भर्खरै :

बलले विचारलाई दबाउन नसकिने

  • बैशाख २७, २०८३
  • सिम्रिक
  • विचार
बलले विचारलाई दबाउन नसकिने

बालेन सरकारले त्रिभुवन विश्वविद्यालयमा रहेको विद्यार्थीहरूको साझा सङ्गठन स्ववियु कार्यालय हटाएको छ । विद्यार्थीको हक हित, देश र जनताको लागि लड्ने विद्यार्थी सङ्गठनको कार्यालय हटाउनु बालेन सरकारको आफ्नै बुद्धि हो कि विदेशीको सल्लाह, आदेशमा हो ? त्यो भने पछि खुल्दै जाला । विद्यार्थी सङ्गठन पनि खारेज गरिएको कुरा बाहिरियो । त्यसको विकल्पमा स्टुडेन्ट्स काउन्सिल स्थापना गर्न लागेको छ । देशमा एउटै मात्र विद्यार्थी सङ्गठन हुँदा प्रजातन्त्र मासिन्छ । विभिन्न विचार नै प्रजातन्त्रको गहना हो । प्रजातन्त्रमा सबैलाई फुल्ने, फल्ने अवसर हुन्छ । बालेन सरकारले स्ववियुको कार्यालय बन्द गरिदिँदैमा विद्यार्थी सङगठनको विचार र आदर्शलाई बन्द गर्न सक्दैन । बलले विचारलाई दबाउन सक्दैन । यदि विचारलाई बलले दबाउन सकिने भए दशरथ चन्द्र र गंगालाल श्रष्ठको विचारलाई राणा सरकारले दबाउन सक्थ्यो । भीमसेन थापाको विचारलाई बेलायती साम्राज्यवादले दबाउन सक्थ्यो । बरु, उनीहरू नै दबिए ।
गंगालाल र दशरथ चन्द्र हिजो विद्यार्थी नै थिए । उनीहरूले देशको लागि लड्दै बलिदान दिए । त्यसले आज र भोलिको विद्यार्थीलाई सधैँ बाटो र बत्तीको काम गरिरहनेछ । लाखौँ सङ्गठित विद्यार्थी सदस्य आस्थाको केन्द्र स्ववियु कार्यालय बन्द गरिदिएपछि त्यसको विरोधमा ती विद्यार्थी सङ्गठनहरू देशमा उठ्नुपर्ने थियो । तर, उठेको छैन । यसको दोषी ती विद्यार्थी सङ्गठनको नेतृत्व नै हो । अझ त्यो भन्दा बढी मुख्य दोषी तिनका मातृ शासक दल र नेताहरू हुन् ।
स्ववियु र विद्यार्थी राजनीतिको जबरजस्ती ढोका बन्द गर्न खोज्दा पनि सशक्त प्रतिरोध विरोध नगर्नुमा विद्यार्थी नेतृत्व पनि विदेशी प्रभावको परिणाम हो कि भनी विश्लेषकहरू बताउँछन् । तिनीहरू पनि एनजीओ तथा आईएनजीओको लोभमा फसे । उनीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्; विदेशीको गोटी बनेका छन् । अझ उनीहरू विचारबाट पलायन भएका छन् । बजार भाउ आकासिएको छ । देशको शैक्षिक अवस्था डामाडोल छ । मित्र राष्ट्र चीनलाई घेर्न हिन्द प्रशान्त रणनीति (IPS) अन्तर्गतको एमसीसीपछि एसपीपी पास गर्न लागेको छ । विदेशी नेताहरू विभिन्न नाम र बहानामा यहाँ आएर हाम्रा नेताहरूलाई आदेश र धम्की दिन आइरहेका छन् । देशको सिमाना भारतले मिचेको छ । देशको आन्तरिक मामिलामा हस्तक्षेप हुँदै छ । मजदुर किसानको अवस्था बेहाल छ ।
