भर्खरै :

लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !

लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित ¥यालीमा आज हामीले विभिन्न समसामयिक नाराहरू लगायौँ । जल्दाबल्दा समस्याबारे आवाज दियौँ : ‘जनताको बचत फिर्ता गर !’, ‘सहकारी ठगहरूलाई कारबाही गर !’ किसानहरूको पक्षमा काम गर्न जोड दियौँ । रासायनिक मल कारखाना देशमै खोल्न माग ग¥यौँ । हामीले जोड दिँदै भन्यौँ : “महँगी अति भयो ! बजारभाउ नियन्त्रण गर ! भ्रष्टाचारीहरूलाई कारबाही गर !” यो जनताको आवाज हो । यो समयको आवाज हो ।
वर्तमान सरकार सुन्छ या सुन्दैन । स्वरमा स्वर मिलाई हामी भन्छौँ : ‘किसानहरूका लागि मल, बीउबिजनको बन्दोबस्त गर !’, ‘कृषि उत्पादनमा विशेष जोड देऊ !’ युवाहरूको पक्षमा हामी भन्छौँ : स्वदेशमै रोजगारीको बन्दोबस्त गर ! हिजोका पुराना कलकारखानाहरू : हेटौँडा सिमेन्ट कारखाना, जगाती इँटाटायल कारखाना, भृकुटी कागज कारखाना, ट्रलिबस आदि हामी खोज्दै छौँ । सरकारले ती कलकारखानाहरूलाई ब्युँताउने साहस गरोस् । ठुलठुला र चटके कुराहरू होइन, व्यावहारिक कामहरू थालेर आफ्नो उपस्थिति देखाउनको हामी सरकारसमक्ष माग गर्दछौँ । यो मजदुरहरूको माग हो, यो किसानहरूको माग हो, यो कामदार जनताको माग हो ।
सुशासनको नारा दिएर, भ्रष्टाचारविरुद्ध नारा लगाउँदै फागुन २१ गतेको निर्वाचनपछि सिंहदरबार पसेको लस्कर देख्यौँ । हिजो जलाइएको सिंहदरबार पस्नेहरूले त्यो खरानी साक्षी राखेर जनताको पक्षमा थोरै भए पनि इमानदारी, थोरै मात्र पनि विवेक र थोरै भए पनि देशभक्तिलाई व्यवहारमा उतार्ने साहस देखाऊन् । हिजो जलाइए सिंहदरबार, बालुवाटार, शीतल निवास । हाम्रा धेरै सार्वजनिक सम्पत्तिहरू जलाइए । ती घटनाहरू पुराना होइनन् । ती जलाइएका भवनहरूलाई साक्षी राखेर हामी भन्छौँ, सम्पदाहरू अब फेरि नजलाइयून् ¤ जनताका मनहरू फेरि पनि नजलाइयून् ¤ जनताका छोराछोरीहरूको छातीमा कहिल्यै गोली नडागियोस् ¤ हामी जोडका साथ भन्छौँ : “हामी अझै न्यायको खोजीमा छौँ । हामीले न्याय पाएका छैनौँ ।” जनता अन्याय र शोषणको विरोध गर्दै छन् । फेरि पनि त्यो शोषणविरूद्धको आवाजलाई कम नठानियोस् । श्रमिक दिवसको अवसरमा हाम्रो सुझाव छ ।
हामीले बारबार भन्यौँ, एमसीसीले यो देशको रक्षा हुनेछैन । हामीले बारबार भन्यौँ, एमसीसी, एसपीपी भनेको देशको सवालमा विष साबित हुनेछ । हाम्रो काल साबित हुनेछ । त्यसकारण, हामीले एमसीसीविरूद्ध सडक र सदनमा आवाज बुलन्द ग¥यौँ । हामीले एमसीसी सम्झौतापश्चात्का घटनाहरू देखिरहेका छौँ । हामी भोगिरहेका छौँ । यो जरुर पनि संयोग मात्र होइन । एमसीसीपछि ९ हजार माइल टाढाको देश अमेरिकाबाट आज विशेष अमेरिकी दूतहरू बाक्लो ढङ्गमा काठमाडौँमा उपस्थिति जनाइरहेका छन् । अमेरिकी दूतावास कसरी नेपालमा खेल्दै छ ? हामी भोग्दै छौँ, हामी देख्दै छौँ । हामी फेरि पनि साम्राज्यवादविरूद्ध लड्नका निम्ति श्रमिक दिवसको अवसरमा जनतासमक्ष आह्वान गर्दै छौँ । अमेरिकाको शिकागो सहरको त्यो भावना, १४० वर्षअगाडिको मजदुरहरूको त्यो सङ्घर्षबाट प्रेरणा लिएर भन्छौँ – “अमेरिकी साम्राज्यवाद मुर्दावाद ।” अमेरिकी साम्राज्यवादको अन्त्य नभएसम्म विश्वका मजदुरहरूले स्वतन्त्रताको स्वास फेर्न पाउने छैनन् ।
आज संयोगले बुद्ध जयन्ती पनि हो । यही धर्तीबाट आजभन्दा २५७० वर्षअघि गौतम बुद्धले शान्तिको सन्देश फैलाउनुभयो । यदि विश्वको अस्तित्व जोगाइराख्ने हो भने शान्ति अपरिहार्य छ । हो, हामी फेरि थप्छौँ, समानता र स्वतन्त्रताबिना शान्ति आउँदैन । साम्राज्यवाद ज्यूँका त्यूँ रहेसम्म, फासीवादको जगजगी कायम रहेसम्म विश्वमा शान्ति सम्भव हुन्न । त्यसकारण, शान्तिको निम्ति गाँस, बास, कपासको आवश्यकता पर्दछ । शान्तिको निम्ति स्वतन्त्रता आवश्यक पर्दछ । शान्तिको निम्ति स्वाधीनता आवश्यक पर्दछ । शान्तिको निम्ति समानता आवश्यक पर्दछ । हो, यस्तै शान्तिको खोजीमा छौँ । गौतम बुद्धले देखाएको त्यो बाटोमा हामी हिँड्दै छौँ । तसर्थ, हामी लगाउँछौँ, स्वतन्त्रताको नारा, हामी लगाउँछौँ, स्वाधीनताको नारा, हामी लगाउँछौँ, समानताको नारा । समानतासहितको शान्ति, स्वतन्त्रतासहितको शान्ति, युद्धबिनाको संसार अहिलेको आवश्यकता हो । अहिले अमेरिकी साम्राज्यवाद चारैतिर युद्धको वर्षा गर्दै छ । हिजो प्यालेस्टिनमाथि हमला ग¥यो । ७४ हजार त्यहाँका अबोध बालबालिका, आमाहरू, निर्दोष मानिसहरूलाई ट्रम्प र नेतान्याहूले हत्या गरे । त्यहाँका ८० प्रतिशतभन्दा बढी घर, भवन, आवासहरू जलाइए, ध्वस्त पारिए । त्यस युद्धको विरुद्ध, इजरायली फासीवाद तथा अमेरिकी साम्राज्यवादको विरूद्धमा संसारका जनता एकजुट भएर सडकमा उत्रे । अमेरिका पछाडि हट्न बाध्य भयो । जसरी शिकागोका मजदुरहरूले विद्रोह गरेका थिए आज ट्रम्प महाराजको विरूद्ध त्यहाँका लाखौँलाख जनता सडकमा छन् । त्यहाँका जनताले शान्ति मागिरहेका छन् । अमेरिकी जनताले युद्धको अन्त्यको माग गरिरहेका छन् । हामी शान्तिप्रेमी तथा न्यायप्रेमी नेपाली जनता पनि आज साम्राज्यवादको विरूद्ध, शान्तिको पक्षमा, स्वतन्त्रताको पक्षमा, स–साना देशहरूको अस्तित्व रक्षाको पक्षमा आवाज बुलन्द गर्दै छौँ । त्यसमा नेपाल मजदुर किसान पार्टी अग्रमोर्चामा रहेर सङ्घर्ष गर्दै छ ।
अमेरिकी साम्राज्यवादले तेलको अर्को खानी ल्याटिन अमेरिकाको देश भेनेजुयलामा मजदुर नेता हुँदै राष्ट्रपति बनेका निकोलस मादुरोलाई डाँका शैलीमा अपहरण गरेर अमेरिकामा कैद गरिराखेको अवस्था छ । मजदुर तथा भेनेजुयली जनताका नेता माडुरो र उनका जहानको शीघ्र रिहाइको यही स्थानबाट पनि नेपाली जनताको तर्फबाट माग गर्दछौँ ।
ऊर्जाको अर्को एउटा खानी इरानमाथि अमेरिकी साम्राज्यवादले लगातार हमला गर्दै छ । अमेरिकी जनताले त्यसको पनि विरोध गरे । संसारका न्यायप्रेमी तथा शान्तिकामी जनताले त्यो युद्धको विरोध गरे । अमेरिका केही पछाडि हट्न बाध्य भयो । पछाडि हटिसकेको अमेरिका अझै निहुँ खोज्दै छ । इरानमाथि हमला गर्ने बहाना खोज्दै छ । त्यसकारण, युद्ध बन्द गर्न सारा मजदुर, नेपाली जनताको तर्फबाट हामी माग गर्दछौँ ।
अमेरिकाले अर्को एउटा दादागिरी संसारमा देखाउँदै छ । पश्चिमी गोलाद्र्धमा एउटा समाजवादी देश छ, क्युवा । त्यो देशमाथि अमेरिकाले दबाब बढाउँदै छ । ६० वर्षभन्दा बढी भयो क्युवाविरूद्ध अमेरिकाले चर्को आर्थिक नाकाबन्दी लगाएको । पछिल्लो समयमा सम्पूर्ण खालका प्रतिबन्धहरू क्युवामाथि थोप्दै छ । इन्धन प्रतिबन्धका कारण क्युवाली जनता अत्यन्त कष्टकर जीवन बाँच्दै छन् । क्युवामा यतिखेर ऊर्जा सङ्कट छ । लाखौँ लाख क्युवाली जनता ‘मृत्यु या विजय’ को नारा लगाउँदै सडकमा छन्; कदापि नझुक्ने अठोट गर्दै छन् । क्युवामाथि भइरहेको अत्याचारविरूद्ध सारा मजदुरहरूले आवाज उठाउन आवश्यक छ । हामी निरन्तर वीर क्युवाली जनताको पक्षमा सङ्घर्षरत छौँ । एकदिन अमेरिकाले घुँडा टेक्नै पर्नेछ । क्युवाली जनताको जीत हुनेछ । अन्तिम जीत क्युवाली समाजवादको हुनेछ । क्युवाली न्यायप्रेमी, स्वाधीनताप्रेमी जनताप्रति पुनः ऐक्यबद्धता जनाउँछौँ ।
हाम्रो देशको सन्दर्भतिर फर्कौँ । भ्रष्टाचार र सुशासनका ठुलठुला कुराहरू हामीले सुन्यौँ । वर्तमान सरकारसमक्ष हाम्रा केही सरल प्रश्नहरू छन् । कृपया विभिन्न माध्यमबाट वर्तमान सरकारसमक्ष पु¥याउनका निम्ति हामी आग्रह गर्दछौँ । इन्धन र ग्यास महँगो हुँदा के सुशासन सम्भव हुन्छ ? गए राति ग्यासको मूल्य लगभग २२ सय पु¥यायो । के इन्धन र ग्यासको मूल्य बढाएर सुशासनको कल्पना गर्नु उपयुक्त हो ? कामको खोजीमा फेरि पनि अरब, कतार, मलेसिया, विदेश धाउनुपर्ने बाध्यता ज्यूँका त्यूँ राखेर के सुशासन सम्भव हुन्छ ? युवाहरू सारा विदेश पठाएर कसको निम्ति सुशासन ? वर्तमान सरकार गठन भएको ३० दिनमा झन्डै १ लाखभन्दा बढ्ता युवाहरूले त्रिभुवन विमानस्थलमा पुगेर विदेश गएको हामीले सुन्यौँ । के त्यसरी सुशासन सम्भव हुन्छ ? सुशासन कसको निम्ति ? स्कूलहरू बन्द गरेर के सुशासन सम्भव हुन्छ ? पाठ्यपुस्तकहरू नपु¥याएर के सुशासन सम्भव छ ? एक महिना शैक्षिक हडतालझैँ गरेर के सुशासन सम्भव हुन्छ ? आज हामी वैशाखको १८ गते यहाँ उपस्थित छौँ । २१ गतेभन्दा अगाडि स्कूल खोल्न नपाइने भन्ने हुकुम कसको हो ? त्यस्तो हुकुमी शासनबाट के सुशासन सम्भव हुन्छ ? शिक्षा महँगो बनाएर के सुशासन सम्भव हुन्छ ? अस्पतालहरू बन्द गरेर के सुशासन सम्भव हुन्छ ? तीन दिन लगातार सार्वजनिक बिदा भएको हुनाले अब सच्याउनुप¥यो, वैशाख १८ गते अस्पताल खोल्नु भनी सरकारले सूचना जारी ग¥यो । गए राति सरकारले अनुनय–विनय ग¥यो । हाम्रा अस्पतालहरू र मेडिकल सङ्गठनहरूले भने, “हामी बिदामा बस्छौँ, त्यो हाम्रो अधिकार हो ।” यसरी अस्पताल बन्द गरेर सुशासन सम्भव हुन्छ ? स्वास्थ्य महँगो बनाएर के सुशासन सम्भव हुन्छ ? छिरबिरे रङ्गको पोशाक लगाउनेहरू चारैतिर फैलाएर, डण्डा चलाएर, बन्दुक तेस्र्याएर के सुशासन सम्भव हुन्छ ? के हरियो पोशाकको आतङ्क फैलाउन खोजेको हो ? डिजिटल प्लाटफर्महरूमा घृणा फैलाएर के सुशासन सम्भव हुन्छ ? जनतालाई घरबारविहीन बनाएर के सुशासन सम्भव हुन्छ ? वर्तमान सरकारसमक्ष यी यक्ष प्रश्नहरू छन् । यी हाम्रा सवालहरू हुन्, जनताका सवालहरू हुन् । यी हाम्रा जायज सवालहरूको चित्तबुझ्दो जवाफ देऊ ।
सुशासनलाई नारामा सीमित गर्नेहरू सरकारमा सधैँ बसिरहन सम्भव हुन्न । फेरि पनि हामी केही सवालहरू यहाँ उठाउँछौँ । कृपया यो सरकारले कान खोलेर सुन्नको निम्ति हामी विनम्रतापूर्वक अनुरोध गर्दछौँ । म साङ्केतिक रूपमा केही परिभाषा दिन्छु  । लोकतन्त्र भनेको एल्गोरिदमतन्त्र होइन । सधैँ एल्गोरिदमबाट शासन गर्न सम्भव हुँदैन । लोकतन्त्र भनेको चुपचापतन्त्र होइन । लोकतन्त्र भनेको मौनतन्त्र होइन । जनतालाई मौन बस्नु, जनतालाई चुपचाप बस्नु भनी आदेश दिनु र आफू मौन बस्छु भनेर कसम खानु लोकतन्त्रमा सुहाउँदैन । लोकतन्त्रमा छलफल आवश्यक हुन्छ । लोकतन्त्रमा बहस आवश्यक हुन्छ । लोकतन्त्रमा जनतासँग अन्तरक्रिया आवश्यक हुन्छ । लोकतन्त्रमा जनताको बिचमा आएर जनताको कुरा सुनेर जवाफ दिन आवश्यक हुन्छ । जावफदेहिता लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसकारण, लोकतन्त्रको यो सुन्दर पक्षलाई कदर गर्नको निम्ति अनुरोध गर्दछौँ । लोकतन्त्र भनेको नार्सियालीतन्त्र होइन । लोकतन्त्र भनेको नार्सिसिस्टहरू जन्माउनु होइन । लोकतन्त्र भनेको आफैँ महान् भनेर स्वघोषणा गर्नु होइन । त्यसकारण, नार्सियाली रोगबाट वर्तमान सरकारलाई मुक्त हुनको निम्ति हामी सुझाव दिन्छौँ । लोकतन्त्र भनेको मिदासतन्त्र होइन । एकजना मिदास भन्ने राजा थिए । जे छोए पनि सुन होस् भनेर बरदान माग्ने । त्यो वरदान प्राप्त ग¥यो, सुनैसुन पायो । त्यही अभिशाप बन्यो । त्यस्ता मिदासहरूको तन्त्र लोकतन्त्र होइन । वास्तविक लोकतन्त्र त जनताको तन्त्र हो । गरिबहरूको तन्त्र हो । कामगरी खाने जनताको तन्त्र हो । लोकतन्त्रको यो सुन्दर पक्षलाई कदर गर्न, व्यवहारमा उतार्नका निम्ति हामी सुझाव दिन्छौँ । वर्तमान सरकारसमक्ष हाम्रा यी मागहरू हुन् । यी मागहरूप्रति हेलचेक्र्याइँ नगरियोस् ।
पञ्चायत फाल्न ३० वर्ष लाग्यो । पञ्चायतपछि आएका नक्कली कम्युनिस्टहरू उदाङ्ग्याउन ३५ वर्ष लाग्यो । तर, यी नवसम्भ्रान्तहरू, यी मिदासहरू, यी नार्सिसिस्टहरू, यी नक्कली नागका सौखिनहरू, भ्रष्टाचारकै गर्भबाट जन्मिएकाहरूको पनि पतन अवश्यम्भावी छ ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले वैशाख १८ गते १३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *