भर्खरै :

भ्रष्टाचार, अनियमितता र राजनीतिक भागबन्डाविरुद्ध जनतालाई सुसूचित र सचेत गर्नुपर्ने

  • बैशाख २८, २०८३
  • रजनी जोशी, उप–प्रमुख, भक्तपुर नगरपालिका
  • विचार
भ्रष्टाचार, अनियमितता र राजनीतिक भागबन्डाविरुद्ध जनतालाई सुसूचित र सचेत गर्नुपर्ने

विसं. २०५०/०५१ सालदेखि प्रकाशित भएको ‘श्रमिक’ साप्ताहिकले राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति/सामाजिक तथा आर्थिक पक्षबारे आफ्नो दृष्टिकोण उजागर गर्दै आइरहेको छ । देश र जनताप्रति समर्पित यो पत्रिकाले मजदुर किसानको चेतनास्तर उकास्न प्रयास गर्दै छ ।
देशमा समाजवादी व्यवस्था स्थापनाको उद्देश्य पूरा गर्न यो पत्रिकाले समाजवादी व्यवस्था भएका देशहरूको सफल अभ्यासबारे खुराक पस्कँदै छ । क्युवा, उत्तर कोरिया (प्रजग), चीन आदि यसका दृष्टान्त हुन् । देशमा भएका साम्राज्यवादी÷पुँजीवादी व्यवस्थाका गतिविधि र त्यसका असरबारे सचेतना दिने, देशको सार्वभौमिकता रक्षाको लागि सङ्घर्ष गर्ने, भारतीय विस्तारवादले नेपालमाथि गरिरहेको हस्तक्षेप र अमेरिकी साम्राज्यवादले लादेको एमसीसी सम्झौताको विरोधमा जनतालाई सचेत गराउँदै आइरहेको छ । भ्रष्टाचार, अनियमितता र राजनीतिक भागबन्डाविरुद्ध जनतालाई सुसूचित र सचेत गर्ने काम निरन्तर गरिरहेको छ र गरिरहने छ ।
एक आदर्श समाज स्थापनाको निम्ति ‘श्रमिक’ ले थालेको प्रयास खेर जानेछैन ।
हरेक राजनैतिक पार्टीहरू एक दर्शनको आधारमा अघि बढेका हुन्छन् । सिद्धान्तसहितको राजनीतिले मात्र समाजमा परिवर्तन ल्याउनेछ । समाजलाई अघि बढाउन अवैज्ञानिक र अन्धविश्वासको विरोध र खण्डन गर्नु आवश्यक छ ।
सरकारमा बस्ने सत्तासीन दलका नेता र मन्त्रीहरू व्यक्तिगत स्वार्थ र लाभमा लागेको कारण देश रसातलमा पुगेको हामीले देख्यौँ, भोग्यौँ । यस्ता गलत गतिविधिहरूको विरोध गर्ने र जनतालाई सुसूचित गराउने काम ‘श्रमिक’ साप्ताहिकले निरन्तर गर्दै आएको छ ।
सत्ता गठबन्धन टिकाउन स्थानीय चुनाव सार्नु गलत थियो । दलको सिद्धान्त र जनतामा विश्वास गरौँ । देशभक्त र प्रगतिशील पक्षलाई साथ देऔँ ।
संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहलाई पाँच वर्षको अवधि तोकिएको छ । संविधानमै स्थानीय तह कहिल्यै भङ्ग नहुने र सङ्घको अधिकारभित्र नरहनेबारे स्पष्ट लेखिएको छ । तथापि, २०७८ माघ १५ गतेको राजधानी दैनिकले निर्वाचन सार्ने गरी सुटुक्क ऐन संशोधनको गृहकार्य भइरहेको भन्ने समाचार लेखेको थियो ।
शेरबहादुर देउवाको पालामा १५ वर्षसम्म स्थानीय निर्वाचन गर्न नदिई देशलाई बरबादीतिर धकेलेको थियो ।
रुसको तीव्र विकास (१९९१) पछि साम्राज्यवादीहरूको पछि लागेर १५ देशमा टुक्रिएको कारण त्यसताका सरकारमा रहेका प्रमुखहरूले सिद्धान्त छोडे र शत्रुहरूको प्रशंसा गरे । यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ । त्यस्ता भूलहरूबाट बच्नुपर्नेबारे ‘श्रमिक’ साप्ताहिकले औँल्याएको छ ।
कुनै पनि विकासशील देशको अर्थतन्त्र नै कृषि अर्थतन्त्र र आत्मनिर्भर अर्थतन्त्र हो भन्नेमा दुईमत नहोला । तर, लामो समयसम्म सरकारमा बसेका पार्टीहरूले त्यसबारे कहिल्यै ध्यान दिएनन् । राजनीति दूषित भएको कारणले भ्रष्टाचार, कालाबजार, तस्करीजस्ता अनेकौँ अपराधहरूले शासन व्यवस्थालाई नै कलुषित बनाएकाले देशका हरेक क्षेत्रमा नैतिकताको खडेरी प¥यो । जोश र जाँगरका साथ काम गर्ने कामदारवर्गको उत्साहमा कमी आएको कारण बेरोजगारी बढ्नुको साथै विदेशीहरूले त्यसको फाइदा उठाई नेपालमा श्रम शक्तिको अवसर प्राप्त गरे ।
नेपालमा रेमिटेन्सभन्दा बढी खाद्य सामग्री आयात हुन्छ । विदेशमा पढ्न जाने युवाहरूले लाने विदेशी मुद्रा आदिले देशमा लाभभन्दा घाटा बढ्दै गएको छ । देश बरवादीतिर धकेलिएको हो ।
देश, प्रदेश र जिल्लाको पहिचान त्यस ठाउँको नगरले दिने गर्दछ । यसमध्ये प्राचीन नगरहरू अग्रपङ्क्तिमा रहेका हुन्छन् । नगरले मानव समाजको विकास र सभ्यतालाई उजागर गरिरहेको हुन्छ । मानव समाज जङ्गली अवस्थादेखि लामो समयसम्मको सिकाइ र भोगाइबाट आफू र आफ्ना सम्पत्ति सुरक्षित राख्न समुदायको पहलमा नगरको विकास भएको इतिहासबाट जान्न बुझ्न सकिन्छ । ग्रिसका दार्शनिक (४२९–३४७ इसापूर्व) प्लेटो र थोमस मोर
(मध्यकालीन समय सन् १४७४ – १५३५) को समयमा स्वप्नलोकपछि मोहेन्जोदारो हडप्पा सभ्यता (ढल/निकास/पोखरी) आवश्यकताअनुसार राखिँदै लगेको इतिहास छ । सोहीअनुसार २१ औँ शताब्दीसम्म पुग्दा ठुलाठुला परिवर्तनहरू भए तापनि पुर्खाद्वारा रचना गरिएका मूर्त र अमूर्त निधिहरूबाट नै हाम्रो सभ्यता, संस्कृति उजागर हुने भएकोले हाम्रो पुस्ताको कर्तव्य नै सम्पदाहरूको जगेर्ना गर्नुपर्दछ भन्ने कुरा ‘श्रमिक’ साप्ताहिकले प्रस्टयाएको हो आ–आफ्ना कामहरू । इमानदारीपूर्वक गर्नुपर्ने विचार यस ‘श्रमिक’ले दिएको छ ।
भ.न.पा.ले सम्पदा संरक्षण र पुनःनिर्माणमा प्राथमिकता दिएको छ । सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नाचगानको सहरमा बाजागाजा प्रतियोगिता हुँदै छ । यो वर्ष दाफाभजनको प्रदर्शनी हुने भएको छ । गुरुको सम्मान, रोजगारमूलक तालिम र सम्पदा जगेर्ना गरी हामीले नयाँ पुस्ता तयार गरिरहेका छौँ । स्थानीय पाठ्यक्रमको माध्यमबाट नगरको कला र संस्कृति पहिचानबारे सिकाइ अभ्यास भइरहेको छ ।
आदर निकेतनबारे चिन्तन आवश्यक छ । हाल नेपालको जनसङ्ख्याको जन्मदरको कमी र ज्येष्ठ नागरिकहरूको सङ्ख्या बढेको अवस्था छ । केही वर्षयता नेपालमा पनि अन्य देशहरूमा झैँ ज्येष्ठ नागरिकहरूको निम्ति ‘आदर निकेतन’ को आवश्यकताबारे बहस हुँदै छ । तर, यसबारे सङ्घ र प्रदेश सरकारको ध्यान गएको देखिँदैन ।
निर्वाचन जित्न ठुलो धन राशीको खर्च गरिएको हुन्छ ।
कति गाउँपालिका र नगरपालिकाहरूको आर्थिक पक्ष कमजोर छ ।
जनताको जन्मदेखि मृत्यु संस्कारसम्मको व्यवस्था मिलाउने जिम्मेवारी सरकारको भए तापनि सङ्घ/प्रदेशको यसतर्फ कुनै चासो छैन । ‘आदर्श नगरको पहिचान’ दिन भक्तपुर नगरपालिका नगरका हरेक क्षेत्रमा नागरिकहरूप्रति समर्पित भएर लागिरहेको छ । इमानदारीपूर्वक जनताको सेवा गर्ने उत्प्रेरणा जगाइदिनुहुने नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) प्रति हार्दिक आभार व्यक्त गर्छु । ‘श्रमिक’ साप्ताहिकको सम्पादकीयलाई पुस्तकको रूपमा प्रकाशन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिबारे नागरिकहरूलाई सुसूचित र सचेत गरेकोमा ‘श्रमिक’ साप्ताहिक परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । युवा पुस्तालाई आदर्श नगरका नागरिक तयार गर्ने काममा सफलता मिल्ने विश्वास छ ।
(वैशाख १९ गते आयोजित ‘सम्पादकीय सङ्कलन’ (तेस्रो खण्ड) र समसामयिक टिप्पणी सङ्कलन ‘एकक्षण’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा व्यक्त मन्तव्यको सार सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *