यस्ता हुनुहुन्थ्यो – कार्ल माक्र्स
- बैशाख २५, २०८३
१ मे १८८६ को दिन संरा अमेरिकामा मजदुरवर्गले देशव्यापी हडताल गर्ने तयारी गर्दै थियो । त्यसबेला पुँजीपतिवर्गले मजदुरहरूलाई १४–१५ र १८ घण्टासम्म काम गराउँथ्यो । यसकारण, मजदुरहरूको मुख्य माग थियो ज्याला बढाउने र ८ घण्टाको कामको दिन । १ मेको दिन देशभर सबै कलकारखाना र यातायात बन्द गर्ने तयारी थियो । तर, पुँजीपतिवर्ग र तिनीहरूको भतुवा प्रेस र खबरकागतहरूले त्यस देशव्यापी हडताललाई ‘कम्युनिस्ट विद्रोह’ भनेर होहल्ला मच्चाए† हडतालीहरूमाथि बम हान्नुपर्छ र दबाउनुपर्छ भनेर तर्साउने र भड्काउने कामहरू गरे । हडतालमा भाग लिने मजदुरहरू र मजदुर नेताहरूलाई उनीहरूले हत्या गर्ने धम्कीसमेत दिए । तर, अमेरिकी मजदुरहरू धम्की र भड्काउने कुराको अगाडि झुक्न मानेनन् र १ मेको दिन देशव्यापी हडतालको निर्णयमा अडिरहे ।
संरा अमेरिकाको उत्तरमा शिकागो भन्ने एउटा सहर छ । त्यो सहर इरी दहको नजिकै या किनारामा छ । त्यहाँ मासु र खेतीका मालसामान उत्पादन गर्ने उद्योगहरू धेरै थिए । स्थानीय कलकारखानाका मालिक पुँजीपति र तिनीहरूकै पैसामा पालिएका प्रतिक्रियावादी अखबारहरू एक भए । हुन त पुँजीवादी देशका ठुलठुला अखबारहरू धेरैजसो पुँजीपतिवर्गकै हुन्छन् । पुँजीवादी विचारधारा प्रचार गर्न, आफ्नो सामानको विज्ञापन दिन, लोकमत आफ्नो पक्षमा लिन र नाफा खान अखबार चलाउन दिएको हुन्छ । ती पुँजीपतिवर्ग र प्रतिक्रियावादी अखबारहरू मिलेर हडताललाई निर्दयतापूर्वक दबाउने निधो गरे र सोअनुसार तयारी गरे । बाहिरबाट थुप्रै सिपाही, पुलिस, डाँकु, गुण्डा र जासुसहरू ल्याएर शिकागो सहर भरिदिए । पुँजीवादी अखबारहरूले लेख्न थाले, “सडकको हरेक बत्तीको खम्बालाई एक कम्युनिस्टको लासले सिँगार्नुपर्छ ।’ प्रतिक्रियावादी अखबारहरूले माग गरे, ‘हुलदङ्गालाई गोली र तिनीहरूका नेतालाई डोरी ।” शिकागोका मजदुरवर्ग पुँजीपतिवर्गको त्यो धम्कीबाट पछि हट्ने कुरै थिएन । आफूलाई पशुसरह व्यवहार गर्ने शोषण र अन्याय अत्याचार गर्ने वर्गशत्रुलाई मजदुरहरू सा¥है घृणा गर्थे । वर्गशत्रुको विरोधमा लड्न तिनीहरूको रगत उम्लिरहेको थियो ।
पहिलो मे १८८६ को दिन थियो । देशभर हडताल सुरु भयो । ८ घण्टाको कामको दिन सारा मजदुरवर्गको माग थियो । हजारौँ हजार मजदुरहरू हडतालमा भाग लिँदै थिए । शिकागो सहरका मजदुरवर्ग वर्गसङ्घर्षको मोहडामा थियो । ४० हजार मजदुरहरूले हडतालमा भाग लिए । शिकागोको वातावरण डरलाग्दो थियो । मजदुरवर्गमा क्रान्तिकारी जोश भरिएको थियो । पुँजीपतिवर्ग र त्यसका सिपाहीँ, पुलिस, डाँकु, गुण्डा र जासुस पिछलग्गूहरू हिंस्रक पशुहरूजस्तै निहुँ खोज्दै थिए । हडताल दोस्रो दिन पनि चल्यो । हडताली मजदुरहरूको सङ्ख्या बढ्दै गयो । एक दुई दिनभित्रै हडताली मजदुरहरूको सङ्ख्या ८० हजार पुग्यो । पहिलो र दोस्रो मेको हडताल शान्तिपूर्ण ढङ्गले टुङ्गियो ।
३ मेको दिन पूर्ण हडताल चालु रह्यो । हरेक मजदुरको मुखमा ‘८ घण्टाको कामको दिन’ थियो । पुलिसले निःशस्त्र हडताली मजदुरहरूमाथि गोली चलायो । यो पुँजीपतिवर्गको पहिलेदेखिको कालो योजना थियो । पुलिसको गोलीले पाँच जना मजदुरहरू मारिए र ५० जवान मजदुरहरू गम्भीररूपले घाइते भए । त्यस घटनाले शिकागोको स्थिति झन् चर्किन गयो । मजदुरवर्गमा वर्गशत्रुको विरोधमा बदलाको भावना जाग्नु स्वाभाविक थियो ।
४ मेको दिन मजदुरहरूले गोलीकाण्डको विरोधमा एक विरोधसभा आयोजना गरे । विरोधसभा एउटा ठुलो जनसभा थियो । सभामा पुलिसको एक ठुलो दलले पहरा दिइरहेको थियो । त्यसैबेला पुलिसकै भड्काउने दलालले पुलिस दलमाथि एक बम फ्याँकिदियो । त्यस बमले ७ जवान पुलिसहरू मारिए । प्रतिक्रियावादीवर्ग निहुँ खोज्दै थियो । निहुँ पाइहाल्यो । निहुँ पाउनासाथै पुलिसले मजदुर र जनताका सभामाथि दनादन गोली हान्न थाल्यो । त्यस गोलीकाण्डमा धेरै मजदुरहरू मारिए र अनगिन्ती मानिसहरू घाइते भए । प्रशासकहरूले हडताल र मजदुर आन्दोलनका नेताहरूलाई पक्राउ गरे । पुलिसमाथि बम फ्याँक्ने पुँजीपतिवर्गकै दलाल थियो । त्यो पुँजीपतिवर्ग र सरकारले नै गर्न दिएका थिए । त्यो मजदुर आन्दोलन दबाउने एक निहुँ थापेको मात्र थियो ।
सरकारले त्यस बम काण्डको आरोप मजदुर नेताहरूलाई दियो र तिनीहरूको विरोधमा मुद्दा चलायो । त्यो सरकारको आफ्नो अपराध लुकाउने एक छलमात्रै थियो । सरजमिन भयो । जासुस र भड्काउने काम गर्न पालेका भतुवाहरू सरजमिनमा सरकारी साक्षी थिए । ती साक्षी सबै पैसाको भरमा झूटा बयान दिन्थे । त्यो त सरकारले आफ्नो पक्ष बलियो पार्न र मजदुर आन्दोलन दबाउन अदालती अङ्ग मात्रै पूरा गरेको थियो ।
मजदुर नेताहरू अदालतमा उभ्याइए । आफ्नो बयानमा एक अभियुक्त मजदुर नेताले भने, ‘तिमीहरू मलाई फाँसी दिएर दुःखकष्टमा बाँचिरहेका लाखौँ–करोडौँ थिचिएका कामदार जनताको आन्दोलनलाई रोक्न सकिन्छ भनेर सोच्छौ र यही तिमीहरूको धारणा छ भने हामीलाई झुन्ड्याऊ तर तिमीहरूले थाहा पाउनुपर्छ कि तिमीहरूले एक टुक्रो फिलिङ्गोलाई मात्र कुल्चँदै छौ, जसको ज्वाला तिम्रो पछाडि जहाँतहाँ दनदन दन्किरहेछ । त्यो ज्वाला जनताको बिचबाट दन्किरहेको छ र त्यसलाई निभाउने तिमीहरूको तागत छैन ।….’
पुँजीवादी न्यायालयले हडताली मजदुर नेताहरूमध्ये ४ जवानलाई फाँसी दिने फैसला ग¥यो । वास्तवमा त्यो फैसलाले न्यायको हाँसो उडाएको थियो । न्यायको सबभन्दा तल्लो सिद्धान्तकै हत्या थियो । जनताको शत्रु पुँजीपतिवर्गले ४ जवान हडताली मजदुर नेताहरूलाई फाँसी दिएरै छोड्यो । तर, न्यायालयमा हडताली मजदुरहरूले ठुलो वीरता देखाए । तिनीहरू पुँजीवादी व्यवस्थाको अगाडि अलिकति पनि झुकेनन् । तिनीहरू पहिलेभन्दा जिउँदो र जोशिला देखिन्थे । तिनीहरूमा पश्चाताप र दुःखको सट्टा वर्गशत्रुप्रति घृणाको भावना भरिएको थियो । तिनीहरूको वीरताले गर्दा सारा देशका प्रगतिशील जनताको सहानुभूति हडताली मजदुरले पाए ।
४ जवान हडताली मजदुर नेताहरूलाई फाँसी दिएको समाचार बिजुलीजस्तै संसारमा फैलियो । संसारका मजदुरहरू रिसले उठे । संसारका मजदुरहरू पुँजीपतिवर्गसँग बदला लिन सङ्घर्षमा अगाडि बढे । १८८९ मा पेरिसमा संसारका मजदुरहरूका प्रतिनिधिहरूको एक बैठकले १ मेलाई अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने निधो ग¥यो । त्यसअनुसार १ मे १८९० मा युरोपका सबैजसो देशहरूमा ८ घण्टा कामको दिन माग लिएर प्रदर्शनहरू भए । लण्डनमा पनि मेको पहिलो आइतबारको दिन मजदुरवर्गको प्रदर्शन भएको थियो । त्यसमा एङ्गेल्सले पनि भाग लिनुभयो । प्रदर्शनलाई देखेर उहाँले भन्नुभयो, “लण्डनमा यो हाम्रो पहिलो विजय हो ।” विभिन्न देशका लाखौँ मजदुरहरूको प्रदर्शन देखेर एङ्गेल्स सा¥है खुसी हुनुभयो ।
तर, त्यस दमनले अमेरिकी सर्वहाराको सङ्घर्ष रोकिएन, न त यो आन्दोलन र बलिदान नै खेर गयो । फाँसी दिएको ७ वर्षपछि सरकार होसमा आयो र अनुभव ग¥यो त्यो फैसलामा ‘न्यायको हत्या’ भएको छ तर समय चुकिसकेको थियो । निर्दोष मानिसहरू झुन्ड्याई सकिएको थियो । निर्दोष मानिसहरूले सजाय पाए । अपराधीहरूले इनाम पाए । पुँजीवादी व्यवस्थाको मुख्य विशेषता नै त्यही थियो ।
तर, सङ्घर्ष र बलिदान खेर गएन । एङ्गेल्सले त्यसलाई अमेरिकी मजदुरवर्गको विकासको वास्तविक थालनी भन्नुभयो । उहाँले अमेरिकी समाजवादीहरूले व्यापक मजदुरवर्गको सङ्घर्ष र इच्छामा ध्यान दिनुपर्छ र तिनीहरूको एक स्वतन्त्र राजनैतिक पार्टी हुनुपर्दछ भनेर बताउनुभयो । त्यस सङ्घर्षले ८ घण्टाको कामको दिन निश्चित भयो । मजदुरवर्गको त्यो ठुलो विजय थियो । ५० हजार मजदुरहरूले ८ घण्टाको कामको दिनको अधिकार पाए । अरू बाँकी मजदुरहरूको पनि कामको घण्टा छोटिँदै गयो ।
त्यसबेलादेखि १ मेलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ । त्यसदिन संसारका हरेक देश र सहरका मजदुरहरू त्यस दिवसलाई हडताल, सभा, जुलुस र सङ्घर्ष गरेर मनाउँछन् ।
संरा अमेरिकामा मजदुर आन्दोलनका बाधाहरू
८ घण्टा कामको दिन, बढी ज्याला र अरू सुविधाहरू मजदुरहरूले पाउँदै गएका छन् । तर, संरा अमेरिकामा मजदुर आन्दोलनले चर्को रूप लिन सकेन र मजदुर क्रान्तिबाट समाजवादको स्थापना हुन सकेन । किन ? यसबारे अध्ययन गर्नु खाँचो छ ।
संरा अमेरिकाको पुँजीको विकासमा आफ्नै विशेषता थियो । ती विशेषताहरूले मजदुर आन्दोलनमा असर पार्नु स्वाभाविक थियो । माक्र्स र एङ्गेल्सले त्यहाँको ‘बञ्जर जग्गा अथवा आवाद नगरिएका जग्गा नै मजदुर आन्दोलनको मुख्य बाधा’ देख्नुभएको थियो । बेलायतमा मजदुर आन्दोलन दबाउँदा पुँजीपतिवर्गले मजदुरहरूलाई नयाँ–नयाँ उपनिवेशहरूमा पठाइन्थ्यो । उपनिवेशका जनताको शोषणबाट आएको केही रकमले बेलायतका मजदुरहरूको ज्याला बढाइदिन्थ्यो र माथिल्ला मजदुरलाई बढी ज्याला दिएर निस्क्रिय पाथ्र्यो । युरोपमा जग्गाको कमी थियो । तर, अमेरिकाको पश्चिमी भागमा मनग्य नजोतिएको जग्गा बाँकी नै थियो । त्यसकारण, १८९० तिर धेरै अमेरिकी सहरहरूको बढी जनसङ्ख्यालाई अमेरिकाको पश्चिमी भागतिर जग्गा आवाद गर्न पठाइयो । १९ औँ शताब्दीमा अमेरिकी मजदुरहरू पश्चिमतिर जान लागे र जग्गा पाएर तिनीहरू किसान बने । त्यसकारण, बीसौँ शताब्दीमा मात्रै संरा अमेरिकामा एक स्थायी मजदुर आन्दोलन सुरु भयो । तर, पनि मजदुर आन्दोलन बलियो हुन सकेन, किनभने मजदुरहरू पश्चिमतिर जग्गा लिन जाँदा कहिलेकाहीँ पूर्वतिर श्रमशक्तिको कमी हुन्थ्यो । श्रमशक्तिको कमीले ज्यालाको भाउ बढ्थ्यो । तर, पुँजीपतिवर्गले श्रमशक्तिको कमीलाई मेसिनले पूरा गरेर माथिल्ला मजदुरहरूको ज्यालालाई बढाइदियो । कहिलेकाहीँ त्यो ज्याला युरोपका मजदुरहरूको भन्दा बढी हुन्थ्यो ।
मजदुर आन्दोलनको अर्को बाधा संरा अमेरिकी मजदुरवर्ग बहुजातीय हुनु हो । त्यहाँ पुस्तौँदेखि युरोपका विभिन्न देशका गोरा मजदुरहरूले बसोबास गरेका छन् । तिनीहरू विभिन्न भाषा बोल्दछन् । त्यस्तै, खेती र उद्योगको विकास गर्न अफ्रिकाबाट पहिले हजारौँ अफ्रिकी वा हब्सीहरू अमेरिकामा दासको रूपमा ल्याइएका थिए । अमेरिकी हब्सीहरूलाई अफ्रो अमेरिकी पनि भन्ने गरिन्छ । तिनीहरूको पुस्ता अहिले मजदुरहरूको रूपमा कायमै छन् । त्यस्तै चीन र अरू विभिन्न देशका मजदुरहरू पनि अमेरिकामा छन् । यसप्रकार संरा अमेरिकाको मजदुरवर्ग विभिन्न भाषा, संस्कृति र देशहरूबाट आएका हुनाले तिनीहरूको सोचाइ र रङ्गढङ्गमा पनि भिन्नता हुनु स्वाभाविक कुरा हो । अमेरिकी पुँजीपतिवर्ग त्यही विभिन्नताबाट फाइदा उठाई मजदुरवर्गमा फुट ल्याउन सफल भएको थियो ।
पुँजीपतिवर्ग एउटा जाति र भाषाका मजदुरहरूलाई अर्को जाति र भाषाका मजदुरहरूको विरोधमा झगडा लगाउँथ्यो । गोरा वा स्थानीय अमेरिकी मजदुरहरूलाई विदेशी वा ‘रङ्गीन छाला’ भएको हब्सी, चिनियाँ र अरू जाति र देशका मजदुरहरूको विरोधमा झगडा लगाउँथ्यो । गोरा मजदुरहरूलाई ‘रङ्गीन छाला’ का मजदुरहरूभन्दा माथिल्ला जातका हुन्छन् भन्ने भावना फैलाएर मजदुरवर्गमा फुट र आपसी भेदभाव बढाउँथ्यो । विदेशी वा प्रवासी मजदुरहरूको वृद्धिले संरा अमेरिकामा श्रमशक्ति बढी हुन्छ, बढी श्रमशक्ति भएपछि अमेरिकी वा गोरा मजदुरहरूको पनि ज्याला घट्छ भनेर पुँजीपतिवर्गले अमेरिकी मजदुरहरूलाई भड्काउँथ्यो । आफ्नो ज्याला घट्ला भनिने अमेरिकी मजदुरहरूको डरबाट संरा अमेरिकी पुँजीपतिवर्गले फाइदा उठाउँथ्यो ।
अर्कोतिर अमेरिकी पुँजीपतिवर्ग प्रवासी वा हब्सी मजदुरहरूलाई कम ज्याला दिएर बढी शोषण पनि गथ्र्याे, माथिल्ला मजदुरहरूलाई ज्याला बढाएर घुस दिन्थ्यो र तिनीहरूलाई अनेक सहुलियत दिएर एक प्रकारको श्रमिक राजा–रजौटा र कुलीनवर्ग तयार गथ्र्याे । त्यसप्रकार मजदुरवर्गमा अनेक जालझेल र भेदभाव ल्याएर अमेरिकी मजदुर आन्दोलनलाई असफल तुल्याइएको थियो ।
संरा अमेरिकामा सबभन्दा पहिलो माक्र्सवादी मजदुर सङ्गठनहरू बनाउनेहरूमा माक्र्सका साथी बेडेमेयर हुनुहुन्थ्यो । १८५० तिर उहाँ अमेरिकामा सङ्गठन गर्न जानुभएको थियो । बेडेमेयरले १८४८ को जर्मनीको क्रान्तिमा भाग लिनुभएको थियो । उहाँ कम्युनिस्ट लिगको सदस्य पनि हुनुहुन्थ्यो । उहाँले अमेरिकामा माक्र्सवादी सङ्गठनहरू बनाउन धेरै साथीहरू बनाउनुभएको थियो । उहाँ सफल हुनुभएन । तर, पनि उहाँको मेहनत खेर गएन ।
समाप्त
स्रोत : ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट
Leave a Reply