के वामपन्थ साँच्चै असान्दर्भिक भइसकेको हो ? केरला मोडेल र सामाजिक सद्भावको वास्तविकता
- बैशाख २९, २०८३
आज हामी दुई पुस्तकहरूको एकै दिन सार्वजनिकीकरण गर्दै छौँ । यसलाई हामीले सुखद् क्षणको रूपमा लिँदै छौँ । साप्ताहिक वा दैनिक अखबारमा छापिसकेको कुनै स्तम्भ वा सम्पादकीयको सङ्कलन गरेर कुनै पुस्तकका रूपमा पुनः प्रकाशन गर्नु आवश्यक होला र भन्ने हामी धेरैलाई जिज्ञासा पनि होला ! ‘श्रमिक’ साप्ताहिक विगत ३३ वर्षदेखि निरन्तर रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति, विश्वका प्रगतिशील र कम्युनिस्ट विचारधारा र आन्दोलनको पक्षधरका व्यक्तित्वहरूको विचारलाई पस्कँदै आएको एक मिसन वा आस्थाको पत्रिका हो । पुस्तकहरूले कुनै न कुनै रूपमा ज्ञान, चेतना, विचारलाई पस्किरहेको हुन्छ । साथै तात्कालीन समयको राजनीति, समाजका घटना र परिघटनालाई समेत प्रतिबिम्बित गरेको हुन्छ ।
यस्तो सम्पादकीय वा कुनै स्तम्भ विशेषको सङ्कलनलाई पुस्तकको रूपमा छापिने दस्ताबेजको प्रकृति र महत्व छुट्टै हुन्छ । प्रत्येक हप्तामा प्रकाशितस्तम्भ वा सम्पादकीयले एउटा घटना वा मुद्दा विशेषको बारेमा चर्चा र विश्लेषण गरेको प्रतीत हुन्छ भने ती स्तम्भ र सम्पादकीयको सङ्कलन सङ्ग्रहले भने एउटा विचारधारा, सिद्धान्त वा दर्शनलाई पस्किरहेको हुन्छ, जसरी फूलको एउटा विशेषता हुन्छ तर त्यही फूलहरू सङ्गालेर उनेको मालाको विशेषता छुट्टै हुन्छ । संस्थान वा कुनै कथनको आलोचनात्मक विश्लेषण (Critical Discourse Analysis) समाज र भाषा विज्ञानको एउटा अनुसन्धान पद्धति हो । यस अनुसन्धान पद्धतिले त्यस संस्थानको (कथन) भाषा, भाव र प्रयोग गरिएका शब्दहरूको विश्लेषण गर्छ । यस पद्धतिले भाषालाई परम्परागत रूपमा सञ्चारको माध्यमका रूपमा मात्र हेर्दैन । यसले भाषामा अन्तरनिहित सत्ता र शक्तिको सम्बन्ध मात्र नभई भाषालाई समाज परिवर्तनका संवाहकका रूपमा हेर्छ । भाषाको भाव र शब्दहरूको चयनलाई विश्लेषण गर्दै यसले कुन विचारधारा र समाजको कुन वर्गको पक्ष पोषण गरेको हो भनी निक्र्योलमा पु¥याउँछ ।
यही अनुसन्धान पद्धतिको आलोकमा यी दुई पुस्तकहरू, ‘सम्पादकीय सङ्कलन (तेश्रो खण्ड)’ र ‘एकक्षण (समसामयिक टिपणी सङ्कलन)’ को सामान्य समीक्षा गर्दा मूलधारका आफूलाई ‘राष्ट्रिय पार्टीहरू’ दावा गर्ने र सत्तासीन राजनीतिक पार्टीहरूको शासन सञ्चालनको शैली र तिनीहरूले विविध विषयमा अपनाएका नीतिहरूको आलोचनात्मक विश्लेषण गरिएको देखिन्छ । समाजवादी बन्दोबस्त र कम्युनिस्ट व्यवस्थालाई नेपाली काङ्ग्रेसले आफ्नो लक्ष्य नै बनाएको छैन । तर, आफूलाई कम्युनिस्ट पार्टी र कम्युनिस्ट व्यवस्थाका हिमायती मान्ने एमाले र एमाओवादीले उल्टै पुँजीवादी व्यवस्थाको नयाँ रूप नवउदारवादी आर्थिक नीतिमा आफूलाई चुर्लुम्म डुबाउने खालका रवैयामाथि दुबै सम्पादकीय सङ्कलन र टिपणी सङ्कलन एकक्षणले तीखो वाण हानेका छन् ।
विसं २०७२ माघ महिनादेखि ७५ माघ महिनासम्म ३ वर्षका विभिन्न ५४ वटा समसामयिक टिपणीहरूको सङ्गालो एकक्षण आकारमा सानो करिब १६० पेजको मात्र देखिए पनि यसले विविध विषयहरूका बारेमा टिपणी गरेको छ । राजनीतिक पार्टीहरूको सरकारमा जानुको अर्थ, राजनीतिक पार्टीहरूले बेइमानी, ठेकेदार, माफिया, जालीफटाहा, विदेशी शक्तिसँग साँठगाँठ भएका छद्म व्यापारीहरूलाई पार्टीमा भित्याइनु, तिनीहरूबाटै उनीहरूको स्वार्थअनुसार सरकारको नीति निर्माणमा हस्तक्षेप गराइने प्रवृत्ति, देशको हितविपरीतको सन्धि सम्झौता गराउने तत्वहरू सत्तासीन पार्टीहरूमा हाबी भइरहका कुराप्रति ती समसामयिक टिप्पणीहरू केन्द्रित देखिन्छन् । यस अर्थमा सिङ्गो नेपालको राज्य सत्ता र यसका विभिन्न अवयवहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका राजनीतिक पार्टीहरू, सरकारको नीति, विपक्ष सबैलाई सिङ्गो एक सस्थाका रूपमा लिँदा यस पुस्तकलाई ‘व्हिसलब्लोअर’ मान्न सकिन्छ । कुनै संस्थाभित्र अनियमितता, भ्रष्टाचार, गैरकानुनी तथा अनैतिक कार्यका बारेमा सचेत गराउँदै यसलाई रोक्ने उद्देश्यले यस्ता अनियमिततालाई उदाङ्ग्याउने संस्थाभित्रकै व्यक्ति नै ‘व्हिसब्लोअर’ हो ।
हामीजस्ता राजनीतिक कार्यकर्ता तथा समसामयिक विषयमा लेख–रचना लेख्नेहरूका लागि यस पुस्तकले दिशानिर्देश गरिरहको प्रतीत हुन्छ । किनभने यसका टिप्पणीहरू खालि टिप्पणीका लागि होइन भन्ने कुरा राम्ररी अनुभूति गर्न सकिन्छ । उदाहरणका लागि ‘नेवार समुदायबारे थप अध्ययनको आवश्यक’ शीर्षकको टिप्पणीले पाठकलाई चाल नपाउने गरी विषयको सैद्धान्तिक गहिराइ र प्राज्ञिक चिन्तनको तहमा पु¥याउँदै सतहमा देखिने अनियमितका बारेमा समेत औँल्याएको हुन्छ ।
पेज ९३ को एउटा प्रसङ्गलाई हेरौँ – “२००७ सालपछि चर्चामा आउने नेवारहरू भन्नुको अर्थ भारतीय मूलकै माथिल्ला जनताका पुराना शासकहरू नै ‘भारत’ का शासकहरू थिए । तर, नेवारहरूको विषयमा राम्रो जानकारीकै अभावमा एकजना भारतीय राजदूतले जातिगत रूपले नेवारहरूलाई भारतविरोधी कल्गी लगाइदिएका हुन् वा पञ्चायतकालका शासनमा बस्ने कर्मचारीहरूले भारतीय राजदूतलाई गलत जानकारी दिएको हुनसक्छ ।”
त्यस्तै पेज ९४ को अनुच्छेदलाई नियालौँ – ‘सोझा यस कारणले भनियो होला, चार आना सस्तोमा नेवारको जग्गा किनेर ५/१० आना बनाए पनि तिनीहरू चुप लागे होलान् ! त्यसैले सोझा हुने नै भए । देशभरका जालीफटाहा काठमाडौँ आएर वाग्मती, मनहरा र हनुमन्ते किनार एवम् ऐलानी जग्गामा २/४ जना नेवारलाई साथ लिएर घरजग्गाको व्यापार गरे होलान् । तिनीहरूको अनुभवले नेवारहरू सोझा, मूर्ख वा भेडा त हुने नै भए !’
पुस्तकको प्रकाशकीयमा स्तम्भका साहित्यिक विषयलाई समावेश नगरिएको जनाइए तापनि सामावेश गरिएका दुई/चार वटा साहित्यिक आलेखहरूले थप बौद्धिक छलफलका लागि मात्र ढोका खुल्ला गरेको होइन बरु साहित्यले राजनीतिको सेवा गर्नुपर्छ र साहित्यलाई राजनीतिको आलोकमा अध्ययन गर्नुपर्छ भन्ने मान्यताको धरातलमा ती साहित्यको समीक्षा गरेको स्पष्ट झल्किन्छ । पेज १५६ को ‘साहित्य र आजको मधुपर्क’ को एक प्रसङ्गलाई लिऔँ – शैलेन्द्र साकारका ‘मुनाका मदनहरू’ ले २०४८ सालपछि …४० लाखभन्दा बढी युवाहरू र चेलीहरू केहीलाई छोडेर रगतको आँसु बगाउँदै छन्…त्यही अर्थमन्त्रीलाई विदेशी बहुराष्ट्रिय कम्पनीले सन्मान ग¥यो ।’
त्यसरी नै अर्को साहित्यिक आलेख ‘आस्था साँस्कृतिक परिवारको नाटक प्रदर्शनबारे ‘बहुलाकाजीको सपना’ नाटकको बारेमा गरिएको समीक्षामा राणाकालीन समयमा शासकविरुद्ध उठेको आवाज र नाटकका लेखकले उठाएका अमेरिकी स्वतन्त्रता सङ्ग्राम र फ्रान्सेली क्रान्तिका प्रसङ्गलाई टिप्पणीकार अप्सराले तत्कालीन समयका मध्यम वर्गीय राजनीतिक र सामाजिक चेतना पुँजीवादी क्रान्तिसम्म मात्र पुगेको उजागर गरेका छन् । नेपालका ख्यातिप्राप्त नाटककार विजय मल्ल पनि यही पुँजीवादी क्रान्तिका एक पक्षधर हुन् भनी प्रस्ट्याइको छ ।
अन्तमा, पुस्तकमा केही शुद्धाशुद्धिका त्रुटिहरू देखिएका छन् । लेखकले लेखाइको बहावमा पूर्णविराम नलागेको भनेर केही स–साना कुराहरूलाई छाड्दै अगाडि बढेको हुन्छ । यही क्रममा रामप्रसाद ढकाल हुनुपर्नेमा ढकाल वा रामप्रसाद मात्र भएको हुनसक्छ जसलाई सच्याउनु सम्पादकको दायित्वभित्र पर्छ, सायद । पुस्तकमा तत्कालीन अमेरिकी राज्य सचिव माइक पोम्पेओ हुनुपर्ने स्थानमा पोम्पेओ मात्र भएका जस्ता त्रुटिहरू देखिन्छन्, ‘सोभिनिज्म’ हुनुपर्नेमा ‘च्याउमिन’ समेत हुन पुगेको देखिन्छ । समग्रमा पुस्तक पठनीय र सङ्ग्रहनीय छ । साप्ताहिक स्तम्भलाई पुस्तकको रूपमा प्रकाशित गरेकोमा ‘श्रमिक’ साप्ताहिक टीमलाई साधुवाद तथा नेपथ्यमा बसेर अथक मिहिनेत गरेका साथीहरूलाई मुरीमुरी धन्यवाद ।
(वैशाख १९ गते पुस्तक सार्वजनिकीकरण कार्यक्रममा व्यक्त गरिएको विचारको सार)
Leave a Reply