हिजो निरङ्कुश जहानियाँ राणा शासनको विरोधमा हजारौँ विद्यार्थी उठेका थिए । राणाहरूले जतिसुकै धरपकड, जेलनेल कष्ट दिए पनि विरोध आन्दोलन रोकिएन । उनीहरूले राणाहरूको आँखा छलेर रात दिन जनतालाई सचेत पारी उठाउने र आँखा खोल्ने काम गरे । विद्यार्थी, जनताको साथ, सहयोग र सहभागितामा राणा शासनको विरोधमा गुप्त बैठक, भेला, सभा र आन्दोलन गरे । गंगालालहरू पक्रिए । उनीहरू राणा सरकारसँग रतिभर डराएनन्, झुकेनन् । बरु, राणाहरू नै झुक्न बाध्य भए । उनीहरूले देशमा प्रजातन्त्रको लागि छातीमा गोली थापी बलिदान दिए । त्यसैको परिणाम राणा शासनको अन्त्य भयो । गंगालालहरूलाई झुकाउन, विचार फेर्न र आत्मसमर्पण गराउन बलले सकिएन । यो इतिहास बालेन सरकारले बुझ्नुपर्ने थियो । कि विदेशमा पढेर आएकाले विदेश जान्यो तर नेपाल जानेन, चिनेन । यी विद्यार्थीको त्याग र बलिदानले हिजोका शासक दलका नेताहरूलाई अनि आज बालेन सरकारलाई झन्डै दुईतिहाइको सरकारको नेतृत्वमा पु¥याए ।
उनीहरूमा देशभक्ति भावना र विचार भएका युवाहरूले विशाल भारतलाई आधार बनाएर नेपाल खान अगाडि बढेका अङ्ग्रेज सरकारसँग वीरतापूर्वक लडे । अङ्ग्रेज सरकारले हात उठाउन, घुँडा टेक्न, अनेक लोभ र धम्की दियो । तर, उनीहरूको लोभ र धम्की काम लागेन । त्यो लोभ र धम्कीले उनीहरूमा रहेको देशभक्ति भावना र विचारलाई झुकाउन सकेन । उनीहरूले देशको लागि लड्दालड्दै बलिदान दिए । बरु त्यत्रो बलियो सेवा, हतियार भएको अङगे्रज सरकार झुक्यो । ती वीर योद्धाहरूलाई अङ्ग्रेज सरकारले स्यालुट ठोकेर वीरताको, देशभक्ति भावनाको कदर गर्दै अल्मोडा, गढवालमा सैनिक सम्मान दिए । यसरी हाम्रा वीर योद्धाहरूले लडेर देशलाई जोगाएका थिए ।
तर, आज तिनै साम्राज्यवादीहरू सात समुद्रपारिबाट विभिन्न बहानामा वीर योद्धाहरूको देशभक्ति भावना र विचारमा प्रहार गर्न विदेशीहरू, मन्त्रीहरू, सैनिक जर्नेलहरू, दूतहरू आउँदै छन् । हिजोका शासक दलले रातो कार्पेट बिछ्याएर तिनीहरूलाई स्वागत गरे भने आज बालेन सरकार पनि त्यही बाटोमा अगाडि बढिरहेको छ । ती वीर योद्धाहरूको देशभक्ति भावनामा प्रेममा प्रहार गर्ने काम यो सरकारले पनि गर्दै छ । ती वीर योद्धाहरूको भावना र विचारलाई बालेन सरकार र नेपाली सेनाले सम्मान र आत्मसात गरी देश जोगाउन अगाडि बढ्नु आवश्यक छ । यसमा उनीहरू सचेत हुनैपर्छ । देश रहे हामी नेपाली रहन्छौँ । देश रहेन भने हामी पनि रहने छैनौँ । नेपाली जनतालाई घोडा बनाएर नेपाली अनुहारको विदेशी सारथीले पछाडि रथमा बसेको विदेशीको आदेशअनुसार दोहो¥याउने छ ।
२०४६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा जनता सडकमा ओर्लिए । भक्तपुरमा फागुन ८ गते सङ्घर्षशील विद्यार्थीहरू राजकुमार सुवाल, कृष्णराम दुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्यलगायतका सहिदहरूले छात्तीमा डमडम गोली थपेर सहादत प्राप्त गरे । त्यो सङ्घर्षशील, बलिदानी भावनाको फिलिङ्गो आँधीसरि देशभर फैलियो । पञ्चायती सरकारको विरोधमा देशभर आन्दोलन भयो । जनताले त्यसमा साथ र सहयोग गरे । परिणाम पञ्चायती व्यवस्थाको अन्त्य भयो । त्यस्तै २०६२/०६३ को गणतन्त्रको लागि पनि आन्दोलन भयो । त्यस आन्दोलनको अग्रभागमा लड्ने विद्यार्थी नै थिए । त्यस आन्दोलनले राजालाई पनि फालिदियो । त्यसैको फल आज बालेन सरकार चाख्दै छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *