भर्खरै :

यस्ता हुनुहुन्थ्यो – कार्ल माक्र्स

  • बैशाख २५, २०८३
  • पौल लाफार्ज
  • विचार
यस्ता हुनुहुन्थ्यो – कार्ल माक्र्स

२.
विद्वान् माक्र्सको हृदयलाई माया गर्न र त्यसलाई चिन्नका लागि उहाँलाई किताब र नोटबुक बन्द गरेपछि हेर्नुपथ्र्यो† परिवारका बिचमा हेर्नुपथ्र्यो अथवा उहाँका साथीहरूको जमातबिच आइतबार साँझ हेर्नुपथ्र्यो । तब उहाँको सङ्गत उधुम रमाइलो हुन्छ भन्ने थाहा हुन्थ्यो । वाक्पटुता र ठट्टा, मनको भित्री कुनाबाट छुट्ने हाँसोको फोहोरा गजब हुन्थ्यो । कसैले चतुर भएर केही भन्यो वा उचित जवाफ फर्कायो भने उहाँको बाक्लो आँखीभौँका डिलमुनि काला आँखा द्वेषले टल्किन्थे । कहिले उहाँका आँखा आनन्दले चम्किन्थे ।
उहाँ मायालु, कोमल र उदार पिता हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, “बालबच्चाले आफ्ना आमाबुबालाई शिक्षित गर्नुपर्छ ।” छोरीहरूमाथि उहाँले कहिल्यै हैकम जमाउनुभएन । उहाँ हुकुमी अभिभावक हुनुहुन्थेन । छोरीहरू उहाँलाई औधि माया गर्थे । उनीहरूलाई उहाँले कहिल्यै आदेश दिनुभएन । बरु, आफूले अ¥हाएको काम गरेर आफूमाथि दया गर्न भन्नुहुन्थ्यो । अथवा, आफूले मनाही गर्न चाहेको काम उनीहरूले गर्नुहुँदैन भनी महसुस गराउनुहुन्थ्यो । कुनै पनि पिताले उहाँका जस्ता विनम्र सन्तान पाउनेछैन । छोरीहरूले उहाँलाई साथी मान्थे र साथीलाई झैँ व्यवहार गर्थे । उनीहरू उहाँलाई ‘बुबा’ नभनी ‘मूर’ भन्थे । माक्र्सको सक्कल गहुँगोरो थियो भने बाल र दा¥ही तिख्खर कालो थियो । त्यही भएर उनीहरूले उहाँलाई त्यो उपमा दिएका थिए । अर्कोतिर, सन् १८४८ अघि कम्युनिस्ट लीगका सदस्यहरू उहाँलाई ‘माक्र्स बा’ भन्थे । जब कि त्यसबेला उहाँ ३० वर्ष पनि पुग्नुभएको थिएन ।
बालबच्चासँग खेल्दै माक्र्सले घण्टौँ बिताउने गर्नुहुन्थ्यो । ठुलो भाँडामा पानी हालेर त्यसमा समुद्री लडाइँ लडेको छोरीहरूलाई अझै सम्झना छ । बुबाले पानीमा आफ्ना लागि बनाएका कागतका पानीजहाज जलाउँदा उनीहरू असाध्यै खुसी हुन्थे ।
आइतबारका दिन उनीहरूले बुबालाई काम गर्न दिन्नथे । उहाँको पूरै दिन उनीहरूको हुन्थ्यो । मौसम साफ भए पूरै परिवार गाउँतिर घुमघाम गर्न जान्थ्यो । बाटोमा कुनै सस्तो होटलमा पसेर उहाँहरूले सामान्य रोटी, पनिर र जिन्जर बियर खानुहुन्थ्यो । छोरीहरू साना छँदा आफैले गढेका अनगिन्ती परीकथा सनाएर माक्र्सले लामो यात्रालाई छोट्याउनुहुन्थ्यो । उहाँले हिँड्दाहिँड्दै कथा बनाउनुहुन्थ्यो र बाटोको लम्बाइअनुसार त्यसमा तनाव बढाउँदै कथालाई झन्झन् जटिल बनाउनुहुन्थ्यो । कथा सुन्ने मेसोमा लालाबालाहरूले आफ्नो थकान बिर्सिन्थे ।
माक्र्सको कल्पनाशक्ति असाध्यै उर्वर थियो । सुरुसुरुमा उहाँले कविता लेख्नुभएको थियो । उहाँकी जहान जेनीले पतिले जवानीमा लेखेका कविताहरू अत्यन्त जतन गरेर राख्नुभएको थियो । ती कविता उहाँले कसैलाई देखाउनुहुन्थेन । उहाँका आमाबुबाले उहाँ एक साहित्यकार वा प्रोफेसर बनेको हेर्न चाहनुहुन्थ्यो† समाजवादी आन्दोलन वा राजनीतिक अर्थशास्त्रमा होमिएर माक्र्सले आफ्नो स्तर खस्काउनुभएको ठान्नुहुन्थ्यो । ऊ बेला जर्मनीमा राजनीतिक अर्थशास्त्रलाई उति रुचाइन्नथ्यो ।
माक्र्सले आफ्ना छोरीहरूसँग (रोमन जननायक) ग्राकाइको विषयमा नाटक लेखिदिने वचन दिनुभएको थियो । दुर्भाग्य, उहाँले आफ्नो वचन राख्न सक्नुभएन । ‘वर्गसङ्घर्षका योद्धा’ भनिने माक्र्सले प्राचीन संसारमा भएको त्यो भयावह र प्रभावशाली वर्गसङ्घर्षलाई कसरी देखाउनुहुन्थ्यो होला भनी जान्न गजब नै हुने थियो । माक्र्सले धेरै योजना बनाउनुभएको थियो । ती योजना पूरा हुन पाएनन् । उहाँ तर्कशास्त्रबारे पुस्तक लेख्न चाहनुहुन्थ्यो, दर्शनको इतिहास लेख्न चाहनुहुन्थ्यो । सानै उमेरदेखि दर्शनको इतिहास उहाँको मनपर्ने विषय थियो । आफ्ना सबै साहित्यिक योजना पूरा गर्न र विश्वलाई आफ्नो दिमागी खजानाको एक अंश पस्किनका लागि उहाँ कम्तीमा सय वर्ष बाँच्नुपर्ने थियो ।
माक्र्सकी जहान जेनी जीवनभर उहाँकी सच्चा साथी रहनुभयो । उहाँहरूले सानै उमेरमा एकअर्कालाई चिन्नुभएको थियो र सँगै हुर्किनुभएको थियो । मगनी हुँदा माक्र्स जम्मा १७ वर्षको हुनुहुन्थ्यो । विवाह हुनुभन्दा अगाडि उहाँहरूले ७ वर्ष पर्खिनुप¥यो । सन् १८४३ मा उहाँहरूको बिहे भयो । त्यसपछि उहाँहरू कहिल्यै अलग्गिनुभएन ।
श्रीमती माक्र्स पतिभन्दा केही वर्षअघि बित्नुभयो । उहाँ जर्मनीको एक खानदानी परिवारमा जन्मिनुभएको थियो । तर, उहाँमा जस्तो समानताको भावना अरूमा पाइन्न । उहाँको मनमा सामाजिक भेद वा उँचनीचको कुनै पर्खाल थिएन । कामदारहरू कामकाजी लुगा लगाएर आफ्नो घरमा खाना खान आउँदा पनि उनीहरूसँग उहाँले राजकुमार वा राजकुमारीसँग जस्तै विनम्रता र शिष्टतासाथ व्यवहार गर्नुभयो । सबैजसो देशका धेरै मजदुरहरूले उहाँको सत्कार पाए । म ढुक्क छु, उनीमध्ये कसैले पनि आफूलाई यति न्यायो र आत्मीय सत्कार गर्ने महिला एक कुलीन परिवारकी छोरी हुनुहुन्छ भनेर सपनामा पनि चिताएका थिएनन् । श्रीमती माक्र्स आमातिरबाट आर्गिलका सामन्तकी वारिस हुनुहुन्थ्यो भने उहाँका दाजु प्रसियाली राजाका मन्त्री हुनुहुन्थ्यो । तर, उहाँलाई यी कुराले छुँदैनथ्यो । आफ्ना कार्लको लागि उहाँले सबथोक त्याग्नुभएको थियो । एकदम कष्टकर घडीमा पनि उहाँले माक्र्सलाई पछ्याएकोमा कहिल्यै पछुतो मान्नुभएन ।
उहाँ स्पष्ट र बुद्धिमान हुनुहुन्थ्यो । साथीसङ्गीलाई उहाँले लेखेका पत्रमा एकखाले सहजता पाइन्छ । तिनमा कत्ति पनि बनावटीपन पाइँदैन । बरु, तिनमा उहाँको मौलिक र पौरखी स्वभावको गजब झलक पाइन्छ । उहाँको पत्र पाउनु आफैमा एक सम्मान थियो । जोहान फिलिप बेकरले उहाँका कैयन् पत्र प्रकाशित गरेका छन् । हाइने आफैमा निर्मम व्यङ्ग्यकार भए पनि माक्र्सको व्यञ्जनाबाट तर्सिनुहुन्थ्यो । तर, उहाँ श्रीमती माक्र्सको तीक्ष्ण संवेदनशीलताका ठुला प्रशंसक हुनुहुन्थ्यो । माक्र्स परिवार पेरिसमा बस्दा हाइने बरोबर उहाँहरूलाई भेट्न जानुहुन्थ्यो ।
माक्र्स आफ्नी जहानको बुद्धिमत्ता र आलोचना शक्तिलाई अत्यन्त सम्मान गर्नुहुन्थ्यो । त्यसैले आफ्ना सबै पाण्डुलिपिहरू उहाँलाई देखाउनुहुन्थ्यो र उहाँको विचारलाई ठुलो महत्व दिनुहुन्थ्यो । यो कुरा सन् १९६६ मा माक्र्सले मसित भन्नुभएको थियो । छापाखानामा पठाउनुभन्दा अगाडि श्रीमती माक्र्सले आफ्ना पतिका पाण्डुलिपिहरू साफी गर्नुहुन्थ्यो ।
श्रीमती माक्र्सका धेरै सन्तान भए । सन् १८४८ को क्रान्तिपछि परिवारले निकै कष्टकर समय भोग्नुप¥यो । उहाँका तीन कलिला सन्तानको मृत्यु भयो । त्यो बेला उहाँहरू लन्डनमा आप्रवासी हुनुहुन्थ्यो । उहाँहरू सोहो स्क्वायरको डिन स्ट्रिटमा दुई साँघुरा कोठामा बस्नुहुन्थ्यो । मैले उहाँका तीन छोरीलाई मात्र चिन्न पाएँ । सन् १८६५ मा माक्र्ससँग परिचय हुँदा उहाँकी कान्छी छोरी इल्यानोर (श्रीमती एभ्लिङ) सानै थिइन् । उनी असाध्यै प्यारी र तेज थिइन् । इल्यानोर जन्मिँदा आफ्नी पत्नीले झुक्किएर छोरा जन्मेको भन्ठानेको माक्र्स सुनाउने गर्नुहुन्थ्यो । अरू दुई छोरीमा एकदम अनौठो र सुमधुर भिन्नता थियो । ठुली जेनी (श्रीमती लङ्गुएट) को सक्कल बुबाको जस्तो थियो – गहुँगोरो र ओजिलो । आँखा काला र केश निक्खर कालो थियो । माइली लारा (श्रीमती लाफार्ज) गोरी थिइन् भने उज्यालो र घुम्रिएको केश गोधुली घामका किरण पक्रेजस्तो सुनौलो थियो । उनी आफ्नी आमाजस्ती थिइन् ।
माक्र्स परिवारकी अर्की महत्वपूर्ण सदस्य थिइन् – हेलेन डेमुथ । उनी किसान परिवारकी छोरी थिइन् । उनी श्रीमती माक्र्सको बिहे हुनुभन्दा धेरै अगाडिदेखि उहाँकी सेविका थिइन् । त्यो बेला उनी सानै थिइन् । श्रीमती माक्र्सको बिहेपछि उनी पछिपछि आइन् र आफूलाई बिर्सेर माक्र्स परिवारको सेवामा समर्पित भइन् । माक्र्स दम्पती निर्वासनका कारण युरोपका विभिन्न देशमा भौतारिँदा उनी सँगै थिइन् । उनी घरकी बुद्धिमान सदस्य थिइन् । जति कठिन परिस्थितिमा पनि उनले उम्किने उपाय खोजिहाल्थिन् । उनको जोरजाम र फारोतिनो गर्ने सीपकै कारण माक्र्स परिवार कहिल्यै अति आवश्यक साधनबाट वञ्चित हुनुपरेन । उनले गर्न नसक्ने केही थिएन । उनी श्रीमती माक्र्ससँगै खाना पकाउँथिन्, बालबच्चालाई लुगा लगाइदिन्थिन्, तिनका लागि लुगा काटेर सिउँथिन् । उनी घरकुरुवा मात्र होइन, घरमुली पनि थिइन् । उनी पूरै घर चलाउँथिन् । बालबच्चाले उनलाई आमालाई जस्तै माया गर्थे । उनीहरूप्रति उनको मनमा ममता थियो । त्यही भएर उनलाई आमाको हक थियो । श्रीमती माक्र्सले उनलाई सहोदर साथी मान्नुहुन्थ्यो भने माक्र्सले उनलाई विशेष साथी बनाउनुभयो । उनीसँग माक्र्स चेस खेल्नुहुन्थ्यो र धेरैपल्ट हार्नुहुन्थ्यो ।
माक्र्स परिवारलाई हेलेनले आँखा चिम्लेर माया गरिन् । उनको नजरमा यो परिवारले गरेपछि जे पनि असल हुन्थ्यो, अर्को हुनै सक्दैनथ्यो । माक्र्सको आलोचना गर्ने जोसुकैसँग उनी भिड्थिन् । माक्र्स परिवारसँग घनिष्ट हुने सबैलाई उनले आमाले जस्तो हेरविचार दिइन् । लाग्थ्यो, उनले माक्र्स परिवारलाई धर्मपरिवार बनाएकी हुन् । उनी माक्र्स र उहाँकी जहानभन्दा बढी बाँचिन् । त्यसपछि उनले एङ्गेल्स परिवारको हेरविचार गरिन् । केटौले उमेरदेखि नै उनले एङ्गेल्सलाई चिनेकी थिइन् । माक्र्स परिवारलाई झैँ उनले एङ्गेल्सलाई पनि अपनाइन् ।
साँच्चै भन्ने हो भने एङ्गेल्स माक्र्स परिवारका सदस्य हुनुहुन्थ्यो । माक्र्सका छोरीहरूले उहाँलाई दोस्रो बुबा भन्थे । उहाँ माक्र्सका विश्वासपात्र (अल्टर इगो) हुनुहुन्थ्यो । लामो समयसम्म जर्मनीमा यी दुई नाम कहिल्यै अलग्गिएनन् । भविष्यमा पनि उहाँहरू कहिल्यै अलग्गिनु हुनेछैन ।
हाम्रो युगमा माक्र्स र एङ्गेल्स प्राचीन कविहरूले चित्रण गरेजस्तो आदर्श मित्रताको प्रतिमूर्ति हुनुहुन्थ्यो । युवाकालदेखि नै उहाँहरू सँगै र समानान्तर ढङ्गले विकसित हुनुभयो† विचार र भावनाको आत्मीय सङ्गतमा बाँच्नुभयो† एउटै क्रान्तिकारी आन्दोलनमा होमिनुभयो । सँगै बस्न मिलेसम्म दुवैले मिलेर काम गर्नुभयो । घटनाक्रमले करिब २० वर्षसम्म नअलग्याएको भए सायद उहाँहरूले जीवनभर सँगसँगै काम गर्नुहुने थियो । सन् १८४८ मा (जर्मन) क्रान्ति पराजयमा टुङ्गियो । त्यसपछि एङ्गेल्स म्यानचेस्टर जानुप¥यो भने माक्र्स लन्डनमै बस्न बाध्य हुनुभयो । यति हुँदाहुँदै पनि उहाँहरूले आफ्नो बौद्धिक जीवनलाई सँगसँगै अगाडि बढाउनुभयो । उहाँहरू दैनिकजसो पत्राचार गर्नुहुन्थ्यो† राजनीतिक र वैज्ञानिक घटनाबारे आफ्ना विचार साटासाट गर्नुहुन्थ्यो† आफूले गरिरहेको कामबारे एकअर्कालाई जानकारी गराउनुहुन्थ्यो । कामबाट छुटकारा पाएलगत्तै एङ्गेल्सले म्यानचेस्टरबाट हुत्तिँदै लन्डन जानुभयो र आफ्ना प्रिय माक्र्सबाट १० मिनेटको दूरीमा पर्ने गरी घर बनाउनुभयो । सन् १८७० देखि माक्र्सको मृत्यु (१८८३) नहुँदासम्म उहाँहरूले एकअर्कालाई नभेटेको दिन थिएन । उहाँहरू कहिले माक्र्सकहाँ त कहिले एङ्गेल्सको घरमा भेट्नुहुन्थ्यो ।
एङ्गेल्सले आफू म्यानचेस्टरबाट आउने खबर पठाउँदा माक्र्स परिवारमा जहिल्यै हर्षोल्लास छाउँथ्यो । धेरै अगाडिदेखि नै उहाँ आउने विषयमा चर्चा चल्थ्यो । उहाँ आउने दिन माक्र्स कति अधीर बन्नुहुन्थ्यो भने उहाँले काम गर्नै सक्नुहुन्थेन । भेटेपछि दुवैजनाले सँगै चुरोट र रक्सी पिउनुहुन्थ्यो र पछिल्लो भेटपछि भएका सारा घटनाक्रमबारे कुराकानी गरेर रात बिताउनुहुन्थ्यो ।
माक्र्सले एङ्गेल्सको विचारलाई सबैभन्दा बढी महत्व दिनुहुन्थ्यो । किनभने, एङ्गेल्सलाई उहाँ आफ्ना साझेदार बन्न योग्य ठान्नुहुन्थ्यो । उहाँको लागि एङ्गेल्स पूरै पाठक जमात बराबर हुनुहुन्थ्यो । एङ्गेल्सलाई मनाउन वा उहाँको विचार बदल्न आफूले जति मेहनत गर्नुपरे पनि माक्र्सलाई अप्ठेरो लाग्दैनथ्यो । जस्तो, अल्बिजेन्सिजको राजनीतिक र धार्मिक युद्धको विषयमा भएको कुनै मामुली कुरामा एङ्गेल्सको विचार बदल्नका लागि माक्र्सले तथ्य खोज्न पूरै किताब बारम्बार पढ्नुभएको थियो । (त्यसको विषयवस्तु अहिले मैले बिर्सेँ ।) एङ्गेल्सलाई आफ्नो विचारमा ल्याउनु माक्र्सका लागि एउटा विजय थियो ।
माक्र्सलाई एङ्गेल्समा गर्व थियो । मसँग एङ्गेल्सका सारा नैतिक र बौद्धिक गुणहरूको बखान गरेर उहाँले आनन्द लिनुभयो । उहाँसँग परिचय गराउन एकपल्ट उहाँले मलाई म्यानचेस्टरको विशेष भ्रमण गर्नुभयो । उहाँले एङ्गेल्सको चौतर्फी ज्ञानको तारिफ गर्नुहुन्थ्यो । उहाँमाथि झिनो समस्या आइलागेको पनि उहाँ देख्न सक्नुहुन्थेन, त्यसैले पीर मानिरहनुहुन्थ्यो । उहाँले मसित भन्नुभयो, “सिकारमा जाने बेला उहाँ कुनै दुर्घटनामा पर्नुहुन्छ कि भनेर म सधैँ आत्तिन्छु । उहाँ एकदम फुक्काफाल हुनुहुन्छ । लगाम खुकुलो छोडेर मैदानमा घोडा दौडाउनुहुन्छ† अगाडि केकस्तो अवरोध छ, देख्नुहुन्न ।”
माक्र्स मायालु पति र पिताका साथै एक असल साथी पनि हुनुहुन्थ्यो । उहाँले आफ्नी पत्नी, छोरीहरू, हेलेन र एङ्गेल्समा प्रेमिल पात्र भेट्नुभयो ।
३.
माक्र्सले एक उग्र पुँजीवादी नेताको रूपमा जीवन सुरु गर्नुभयो । तर, आफ्नो विचार वा विरोधको स्वर प्रस्ट हुँदै गएपछि पुराना साथीहरूले आफूलाई एक्लै पारेको पाउनुभयो । आफू समाजवादी बनेपछि आफूलाई तिनले शत्रुको व्यवहार गरेको महसुस गर्नुभयो । उहाँलाई फसाउन खोजियो । अन्त्यमा उहाँको बद्ख्वाइँ गरियो† उहाँमाथि हिलो छ्यापियो† अनि उहाँ र उहाँका रचनालाई मौनताले मार्न खोजियो । यति गरेपछि उहाँलाई जर्मनीबाट देश निकाला गरियो । उहाँले ‘लुइ बोनापार्टको अठारौँ ब्रुमियर’ लेख्नुभयो । त्यो पुस्तकले माक्र्स सन् १८५१ डिसेम्बर २ को सत्ताविद्रोहका कारण र परिणामको वास्तविक प्रकृति बुझ्ने र त्यसको खुलासा गर्ने सन् १८४८ का एक मात्र इतिहासकार र राजनीतिज्ञ हुनुहुन्थ्यो भन्ने पुष्टि ग¥यो । तर, त्यो पुस्तकलाई पूर्णतः बेवास्ता गरियो । पुस्तक सा¥है सटिक थियो । तैपनि, कुनै पनि पुँजीवादी पत्रिकाले त्यसको चर्चा गरेन ।
(प्रुँधोको) ‘गरिबीको दर्शन’ लाई जवाफ दिँदै माक्र्सले ‘दर्शनको गरिबी’ लेख्नुभयो । उहाँले ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा एक योगदान’ लेख्नुभयो । यी दुवै कृतिलाई पनि त्यसरी नै बेवास्ता गरियो । मौनताले मार्ने यो षड्यन्त्र १५ वर्षसम्म चालू रह्यो । त्यसपछि प्रथम इन्टरनेसनल र ‘पुँजी’ को पहिलो खण्डले त्यो षड्यन्त्र चि¥यो । माक्र्सलाई अब बेवास्ता गर्न सकिन्थेन । इन्टरनेसनल फस्टायो र विश्वभरि आफ्ना उपलब्धिहरूको सौरभ फैलायो । माक्र्सले आफूलाई पृष्ठभागमा राखेर अरूलाई गतिविधि गर्न दिनुभयो । तर, छिट्टै पर्दापछाडि को छ भनेर सबैले थाहा पाए ।
जर्मनीमा सामाजिक जनवादी पार्टीको स्थापना भयो । त्यो कति शक्तिशाली बन्यो भने त्यसमाथि प्रहार गर्नुअघि बिस्मार्कले त्यसको तारिफ गर्ने गर्थे । (मजदुर नेता) लासालका चेला स्वित्जरले श्रमजीवी जनताबिच (माक्र्सको कृति) ‘पुँजी’ को प्रचार गर्न शृङ्खलाबद्ध लेख लेखे । माक्र्सले ती लेखको प्रशंसा गर्नुभयो । इन्टरनेसनलको महाधिवेशनमा जोहान फिलिप बेकरले राखेको प्रस्ताव पारित भयो । प्रस्तावमा विश्वका सबै देशका समाजवादीहरूले ‘पुँजी’ लाई ‘श्रमजीवी वर्गको बाइबल’ को रूपमा ध्यान दिनुपर्ने निर्देशन थियो ।
सन् १८७१ मार्च १८ को विद्रोहलाई मान्छेहरूले इन्टरनेसनलको निर्देशनअनुसार भएको अर्थमा लिन खोजे । पेरिस कम्युनलाई विश्वभरिका पुँजीवादी छापाहरूको आक्रोशबाट बचाउने जिम्मेवारी प्रथम इन्टरनेसनलको परिषद्ले लिएको थियो । यी दुवै विद्रोह विफल भए । तर, यसपछि संसारभरि माक्र्सको नाम चल्यो । उहाँलाई वैज्ञानिक समाजवादका महानतम् सिद्धान्तकार मानियो† प्रथम अन्तर्राष्ट्रियले चलाएको श्रमजीवी वर्गीय आन्दोलनका सङ्गठक भनियो ।
‘पुँजी’ सबै देशका समाजवादीहरूको लागि मार्गदर्शक बन्यो । सबै समाजवादी र श्रमजीवीवर्गका पत्रपत्रिकाले यसका वैज्ञानिक सिद्धान्तहरूको प्रचारप्रसार गरे । न्युयोर्कमा ठुलो हडताल भयो । हडतालको बेला ‘पुँजी’ का अनुच्छेदहरूलाई पर्चाको रूपमा प्रकाशित गरिएको थियो । त्यसले मजदुरहरूलाई कष्ट सहन प्रेरित ग¥यो र तिनको माग कति जायज छ भनेर देखाइदियो ।
‘पुँजी’ लाई रुसी, फ्रान्सेली र अङ्ग्रेजीजस्ता युरोपका प्रमुख भाषाहरूमा उल्था गरियो । त्यसका अनेक परिच्छेदलाई जर्मन, इटालियन, फ्रेन्च, स्पेनिस र डच भाषामा प्रकाशित गरियो । युरोप र अमेरिकामा विरोधीहरूले ‘पुँजी’ मा उल्लेख सिद्धान्तहरूको खण्डन गर्न खोज्दा अर्थविद्हरूले तिनको मुख थुन्ने गरी समाजवादी जवाफ फर्काइहाल्थे । साँच्चै आज ‘पुँजी’ इन्टरनेसनलको महाधिवेशनले भनेजस्तो ‘श्रमजीवी वर्गको बाइबल’ बनेको छ ।
अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनमा भाग लिँदा माक्र्सले आफ्नो वैज्ञानिक खोजबिनका लागि कम समय पाउनुभयो । आफ्नी पत्नी र जेठी छोरीको निधनले झन् ठुलो आघात प¥यो ।
पत्नीप्रति उहाँको प्रेम गहन र घनिष्ट थियो । पत्नीको सौन्दर्य उहाँको गौरव र आनन्द थियो । क्रान्तिकारी समाजवादीको रूपमा उहाँले जीवनमा अनेक उकालीओराली भोग्नुप¥यो । त्यसले गर्दा उत्पन्न हुने कठिनाइलाई पत्नीको सरलता र समर्पणले हलुका बनाइदिन्थ्यो । जून व्यथाले जेनी माक्र्स बित्नुभयो, त्यसले उहाँका पतिको जीवन पनि छोट्यायो । उहाँ लामो र दुःखदायी व्यथाले थला पर्नुभयो । त्यो बेला माक्र्स पनि अनिद्राका साथै व्यायाम, ताजा हावाको अभावले गल्नुभयो । मनोबल कमजोर भयो । उहाँलाई निमोनियाले समात्यो । त्यही व्यथाले पछि उहाँको जीवन ह¥यो ।
सन् १८८१ डिसेम्बर २ गते श्रीमती माक्र्स बित्नुभयो । अन्तिम क्षणसम्म पनि उहाँ एक कम्युनिस्ट र भौतिकवादी रहनुभयो । उहाँ मृत्युसँग डराउनुभएन । मृत्युले उहाँलाई यातना दिन सकेन । अन्तिम घडी नजिकिँदै गरेको आभास पाएपछि उहाँले भन्नुभयो, “कार्ल, मेरो तागत सक्किँदै छ ।” उहाँका अन्तिम शब्द थिए ती । यिनै शब्द बुझ्न सकियो ।
डिसेम्बर ५ गते हाइगेट चिहानभित्र धर्मले पवित्र नपारिएको जमिनमा उहाँलाई समाधिस्थ गरियो । उहाँ र माक्र्सको बानीअनुरूप उहाँको अन्त्येष्टिमा सार्वजनिक तामझाम गरिएन । थोरै घनिष्ट मित्रहरूले शवलाई बोकेर उहाँको अन्तिम विश्रामस्थलमा पु¥याए । उहाँको चिहानमा माक्र्सका पुराना मित्र एङ्गेल्सले मन्तव्य राख्नुभयो ।
पत्नीको निधनपछि माक्र्सको जीवन एकपछि अर्को शारीरिक र मानसिक कष्टमा डुब्दै गयो । ठुलो पराक्रमसाथ उहाँले त्यो सकसको सामना गर्नुभयो । एक वर्षपछि उहाँकी जेठी छोरी जेनीको आकस्मिक निधन भयो । यसले उहाँ मर्माहत हुनुभयो र कहिल्यै निको हुनुभएन ।
६४ वर्षको उमेरमा सन् १८८३ मार्च १४ गते आफ्नै कुर्सीमा उहाँ बित्नुभयो ।
समाप्त
अनुवाद : मोहिनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *