भर्खरै :

युवाहरूबिच चे ग्वेभारा

युवाहरूबिच चे ग्वेभारा

विश्व युवा जगतमा क्रान्तिकारी भावनाको उत्साह सञ्चार गर्ने एउटा लोकप्रिय नाम हो – अर्नेस्टो चे ग्वेभारा । क्रान्तिकारी विचारले मान्छेलाई साँच्चैको युवा बनाउँछ भन्नुहुने चे अमेरिकी साम्राज्यवाद र उपनिवेशवादविरुद्ध लड्ने एक योद्धा हुनुहुन्थ्यो । अर्जेन्टिनामा जन्मनुभएका चेले डाक्टरी पढ्दै गर्दा र डाक्टर बनिसकेपछि ल्याटिन अमेरिकाका अधिकांश देशहरूमा स्टेथस्कोपसहित भ्रमण गर्नुभयो । उहाँले ल्याटिन अमेरिकामा अमेरिकी साम्राज्यवादको दबदबा र अत्याचारलाई नजिकबाट हेर्नुभएको थियो । ल्याटिन अमेरिकामा व्याप्त असमानता, शोषण, अन्याय, बेरोजगारी, भोक, गरिबी र मानव समाजका दुखान्तहरूसँगको साक्षात्कारले उहाँभित्र पलाएको साम्राज्यवादविरोधी भावना र क्रान्तिकारी विचारबाट आजका युवाहरूले उत्साह प्राप्त गर्छन् । अमेरिकी साम्राज्यवादविरुद्ध क्युवाको सियरामायस्ट्रा पहाडमा स्टेथस्कोपको सट्टा बन्दुक बोकेर लडिरहेका चे ग्वेभाराले आज पनि साम्राज्यवादविरोधी सङ्घर्षमा ऊर्जा प्रदान गर्छ । बोलिभियाका जङ्गलहरूमा लड्दालड्दै ढलेका चे ग्वेभारालाई विश्वले भुल्न सक्ने छैन ।
उहाँलाई जीवित राख्ने थुप्रै पुस्तक, चलचित्र र वृत्तचित्रहरू छन् । उहाँको व्यक्तित्व चर्चा, सङ्घर्षका पृष्ठहरू, आत्मवृत्तान्त र डायरीहरूले उहाँको सम्झना ताजा बनाइरहन्छ । उहाँका सङ्कलित भाषणहरू बेजोडका छन् । उरूग्वेको पुस्टाडेल इस्तेमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा क्युवाको प्रतिनिधित्व गरी उहाँले दिनुभएको मन्तव्यले आज पनि ल्याटिन अमेरिकाको राजनीतिक, आर्थिक, सामाजिक पक्षहरूलाई दिशानिर्देश गर्दछ । क्युवा र ल्याटिन अमेरिकी केही देशका विश्वविद्यालयहरूमा अध्ययनरत युवा लक्षित मन्तव्यहरूले उहाँलाई विश्वका युवा मनहरूमा युगयुगसम्म स्थापित गर्न सघाउँछ ।
‘Che Guevara Talks to Young People’ उहाँको क्रान्तिकारी व्यक्तित्व चिनाउने त्यस्तै एउटा पठनीय पुस्तक हो । विश्वविद्यालयका विद्यार्थी र अन्य युवा समूहमाझ सन् १९५९ देखि १९६४ सम्मको उहाँको मन्तव्यको सङ्कलित रूप हो यो पुस्तक । पुस्तकमा नेता फिडेल क्यास्ट्रोले चेको सम्झनामा सन् १९९७ मा व्यक्त गर्नुभएको श्रद्धाञ्जली मन्तव्य पनि सङ्कलित छ । नेता क्यास्ट्रोले भन्नुभएको थियो – “चे साँच्चिकैका कम्युुनिस्ट थिए । उनी आज एक उदाहरण बन्न सफल छन् । सच्चा क्रान्तिकारी कस्तो हुन्छ, सच्चा कम्युनिस्ट कस्तो हुन्छ, उनी ज्वलन्त उदाहरण हुन् ।”
चे ग्वेभाराले अन्तर्राष्ट्रवादको झन्डालाई उँचो फहराउनुभयो । ल्याटिन अमेरिकामा समाजवादी आन्दोलनको उभार ल्याउन उहाँको प्रयास, माक्र्सवादको विचारलाई विजयोन्मुख बनाउने उहाँको सङ्घर्षप्रति आजको युग कृतज्ञ छ । विश्व इतिहासको अध्ययनमा विशेष रुची राख्ने उहाँले सभ्यता र संस्कृतिको नैतिक मूल्य र मान्यताबारे युवाहरूलाई समय – समयमा प्रशिक्षित बनाउनुभएको छ । उहाँले सिमोन बोलिभार र जोसे मार्टीबाट सङ्घर्षको बाटोमा हिँड्ने उत्साह बटुल्नुभयो । कार्ल माक्र्स र क्युवाली क्रान्तिबाट माक्र्सवाद र समाजवादको मार्ग प्राप्त गर्नुभयो । आफूले ग्रहण गरेको ज्ञानलाई युवा पुस्तासम्म प्रभावकारी ढङ्गले पु¥याउन उहाँ कतै चुक्नुभएन । समाजको वैज्ञानिक र चेतनशील विश्लेषण क्षमताले उहाँलाई यो शताब्दीसम्म पनि प्रख्यात अर्थात् प्रिय व्यक्तित्वका रूपमा स्थापित गरेको छ ।
मानव समाजका निम्ति अभिसाप बनिरहेको पुँजीवादविरुद्ध लड्न उहाँले युवाहरूलाई आह्वान गर्नुभएको छ । उहाँले युवाहरूलाई शारीरिक र मानसिक अर्थात् बौद्धिकरूपमा तयार हुन हौस्याउनुभएको छ । अत्यन्त अनुशासित बन्न, सक्रियताका साथ काम गर्ने क्रान्तिकारी (नाम मात्रको होइन) बन्न उहाँका मन्तव्यहरूले सिकाउँछ । साना–ठुला सङ्घर्षका हरेक मोर्चाहरूमा निडर भई अग्रपङ्क्तिमा उभिन ऊर्जा प्रदान गर्छ । वैज्ञानिक र चेतनशील भई अध्ययनलाई जोड दिनुपर्ने, गहिरो अध्ययनबाटै सङ्घर्षको जीवनदर्शन प्राप्त गर्न सकिने सन्देश उहाँबाट मिल्छ । पिल्सिएका जनता र थिचिएका देशहरूको पुरानो सभ्यता बिउँताउन र त्यसलाई जोगाउन युवाहरूको अध्ययनले सघाउने तर्क मिल्दछ । सङ्घर्षमा पुरुष र महिलाको समान सहभागिताले मात्र आन्दोलन र क्रान्तिहरू सफलतामा टुङ्गिने हुँदा भर्खरका छोरीहरूले अझ बढी राजनीति र सङ्घर्षमा चासो राख्नुपर्ने सन्देश प्राप्त हुन्छ ।
एकजना नयाँ र भिन्न खालको मान्छे बन्न कामगरी खाने जनताको माझमै जानुपर्छ, सङ्घर्षमा डट्नुपर्छ, समर्पणभाव हुनुपर्छ, बहादुर बन्नुपर्छ र जीवन उद्देश्यप्रति सदा आशावादी भई निरन्तर अथक हिँड्नुपर्छ, शोषणका बादशाहहरूलाई पछार्न सर्वहारा जनतासँग उभिनुपर्छ । हरेक विद्यार्थी र युवा राजनीतिक प्राणी नै हुन् । विश्वविद्यालय र विद्यार्थीलाई राजनीतिबाट अलग राख्न खोजिए विश्वमा श्रमजीवी आन्दोलनहरू निकै पछाडि पर्छन् भन्ने उहाँको तर्क मनासिब छ । युवा हुनुको हर्ष, उसको जुझारूपनमा हुन्छ, उसको ज्ञानी मस्तिष्कमा हुन्छ, उसको स्फूर्ति र सक्रियतामा हुन्छ त्यसकारण हरेक पल युवा हुनुको खुसी मनाऊ र सधैँ–सधैँ युवा रहनू भन्नुहुन्छ, चे ग्वेभारा ।
सन् १९६० जुलाई २८ का दिन पहिलो ल्याटिन अमेरिकी युवा सम्मेलनको उद्घाटन सत्रमा व्यक्त मन्तव्यमा उहाँले क्युवाली क्रान्तिको सुरुआत र सङ्घर्षका शृङ्खलाहरू प्रस्तुत गर्नुभएको छ । शासक फुल्गेनसिअ बाटिस्टा
(अमेरिकी कठपुतली) विरुद्ध क्युवाली मजदुर किसानको सङ्घर्षको क्रममा भएको मोन्काडा हमला, कृषि सुधारको नीति विषयमा सटिक विश्लेषण गर्नुभएको छ । क्युवाली क्रान्ति किन र यसको विचारधारा के ? उहाँले प्रस्ट्याउनुभएको छ ।
क्युवामा क्रान्तिको सफलतापछि सुरुआति चरणमै भूमिसम्बन्धी समस्या समाधानको नीति अगाडि बढाइएको थियो । जोत्नेलाई जमिन प्रदान गर्ने, उत्पादन वृद्धि र व्यवस्थापन गर्ने, बजार व्यवस्थापन गर्ने कार्यहरू थालिएको थियो ।
क्युवाको क्रान्तिकारी सरकारले अघि सारेको कृषि सुधार योजनाले सम्पत्तिसम्बन्धी व्यवस्थालाई नै रूपान्तरण ग¥यो । कृषि सुधार क्युवाको औद्योगीकरणको आधारशिला बन्यो । क्रान्तिकारी सरकारलाई संरा अमेरिकाको तथाकथित प्रजातन्त्रले हमला गर्न कुनै कसर बाँकी राखेको थिएन । सम्पूर्ण ल्याटिन अमेरिकी देशहरूलाई आफ्नो आँगन मान्ने संरा अमेरिकाले ल्याटिन अमेरिकालाई आफ्नो कच्चा पदार्थको सस्तो स्रोत र आप्mनो बजार बनाएको छ । संरा अमेरिकालाई क्युवाको निकेल खानी र चिनी कारखानाहरू भेनेजुयलाको तेल, मेक्सिकोको कपास, चिलीको कपर, अर्जेन्टिनाको पशुधन, पाराग्वेको घाँसेमैदान, ब्राजिलको कफी आदि निर्वाध चाहिएको छ अर्थात् त्यसमा एकहट्टी र एकाधिकार चाहिएको हो । क्युवाली क्रान्तिले ल्याटिन अमेरिकामा पार्ने प्रभावदेखि तर्सिएर क्युवामाथि अमानवीय नाकाबन्दी थोपरिएको हो भन्ने बुभ्mन गा¥हो छैन । क्युवाली क्रान्तिको प्रभाव रहेको भेनेजुयला र पुर्टोरिकोजस्ता देशहरूमा पनि संरा अमेरिकाले उत्पात मच्चाइरहेकै छ । हिंसा, युद्ध र विध्वंस मच्चाउनुलाई संरा अमेरिका बहादुरी ठान्छ । त्यसकारण, अमेरिकाका कुनाकाप्चाबाट स्वतन्त्रताका निम्ति आवाज बुलन्द गर्नुपर्छ भन्नुहुन्छ चे ग्वेभारा ।
चे ग्वेभाराले सन् १९६० अगस्त १९ मा चिकित्साका विद्यार्थी र स्वास्थ्यकर्मीहरूमाझ दिनुभएको मन्तव्य पनि सङ्कलित छ । उहाँले चिकित्साशास्त्रका विद्यार्थी र स्वास्थ्यकर्मीलाई क्रान्तिकारी बन्न घच्घच्याउनुभएको छ । उहाँ भन्नुहुन्छ – “एकजना क्रान्तिकारी डाक्टर बन्न तिमी पहिला क्रान्ति निर्माणको बाटोमा हिँड्नुपर्छ । एकजना मेडिकल विद्यार्थीले मान्छेको शरीरका अङ्गहरू मात्र होइन समाजको चिरफार पनि गर्न सक्नुपर्छ ।” क्युवाली क्रान्तिको उदाहरण दिँदै उहाँ भन्नुहुन्छ, “विद्यार्थीलाई तालिम दिनु, हुर्काउनु, सेनालाई शिक्षा दिनु, आप्mनो पसिना बगाई जोतेको जमिनमा फलेको फसल काट्न नपाउने किसानलाई जमिनदारबाट खोसेर जमिन वितरण गर्नु नै साँचो अर्थमा सामाजिक ओखतीमूलो हो ।” डाक्टरहरूलाई मान्छेले मान्छेमाथि गरिरहेको शोषणको हेक्का हुनुपर्दछ । स–साना र अल्पविकसित देशहरूमाथि उपनिवेशवादी र साम्राज्यवादी देशहरूले गरिरहेको शोषणबारे उनीहरूलाई जानकारी हुनुपर्दछ । साधारण मजदुर–किसान र तिनका सन्तानहरूको अवस्था, रोग, भोक र मृत्युको कथा अवगत हुनुपर्दछ । अनि, त्यस्तो अव्यवस्थाविरुद्ध लड्ने सङ्कल्प गर्नुपर्दछ, तबमात्र क्रान्तिकारी डाक्टर बन्न सकिन्छ भन्नुहुन्छ चेग्वेभारा । जनताको माझमा निःस्वार्थ सेवाभावसहित नजाने डाक्टरका स्टेथस्कोपहरू काम लाग्दैनन् । समाजको रोग पत्ता लगाउन नसक्ने मेडिकल सर्टिफिकेटहरू काम लाग्दैनन् । संसारका अँध्यारा कुनाहरूमा पुगेर सेवा गर्ने डाक्टरहरू जन्माउन क्युवाले शिक्षालाई प्राथमिकतामा राखेको हो । संरा अमेरिकाले संसारलाई ध्वस्त बनाउन बम बनाउँदै गर्दा क्युवाले महामारी र महाब्याधिविरुद्ध संसारलाई जोगाउने क्रान्तिकारी मेडिकल ‘ब्रिगेड’ हरू तयार गर्दै थियो । वर्गशत्रुविरुद्ध इस्पातझै उभिने ब्रिगेडहरू नै क्युवाका भविष्य हुन् भन्नेमा चे ग्वेभारा उतिबेलै प्रस्ट हुनुहुन्थ्यो ।
सियरामायस्ट्राको पहाडमा लास मासैडिजमा कामिलो सियफुगोस विद्यालय निर्माण गर्न ३७ वटा देशबाट दुई महिनासम्म निरन्तर जुटेका १६० जना स्वयम्सेवकको बिदाइको समयमा चेले दिनुभएको मन्तव्य मार्मिक छ । “साम्राज्यवादले तयार पारेका हतियार सम्पन्न सेनाभन्दा आफ्नो देशको सिमाना पारी पिक र साबेल बोकी विद्यालयहरू निर्माण गर्ने स्वयम्सेवकहरूको कदर इतिहासले गर्नेछ । गाउँ–गाउँ र पहाडहरूमा विद्यालय निर्माण, अस्पताल निर्माण गर्नु पनि कामदार वर्गीय आन्दोलनको सिलसिला नै हो । संरा अमेरिकाको एक बजार नीति, सर्वश्रेष्ठताले गाँजेको प्रवृत्ति, अर्थतन्त्रमा एकाधिकार प्रणालीविरुद्ध स्वयम्सेवकहरूले ठाउँ–ठाउँ र गाउँ–गाउँमा चेतना जगाउनुपर्ने” सन्देश मन्तव्यमा छ ।
काला, गहुँगोरो, मजदुर र किसानको रङ्गले विश्वविद्यालय रङ्गिनुपर्दछ भन्ने भाषण चेले सन् १९५९ डिसेम्बर २८ मा लसभिल्लासको केन्द्रीय विश्वविद्यालयमा व्यक्त गर्नुभएको थियो । क्रान्तिपछिको कृषि सुधार, उत्पादनका साधनमा सामाजिकीकरण, एक लाखभन्दा बढी युवालाई स्वयम्सेवक शिक्षकको रूपमा क्युवाको गाउँगाउँ पठाउने र साक्षरता अभियान जनताको अत्यावश्यक आवश्यकता, औषधि, विद्युत् र टेलिफोनको करमा कटौती, सार्वजनिक शिक्षामा जोड, सार्वजनिक स्वास्थ चौकीहरू र अस्पताल स्थापनालगायतका कार्यहरूमा काला वर्णका, मुुलाट्टो, मजदुर र किसान वर्गको सहभागिता अत्यधिक थियो । त्यसकारण, विश्वविद्यालय मजदुर र किसानको हुनुपर्दछ, विश्वविद्यालय कामदार जनताको हुनुपर्दछ । तबमात्रै क्रान्तिको रक्षा हुन्छ, समाजवाद निर्माणको क्रान्ति अगाडि बढ्छ भन्ने तर्क चे ग्वेभाराको हो । वर्तमानमात्र होइन भविष्य पनि शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्य क्युवाको बन्दोबस्तले लियो ।
क्युवाको आर्थिक विकासमा विश्वविद्यालयको भूमिका विषयमा चे ग्वेभाराले सन् १९६० मा हवानाको विश्वविद्यालयमा मन्तव्य राख्नुभएको थियो । त्यसो त शिक्षितहरूले नै मात्र देश रूपान्तरण गर्ने होइन । क्युवामा निरक्षर जनसेनाले नै क्रान्ति सफल पार्न सघाएको हो र विश्वविद्यालय निर्माण क्रान्तिकै एउटा उपलब्धि हो । यद्यपि, युग सुहाउँदो जनशक्तिको तयारी विश्वविद्यालयबाटै हुन्छ, शिक्षाबाटै हुन्छ भन्नेमा दुईमत छैन । चे ग्वेभाराले सन् १९६३ सेम्टेम्बर २९ मा वास्तुशास्त्रका विद्यार्थीको अन्तर्राष्ट्रिय सम्मेलनको समापनमा बोल्नुभएको थियो, “प्रविधि हतियार हो, कहिल्यै नबिर्सनू ¤ त्यो प्रविधि साम्राज्यवादविरुद्ध लक्षित हुनुपर्छ, समाजवादको सुन्दर व्यवस्था निर्माणमा समर्पित हुनुपर्छ । आर्किटेक्टहरूसँग सभ्यताको ज्ञान हुन जरुरी छ, त्यो सँगै मानवीयताको अनुभूति जीवित हुनुपर्छ । आर्किटेक्टले पनि राजनैतिक प्राणीको जीवन व्यतित गर्नुपर्छ । राजनैतिक बन्दोबस्तबारे अनविज्ञ आर्किटेक्ट युगभन्दा पछाडि पर्छ । आर्किटेक्टहरूले प्रयोग गर्ने प्रविधि देशको भलाइ र उन्नयनका निम्ति हुनुपर्दछ ।”
उहाँ भन्नुहुन्छ – “एउटा संरा अमेरिका निर्मित एम–वान राइफल छ । त्यो राइफल बाटिस्टाका सेनाहरूको हातमा पर्छ, त्यो हतियार अत्यन्त घृणित हुन्छ, विध्वंस मच्चाउँछ । तर, जब त्यही राइफल जनसेनाको हातमा पर्छ, असाध्यै सुन्दर देखिन्छ र जनजीवन जोगाउँछ ।” त्यसकारण, प्रविधिको सही र उत्तम प्रयोगबारे पनि युवा पुस्तालाई प्रशिक्षित बनाउनुुपर्छ भन्नुहुन्छ चे ग्वेभारा ।
सङ्घर्षको मैदानमा उत्रेका युवाहरूलाई चे भन्नुहुन्छ– “हामी ऐना जस्तै हौँ । जहाँ आफ्नो स्वतन्त्रताका निम्ति लडिरहेका विश्वका शोषित जनता आफै प्रतिविम्बित हुन्छन् ।” त्यसकारण, कम्युनिस्ट युवाहरू देशको सीमाभित्र मात्र सीमित रहनु हुँदैन । युवाहरूले सर्वहारावादी अन्तर्राष्ट्रवादको अभ्यास र आत्मसात् गर्न जरुरी हुन्छ । युवा कम्युनिस्टहरू काम, पढाइ, अध्ययन र देशको रक्षाका मोर्चाहरूमा सदैव पहिला अर्थात् अग्रपङ्क्तिमा हुनुपर्दछ । युवाहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयहरूमा जानकार र छलफलमा भाग लिन सक्ने बन्नुपर्छ, त्यसपछि भविष्य निर्माण उज्ज्वल हुनेमा सन्देह हुन्न भन्नुहुन्छ चे ग्वेभारा । ‘समाजवाद’ या ‘मातृभूमि’, ‘समाजवाद’ या ‘मृत्यु’ को भावनाले काम गरेका क्युवाली युवाबाट विश्वले सिक्नुपर्ने सन्देश पुस्तकले दिन्छ ।
पुस्तकमा क्युवाको युवा कम्युनिस्ट सङ्गठनको विषयमा चर्चा छ । सङ्गठन आपैmमा एउटा सङ्घर्षको मोर्चाको रूपमा विकास गर्न र क्रान्ति निर्माण गर्न चेका ऊर्जाशील मार्गनिर्देशनहरू सङ्कलित छन् । युवा महिलाहरूको सङ्गठन निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ । देशको रक्षार्थ नलड्ने, कुरूप पुँजीवादविरुद्ध मुट्ठी नकस्ने, हिंस्रक साम्राज्यवादविरुद्ध रगत नबगाउने, उपनिवेश र नवउपनिवेशवादविरुद्ध सङ्घर्ष नगर्ने युवा साँच्चैका युवा बन्न सक्दैन । सर्वहारावर्गको पक्षमा समर्पित सेवाभावले नउत्रने युवा अनि सङ्घर्षका सम्पूर्ण मोर्चाहरूबाट भाग्ने युवा साँच्चैको युवा हुन सक्दैन । बोली मिठो बोल्ने, सिद्धान्त विचारको फलाकोबाजी गर्ने तर आवश्यकता पर्दा मैदानमा नउत्रने र माटोसँग नजोडिने युवा पनि साँच्चैका युवा होइनन् भन्ने सन्देश पुस्तकले दिन्छ ।
पुस्तकमा फिडेल क्यास्ट्रोले सन् १९९७ अक्टोबर १७ का दिन चेको सम्झनामा व्यक्त गर्नुभएको मन्तव्य पनि सङ्ग्रहित छ । संरा अमेरिकी सैन्य अधिनायकत्वविरुद्ध सङ्घर्ष गर्दागर्दै चे ग्वेभारा बोलिभियामा मारिनुभयो । तर, उहाँ क्युवाली क्रान्ति र क्युवाको समाजवादी बन्दोवस्तमा जीवित हुनुहुन्छ । क्युवाली क्रान्तिका एक सम्झनैपर्ने योद्धा चे ग्वेभारालाई विश्वले सम्झन्छन् । उहाँले देख्नुभएको सपना, साम्राज्यवादको पतनको सपना, समाजवादी आन्दोलनको विजयको सपनामा उहाँ जीवित हुनुहुन्छ । संसारमा साम्राज्यवाद, प्रभुत्ववाद, शोषण, अतिक्रमण रहेसम्म त्यसविरुद्ध सङ्घर्षका निम्ति चे ग्वेभारा ऊर्जा बनिरहनुहुनेछ ।
भेदभाव, रोग, भोक, शोषण, अत्याचारको शृङ्खला जबसम्म चल्छ तबसम्म त्यसविरुद्ध लड्नुहुने चे ग्वेभारा सम्झिइनुहुनेछ । आन्दोलन र क्रान्तिका धोकेबाजहरूका निम्ति, भ्रष्टाचारी र अवसरवादीहरूका निम्ति चेग्वेभारा हाँक बनेर उभिनुभएको इतिहास ताजै छ । उहाँको इस्पातजस्तो मनोबल, क्रान्तिप्रतिको विश्वास लगनशीलता र जुझारूपन, काम गर्ने र अध्ययन गर्ने इच्छाशक्तिलाई आजका युवाहरू अनुसरण गर्दै छन् ।
चे ग्वेभारा क्युवाको नयाँ क्रान्तिकारी सरकारमा कृषि सुधारका राष्ट्रिय एकाइको औद्योगीकरण विभागको प्रमुख हुनुभयो, राष्ट्रिय बैङ्कको अध्यक्ष बन्नुभयो, उद्योगमन्त्री बन्नुभयो, क्रान्तिकारी सैन्यशक्तिमा अधिकारीको रूपमा काम गर्नुभयो । त्यसपछि उहाँले क्युवामात्र होइन अन्य देशमा पनि क्रान्ति सफल बनाउनुपर्छ भनी हिँड्नुभयो । बोलिभियामा क्रान्तिको परिस्थिति तयार नभइकनै उहाँले लिनुभएको त्यो निर्णय अपरिपक्व सिद्ध भयो । उहाँको भौतिक शरीर अस्ताएपनि विचारको रातो झन्डा सदा फहरिरहनेछ । फिडेल क्यास्ट्रोले उहाँलाई यसरी नै प्रेमपूर्वक सम्झनुभएका सन्दर्भहरू पुस्तकमा छन् । पुस्तक संसारका युवाहरूलाई ऊर्जा प्रदान गर्न, वैचारिक स्पष्टता प्रदान गर्न सफल छ । चे ग्वेभारा जन्मदिवस नजिकिँदै गर्दा अध्ययन गर्न छुटाउन नहुने उहाँका पुस्तकमध्ये यो पनि हो । अङ्ग्रेजी र स्पेनियाली भाषामा प्रकाशित यस पुस्तकका निम्ति पाथफान्डर प्रेसलाई धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *