिले कसैले सीधै भनिदिन्थ्यो, “कस्तो अटेरी !” “कस्तो जिद्दी !” “लोभी नै रहेछ, अझै पनि कमाउनै पर्ने ?” “भनेको पटकै मान्दैन !” “दिमाग नै छैन कि क्या हो ?”
हेरचाह गर्न नसक्नुको सबैभन्दा सजिलो उपाय भेटिएको थियो—बुबालाई नै नराम्रो साबित गरिदिने । सेवा गर्नुपर्ने बेला बुबाको बानी गनिन्थ्यो, तर सम्पत्ति बाँड्ने बेला त्यही बुबाको जिन्दगीको पसिना गनिन्थ्यो । बाँच्दा बुबा अटेरी र जिद्दी देखिन्थे,मरेपछि त्यही बुबा ‘मेहनती र दूरदर्शी’ बन्ने तयारीमा थिए ।
बुबा चुपचाप ओछ्यानमा पल्टिन्थे । उनी बोल्दैनथे, तर सबै बुझ्थे । कहिलेकाहीँ उनी टोलाउँथे, अतीत सम्झेर । कुनै बेला छोराहरूको जिद्दी उनको लागि बोझ थिएन, माया थियो । आज भने उनी आफैँ त्यही जिद्दीको नाममा व्याख्या हुन थालेका थिए ।
समय सँगै घरभित्र अर्को आगो बल्न थाल्यो—सम्पत्तिको । छोराहरू भेला भए । कागज, नापजाँच, हिसाबकिताब सुरु भयो । “मैले धेरै खर्च गरेको छु ।” “मैले धेरै सेवा गरेको छु ।” “मलाई बढी हिस्सा चाहिन्छ ।”अनि एकजनाले सिधै भन्यो, “अब बुबालाई किन चाहियो र ? आज हो, भोलि त हामी नै हो नि ।”
त्यो शब्दले बुबाको मन भित्रैदेखि चिरियो । उनले आँखा बन्द गर्दै बिस्तारै भने, “सम्पत्ति जोड्न त सकेँ…तर संस्कार र नैतिक शिक्षा दिन सकिनँ ।”
केही दिनपछि बुबाको सास रोकियो । घरमा रोदन भयो, तर त्यो धेरै दिन टिकेन । छिट्टै भागबन्डा सुरु भयो । जग्गा नापियो, घर छुट्याइयो, कागज बन्यो । सुरुमा सामान्यजस्तो देखिएको कुरा बिस्तारै झगडामा बदलियो ।
“यो मेरो हो !” मैले धेरै गरेको ¤”“तँले के गरेको छस् ?”
दाजुभाइबिच सम्बन्ध चिसिँदै गयो । अन्ततः सम्पत्ति बाँडियोतर सम्बन्ध टुट्यो । एकदिन झगडाकै क्रममा एक छोरो रिसाउँदै भन्यो—“सबै दोष बुबाकै हो । बाँचेकै बेलामा मिलाइदिएको भए यस्तो हुने थिएन ।”अर्कोले थप्यो—“बुबालाई अलिकति बुद्धि भएको भए हामी यस्तो टाढा हुने थियौँ र ?” तेस्रोले कटु हाँसो हाँस्दै भन्यो—“सम्पत्ति जोड्नुभयो, तर मिलाउन जान्नुभएन ।”
त्यो घर, जहाँ कहिल्यै परिवारको आवाज गुञ्जिन्थ्यो,आज सुनसान भयो । तर, कथा त्यहीँ टुङ्गिएन । त्यो सबै दृश्य छोराहरूका आफ्नै सन्तानले चुपचाप हेरिरहेका थिए ।
समय फेरियो । ती सन्तानहरू हुर्किए, ठुला भए । एकदिन उनीहरूका बुबाहरू—त्यही छोराहरू—आफैँ बुढा भए । अब उनीहरूलाई पनि औषधि चाहियो, स्याहार चाहियो । तर इतिहासले कहिल्यै उधारो राख्दैन । फेरि त्यही आवाजहरू फर्किए—“औषधि खान मान्दैन । जिद्दी गर्छ । हामीले भनेको सुन्दैन ।”
एकदिन त उनीहरूका आफ्नै छोराले सीधै भनिदिए—“हामी पनि कति हेर्ने ?” अर्कोले थप्यो—“हामीलाई पनि आफ्नो जिन्दगी छ, दिनभर तपाईँको पछि लाग्न सक्दैनौँ ।”
अन्ततः त्यही शब्द दोहोरियो—“अब किन चाहियो ? भोलि हाम्रै त हो नि ।”त्यो सुन्दा उनीहरू निःशब्द भए । किनकि त्यो आवाज नयाँ थिएन—त्यो त इतिहास बोलेको थियो । त्यस दिन उनीहरूले स्पष्ट बुझे ।
सम्पत्ति मात्र होइन, राम्रा–नराम्रा व्यवहार, आचरण, संस्कार र नैतिक शिक्षा पनि पुस्ता–पुस्तामा सर्दोरहेछ । सिस्नु रोपेर तुलसीको आशा गर्न सकिँदैन तर यो सत्य बुझ्दा धेरै ढिलो भइसकेको थियो ।
यो कथा एउटा परिवारको मात्र होइन—हाम्रो समाजको ऐना हो । आमाबुबाले सन्तानका लागि जीवन अर्पण गर्छन् तर यदि त्यो जीवन सही मूल्य र संस्कारबिना बित्यो भने त्यसको परिणाम पुस्तौँसम्म देखिन्छ ।
सम्पत्ति जोड्नु मात्र ठुलो कुरा होइन—सम्बन्ध जोगाउनु, समयमै न्यायोचित रूपमा मिलाउनु र सन्तानलाई सही संस्कार दिनु त्यसभन्दा धेरै ठुलो कुरा हो ।
किनकि, अन्ततः हामीले छोड्ने सबैभन्दा ठुलो धन लालपुर्जा मात्र होइन— संस्कार, व्यवहार र मानवता नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *