भर्खरै :

‘आदर निकेतन’ बारे चिन्तन आवश्यक

‘आदर निकेतन’ बारे चिन्तन आवश्यक

काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लाका नगरहरूमा पनि अनेक कारणबाट परित्यक्त ज्येष्ठ नागरिकहरूको निम्ति मन्दिर, सत्तल र पुराना सार्वजनिक भवनहरूमा देशी वा विदेशी दाताहरूसँग चन्दा लिएर वृद्धाश्रम चलाएको पाइन्छ । कहीँकहीँ विदेश बसेका छोराछोरीहरूले महिना महिनामा केही हजार वा वर्षको केही लाख रूपैयाँ त्यस्ता संस्थाका नाममा पठाएर आ–आफ्नो कर्तव्य निभाइरहेको बताइन्छ । तर, जनताको सरोकार भने वर्तमान सरकारसँग छ । ज्येष्ठ नागरिकहरूको जिम्मेवारी सरकारले बहन गर्नुपर्छ; प्रजातन्त्र र गणतन्त्रमा शान्ति र सुरक्षाको सुनिश्चितता गरेर मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन । विकास निर्माण, काम–माम–कपडा र बालक जन्मेदेखि मृत्युको बेला वा चित्ता र समाधिसम्मको जिम्मेवारी सरकारकोे हो ।
घाँटीसम्म फूलको माला र खादाले छोपेर प्रधानमन्त्रीहरूलाई मूर्ख बनाउनेहरू नै घाँसमा लुकेका सर्प साबित भइरहेका छन् । हो, भारत र नेपालमा पनि गाउँठाउँमा विवाहको बेला बेन्ड बाजा बजाउनेहरूलाई २–४ सय रूपैयाँका माला लगाइदिने गर्छन् । त्यो एक प्रकारको हाँसो र ठट्टा हो भने प्रधानमन्त्रीहरूलाई पनि गाईजात्राको पात्र बनाउन खोज्नु के खलनायकको काम होइन ? जनताको सेवा हुने काममा उत्साहित गर्दा सत्तामा बस्नेहरूको सम्मान हुन्छ । नत्र, भोलि प्रधानमन्त्री हुनेहरूलाई विदेशी महँगा रक्सीका बोतलहरूका माला लगाइदिन बेर छैन ।
फूल हृदय या मनको प्रतीक हो । मगमगाउँदो एउटै फूलले स्वागत गर्दा के आ–आफ्नो मनको भावना अभिव्यक्त हुँदैन ? यस्ता अभिव्यक्तिहरू २–४ वर्षदेखि साधारण जनता र बुद्धिजीवीहरूको माझमा व्यक्त भइरहेको जगजाहेर छ ।
वृद्धाश्रमबारे कहिलेकाहीँ टीभी वा समाचारमाध्यमहरूले देखाएका यथार्थ चित्रहरू र अवस्था हेर्दा पदमा बसेका नेपालीहरू किन यस्तो निर्दयी हुन्छन् भन्ने मनमा प्रश्न उठ्छ । फोहरको डङ्गुरलाई जसरी मानिसहरू नाक छोपेर हेर्ने गर्छन्† त्यस्तै स्थिति केही वृद्धाश्रमहरूको छ । टीभीमा देखाउने ती चित्रहरू हेरेर सम्बन्धित मन्त्री, मन्त्रालय र विभागका कर्मचारीहरूको मथिङ्गलमा विवेक पलाउँदैन भने के मन्त्री र ती कर्मचारीहरूको घरघर र डेरा – डेरामा ठुलठुला अक्षरहरूले ‘पूजा’ गर्नुपर्ने भयो ?
‘वृद्ध भत्ता’ पाउने केही करोडपतिसँग सोध्दा उनीहरू भन्छन्– मैले पाएको रकम केही गरिबलाई बाँड्ने गर्छु । कसैले चुरोटमा खर्च गर्छन् । त्यही बजेटलाई सरकारले बढी उपयोगी र अर्थपूर्ण बनाउने हो भने हेरचाह गर्ने छोराछोरी र नातागोता नभएका ज्येष्ठ नागरिकहरूलाई ‘आदर निकेतन’ को बन्दोबस्त गर्नु आवश्यक छ । यसबारे केही सचेत ज्येष्ठ नागरिकहरूसँगको छलफलमा सम्पत्तिको हकदार भनी अहिले चलिआएको बन्दोबस्तमा ‘आमूल परिवर्तन’ गर्नुपर्छ† सम्पत्तिमा दाजुभाइ र छोराछोरीको हक नलाग्ने गरी ‘इच्छाएको व्यक्ति वा संस्थालाई दान दिन सक्ने’ बन्दोबस्त गर्नु बढी उपयुक्त हुने रायहरू सुनिन्छ ।
मिश्रका राजाहरूको सम्पत्ति फुपू र टाढाटाढाका नातागोतालाई पनि जाने हुँदा ‘पुँजी’ विकास भएन र पश्चिमी देशहरूमा ‘जेठो छोरो’ मात्रै बाबुको सम्पत्तिको हकदार हुने हुँदा ‘पुँजी’ को विकास भयो भन्ने चर्चा पनि चल्यो । सरकारले नोकरचाकर नभएका, घरमा हेर्ने स्याहार्ने बन्दोबस्त सम्भव नभएका परिवारका ज्येष्ठ नागरिकहरूलाई इज्जतपूर्वक बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्न ‘आदर निकेतन’ को बन्दोबस्त गर्नु आवश्यक छ ।
त्यसको आवश्यक खर्च केन्द्रीय वा प्रदेश सरकारले स्थानीय निकायहरूमार्फत गराउनु अत्यन्त व्यावहारिक हुनेछ । बरू पछिपछि विभिन्न पेसा एवम् वर्गका बुद्धिजीवी वा राजनैतिक व्यक्तित्वहरू, लेखक, कवि, कलाकारहरूको समेत ‘आदर निकेतन’ को बन्दोबस्त गर्नु अत्यन्त उपयुक्त हुने देखिन्छ । यसबारे हामी सबैले चिन्तन गरौँ !
२८ चैत २०७९ (११ अप्रिल, २०२३)
स्रोत : सम्पादकीय सङ्कलन तेस्रो खण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *