साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
“मानिसहरूले निन्दा गरून् वा प्रशंसा, धन आओस् वा जाओस्, मृत्यु आजै होस् वा धेरैपछि,
धीर (सिद्धान्तमा अडिग/प्राज्ञ) मानिस न्यायको बाटोबाट एक कदम पनि विचलित हुँदैनन् ।”
न्याय व्यवस्था तराजुजस्तो
कानुनको अन्तिम उद्देश्य न्याय हो । सामान्य अर्थमा न्याय भनेको प्रत्येक व्यक्तिलाई उसको हक, अधिकार र योग्यताअनुसार उचित व्यवहार र निर्णय दिनु हो । राज्यले कानुनमार्फत नागरिकको अधिकार संरक्षण गर्नु र विवादको निष्पक्ष समाधान गर्नु पनि न्याय हो ।
सन्तुलन कायम राख्न सक्यो भने समाजमा न्याय व्यवस्थाप्रतिको विश्वास बढ्छ ।
उदाहरणको लागि कसैले अरुको सम्पत्ति जबरजस्ती कब्जामा लियो भने फिर्ता गराउनु न्याय हो । निर्दोषलाई सजाय नदिनु र दोषीलाई कारबाही गर्नु पनि न्याय भनिन्छ ।
मौलिक अधिकारको संरक्षण, पारदर्शिता र जनताप्रति जवाफदेहिता न्यायका मुख्य आधारहरू हुन् । जुन वर्तमान समयमा निकै कमजोर हुँदै गएको देखिन्छ ।
यस्तो समस्याको समाधान वा उपचार प्राज्ञ, इमानदार कानुनकर्मी वा कानुनसेवीहरूले मात्रै गर्न सक्दछ । त्यसैले कानुनसेवीहरूलाई सामाजिक अभियन्ता (Social Engeeniers) पनि भनिन्छ ।
न्याय र समतामूलक समाज निर्माण गर्न आवश्यकताअनुसारको कानुन निर्माण, समयानुकूल संशोधन, परिमार्जन गर्न कानुनसेवीहरूको महत्वपूर्ण भूमिका रहने गर्दछ ।
त्यसैले वर्तमानमा पनि कानुन विषयको अध्ययन अध्यापनको महत्व झन्झन् बढेको मान्न सकिन्छ ।
कानुन अध्ययनपछि के गर्ने ?
कानुन पढ्ने अधिकांश विद्यार्थीहरूको पहिलो रोजाइ वकालत गर्नु रहेको पाइन्छ । तर, वकालत सजिलो र सरल काम भने होइन । यो निरन्तर अध्ययन र सक्रिय अभ्यासको आवश्यकता पर्ने क्षेत्र हो ।
सुरु सुरुमा वकालत गर्दै जाँदा जित्नुपर्ने मुद्दामा पनि हार ब्यहोर्नुपर्ने हुन सक्छ । कहाँ के कमजोरी भयो ? बुझेर अघि बढ्नुपर्ने हुन्छ, निराश हुनु हुँदैन । मुद्दा हार्नुपर्ने होइन, आफूलाई थाहा हुन्छ तर विविध कारणहरूमध्ये के कुन कारणले मुद्दा हारेको भन्ने थाहा हुन्न ।
मुद्दाका कारबाहीको सिलसिलामा पक्षलाई मात्र होइन, वारेस वा कानुन व्यवसायीको हैसियतले सामान्त्न्दा सामान्य काम कुरा (जस्तै : साधारण तारेख, सामान्य निवेदन दर्ता, नक्कल सार्ने, तारेख थाम्ने, निवेदन पेशी) का लागि पनि दिनभरि कुर्नुपर्ने, कर्मचारी, पक्ष वा विपक्षीका नानाथरीका कुरा सुन्नुपर्ने हुन सक्छ ।
अर्को पक्षका मानिसहरूले विपक्षीको वकिल भनेर फरक व्यवहार गर्ने, कुरा काट्ने गर्न सक्छ । कहिलेकाहीँ कुनै सेवाग्राहीले त “यो वकिलले गर्दा मुद्दा लाएको, मुद्दा हराएको” भन्ने जस्ता आरोप समेत लगाउन सक्छ ।
अर्को पक्षसँग पैसा खायो होला भन्ने झूटा आक्षेप आई लाग्न सक्छ । तैपनि अविचलित न्यायको कर्ममा लाग्नुपर्ने वकालत पेसाको धर्म हो ।
एउटा सामान्य मुद्दा वा निवेदन दर्ता गर्न पनि धेरै दिन आलताल र हैरानी पाउनुपर्ने हुन सक्छ । अर्को पक्षको कानुन व्यवसायीले अनावश्यक मुद्दा मामिला दायर गरी झन्झट र दुःख दिन सक्छ ।
त्यसैले कानुन व्यवसायी अर्थात् कानुनसेवीको पेसालाई हाम्रो समाजमा “जस पाउने पेसा होइन” भन्ने गरिन्छ ।
मुद्दा हारेको पक्षले त तपाईँकै कमजोरीको कारणले मुद्दा हारेको आरोप लगाउन सक्छ । विपक्षीसँग मिलेर वा विपक्षीसँग पैसा खाएर मुद्दा हराई दिएको झूटा आक्षेप लगाउन सक्छ । तपाईँकै कमजोरीका कारणले मुद्दा हारेको भन्दै पारिश्रमिक मात्रै नदिने होइन, उल्टै क्षतिपूर्ति चाहिने कुरा गर्न सक्छ । त्यस्ता पक्ष वा सेवाग्राहीलाई कसरी सम्झाउने होला ? वकालत चुनौतिपूर्ण पेसा व्यवसाय पनि हो ।
त्यसैले तपाईले वकालत कर्म गर्नका लागि धेरै वर्षको अध्ययन, मेहेनत र परिश्रम गर्नुभएको छ भने त्यही कुरामा निखार ल्याउने र तपाईँसँग भएको कानुनको ज्ञानरूपी गुणले देश र जनताको सेवा गर्न सकिन्छ भन्ने दृढ निश्चयी भएर न्यायको बाटोमा अविचलित अगाडि बढ्न सकिन्छ ।
यस्तो अवस्थाहरूको कुरा गर्दै गर्दा ‘बेकारमा कानुन पढेको’ भन्ने पनि पर्न सक्ला । तर, कानुन सबैको लागि आवश्यक पर्ने आधारभूत सामाजिक विज्ञानको एउटा महत्वपूर्ण विषय हो । मजदुर, किसान, शिक्षक, कर्मचारी, इन्जिनियर, चिकित्सक, उद्योगी, व्यापारीलगायत जुनसुकै पेसा व्यवसायका व्यक्तिहरूले कानुनको आधारभूत ज्ञान राख्न आवश्यक हुन्छ ।
“कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने कानुनको आधारभूत सिद्धान्तका बारेमा भाइबहिनीहरूलाई मैले धेरै चर्चा गरिरहनुपर्ने आवश्यकता छैन ।
कानुनका विद्यार्थीहरूले नै समाजमा व्याप्त समस्याहरू समाधानका लागि कस्तो कानुन निर्माणको आवश्यकता छ । समाजलाई कुन बाटोमा अगाडि बढाउन कस्तो कानुन निर्माण गर्नुपर्छ ? भन्ने ज्ञान कानुनका विद्यार्थीहरूसँग नै हुने हो ।
विकल्पहरू धेरै हुनसक्छ
कानुन अध्ययन गरेका भाइबहिनीहरूले वकालत नै मात्र रोज्नुपर्ने अवस्था पनि छैन । वकालत क्षेत्रमा माथि उल्लेख गरेका जस्ता कैयौँ समस्याहरू छन् तर त्यसलाई सुधार गर्न पनि राम्रो वकालत गर्ने इमानदार वकिल÷कानुनसेवीहरूको आवश्यकता छ ।
प्रशिक्षक वा परामर्शदाताको रूपमा पनि आफूलाई स्थापित गर्न सकिन्छ । निरन्तर बहुसङ्ख्यक किसान र मजदुरहरूको पक्षमा वकालत गर्नुका साथै सर्वसाधारण जनतालाई कानुनका आधारभूत ज्ञान दिन र समाजमा व्याप्त कुरीति, कुसंस्कार, विकृति, विसङ्गति हटाउनुका साथै अन्यायपूर्ण समाजलाई न्यायपूर्ण बनाउन निरन्तर परामर्श, प्रशिक्षण र अभिमुखीकरण गर्दै जान सकिन्छ ।
अहिले एआईको समय सुरु भएको छ । उद्योग, वाणिज्य, शैन्य रणनीति, विदेश सम्बन्ध, सन्धि सम्झौता, व्यापार व्यवसाय, कर कानुन, करारलगायतका क्षेत्रमा काम गर्न दक्ष कानुनसेवीहरूको माग बढ्दो छ ।
प्रहरी प्रशासनमा पनि इमानदार अनुसन्धानकर्ताहरूको कमी महसुस गर्ने गरेको पाइन्छ । प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गर्ने गरेको देख्दा प्रहरीलाई ‘रक्षक हो कि भक्षक’ भन्ने गरेको पनि सुनिन्छ । प्रहरीले आफ्नो इज्जत जोगाउन ‘प्रहरी हाम्रो साथी, मुस्कानसहितको सेवा’ जस्ता नारा दिने गरेको छ । तर, केही थोरै बदमास प्रहरी अधिकारीहरूका कारण प्रहरी प्रशासन नै बदनाम भइरहेको हामी देख्छौँ ।
राष्ट्रसेवक कर्मचारी भएर पनि देश र जनताको सेवा गर्न सक्छौँ । शक्ति नै भक्ति भन्दै सत्ता र राजनीतिक शक्तिको आडमा जागिर खाने कर्मचारीहरूबाट धेरै आशा गर्नु बेकारजस्तै छ । उनीहरू आफ्ना मालिकको हितका लागि जे पनि गर्न सक्छन् ।
देश र जनताको निःस्वार्थ सेवा गर्ने राष्ट्रसेवक कर्माचारी हुन् । विदेशीहरूले अनुचित प्रभावमा पारेर नेपाल र नेपालीलाई घाटा र उनीहरूलाई सामरिक तथा व्यापारिक रूपमा फाइदा हुने सन्धि सम्झौता गर्न गराउन सक्छ । यस्तो अवस्थामा देशको प्रतिनिधित्व गर्ने हैसियत कर्मचारीहरूले पनि राख्न सकिने हुँदा देशको अहितमा हुने कुनै पनि सन्धि सम्झौता नगर्न सचेत पार्ने वा जनतामाझ स्पष्ट गर्न सकिन्छ ।
यसरी इमानदार कर्मचारी भई सेवाग्राही तथा सर्वसाधारण जनतालाई निःस्वार्थ रूपमा सेवा गर्दा अन्यायमा परेका, अद्दा अदालतको, प्रहरी प्रशासनको झन्झटिलो परिस्थितिलाई बदलेर सेवाग्राहीले आफ्नो घाउमा मलहम लगाउन पाएको जस्तै शीतलता महसुस गर्नेछ ।
राजनीतिमा पनि कानुनका विद्यार्थीहरूको संलग्नता आवश्यक छ । राजनीति सत्ता र सरकारमा पुग्ने उद्देश्यले गर्ने गर्दछ । सत्ता र सरकारमा पुगेपछि कस्तो कानुन निर्माण गर्ने, जनताको सर्वोत्तम हितका लागि आवश्यक कानुन के के हो ? भन्नेजस्ता कुराहरू कानुन अध्ययन गर्ने विद्यार्थीहरूले अझ राम्रोसँग बुझ्न सक्ने हुँदा जनप्रतिनिधिहरू कानुनका विद्यार्थी हुँदा सुनमा सुगन्ध हुन्छ ।
सरकारको नीति निर्माण गर्ने ठाउँमा होस् वा जनप्रतिनिधिको रूपमा कानुन निर्माण गर्ने संसद्मा कानुन अध्ययन गरेका प्रतिनिधिले अझ बढी योगदान गर्न सक्छ । यसरी कानुनका विद्यार्थीहरूले जनप्रतिनिधि भएर पनि सेवा गर्न सकिन्छ ।
संसद्मा हरेक कानुनको अध्ययन, छलफलमा भाग लिने, जनपक्षीय कानुन निर्माणका लागि आवश्यक संशोधन पेस गर्ने, संसद्मा सार्वजनिक सरोकारको बारेमा आफ्नो र दलको धारण राख्ने, हरेक पटक देशको सार्वभौमसत्ताको रक्षा र जनताको निःस्वार्थ सेवाको लागि दबाब दिने गरेको पाउँछौँ ।
समाजवादी ऐन कानुनको अध्ययन गर्नुपर्ने
देशको सार्वभौमसत्ताको रक्षाका लागि, देशको सम्पूर्ण प्राकृतिक स्रोत साधन राज्यले मात्रै सञ्चालन गर्न पाउने, जनताका लागि अति आवश्यक शिक्षा, स्वास्थ्य उपचार निःशुल्क हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था हुनुका साथै रोजगारीको सुनिश्चितता हुने, व्यक्तित्व विकासमा हुने खाने र हुँदा खाने समेतले समान अवसर पाउने व्यवस्थाको ग्यारेन्टी गर्ने कानुन समाजवादी व्यवस्थामा मात्रै सम्भव छ ।
अरुलाई काम गराई, दिनुपर्ने ज्यालामा समेत कमिसन खाएर गरिनेलगायतका शोषणको अन्त्य गर्ने, शोषणविरुद्ध कडा कानुन निर्माण समाजवादी व्यवस्थामा मात्रै सम्भव देखिन्छ । शोषण गरेरै नाफा कमाउने कुरा पुँजीवादी व्यवस्थाको छाया हुने गर्दछ ।
त्यसैले कानुन पढ्न चाहने विद्यार्थी भाइबहिनीहरूले आफ्नो पाठ्यक्रममा अध्ययन गर्नुपर्ने सन्दर्भ पुस्तकहरूबाहेक सुरुदेखि नै समाजवादी देशहरूका संविधान, ऐन कानुनहरूको पनि अध्ययन गर्नु जरुरी छ ।
पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थामा निर्माण गरिएका नीति नियम, ऐन कानुनहरूको तुलनात्मक अध्ययन गर्दै व्यापक काम गरी खाने जनताको पक्षमा निरन्तर वकालत गर्नुका साथै देश र जनताको निःस्वार्थ सेवामा निरन्तर सङ्घर्ष गर्ने सक्नुपर्छ ।
वरिष्ठ राजनीतिज्ञ एवं श्रद्वेय अध्यक्ष नारायणमान बिजुक्छँेले “कानुन पढ्नु भनेको केवल डिग्री हासिल गर्नु होइन, यो देश र जनताको सेवा गर्ने एक पवित्र दायित्व हो” भनी बताउनुभएको छ । त्यसैले कानुनका विद्यार्थीहरू सधैँ सचेत र सजग रहनुका साथै समाजमा न्याय स्थापना गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न अग्रसर हुनुपर्दछ ।
भर्खरै सार्वजनिक भएको एसईई उत्तीर्ण गर्नुभएका सम्पूर्ण भाइबहिनीहरूको उच्च शिक्षा अध्ययनको सफलताको शुभकामना छ ।
२०८३ जेठ ३
Leave a Reply