कानुन पढ्न चाहनुहुने विद्यार्थी भाइबहिनीहरूलाई सुझाव
- जेष्ठ ४, २०८३
सन्दर्भ : हो चि मिन्ह जन्म दिवस
अमेरिकी साम्राज्यवादीहरूले भियतनामी जनताको क्रान्तिकारी युद्धलाई दबाउन अणुबमबाहेक अरु सबै किसिमका घातक बम तथा हतियारहरूको उपयोग गरे । उनीहरूले नापाम बमको पनि प्रयोग गरे जसको हावाले सारा चिज डढाउँथ्यो । मानिसको मासु डढाएर झाथ्र्यो । उनीहरूले यस्ता बमको पनि प्रयोग गरे जसले अक्सिजन ग्याँसलाई सोसी दिन्थ्यो† अनि मानिसहरू सास फेर्न नसकेर मर्ने गर्थे । उनीहरूले भियतनामका अस्पताल, स्कूल, कारखाना, धान खेत र प्राकृतिक स्रोतहरूमा जथाभावी बम वर्षा गरेर भियतनाम र भियतनामी जनतालाई ढुङ्गेयुगको अवस्थामा पु¥याउने कोसिस गरे, दसौँ हजार भियतनामी जनतालाई मारे ।
अमेरिकाले यो काम कम्युनिस्टहरूलाई बढ्न नदिन पुँजीवादी साम्राज्यवादीहरूको नाइकेको रूपमा गर्दै थियो । कम्युनिस्टहरूलाई दबाएर संसारमा सधैँको निम्ति पुँजीवादी अधिनायकत्व कायम गर्ने उसको कोसिस थियो । अमेरिकाले जति ठुलो लडाइँ चलाउँदै थियो, त्यसले त्यत्तिकै ठुलो हार खान परिरहेको थियो । संसारभरिका शोषित पीडित, शान्तिप्रिय जनताले अमेरिकाको युद्ध नीतिको विरोध गर्दै थिए । अमेरिकामै पनि भियतनाममा अमेरिकाको युद्ध नीतिको विरुद्ध एक–एक पटकमा दस–दस लाख जनताको जुलुस प्रदर्शन हुँदै थिए ।
सन् १९७३ मा पेरिस सम्झौता भयो । यो सम्झौता हुनुको अर्थ भियतनामी जनताको, मुक्ति मोर्चाको र अस्थायी क्रान्तिकारी सरकारको विजय थियो । तर, अमेरिकी साम्राज्यवादीहरू र उनीहरूका कठपुतली थ्युं सरकारले सम्झौतालाई भङ्ग गरी अस्थायी क्रान्तिकारी सरकारको इलाकामा घुसपैठ गरी आक्रमण गर्ने काम थाल्यो । बहादुर भियतनामी जनता चुप लागेर बस्न सकेनन्† इँटका जवाफ पत्थरले दिन थाले ।
भियतनाम युद्धले गर्दा अमेरिकाको आर्थिक स्थितिमा ठुलो असर पार्यो । जनता यो खर्चको भारी बोक्न नसकेर विरोध गर्न अगाडि बढे । भियतनामको युद्धमा पठाउन अमेरिकी जनतालाई जबरजस्ती सेनामा भर्ती गराइन्थ्यो । हार माथि हार खाँदै गएपछि अमेरिकी साम्राज्यवादी र यसका भरौटेहरूले ‘विशेष युद्ध’, ‘स्थानीय युद्ध’ र ‘भियतानामीकरण’ नाउँबाट युद्धहरू चलाए । तर, साम्राज्यवादीहरूले हार माथि झन् ठुलो हार खानुप¥यो ।
३० अप्रिल, १९७५ को ११.३० बजे मुक्तिसेनाले दक्षिण भियतनामको राजधानी सैगनमाथि विजय प्राप्त गरी दक्षिण भियतनाम गणतन्त्रको अस्थायी क्रान्तिकारी सरकारको रातो र नीलो भुइँमा सुनौला तारा रहेको झन्डा सैगनको राष्ट्रपति भवनमा राखे । यो खबर दक्षिण भियतनाम गणतन्त्रको अस्थायी क्रान्तिकारी सरकारको रेडियोले सोही दिन ५ बजे र ५ मिनेट जाँदा प्रसार गरेको थियो ।
यदि जनताले कठिनाइ, बलिदान र असफलताबाट नडराइकन अन्यायपूर्ण युद्धको विरुद्ध न्यायपूर्ण युद्ध गर्न हतियार उठाई सङ्घर्ष गर्ने साहस गर्छन् र दृढतासाथ लड्छन् भने सानै देशका जनताले पनि बाहिरबाट आएको शक्तिशाली शत्रुलाई निश्चय नै परास्त गर्न सक्छन् । उनीहरूले आफ्नो राष्ट्रिय स्वतन्त्रता जितेर आफ्नो देशको मुक्ति र स्वतन्त्रताको रक्षाको काममा अन्तिम विजय प्राप्त गर्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण भियतनामी जनताको विजय हो ।
‘लड्न र जित्न दृढ निश्चय गर’ भन्ने राष्ट्रपति हो चि मिन्हको भनाइको गौरवपूर्ण झन्डा बोकेर दक्षिण भियतनाम गणतन्त्रको अस्थायी क्रान्तिकारी सरकार र राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा वर्षाैँ वर्षसम्म दीर्घकालीन युद्ध चलाएर दक्षिण भियतनामी जनताले विजय प्राप्त गरे । यो विजय भियतनामको र विश्वको इतिहासमा एउटा सारै महत्वपूर्ण पानाको रूपमा रहनेछ । सैगनलाई घेर्ने र सैगनमाथि विजय प्राप्त गर्ने जुन लडाइँ भयो त्यसलाई ‘हो चि मिन्ह लडाइँ’ नाम राखिएको थियो ।
अमेरिकाले भियतनाममा २ सय अरब अर्थात् २ खरब डलर खर्च गर्यो । त्यसले एक जना भियतनामीलाई मार्न दस हजार डलरभन्दा बढी खर्च गरिरहेको थियो । भियतनाममा अमेरिकी साम्राज्यवादी सेनामात्र ७५ हजारभन्दा बढी मरे । बी.बी.सी. रेडियोअनुसार अमेरिकाले साम्यवादलाई रोक्न भियतनाममा जुन योजना गर्यो, त्यो (Domino Theory) तासको महल बनाउने योजना सिद्ध भएको छ । युद्ध समाप्त भएपछि अमेरिकाले गलत प्रचार र छलकपटबाट भियतनामी जनतालाई शरणार्थीको रूपमा अमेरिका लगे । तर, वास्तविक कुरा थाहा भएपछि ती शरणार्थीहरू भियतनाम फर्कन इच्छा गर्दै छन् भन्ने समाचार सबैजसो रेडियोले प्रसार गरेका थिए ।
आखिर बाँकी रहेका अमेरिकी साम्राज्यवादीहरूले हार खाएर भियतनाम छाडेर भाग्न करै लाग्यो । उनीहरू पुच्छर लुकाएर भागे । त्यसबेला उनीहरूले धेरै भियतनामी बच्चाहरू अमेरिका र अरु विभिन्न मुलुकमा ओसारेका थिए । उता भने भियतनामी मुक्ति सेनाले सैगनमा प्रवेश गर्दा केटाकेटीहरू सडकमा खुसीसाथ खेल्न निस्के र जनताले मुक्ति सेनाको स्वागत गरेको कुरा बी.बी.सी. ले प्रसार गरेको थियो ।
बीबीसीकै अनुसार अमेरिकाले भियतनाममा ८ हजार विमान र ४ हजार हेलिकोप्टर गुमाउनु पर्यो । भियतनामको युद्ध दोस्रो विश्व युद्धपछिको सबभन्दा ठुलो युद्ध हो । तर, बम वर्षा भने दोस्रो विश्वयुद्धमा भन्दा बढी भएको थियो । साम्राज्यवादीहरूले भियतनाममा ६७ लाख टन बम बर्साए, जबकि दोस्रो विश्व युद्धमा जर्मनीमा २७ लाख टनमात्र बम वर्षा भएको थियो । यस बम वर्षाले उत्तरी आयरल्यान्ड जतिको भू–भाग नष्ट भएको छ ।
यसरी सदियौँदेखि साम्राज्यवादी पन्जामा रहेको भियतनाम राष्ट्रपति हो चि मिन्हले देखाउनुभएको बाटोबाट अघि बढेर मुक्त भयो । राष्ट्रपति हो चि मिन्हले भन्नुभएको थियो, “हामी हजार वर्षसम्म जुझेर आएका छौँ, आवश्यक प¥यो भने अझ हजार वर्षसम्म जुझ्ने छौँ ।” यसरी उहाँले भियतनामी जनताको मनोबललाई बढाउनुभएको थियो । त्यसैले, भियतनामी जनताले साम्राज्यवादीहरूलाई नराम्रो हार खुवाएर भगाए ।
भियतनामी जनताले बाँसका कप्टेराहरू, भालाहरू र साधारण बन्दुकहरू उठाएर साम्राज्यवादीहरूको विरुद्ध सङ्घर्ष सुरु गरेका थिए र अमेरिकाजस्तो विश्वको पहिलो शक्ति मानिएको साम्राज्यवादलाई परास्त गरी दिएर “वास्तविक शक्ति हतियार होइन, जनता हो” र “वास्तविक विजय हतियारको होइन, जनताको हुन्छ” भन्ने कुरालाई एकपल्ट फेरि प्रमाणित गरिदिएका छन् ।
दक्षिण भियतनामको पूर्ण विजयको उपलक्ष्यमा सन् १९७५, मे २ का दिन चीनको राजधानी पेइचिङमा एक विशाल प्रदर्शन भएको थियो, जसमा १० हजारभन्दा बढी मानिस भेला भएका थिए । प्रदर्शन जन भवनमा भएको थियो ।
त्यस बखत दक्षिण भियतनाम गणतन्त्रको अस्थायी क्रान्तिकारी सरकारका कायम मुकायम राजदूत ट्रान विन्हले आफ्नो भाषणमा भन्नुभयो, प्रिय राष्ट्रपति हो चि मिन्हको ‘स्वतन्त्रता र मुक्तिभन्दा मूल्यवान अरु केही छैन’ भन्ने शिक्षा ग्रहण गरेर भियतनामी जनताले वीरतासाथ न्यायोचित मुक्ति युद्ध चलाएर महान् विजय प्राप्त गरेको छ ।
उहाँले अगाडि भन्नुभयो, “यो महान् विजय भियतनामी जनताको मात्र विजय होइन बरु हिन्द चीनका जनताको एकताको, चिनियाँ जनताले बढाएको समर्थन र सहयोगको, अरु समाजवादी तथा असंलग्न मुलुक र प्रगतिशील अमेरिकी जनतालगायत पाँचै महादेशका मित्रहरूको (विजय) हो ।”
“भियतनाम र चीन दुई भ्रातृत्वपूर्ण छिमेकी देशहरू हुन् । राष्ट्रपति हो चि मिन्ह र अध्यक्ष माओले उमार्नुभएको भियतनामी र चिनियाँ जनताबिचको जुन घनिष्ट एकता हो, त्यसमा अहिले फूलहरू फक्रिरहेका र फलहरू फलिरहेका छन् ।”
उहाँले भन्नुभयो, “अमेरिकी आक्रमणको विरुद्ध सङ्घर्षमा दक्षिण भियतनामका जनताले सधैँ चीनको पार्टी र सरकार तथा चिनियाँ जनताले प्रदान गरेको अमूल्य र सक्रिय समर्थन, सहयोग र सद्भावना प्राप्त गरेका छन् । चिनियाँ जनताका महान् नेता, भियतनामी जनताका आदरणीय मित्र अध्यक्ष माओले भन्नुभएको थियो, “७० करोड चिनियाँ जनता भियतनामी जनतालाई सधैँ बलियो आड दिन्छन्, विशाल रूपमा फैलिएको चीनको भूमि उनीहरूको विश्वास योग्य आड क्षेत्र हो ।” दक्षिण भियतनामी सेना र जनताले सधैँ सम्झछन् । आदरणीय अध्यक्ष माओका शिक्षाहरूको अनुशरण गरेर भ्रातृत्वपूर्ण चिनियाँ जनताले दक्षिण भियतनामी जनताका क्रान्तिकारी सङ्घर्षमा आफ्नो सक्रिय सहयोग प्रदान गरेका छन् ।”
अन्तिम वक्ता जनवादी गणतन्त्र भियतनामका राजदूत ‘डुयेन ट्रोङ मिन्ह’ ले भन्नुभयो, “उपनिवेशी शासनअन्तर्गत शोषण र उत्पीडनमा जकडिएका भियतनामी जनताले पुस्तौँ पुस्तादेखि झन्डै एक सय वर्ष अघिदेखि अडिगरूपले सङ्घर्ष गर्दै आएका छन् ।”
उहाँले भन्नुभयो, “सन् १९४५ को अगस्तमा क्रान्तिकारी भावनाले परिपक्व भएर सम्पूर्ण भियतनामी जनताले जापानी तानाशाहीबाट शक्ति (सत्ता) छिनेर अगाडि बढी जनगणतन्त्र भियतनामको स्थापना गरे । त्यसको लगत्तै पछि फ्रान्सेली उपनिवेशवादीहरूले हाम्रो राष्ट्रलाई एकपल्ट फेरि दास बनाउन आक्रमणको एउटा अर्को प्रयोग प्रदर्शन गर्दै हवाईजहाज र युद्धपोतहरूको उपयोग गरे । ‘दास हुनुभन्दा मर्नु निको’ भन्ने भावनामा हाम्रो सम्पूर्ण राष्ट्र बाँसका कप्टेरा, भाला र बन्दुकमात्र लिएर तीव्रतर दीर्घकालीन प्रतिरोध युद्ध चलाउन अगाडि बढ्यो र अन्त्यमा ‘डियन बियन फु’ को महानतम विजय प्राप्त गर्यो† जसले हाम्रो देशबाट पुरानो फ्रान्सेली उपनिवेशवादको अन्त्य गरिदियो । फ्रान्सेली साम्राज्यवादीहरूमाथि विजय प्राप्त गरेपछि, अमेरिकी साम्राज्यवादीहरू सबै किसिमका बर्बतापूर्ण, निर्दयी यातनाको योजनाहरूका साथ आक्रमण गर्न दक्षिण भियतनाममा फाल हाले…., यो सबभन्दा शक्तिशाली अन्तर्राष्ट्रिय (पुँजीवादका) सैनिक प्रहरी, पुँजीवादी साम्राज्यवादीहरूको नाइकेको मुराद (इच्छा) थियो जुन निमोठियो । अमेरिकी साम्राज्यवादीहरूद्वारा चलाइएको नव औपनिवेशिक युद्धले हार खाएको छ, उनीहरूको सर्वश्रेष्ठता (शक्तिशालिता) चिहानभित्र पुगेको छ ।”
“हाम्रो विजय भ्रातृत्वपूर्ण चिनियाँ कम्युनिस्ट पार्टी, सरकार र जनताको पनि विजय हो, जसले विशाल र भित्री हृदयले धेरै क्षेत्रहरूमा प्रभावपूर्ण सहयोग प्रदान गरेका छन् ।”
“डीएन बीएन फुमा भएको भियतनामी जनताको गौरवपूर्ण विजयमा चिनियाँ कम्युनिस्ट पार्टी र जनताको अति मूल्यवान देन रहेको थियो । शक्तिशाली शत्रु–अमेरिकाली साम्राज्यवादीहरूको विरुद्धको सङ्घर्षमा ‘विशाल आडभूमि’ को प्रभाव, जो चिनियाँ कम्युनिस्ट पार्टी र अध्यक्ष माओद्वारा भियतनामी जनताको निम्ति संरक्षित छ, अझ बढी प्रस्टरूपले अनुभव गरिएको थियो ।”
राजदूतले अगाडि भन्नुभयो, “म के भन्दछु भने जबजब हामीमाथि गा¥हा–सा¥हाहरू आइपरे, चिनियाँ जनता हाम्रा साथी थिए र हाम्रा प्रत्येक जीतहरूमा चिनियाँ जनताका ठुला देन थिए । दुःख, सुखमा साथ दिने सक्रिय मित्रताको सर्वहारा अन्तर्राष्ट्रियताको भावनाको यो एउटा अति स्वच्छ रूप हो ।”
दक्षिण भियतनामी मुक्तिमोर्चाले ५ सय वटा अमेरिकी टैङ्कहरू छिनेको छ । त्यस्तै, ३ अरब डलर जतिका सैनिक साधन र उपकरणहरू तथा २ अरब डलर जतिका सैनिक अखडाहरू छिनिलिए । अनुमानतः १ अरब डलर मोलका २२५ वटा सैनिक हवाईजहाजहरू, झन्डै ५० करोड डलर पर्ने जगेडा पुर्जाहरू र ३ करोड मोल पर्ने खनिज तेल पनि मुक्तिमोर्चाले छिनिलियो । २१ वर्षसम्म भियतनाम युद्धमा संलग्न अमेरिकी साम्राज्यवादीहरूले भियतनामलाई के बनाउन चाहेका रहेछन् भन्ने कुरा उक्त तथ्याङ्कबाट प्रस्ट हुन्छ । तर पनि राष्ट्रपति हो चि मिन्हले भन्नुभए जस्तै सम्पूर्ण जनताको बलिदानको भावनालाई यी हतियारका भण्डारले कुल्चन सकेनन् ।
‘आजको विश्व’ स्तम्भमा, २०३२ साल वैशाख २० गतेको गोरखापत्रमा लेखिएको छ, “दोस्रो विश्वयुद्ध यता एकनास लडाइँमा व्यस्त भियतनामी जनताले यो हप्ताको अन्तमा शान्ति पाए । भियतनामीहरू सङ्घर्षमा कहिल्यै थाकेनन् तर यो लामो युद्ध उनीहरूले शान्तिका लागि नै गरेका थिए ।”
सोही स्तम्भमा अझ अगाडि लेखिएको छ, “भियतनाम युद्धको सबभन्दा गम्भीर कुरा अरु के छ भने यो दशकभित्रमा अनेकौँ किसिमका घातक हातहतियारहरू बने । भियतनाम एक किसिमले अमेरिकीहरूको हातहतियार परीक्षा गर्ने थलो बनेको थियो । जङ्गलमा गुरिल्ला लडाइँ गर्ने भियतनामीहरूसँग सामना गर्न रुख बिरुवाका पातहरू समाप्त गर्ने ‘डिफोलिएज बम’ करिब २५० मिटरको वर्ग क्षेत्रभित्र वायुमण्डलको अक्सिजन खिचेर सास फेर्न नसक्ने गराई कुनै पनि जीवजन्तु मार्न सक्ने जस्ता बम पनि भियतनाममा प्रयोग भए ।”
दक्षिण भियतनामको (अमेरिकी) कठपुतली राष्ट्रपति थ्युं र कम्बोडियाको लोन नोलको १६ टन सुन स्विजरल्यान्ड लैजाने आग्रहलाई स्वीस एयरलायन्सले अस्वीकार गरेको कुरा प्रकाशमा आएको थियो । दक्षिण भियतनामको क्रान्तिकारी अन्तरिम सरकारले थाइल्यान्डमा सो सुन ओसारिएको दाबी गरेर थाई सरकारसँग सुन फर्काउने आग्रह पनि गरिसकेको छ ।
अमेरिकी सिनेटका नेता माइक म्यान्स फिल्डले सेगनमा मुक्ति मोर्चाको कब्जामा प्रतिक्रिया जनाउँदै भनेका छन्, “दोस्रो विश्व युद्धपछिको एउटा युग समाप्त भएर अर्को युग सुरु भएको छ ।”
पुनः एकीकरण :
सम्पूर्ण भियतनाम साम्राज्यवादी पञ्जाबाट मुक्त भएपछि अब एउटा अर्को काम उत्तर दक्षिणको भागलाई पुनः एकीकरण गर्नु बाँकी रह्यो । दक्षिण भियतनामको सम्पूर्ण भू–भाग र सैगनलाई मुक्त गरेपछि सैगन सहरको नाउँ ‘हो चि मिन्ह सहर’ मा परिणत गरियो । साम्राज्यवादी पञ्जाबाट भियतनाम र भियतनामी जनतालाई मुक्त पार्ने शिक्षा, दीक्षा र उपायको खोजीमा राष्ट्रपति हो चि मिन्ह सैगनबाट बाहिर लाग्नुभएको थियो । उत्तर भियतनामको पहिलो राष्ट्रपति हो चि मिन्हको नाउँबाट दक्षिण भियतनामको राजधानी सहरको नाउँ राखिनु पुनः एकीकरणको कामको पहिलो चरण हो ।
हनोईमा दक्षिण भियतनामी अस्थायी क्रान्तिकारी सरकारका प्रतिनिधिमण्डलका नेता ङुयड भान तियनले ५ मे १९७५ को दिन तान्जुग समाचार समितिलाई दिनुभएको एउटा अन्तर्वार्तामा भन्नुभएअनुसार उत्तर तथा दक्षिण भियतनामलाई पुनः एकीकरण गर्नु नै भियतनामी जनताको निम्ति प्रमुख काम बाँकी रहेको थियो ।
यो पुनः एकीकरणको कामको निम्ति अब दक्षिणी भियतनाममा छिटो छिटो पुनर्निर्माणको कामहरू भइरहेका छन् । मलाई लाग्छ, यो पुस्तक छापाखानाबाट निस्कनु अगाडि नै उत्तर तथा दक्षिण भियतनामको पुनः एकीकरणको काम सम्पन्न भइसक्नेछ । यो नै राष्ट्रपति हो चि मिन्हको दोस्रो सपना थियो । उहाँले तेस्रो सपना ‘सम्पूर्ण भियतनामीहरूलाई आवश्यकभन्दा बढी खाना र आवश्यकभन्दा बढी लुगा उपलब्धि हुनु’ हो । भियतनामका वीर, बहादुर र लगनशील जनताले देशको पुनर्निर्माणको साथै चाँडै नै यस कामलाई पूरा गरी राष्ट्रपति हो चि मिन्हका, आफ्ना राष्ट्रपतिका सम्पूर्ण सपनाहरूलाई साकार गरी देखाइदिनेछन् ।
स्रोत : हो चि मिन्हको जीवनी, २०६०
Leave a Reply