भर्खरै :

काला मन भएकाहरू

काला मन भएकाहरू

आजभोलि नयाँ–नयाँ रूपरङ्गका
विदेशी कठपुतलीहरू
मालिकको नुन सोझ्याउन
कोभन्दा को कम भन्दै
आफूले झैँ अरूले ग¥यो कि ?
आफूलाई कसैले उछिन्यो कि ?
हरपल हर समय
बर्बराउन थालेका छन्
काला मन भएकाहरू ।

कोही मतको मातले
कोही भातको मातले
कोही सुलसुले जातले
कोही सार्वजनिक सम्पत्ति खाएको मातले
कोही मन नपर्ने स्वास्नीको
सासै गन्हाउने निहुँमा मात्ने
थरीथरीका छन् समाजमा
काला मन भएकाहरू ।

अपर्झट कसैले
चोरको खुट्टा काट्भन्दा
बेहोसीमै खुट्टा उचाल्नेहरू
आफ्नो कर्टुत छोप्न
कुनै पनि शक्तिको अगाडि
लम्पसार पर्दछन्
काला मन भएकाहरू ।

छरछिमेकी समाज उसको निम्ति
असल मित्र होइन
परम शत्रु ठान्दछन्
हुने नहुने काम गरी
बदनामी कमाएकाहरूलाई
आफ्नै छायादेखि तर्सँदै हिँड्छन्
काला मन भएकाहरू ।
मनमा शान्ति कहिल्यै हुँदैन
कुनै बेला बुल्डोजर लाउने त होइन ?
पिरै पिरले लोभीहरू
गंगाजलको लतमा पर्दै
तीन–तीन घण्टी बजाएको थानी
खाली हात हल्लाई हल्लाई
दोबाटोमा बसी बेहोसीमा
भूतलाई देउता सम्झी
काला मन भएकाहरू ।
सत्यता उनीहरूको लागि
महाशत्रु भए
इमानदारिता उनीहरूको लागि
त्राश भए
देशभक्ति उनीहरूको लागि
पाप भए
अन्तर्राष्ट्रवाद उनीहरूको लागि
वाहियात भए
काला मन भएकाहरूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *