भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – २१

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – २१

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक जयबहादुर सिंह
भदौ २३ गते जेन्जी पुस्ताले आह्वान गरेको प्रदर्शनको क्रममा केही प्रदर्शनकारीहरूको मृत्यु भएको भन्ने विभिन्न सञ्चारमाध्यमबाट जानकारी भएको थियो । भदौ २४ गते बिहान ९—१० बजेतिर प्रदर्शनकारीहरूले ललितपुरको हरिसिद्धी प्रहरी प्रभाग जलाएको, अन्य प्रहरी कार्यालयहरूमा पनि तोडफोड आगजनी गरेको भन्ने प्रहरी सञ्चार सेटमा सुनिएको थियो । लगभग ११ः३० बजेको समयमा हाम्रो कार्यालयबाहिर करिब २०० को सङ्ख्यामा प्रदर्शनकारीहरू आई प्रहरी कार्यालयतर्फ ढुङ्गामुढा गर्न थाले । प्रहरीमाथि ढुङ्गामुढा, पेट्रोल बमजस्ता प्रज्वलनशील पदार्थ प्रहार गर्न थाले । अघिल्लो दिन भएको घटनाको बदला लिएरै छाड्ने भन्दै एकोहोरो ढुङ्गामुढा, पेट्रोल बमजस्ता प्रज्वलनशील पदार्थ प्रहार गरिरहेका थिए ।
हामी प्रहरीहरू केही आगो नियन्त्रण गर्न लाग्यौँ र केही प्रहरीहरू प्रदर्शनकारीहरूलाई कार्यालय हाताभित्र प्रवेश गर्न नदिन छेक्दै थियौँ । सोही क्रममा भिक्ट्रोर कन्ट्रोलबाट थुनुवा छाडी आफू र हतियार सुरक्षित हुने आदेश भयो । प्र.स.नि. मिलन राय र प्र.ज. उत्तम थापाको विभत्स तवरले हत्या गरियो । २१ जना प्रहरी कर्मचारीहरू गम्भीर घाइते भए । कार्यालय, कागजात, अभिलेख जली नष्ट भयो । हातहतियार जल्यो, लुटियो ।
पशुपति मन्दिर सुरक्षा पोस्टमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक शङ्करप्रसाद चिदीमगर
भदौ २३ गते पशुपति मन्दिर सुरक्षा पोस्टका प्रहरी कर्मचारीहरूलाई अन्यत्र कहिल्यै ड्युटी खटाइएको थिएन । भदौ २४ गतेका दिन संसद् भवन, सिंहदरबार, विभिन्न सरकारी कार्यालयहरू, भीआईपीहरूको निजी निवासहरू, व्यापारिक केन्द्रहरूलगायतमा तोडफोड आगजनीको साथै प्रदर्शन हुन थाल्यो । पशुपति मन्दिर क्षेत्रबाहिर व्यापक प्रदर्शन भइरहेको देखिन्थो । सोही क्रममा पशुपति विकास क्षेत्रको गौशलातर्फ चक्रपथ सडकसँगै रहेको पशुपति विकास कोषको कार्यालय प्रदर्शनकारीहरूले आगजनी गरे ।
प्रहरी वृत्त महाराजगङ्जमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक हिमबहादुर विक
भदौ २४ गते अन्दाजी १० बजेको समयमा नारायण गोपाल चोक र धुम्बाराही चोकतर्फ तथा चुनदेवी जाने गल्ली सडकबाट जेन्जी आन्दोलनहरूको चहल पहल सुरु हुन थाल्यो । करिब १०ः४५ बजेको समयदेखि आन्दोलनकारीहरूको हात—हातमा खुकुरी, तरबार, ह्याम्बर, हथौडा, फलामको रड, काठको चिरपट, बाँसका लठीहरू र एस.एल.आर.राइफल देखिन थाल्यो । अन्दाजी ११ बजेतिर जेन्जी आन्दोलनका प्रदर्शनकारीहरूले एक्कासि प्रहरी तथा प्रहरी कार्यालयलाई निशाना बनाई ढुङ्गामुढा र पेट्रोल बम प्रहार गर्न थाल्यो । सोही क्रममा आन्दोलनकारीहरू पेट्रोल बम तिव्ररूपले प्रहार गर्न थाल्यो । आन्दोलनकारीहरूले कार्यालय अगाडिको तारबार, मुख्य प्रहरी द्वार तोडीभित्र प्रवेश गरी अन्धाधुन्ध विभिन्न धारिलो हातहतियारले प्रहरी कर्मचारीहरूलाई कुटपिट गरी बेहोसी बनाई आगजनी तोडफोड गर्दै प्रहरीको हातहतियारसमेत लुटपात गरे । प्र.स.नि. मिलन राय र प्र.ज. उत्तम थापालाई घिसारी घिसारी लछारपछार गर्दै बाहिर सडकमा लगी निर्ममतापूर्वक धारिलो हतियार प्रहार गरिरहेको थियो । भदौ २४ गतेका दिन प्रहरीको तर्फबाट आन्दोलनकारीहरूलाई कुनै रोकछेक, बाधा नगर्दा पनि आन्दोलनकारीहरूले निशाना बनाई प्रहरी कार्यालयमा आगजनी गर्नुका साथै प्रहरी कर्मचारीहरू प्र.स.नि. मिलन राय र प्र.ज. उत्तम थापालाई कुटपिट गरी घाइते बनाउने र प्रहरीलाई कर्तव्य गरी मारेको हो । आन्दोलनकारीहरूलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *