सुकुमवासी र राजनीति
- बैशाख २५, २०८३
हास्यव्यङ्ग्य
पाशुपत क्षेत्रको त्यो अद्वितीय कोलाहल, जहाँ जीवनका दुई विपरीत किनाराहरू एकैसाथ बगिरहेका हुन्छन् । एकातिर शङ्खघण्टको दिव्य नाद र सन्ध्या आरतीको मधुर स्वरले ब्रह्मरन्ध्रलाई स्पर्श गरिरहेको हुन्छ भने अर्कोतिर ब्रह्मनाल र आर्यघाटको त्यो कारूणिक चित्कारले नश्वर शरीरको निस्सारता बोध गराइरहेको हुन्छ । माग्नेहरूको कारूणिक दृश्य, परेवाहरूको भुरभुराहाट र बाँदरहरूको उछृङ्खल बिगबिगीका बिचमा मानिसहरू आफ्नै अस्तित्वको खोजीमा ओहोरदोहोर गरिरहेका हुन्छन् ।
२०८३ वैशाख ७ गतेको त्यो अक्षय तृतीयाको पावन बिहानी, जब सूर्यको पहिलो झुल्कोले काठमाडौँ उपत्यकालाई अँगाल्न बाँकी नै थियो, म पनि त्यही आध्यात्मिक ऊर्जाको तृष्णा बोकेर भक्तपुर सिर्जनानगर चोकबाट गाडी चढेँ । मनमा एउटा पवित्र सङ्कल्प थियो – पशुपतिनाथको पाउमा शिर झुकाउने र आत्माको मैलो पखाल्ने, तर नियतिले मेरो शिर होइन, मेरो पाउको सुरक्षाको कठिन परीक्षा लिने अदृश्य योजना बुनिसकेको रहेछ ।
गाडीमा खासै भिड थिएन । त्यसैले बिहानीको स्वच्छ वायु सेवन गर्दै म समयमै गन्तव्यमा पुगेँ । जुत्ता थन्क्याएर, टोकन खल्तीमा हाली, मन्दिरभित्र प्रवेश गर्दा मलाई एक किसिमको अलौकिक शान्तिको आभास भयो । भजन टोलीले जब भक्ति रसको लहरी छेड्यो, मेरा हातहरू स्वतः ताली पड्काउन व्यस्त भए । चन्दनको सुगन्ध र ‘शिवताण्डवस्तोत्रम्रु’ को ओजपूर्ण लयमा म यसरी हराएँ कि मलाई आफ्नो भौतिक शरीरको मात्र होइन, मेरा मनमा खेल्ने सानातिना असन्तुष्टि र पश्चात्तापका कुरा पनि हराए । भर्खरै राख्न दिएको मेरो नयाँ ‘म्याजिक’ जुत्ताको पनि पूर्ण विस्मृति भयो । विस्मृतिका बिचमै फेरि स्मृति पनि भयो, छोराले मातातीर्थ औँसीमा अत्यन्तै स्नेहपूर्वक उपहार दिएको त्यो कलेजी रङको, जुत्ता–चप्पलको वर्णशङ्कर अवतार मेरो खुट्टाको शोभा मात्र थिएन, मेरो इज्जतको कवच पनि थियो । अगाडिबाट जुत्ताको गम्भीरता र पछाडिबाट चप्पलको उदारता बोकेको त्यो स्वदेशी प्रविधि मेरो पाउका लागि नौलो अनुभूति नै थियो । तर, हाय रे कलि काल ¤ जहाँ देवताको वास हुन्छ भनिन्छ, त्यहीँ मेरो खुट्टाको ‘कवच’ ले कुन चाहिँ अदृश्य शक्तिको ‘वरण’ गर्न पुग्यो, मलाई पत्तै भएन ।
मन्दिर दर्शन र परिक्रमापश्चात् जब म बाहिर निस्किएर ‘जुत्ताघर’ को झ्यालमा पुगेँ, मेरो उत्साह तब एकाएक सेलायो जब मैले पाएको ‘जुत्तेझोला’ मा केही हलुकापन र केही अनौठो महसुस भयो । टोकन दिएर हातमा परेको वस्तुलाई हेर्दा त एक पटक मेरो होसहवास नै उड्यो – मेरो त्यो ‘म्याजिक’ जुत्ताको ठाउँमा एउटा कलेजी रङकै, तर नितान्त स्त्रीलिङ्गी चप्पल पो मेरो खुट्टामा अटाउन खोज्दै थियो । त्यो पल मलाई लाग्यो, पशुपतिनाथको यो प्राङ्गणमा जुत्ताहरूको पनि ठुलै ‘मायाजाल’ चल्दो रहेछ । स्वयंसेवक भाइसँगको मेरो त्यो ‘जुत्ता–संवाद’ कुनै प्रहसनभन्दा कम थिएन । विचराले झोलाबाट दुई–तीन जोर जुत्ता निकालेर मलाई देखाउन त देखायो तर ती कुनै पनि मेरा थिएनन् । अनि म उसको अनुमति लिएर भित्रै पसी खोज्न थालेँ । निकै प्रयास गर्दा पनि मेरो जुत्ता भेटिएन । फेरि टोकन लहरअनुसार झुन्ड्याएका ‘जुत्ते झोलाहरू’ यताउति पार्न पनि भएको थिएन । म भने यस्तो दुविधामा परेँ कि एकातिर आफ्नो जुत्ता हराएको तोड थियो भने अर्कोतिर मलाई नै कर्मचारी ठानेर जुत्ता माग्न आउने भक्तजनहरूको लर्कोले मलाई एउटा नयाँ ‘पेसा’ को अनुभव पनि गराइरहेको थियो ।
वास्तवमा त्यो जुत्ता हराउनु मात्र एउटा भौतिक क्षति थिएन, त्यो त मेरो स्मृति र छोराको प्रेमको अपमानजस्तो लाग्न थाल्यो । आफ्नै देशमा बनेको म्याजिक कम्पनीको त्यो नयाँ कलेजी जुत्ता, जसलाई मैले जम्मा दुई पटक मात्र खुट्टामा सजाउने सौभाग्य पाएको थिएँ, त्यसको वियोगमा मेरो मन कोटेश्वर पुग्दासम्म पनि शान्त हुन सकेन । बाटोमा हिँड्दा खाली खुट्टाको सट्टा स्वयंसेवकले उदारतापूर्वक दिएको उसको आफ्नै नयाँ चप्पल लगाउँदा मलाई लाग्यो – संसारमा त्याग अझै जीवितै छ, तर त्यो त्याग मेरो आफ्नै जुत्ताको बलिदानबाट सुरु भएको थियो । घर पुगेपछि कमलालाई सबै बेलिबिस्तार लगाउँदा उनले मलाई २०६८ सालको त्यो पुरानो ‘जुत्ता काण्ड’ सम्झाएर मेरो ‘हुस्सुपन’ को इतिहासलाई पुनः ताजगी गरिदिइन् । यसरी सम्झँदा, पशुपतिमा जुत्ता हराउनु मेरो नियतिको एउटा अध्यायजस्तै बनिसकेको रहेछ ।
हास्य र विस्मयको चरम सीमा तब पुग्यो जब अस्पताल जान तयार भएकी कमलाले जुत्ताको ¥याकनिर पुगेर एउटा ठुलो चित्कार छोडिन्, “तपाईँले त आज मेरै चप्पल पो लगाएर जानुभएछ कि क्या हो ! यहाँ मेरो चप्पल नै छैन !” उनको यो वाक्यले मेरो मस्तिष्कमा एउटा ठुलो विस्फोट गरायो । म झल्याँस्स भएँ, बिहानको त्यो झिसमिसेमा, भक्ति रसमा लठ्ठिएर मैले ¥याकबाट जे निकालेर खुट्टामा घुसारेँ, त्यो छोराले मलाई किनिदिएको ‘म्याजिक’ जुत्ता नभएर स्वयं कमलाकै ‘ब्ल्याक हर्स’ कम्पनीको चप्पल पो रहेछ ! एउटै रङ र उस्तै कोमलताले गर्दा मेरो खुट्टाले त धोका खायो नै, मेरो विवेकले पनि घुँडा टेकेछ ! पशुपतिमा मेरो जुत्ता कसैले चोरेको होइन रहेछ, मैले त घरकै ‘नासो’ लगेर त्यहाँको ‘जुत्ताघर’ मा अलपत्र पारिदिएर आएको रहेछु ।
यो घटनाले एउटा गहन जीवनदर्शन सिकाएको छ – हामी अक्सर संसारलाई दोष दिन्छौँ, बाहिरी परिस्थितिलाई सराप्छौँ र अरूलाई ‘चोर’ को संज्ञा दिन्छौँ तर वास्तवमा हाम्रो आफ्नै ‘हुस्सुपन’ नै हाम्रा सबै सास्तीको मूल जड हुँदो रहेछ । पशुपतिनाथको त्यो पवित्र स्थलमा मैले जुन जुत्ताको खोजीमा महाभारत मच्चाएँ, त्यो त घरकै ¥याकमा मलाई गिज्याइरहेको रहेछ । भक्तिमा यति धेरै अन्धो हुनु पनि ठीक रहेनछ कि आफूले लगाएको वस्तु नै पहिचान गर्न नसकियोस् । आज त्यो ‘ब्ल्याक हर्स’ चप्पल कुन अज्ञात पाउमा पुलपुलिएर यही उपत्यकामै घुमिरहेको होला, त्यो त केवल उनै पशुपतिनाथलाई नै ज्ञात होला । तर, मेरो लागि भने यो घटना एउटा यस्तो व्यावहारिक पाठ बनेको छ, जसले मलाई हरेक पटक जुत्ता लगाउँदा गोडामा पनि ऐना हेर्न बाध्य बनाउनेछ । भ्रमको मृगतृष्णामा परेर आफ्नै घरको सम्पत्ति गुमाउनु र अर्काको चप्पलमा आश्रित हुनु नै सायद मेरो नियतिको एउटा तीतो तर मीठो यथार्थ रहेछ !
Leave a Reply