भर्खरै :

बोलिभियामा राजनीतिक सङ्कटले निम्त्याएको अस्थिरता

  • जेष्ठ ११, २०८३
  • मारिया सिल्भिया ट्रिगो
  • विचार
बोलिभियामा राजनीतिक सङ्कटले निम्त्याएको अस्थिरता

बोलिभियामा राष्ट्रपति रोड्रिगो पाजले पदभार ग्रहण गरेको ६ महिना नबित्दै उनको राजीनामा माग चर्किएको छ । पाजको सरकारसँग विभिन्न माग राख्दै विरोधमा उत्रिएका प्रदर्शनकारीले सरकारमाथि दबाब बढाउन देशका कैयौँ प्रमुख राजमार्ग बन्द गरिरहेका छन् । बढ्दो राजनीतिक तनावले देशको सामाजिक स्थिरता नै जोखिममा पर्ने हो कि भन्ने चिन्तासमेत बढाएको छ ।
पछिल्लो प्रदर्शन सुरु भएको एक महिनाभन्दा बढी भइसकेको छ । विभिन्न क्षेत्र र पेसामा आबद्ध समूह र नागरिकले सरकारसँग फरक–फरक माग राख्दै एक महिनादेखि सुरु गरेको प्रदर्शन अन्त्य हुने छाँट देखिँदैन । केहीको ज्यालावृद्धिको माग थियो भने अरूको मिसावटयुक्त इन्धनको गुनासो थियो । विशेषतः मिसावटयुक्त इन्धनले हजारौँ सवारीसाधनलाई क्षति पु¥याएपछि झन् आक्रोश बढ्न गएको छ । अन्य समूहले भूमि वर्गीकरणसम्बन्धी नयाँ व्यवस्थाको विरोध जनाइरहेका छन् । नयाँ व्यवस्थाले ठुला व्यवसायीको हातमा भूमि केन्द्रीकरण हुने आरोप लगाएका छन् ।
सरकारले भूमि कानुन खारेज गर्ने र शिक्षकका लागि आर्थिक बोनस प्रदान गर्ने, साथै क्षतिग्रस्त केही सवारी साधनको क्षतिपूर्ति प्रदान गर्नेजस्ता केही माग स्वीकार गरेको छ । यसले विवाद केही कम गर्न सफल भए पनि उच्च पहाडी क्षेत्रका आदिवासी समूहले भने अहिले राष्ट्रपतिले राजीनामा नदिएसम्म सडक अवरुद्ध गर्ने बताएका छन् । मे ६ मा सयौँ प्रदर्शनकारीले राजधानी ला पाज सहर प्रवेश गर्ने सबै सडकमा ब्यारिकेड खडा गर्न थालेका थिए । प्रत्येक दिन औसत २० जनाभन्दा बढी धर्नामा बसिरहेका छन् । राजमार्ग बन्द गर्ने आदिवासी समूहले देशका ठुला श्रमिक सङ्गठनसहित विगतमा सरकारी निर्णयमाथि दबाब दिन सक्ने क्षमता भएका अन्य सङ्घसंस्थाको समर्थन प्राप्त गरेका छन् ।
‘देशका संरचनात्मक समस्या समाधान गर्न असफल भएका कारण राष्ट्रपतिले राजीनामा दिनुपर्ने हाम्रो माग छ । उनले हामीलाई विभाजित गर्दै छन्, देशलाई बिक्रीमा राख्दै छन् । यस्ता माहोलमा हाम्रा छोराछोरी र नातिनातिनाको भविष्य कस्तो होला ?’ सेन्ट्रल ओब्रेरा बोलिभियाना’ की मजदुर सङ्गठनकी नेतृ मारियो अर्गोलोले पत्रकारहरूसँग भनिन् ।
प्रदर्शन र सडक अवरोधका कारण देशका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका सहरी केन्द्र ला पाज र एल अल्टोले खाद्यान्न अभाव सामना गर्न थालेका छन् । कैयौँ विद्यालयमा पठनपाठन बन्द भएको छ । लामो दूरीका सार्वजनिक यातायात ठप्प प्रायः छ । विरोध प्रदर्शनले जनजीवन प्रभावित भएका सहरी बासिन्दाले प्रदर्शन अन्त्य गर्न कडा कदम चाल्न माग गरिरहेका छन् । तथापि, सरकारले अहिलेसम्म आपत्कालीन अवस्था घोषणा गर्न अस्वीकार गर्दै आएको छ । विरोध प्रदर्शनमा विविध समूहले भाग लिए पनि यसले यो स्तरको रूप लिनुमा मुख्यतः आदिवासी तथा श्रमिकवर्गको सघन बसोबास रहेको क्षेत्रमा बढ्दो असन्तुष्टि जिम्मेवार रहेको विश्लेषकले बताएका छन् ।
राजनीतिक तथा रणनीतिक परिवर्तन
राष्ट्रपति बन्नुअघि रोड्रिगो पाज एक मध्यमार्गी सिनेटर थिए । लामो राजनीतिक करियर भए पनि पाज देशव्यापी परिचित व्यक्तित्व भने थिएनन् । यसैकारणले गत निर्वाचनमा उनले आफूलाई ‘नयाँ’ उम्मेदवारका रूपमा प्रस्तुत गर्न सफल भए । देशमा लामो समय शासन गरेको ‘मुभमेन्ट फर सोसियलिजम (एमएएस)’ पार्टी आफूभित्रको आन्तरिक विभाजन र विवादका कारण पराजित भएपछि उनी बोलिभियाको पहिलो राष्ट्रपति बने । कमजोर प्रशासनिक व्यवस्थापन र भ्रष्टाचार काण्डबिच देशमा लगातार २० वर्ष शासन गरेको एमएएसले गत निर्वाचनमा केवल तीन प्रतिशत मत प्राप्त ग¥यो ।
चुनावी अभियानको क्रममा रोड्रिगो पाजले मध्यमार्गी अडान लिएका थिए । अन्य दक्षिणपन्थी उम्मेदवारको तुलनामा मध्यपन्थी विचारले गर्दा कैयौँ पूर्वएमएएस मतदाताले उनलाई मत दिए । राष्ट्रपति बनेपछिका ६ महिनाको अवधिमा उनलाई मत दिने एमएएसका मतदाता केवल निराश मात्र छैनन् । उनीहरूले वर्तमान सरकारबाट बहिष्कृतसमेत महसुस गरिरहेका छन् । पहिलो त रोड्रिगो पाजले मन्त्रिपरिषद् गठन गर्दा देशमा ठुलो सङ्ख्यामा रहेका आदिवासी वा श्रमिकवर्गका कुनै व्यक्तिलाई प्रमुख पदमा नियुक्त गरेनन् । जबकि, विगत दुई दशकको एमएएस शासनकालमा यी समूहबाट धेरै सदस्य सरकारमा थिए । अहिलेको सरकार व्यापारिक अभिजात वर्गसँगको साँठगाँठमा चलेको यिनको बुझाइ छ ।
झन् असन्तुष्टिलाई थप्ने गरी पाजले केही नीतिगत कदम चाले । तिनमा ठुलो सम्पत्तिमा लाग्दै आएको कर हटाउने, व्यापारिक अभिजातवर्गका सदस्यलाई आफ्नो मन्त्रिपरिषद्मा नियुक्त गर्नेदेखि ठुला कृषि व्यापारीलाई फाइदा हुने गरी कदम चाल्नेदेखि र संयुक्त राज्य अमेरिका तथा इजरायलसँग घनिष्ट सम्बन्ध विकास गर्नेसम्मका कदम रहे । विगतमा एमएएसको पालमा यी दुवै देशसँग बोलिभियाको कुनै कूटनीतिक सम्बन्धसमेत थिएन । चुनावी अभियानको क्रममा अन्तर्राष्ट्रिय ऋण अस्वीकार गर्ने बताएका पाजले सत्ता सम्हाले यता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) जस्ता संस्थाबाट वित्तपोषण खोजिरहेका छन् ।
‘रोड्रिगो पाजले चुनावमा अलग प्रतिबद्धता जनाएका थिए । तर, अहिले सत्ता सम्हालेपछि भने उनले आफ्नै चुनावी बाचाविपरीत शासन गर्न खोजेका छन् । त्यसकारण, मतदाताले आफूलाई बिर्सिएको मात्र नभई पूर्ण विश्वासघातका रूपमा लिएको छ,’ राजनीतिक विश्लेषक लुसियाना जौरेगुईले बताइन् । आखिरमा श्रमिक तथा ग्रामीण समुदायको ठुलो समर्थनकै कारण पाजले ५५ प्रतिशत मतका साथ चुनाव जितेका थिए । विरोध प्रदर्शनलाई सन् २००६ देखि २०१९ सम्म सत्तामा रहेका पूर्वराष्ट्रपति ते मोरालेसको समर्थनले झन् बल प्रदान गरेको छ । मोरालेजले वर्तमान राष्ट्रपतिको राजीनामा र आफूविरुद्धको न्यायिक कारबाही निलम्बनको माग गर्न राजधानी ला पाजतर्फ १९० किलोमिटर लामो मार्चपास परिचालन गरेर दबाबलाई अझ बढाए । मोरालेस पक्राउ वारेन्टको सामना गरिरहेका छन् । उनीविरुद्ध राष्ट्रपति रहेको समयमा एक किशोरी युवतीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।
मोरालेस बोलिभियाको पहिलो आदिवासी समुदायका राष्ट्रपति थिए । उनले लगातार तीन कार्यकाल शासन गरे । व्यापक समर्थनका साथ शासन गरेका मोरालेसले आफ्नो पालामा सामाजिक समावेशीकरण र आदिवासीको अधिकारका पक्षमा धेरै काम गरे । त्यस्तै, उनको शासनकालमा देशले लगातार उच्च आर्थिक वृद्धि हासिल ग¥यो । उनले देशमा उलेख्य रूपमा गरिबी न्यूनीकरण गर्न सकेका थिए । तर, पछिल्लो समय देशमा तेल र ग्यास उद्योगमा देखिएको ¥हासले निर्यात घट्दा अमेरिकी डलरको अभाव सिर्जना भएको छ भने मुद्रास्फीति बढिरहेको थियो । यसले गर्दा देशले अहिले आर्थिक सङ्कट सामना गरेको छ ।
गत निर्वाचन यही आर्थिक मन्दीबिच भएको थियो । त्यसले पनि मोरालेसका उत्तराधिकारी रहेका पूर्वराष्ट्रपति लुइस आर्सेको शासनकाल निकै अलोकप्रिय बन्यो । अन्ततः उनको पार्टी एमएएस सत्ता गुमाउन बाध्य भयो । त्यति बेला मोरालेस र आर्सेबिच पार्टीमाथिको पकडका लागि प्रतिस्पर्धा पनि चलिरहेको थियो । मोरालेस आफैँले भने सन् २०१९ मा संविधानविपरीत चौथोपटक निर्वाचनमा उठेपछि विरोध सामना गरेका थिए । प्रदर्शनबिच सेनाले मोरालेसप्रतिको समर्थन त्यागेपछि उनी राजीनामा दिन बाध्य भए । मोरालेसमाथि वर्तमान सरकारले अस्थिरता बढाएर सत्तामा फर्कने षड्यन्त्र गरेको आरोप लगाएको छ ।
राजनीतिक विश्लेषक लुसियाना जौरेगुईले पाजको सरकारसँग प्रारम्भमा नयाँ ‘सामाजिक संश्लेषण’ प्रस्ताव गरेर अघि बढ्ने ऐतिहासिक अवसर रहे पनि त्यो अवसर खेर गइरहेको बताइन् । तथापि, सरकारले वर्तमान द्वन्द्वलाई सबै क्षेत्र समावेश गर्ने नयाँ ‘सामाजिक सम्झौता’ को आधार बनाउन सक्ने उनले विश्वास व्यक्त गरिन् । जारी प्रदर्शन र त्यसबाट सिर्जित अशान्तिले कुन दिशा लिनेछ भनेर भविष्यवाणी गर्न गा¥हो छ । सरकार केही मात्रामा शक्ति सुम्पन इच्छुक देखिएको छ ।
‘एउटा विकल्प सामाजिक संस्थाहरूको सहभागिता सुनिश्चित गर्न एउटा अलग मन्त्रालय गठन गर्ने पनि छ,’ राष्ट्रपति पाजनजिक मानिने सार्वजनिक कार्यसम्बन्धी मन्त्री मौरिसियो जामोराले एक रेडियो अन्तर्वार्तामा भने । अधिकारीहरूले देशलाई सामाजिक द्वन्द्वको खतराबाट बचाउने मार्ग खोज्दै गर्दा सरकारले प्रहरी बललाई समय–समयमा नाकाबन्दीमा हस्तक्षेप गर्न आदेश पनि दिइरहेको छ । विशेषतः खाना र औषधिलाई ला पाजमा भित्याउन सेनाले समय–समयमा कदम चालिरहेको छ ।
(स्वतन्त्र पत्रकार ट्रिगो ल्याटिन अमेरिकाको राजनीति, प्रजातन्त्र र ध्रुवीकरणबारे लेख्छिन् ।)
– ‘अलजजिरा’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *