भर्खरै :

नेटोको अन्त्यबिना युरोपको सामूहिक रक्षा असम्भव

  • जेष्ठ १५, २०८३
  • यानिस भारुफाकिस
  • विचार
नेटोको अन्त्यबिना युरोपको सामूहिक रक्षा असम्भव

पूर्वडच प्रधानमन्त्री मार्क रूट अहिले नेटो प्रमुख (महासचिव) छन् । उनै रूटले हालै एउटा सत्य कुरा बोल्दा युरोपभर आक्रोश निम्तिएको छ । उनले नेटो गठबन्धनलाई युरोपको रक्षात्मक ढालको रूपमा मात्र नभई विश्व मञ्चमा शक्ति प्रक्षेपण गर्ने अमेरिकाको एक मञ्चको रूपमा चित्रण गरे । रूट सही छन् । खासमा नेटो युरोपले नचाहेको युद्धलाई अघि बढाउने आधार बन्दै गएको छ । अझ त्यस्ता विरोधी शक्तिविरूद्धको युद्धमा, जुन युरोपका शत्रु होइनन् । नेटो पक्षधर युरोपेली नेतालाई पहिलेदेखि थाहा थियो कि ‘उत्तरी एटलान्टिक गठबन्धन’ असमान शक्तिहरूको गठजोड हो । तर पनि सुरक्षाको बदलामा उनीहरूले यस कुरालाई स्वीकारे ।
तर, अहिले युरोपेली सुरक्षाप्रति अमेरिकी प्रतिबद्धतामाथि प्रश्न उठेको छ । रूट अहिले एक्लो युरोपेली व्यक्तित्व देखिँदै छन्, जसले युरोपलाई अमेरिकी साम्राज्यसँग बाँध्ने सम्झौताको महिमागान गारिरहेका छन् । अन्यथा, युरोप–अमेरिकाबिचको गठबन्धनको पक्षधर अन्य युरोपेली नेतामा पनि डोनाल्ड ट्रम्पले पद छाडेपछि नेटो स्वतः आफ्नो मूल अवस्थामा फर्किएला भन्ने विश्वास हराउँदै गइरहेको छ, यद्यपि निकै सुस्तगतिमा ।
संयुक्त राज्य अमेरिकाको इच्छालाई निरन्तर स्वीकार गर्नु युरोपेली रक्षा रणनीति होइन । अहिले युरोपका सबैभन्दा रूढिवादी शक्तिले पनि के स्वीकार्छन् भने अमेरिकाबिनाको नेटो चालकबिनाको साइकलजस्तै हुनेछ । त्यसैले, युरोपमा महादेशव्यापी प्रतिरक्षात्मक निकाय ‘युरोपियन डिफेन्स युनियन’ गठन गर्नुपर्ने आह्वान बढ्दै गइरहेको छ । सम्भवतः इच्छुकहरूको गठबन्धन हुने यो निकाय युरोपेली सङ्घ (ईयू)को गहिरो सहयोग प्रक्रियामा आधारित हुनेछ र यसमा ईयूका सदस्यका अतिरिक्त नर्वे र बेलायत समावेश हुन सक्छन् ।
तर, समस्या यहीनेर छ । जबसम्म नेटो अस्तित्वमा रहन्छ, युरोपव्यापी प्रतिरक्षा एकाइ असम्भव हुन्छ । युरोपियन डिफेन्स युनियनले राम्रोसँग काम गर्न चार कठिन प्रश्नहरूको स्पष्ट उत्तर दिनुपर्छः
– युरोपेली हतियारको आदेश कसले दिन्छ ?
– यसका लागि आवश्यक पर्ने खर्चका लागि कुल ऋण कसले जारी गर्छ ?
– सदस्य राष्ट्रका राष्ट्रिय रक्षा उद्योगबिच लागत कसरी बाँडफाँड गरिन्छ ?
– बर्दीधारी युरोपेली सैनिकलाई मर्न र मार्न वा युद्धमा जान कसले आदेश दिने ?
यी प्रश्नको उचित जवाफ कुनै अन्तरसरकारी निकाय हुन सक्दैन । नेटो त झन् हुनै सक्दैन । युरोपको प्रतिरक्षा सङ्घ निर्माण गर्नु भनेको राजनीतिक सङ्घको गठन हो । तर, मौद्रिक सङ्घका वास्तुकारले यस लक्ष्यलाई परित्याग गरे । केहीले तर्क गरेका छन् कि युरोपले सामना गरिरहेको वर्तमान अस्तित्वगत खतराले (विशेषगरी युक्रेनमा रूसको आक्रमणको कारणले सिर्जित) राजनीतिक सङ्घ निर्माण गर्न प्रेरित गर्न सक्ने बताएका छन् । भलै विगतमा युरो सङ्कट वा महामारीले यस्तो सङ्घलाई प्रेरित गर्न असफल भयो ।
राजनीतिक एकताबिना रक्षा गठबन्धन असम्भव
सही होस् वा गलत, एउटा कुरा स्पष्ट छ : युरोपेली रक्षा सङ्घले काम गर्न राजनीतिक एकता आवश्यक छ र नेटोको निरन्तर अस्तित्वले यसमा अवरोध सिर्जना गर्छ । शीतयुद्धमा हुर्किएको पुस्ताका लागि अमेरिकी प्राथमिकताको अधीनमा युरोपको प्रतीक्षालाई राख्नुको कारण थियो होला । अमेरिकी र पश्चिमी युरोपेली अभिजातवर्गलाई सोभियत सङ्घको वास्तविक अस्तित्वगत डरले एक ठाउँ ल्याएको थियो । वित्तीय संयन्त्रले सन् १९५० र १९६० को दशकमा युरोप अमेरिकी अधिशेष (सरप्लस)को ‘रिसाइक्लर’ मा परिणत भयो ।
यसबिच, बर्लिन पर्खाल ढल्यो । सोभियत सङ्घ एक सङ्ग्रहालयमा थन्कियो । रूसी राष्ट्रपति बोरिस यल्तसिनले पश्चिममा सामेल हुनलाई केसम्म गरेनन् ? उनले आफ्नो देशलाई नेटोमा पनि समावेश गर्ने इच्छा व्यक्त गरेका थिए । अमेरिकाका लागि रूस अब डरको विषय थिएन । अमेरिकालाई खासमा डर थियो, जर्मनी र रूसबिचको बढ्दो घनिष्टताको । दुई देशबिचको अधिक घनिष्टताले युरोपमाथिको आफ्नो प्रभुत्व खतरामा पर्ला भन्ने उसको चिन्ता थियो ।
शीतयुद्धको अन्त्यपछि जर्मन उद्योग प्रायः रूसी ग्यासमा चल्न थाले । तर, जर्मन निर्यात भने अमेरिकी घाटा बजेटमै निर्भर रह्यो । यही निर्भरतालाई प्रयोग गरेर अमेरिकाले रूसको युरोपसँगको एकीकरण रोक्ने द्विपक्षीय नीतिमार्फत जर्मनीमाथि दबाब दियो । उनीहरूले जानाजान रूसी समाजलाई दरिद्र बनाए र नेटोलाई पूर्वी युरोपतर्फ विस्तार गरिरहे । यसैले भ्लादिमिर पुटिनजस्तो नेता सत्तामा आउने अवस्था सिर्जना गरिदियो ।

युरोपमा नयाँ दरार
नेटो निरन्तर पूर्वी देशतर्फ सर्दै जाँदा तीन बाल्टिक देश, पोल्यान्ड र हालै फिनल्यान्डका शासकवर्गले ईयूमा आफ्नो ओझभन्दा निकै बढी भूमिका खेल्न सक्ने अवस्था देखे । तिनै देश अहिले अमेरिकाको उग्र विस्तारका सबैभन्दा उत्कृष्ट प्रवद्र्धक बनेका छन् । अचानक, युरोपमा पहिलदेखि कायम उत्तर–दक्षिणी देशको विभाजनमा पूर्वका अति–विस्तारवादी र पश्चिमका उदारवादीबिचको नयाँ विभाजन पनि थपिएको छ । प्रत्येकले ईयूलाई फरक–फरक दृष्टिले हेर्दै छन् ।
अमेरिकाको युरोपमाथि शासन गर्नकै लागि युरोपलाई विभाजन गर्ने कुनै नीति नभएको भए पनि नेटोले युरोपेली राजनीतिक सङ्घ र योसँगै प्रभावकारी रक्षा गठबन्धन असम्भव बनाएको छ । युरोपले नेटो सदस्यता त्याग्नुपर्ने कारण नेटो रूसमैत्री भएकोले होइन । न त अमेरिका दुष्ट भएकाले नै हो । खासमा विश्वमञ्चमा अमेरिकी शक्ति प्रस्तुत गर्ने प्लेटफर्मको रूपमा काम गर्ने गठबन्धनले युरोपेली एकीकरण र सार्वभौमिकतालाई कुनै समय आयरिस लेखक एडना ओब्रायनले भनेका थिए, ‘हृदयको विनाश ऋणको भेषमा सुस्त र अदृश्य प्रक्रियाबाट हुन्छ ।’ महादेशको विनाश पनि यस्तै हुन्छ । हरेकपटक जब कुनै युरोपेली नेता वासिङटन उड्छन् र अमेरिकी राष्ट्रपतिसामु घुँडा टेक्छन्, बिस्तारै क्षति बढ्दै जान्छ त्यो पनि अदृश्य रूपमा र ऋणको भेषमा ।
–प्रोजेक्ट सिन्डिकेटबाट
(ग्रीसका पूर्वअर्थमन्त्री भारूफाकिस ‘एमइआरए२५’ नामक पार्टीका नेता तथा एथेन्स विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *