भर्खरै :

राउल क्यास्ट्रोविरुद्धको अभियोग : युद्धका लागि बहाना

  • जेष्ठ १५, २०८३
  • निकोलस ग्रेभन
  • विचार
राउल क्यास्ट्रोविरुद्धको अभियोग : युद्धका लागि बहाना

क्युवाविरुद्ध हुने हिंसा र आतङ्कवादलाई वाशिङटनले लामो समयदेखि आँखा चिम्लँदै आएको छ । तर, क्युवाले त्यसको प्रतिरोध गर्दा भने उसलाई सह्य हुँदैन । यो दोहोरो मापदण्ड अहिले फेरि एकपटक प्रस्ट रूपमा देखिएको छ । ट्रम्प प्रशासनले तीस वर्षअघि दुईवटा विमान खसालेको आरोपमा क्युवाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्ने तयारी गरिरहेको छ । जबकि अमेरिकी सेनाले क्यारिबियन र पूर्वीप्रशान्त महासागरमा नियमित रूपमा डुङ्गाहरू ध्वस्त पार्ने गर्दछ, जसमा करिब २०० जना मानिसबिना कुनै कानुनी कारबाही मारिने गर्छन् ।
सन् १९९६ मा मियामीस्थित समूह ‘ब्रदर्स टु द रेस्क्यु’ का दुईवटा सेसना विमानहरू खसालिएको घटना कुनै आकस्मिक वा सन्दर्भहीन कार्य थिएन । यो घटना बारम्बारका उत्तेजनात्मक गतिविधि र घुसपैठ, थुप्रै चेतावनी र खुला रूपमा मुठभेड चाहने राजनीतिक समूहलाई नियन्त्रण गर्न अमेरिकी सरकारले गरेको इन्कारको परिणाम थियो ।
मियामी र वाशिङटनमा यसलाई चार जना व्यक्तिको मृत्युको लागि ढिलो गरी गरिएको उत्तरदायित्वको खोजीका रूपमा प्रस्तुत गरिएको छ । तर, यो प्रस्तावित अभियोग पुरानै परिचित जगमा उभिएको छ ः चयनात्मक आक्रोश, ऐतिहासिक विस्मृति र कानुनी अपवादवाद ।
उद्धार अभियानदेखि उत्तेजनासम्म
‘ब्रदर्स टु द रेस्क्यु’ को स्थापना अति दक्षिणपन्थी जोसे बासुल्टोद्वारा गरिएको थियो । जो असफल ‘बे अफ पिग्स’ आक्रमणका सहभागी र क्युवाविरुद्ध हिंसात्मक गतिविधिमा संलग्न सीआईएका सहयोगी थिए । सन् १९६१ मा बासुल्टो हवानाको एक मिसाइल बेसमा बम विस्फोट गर्ने षड्यन्त्रमा संलग्न थिए । ‘द एटलान्टिक’ का अनुसार, एक वर्षपछि उनले २० एमएमको तोप जडान गरिएको एउटा डुङ्गालाई हवानाको तटमा पु¥याउन मद्दत गरे र हर्नेडो डे रोजिटा होटलमा गोलाबारी गरे, जहाँ फिडेल क्यास्ट्रो खाना खाइरहेका होलान् भन्ने उनले विश्वास गरेका थिए ।
बासुल्टोले भनेका थिए, “मलाई संयुक्त राज्य अमेरिकाले आतङ्कवादीको रूपमा तालिम दिएको थियो ।”
तलको विवरण मुख्यतया विलियम एम. लियोग्रान्डे र पिटर कोर्नब्लुहको पुस्तक ‘ब्याक च्यानल टु क्युवा’ (Back Channel to Cuba) मा आधारित छ, जसले ‘ब्रदर्स टु द रेस्क्यु’ को विमान खसाल्नुअघिका कूटनीतिक आदानप्रदान र घटनाक्रमहरूलाई दस्ताबेजीकरण गरेका छन् ।
सन् १९९१ मा ‘ब्रदर्स टु द रेस्क्यु’ ले क्युवाली शरणार्थीहरूका लागि खोजी र उद्धार अभियानहरू उडाएर आफ्नो यात्रा सुरु गरेको थियो । तर, सन् १९९४ को अध्यागमन सम्झौतापछि फ्लोरिडा स्ट्रेट्स पार गर्ने आप्रवासीहरूको प्रवाहमा भारी गिरावट आएपछि, यो समूहले उद्धार कार्य छोडेर प्रत्यक्ष उत्तेजनात्मक गतिविधिहरू सुरु ग¥यो ।
क्युवाका लागि तत्कालीन ह्वाइट हाउसका विशेष सल्लाहकार रिचर्ड नुसियो सम्झन्छन्, “उनीहरूले क्युवाली सरकारलाई हैरान पार्ने र धम्क्याउने राजनीतिक एजेन्डा बोकेर काम गर्न थाले ।”
‘ब्रदर्स टु द रेस्क्यु’ का पाइलटहरूले बारम्बार क्युवाली हवाई क्षेत्रको उल्लङ्घन गरे । उनीहरूले हवानामाथि धार्मिक पदकहरू र सरकारविरोधी पर्चाहरू खसाले । लियोग्रान्डे र कोर्नब्लुहले दस्ताबेजीकरण गरेअनुसार, एउटा पर्चामा क्युवालीहरूलाई ‘अहिले नै परिवर्तन ल्याउनुहोस्’ भनी आग्रह गरिएको थियो ।
बासुल्टो यी उडानहरूको उद्देश्यबारे स्पष्ट थिए । सन् १९९५ मा हवानामाथिको एक उडानपछि उनले घोषणा गरेका थिए, “हामी मुठभेड चाहन्छौँ ।”
उनका अनुसार यो अभियानको उद्देश्य त्यहाँको शासन अभेद्य छैन भनेर देखाउनु थियो ।
क्युवाली सरकारले वाशिङटनलाई यी उडानहरू गैरकानुनी र खतरनाक भएको भन्दै बारम्बार चेतावनी दियो । क्युवाली अधिकारीहरूले कूटनीतिक विरोध दर्ता गरे, सङ्घीय उड्डयन प्रशासन (FAA) लाई प्रमाणहरू पठाए र स्पष्ट पारे कि यदि यो घुसपैठ जारी रहेमा क्युवाले विमानहरू खसाल्न सक्छ ।
अमेरिकी अधिकारीहरूलाई यो खतरा वास्तविक छ भन्ने थाहा थियो । नेसनल सेक्युरिटी आर्कात्द्वारा प्राप्त सन् १९९६ जनवरीको एउटा इमेलमा, एफएए (FAA) अधिकारी सेसिलिया कापेस्टानीले आफ्ना वरिष्ठहरूलाई जानकारी दिएकी थिइन् कि, “कुनै दिन क्युवालीहरूले यीमध्ये एउटा विमान खसाल्नेछन् ।”
यति हुँदाहुँदै पनि वाशिङटनले ती उडानहरू रोक्न सकेन । क्युवाली अधिकारीहरूले सञ्चारका हरेक माध्यमहरू– कूटनीतिक नोट, सैन्य ब्रिफिङ, मध्यस्थकर्ता र अनौपचारिक माध्यमहरू प्रयोग गरेर आफ्नो धैर्यता समाप्त भइसकेको कुरा स्पष्ट पारेका थिए ।
२४ फेब्रुअरी १९९६ मा, ‘ब्रदर्स टु द रेस्क्यु’ का तीनवटा सेसना विमानहरूले समुद्रमा शरणार्थीहरू खोजिरहेको झूटो उडान योजना दर्ता गरेर फ्लोरिडाबाट उडान भरे । वास्तवमा, यो मिसन पुनः क्युवाली हवाई क्षेत्रभित्र प्रवेश गर्ने उद्देश्यले गरिएको थियो ।
जब विमानहरू टापु नजिक पुगे, क्युवाली कन्ट्रोलरहरूले तुरुन्तै उनीहरूलाई आफ्नो हवाई क्षेत्र पार नगर्न चेतावनी दिए ।
जब विमानहरू टापु नजिक पुगे, क्युवाली कन्ट्रोलरहरूले तुरुन्तै उनीहरूलाई आफ्नो हवाई क्षेत्र पार नगर्न चेतावनी दिए । उनीहरूले चेतावनी दिए, “त्यसतर्फ प्रवेश गर्दा तिमीहरू खतरामा पर्नेछौ ।”
नेसनल सेक्युरिटी आर्कात्मा दर्ता भएअनुसार, बासुल्टोले जवाफ दिए, “हामी यसका लागि तयार छौँ । स्वतन्त्र क्युवालीका रूपमा यो हाम्रो अधिकार हो ।”
त्यसको केही समयपछि, क्युवाली लडाकु विमानहरूले दुईवटा विमानलाई खसालिदिए, जसमा सवार सबै चार जनाको मृत्यु भयो । बासुल्टोको विमान भने मियामी फर्कन सफल भयो ।
त्रासदीको स्वार्थपूर्ण प्रयोग
‘ब्रदर्स टु द रेस्क्यु’ का विमानहरू खसालिएको घटनालाई क्युवालाई दानवीकरण गर्न मात्र प्रयोग गरिएन, बरु यसले दशकौँसम्मका लागि अमेरिकी नीतिलाई नै नयाँ मोड दियो ।
यस घटनाअघि, क्लिन्टन प्रशासनले हवानासँग सीमित सम्बन्ध सुधारका बाटाहरू सावधानीपूर्वक खोजिरहेको थियो । तर, विमान खसालिएपछि, कङ्ग्रेसका कट्टरपन्थीहरूले यस अवसरलाई छोपे । ह्वाइट हाउसभित्रै केही अधिकारीहरूले अति–प्रतिक्रिया नजनाउन चेतावनी दिएका थिए । रिचर्ड नुसियोले वरिष्ठ सल्लाहकार स्यान्डी बर्जरलाई भनेका थिए, “‘ब्रदर्स टु द रेस्क्यु’ आगोसँग खेलिरहेको थियो, उनीहरूले जे चाहेका थिए, त्यही परिणाम पाए ।”
तर, त्यो चेतावनीलाई बेवास्ता गरियो । बिल क्लिन्टनले तुरुन्तै ‘हेल्म्स–बर्टन एक्ट’
(Helms-Burton Act) लाई समर्थन गरे, जसले क्युवाविरुद्धको अमेरिकी नाकाबन्दीलाई कानुनी रूप दियो । यसको ‘शीर्षक ३’ (Title III) मार्फत यसको क्षेत्राधिकार विस्तार गरियो, जसले अमेरिकी नागरिकहरूलाई क्युवाली क्रान्तिपछि राष्ट्रियकरण गरिएका सम्पत्तिहरू ‘ओसारपसार’ गर्ने विदेशी कम्पनीहरूविरुद्ध मुद्दा हाल्ने अधिकार दियो । क्लिन्टन र त्यसपछिका हरेक राष्ट्रपतिले दुई दशकभन्दा बढी समयसम्म ‘शीर्षक ३’ लाई निलम्बन गरे । तर, सन् २०१९ मा डोनाल्ड ट्रम्पले यस प्रावधानलाई सक्रिय पारिदिए । यसले गर्दा दर्जनौँ मुद्दाहरू दर्ता भए र टापुबाट विदेशी लगानी बाहिरिने अवस्था सिर्जना भयो ।
न्याय विभागको अभियोगमा फ्लोरिडामा आधारित चरमपन्थीहरूले क्युवालाई निशाना बनाएको लामो र हिंसात्मक इतिहास गायब छ, जुन आजसम्म पनि जारी छ ।
‘ब्रदर्स टु द रेस्क्यु’ को विमान खसालिएको घटना ‘क्युवान फात्’ (Cuban Five) मध्येका एक हेरार्डो हर्नान्डेजविरुद्धको मुद्दामा पनि मुख्य बन्यो । ‘क्युवान फात्’ ती गुप्तचरहरूको समूह थियो जसलाई क्युवाका नागरिकमाथि आक्रमण गर्ने आतङ्कवादी सङ्गठनहरूको निगरानी गर्न दक्षिण फ्लोरिडा पठाइएको थियो । सन् १९९८ मा क्युवाली अधिकारीहरूले एफबीआईलाई अमेरिकाद्वारा आर्थिक सहयोग प्राप्त दर्जनौँ आतङ्कवादी षड्यन्त्रहरूको विस्तृत दस्ताबेज बुझाएका थिए । तर, एफबीआईले ती आतङ्कवादी सञ्जालमा छिरेका एजेन्टहरूलाई नै पक्राउ गरेर प्रतिक्रिया जनायो । सन् २००१ मा एक अत्यन्त विवादास्पद मुद्दामार्फत हर्नान्डेजलाई विमान खसाल्ने निर्णयमा संलग्न भएको, आदेश दिएको वा पूर्व जानकारी भएको कुनै प्रमाण नहुँदा नहुँदै पनि षड्यन्त्रको आरोपमा दोषी ठहर गरियो ।
झन्डै तीन दशकपछि, सोही घटनालाई व्यापक सन्दर्भबाट अलग गरेर पुनः क्यास्ट्रोलाई निशाना बनाउन हतियारका रूपमा प्रयोग गरिँदै छ । न्याय विभागको अभियोगमा फ्लोरिडामा आधारित चरमपन्थीहरूले क्युवालाई निशाना बनाएको लामो र हिंसात्मक इतिहास कतै उल्लेख छैन, जुन सिलसिला आजसम्म पनि रोकिएको छैन ।
फ्लोरिडामा आधारित आतङ्कवाद र दशकौँको दण्डहीनता
२५ फेब्रुअरी, २०२६ मा, १० जना सशस्त्र व्यक्तिहरू बोकेको फ्लोरिडामा दर्ता भएको एउटा डुङ्गाले क्युवाको उत्तरी तटबाट एक माइल टाढा क्युवाली तटरक्षक बलसँग दोहोरो भिडन्त ग¥यो । क्युवाको गृह मन्त्रालयका अनुसार, ती व्यक्तिहरूले पहिले गोली चलाएका थिए, जसमा एक क्युवाली कमान्डर घाइते भए । भिडन्तपछि पाँच जना मारिए र डुङ्गा कब्जामा लिइयो । उक्त डुङ्गाबाट १२,००० राउन्डभन्दा बढी गोली, स्नाइपर राइफल, मोलोटोभ ककटेल (पेट्रोल बम), बुलेटप्रुफ ज्याकेट र नाइट भिजन उपकरणहरू बरामद गरियो । डुङ्गामा सवार सबै १० जना अमेरिकामा बसोबास गर्ने क्युवाली मूलका नागरिक भएको बताइएको छ ।
यो घटना अमेरिकी भूमिबाट क्युवाविरुद्ध निर्देशित सशस्त्र आक्रमण, तोडफोड र आतङ्कवादको दशकौँ लामो अभियानको पछिल्लो कडी मात्र हो । यस्ता गतिविधिहरू प्रायः दण्डहीनताका साथ र कहिलेकाहीँ मियामी र वाशिङटनको मौन राजनीतिक संरक्षणमा हुने गरेका छन् ।
यसको सबैभन्दा कुख्यात उदाहरण क्युवाना फ्लाइट ४५५’ हो । सन् १९७६ मा बार्बाडोसको तटनजिकै विस्फोट गराइएको उक्त नागरिक विमानको बम विस्फोटमा ओर्लान्डो बोश र लुइस पोसाडा कारिलेसलाई मुख्य योजनाकार मानिन्छ । उक्त विस्फोटमा सवार सबै ७३ जनाको मृत्यु भएको थियो । त्यस समयमा, यो पश्चिमी गोलाद्र्धमा हवाई आतङ्कवादको सबैभन्दा घातक घटना थियो । पीडितहरूमा बालबालिकाहरू र क्युवाको राष्ट्रिय फेन्सिङ टोलीका सबै सदस्यहरू सामेल थिए ।
एफबीआईले पछि बोशको सङ्गठन ‘कोअर्डिनेसन अफ युनाइटेड रिभोलुसनरी अर्गनाइजेसन’ (CORU) लाई ‘क्यास्ट्रोविरोधी आतङ्कवादी छाता सङ्गठन’ को रूपमा वर्णन गरेको थियो भने पूर्वअमेरिकी महान्यायाधिवक्ता डिक थोर्नबर्गले बोशलाई ‘पश्चात्तापविहीन आतङ्कवादी’ भनेका थिए । पोसाडा कारिलेस पनि दशकौँसम्म चलेका हिंसात्मक अपरेशनहरूको लामो श्रृङ्खलामा संलग्न थिए, जसमा १९९७ मा हवाना का होटलहरूलाई लक्षित गरी गरिएको बम विस्फोट पनि समावेश थियो, जसमा एक इटालियन पर्यटकको मृत्यु भएको थियो र धेरैजना घाइते भएका थिए ।
बोश र पोसाडा कारिलेसलाई कारबाही गर्नुको सट्टा अमेरिकाले अन्ततः दुवैलाई संरक्षण दियो । सन् १९९० मा, राष्ट्रपति जर्ज एच. डब्लु. बुशले बोशलाई देशमा बस्न अनुमति दिए, जबकि १९८९ मा न्याय विभागले उनको विगत र वर्तमानका आतङ्कवादी गतिविधिहरूको ठोस प्रमाण उद्धृत गर्दै उनलाई देश निकाला गर्ने निर्णय गरेको थियो । यसैबिच, पोसाडा कारिलेस क्युवाना विमान विस्फोटको मुद्दामा ट्रायलको पर्खाइमा रहँदा भेनेजुयलाको जेलबाट भागे र पछि ‘इरान–कन्ट्रा’ काण्डको समयमा मध्य अमेरिकामा पुनः देखापरे । सन् २००५ मा अवैध रूपमा अमेरिका प्रवेश गरेपछि, पोसाडा कारिलेसलाई भेनेजुयला वा क्युवामा सुपुर्दगी हुनबाट बचाइयो र क्युवाना विमान विस्फोटका लागि अमेरिकामा उनीमाथि कहिल्यै मुद्दा चलाइएन ।
पोसाडा कारिलेस र बोश दुवै आफ्नो मृत्यु नहुञ्जेल मियामीमा स्वतन्त्र रूपमा बसे ।
मियामी : दोहोरो मापदण्डको केन्द्रबिन्दु
क्युवाप्रति अमेरिकी नीतिको आधार रहेको दोहोरो मापदण्डका लागि मियामी ग्राउन्ड जिरो हो । यस सहरको राजनीतिमा बर्चस्व जमाएका क्युवाली–अमेरिकी कट्टरपन्थीहरूले लामो समयदेखि ‘स्वतन्त्रता’ र ‘मानव अधिकार’ को नाममा क्युवाविरुद्ध हिंसा, आतङ्कवाद र सामूहिक सजायको वकालत गर्दै आएका छन् । स्वाभाविक रूपमा, क्यास्ट्रोविरुद्ध अभियोग चलाउने वर्तमान दबाब फ्लोरिडाका क्युवाली–अमेरिकी कट्टरपन्थीहरूले न्याय विभागलाई त्यसो गर्न आग्रह गरेको तीन महिनापछि आएको हो ।
फ्लोरिडाका रिपब्लिकन सांसद मारियो डियाज–बलार्टले यूएसए टुडेलाई भनेका छन्, “यो मैले लामो समयदेखि सोचेको र गर्न चाहेको कुरा थियो । मलाई लाग्यो कि यो काम गर्ने राष्ट्रपति नै यिनै ट्रम्प हुन् ।”
क्युवामाथि मुद्दा, वाशिङटन कानुनभन्दा माथि
यो कपटपूर्ण व्यवहार फ्लोरिडा स्ट्रेट्समा मात्र सीमित छैन । यस शताब्दीको सुरुदेखि नै अमेरिकाले युद्धको घोषणा नगरी, संयुक्त राष्ट्र सङ्घको अनुमतिबिना र प्रायः नागरिक पीडितहरूको वास्ता नगरी धेरै देशहरूमा बमबारी गरेको छ । हालैका दिनहरूमा क्यारिबियन र प्रशान्त क्षेत्रमा अमेरिकाले जुन स्तरको दण्डहीनताका साथ सैन्य आक्रमणहरू गरेको छ, त्यसको तुलनामा सन् १९९६ को क्युवाको कदम निकै संयमित देखिन्छ ।
वाशिङटन र मियामीले तीन दशक पुरानो घटनालाई लिएर एक ९४ वर्षीय वृद्धविरुद्ध अभियोगको तयारी गरिरहँदा, ट्रम्प प्रशासनले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा डुङ्गामा सवार मानिसहरूलाई बिना कुनै जवाफदेहिता मारिरहेको छ । सन् २०२५ सेप्टेम्बरदेखि अमेरिकाले ‘अपरेसन सदर्न स्पियर’ अन्तर्गत क्यारिबियन र प्रशान्त क्षेत्रका जहाजहरूमाथि झण्डै ६० वटा सैन्य आक्रमण गरिसकेको छ, जसमा ‘लागूऔषध तस्कर’ र ‘आतङ्कवादी सङ्गठन’ लाई लक्षित गरिएको दाबी गरिएको छ ।
यी अपरेसनहरूमा कम्तीमा १९३ जना मारिएका छन् । यसमा प्रयोग गरिएका रणनीतिहरूमा छद्मभेषी सैन्य विमानहरू र ‘डबल ट्याप’ स्ट्राइकहरू (पहिले नै ध्वस्त भइसकेको जहाजमा बाँचेकाहरूलाई मार्न गरिने दोस्रो आक्रमण) सामेल छन् । यसबारे जनतालाई कुनै प्रमाण दिइएको छैन । स्याटेलाइट तस्बिरहरू गोप्य राखिएका छन् र मारिएकाहरूको नामसमेत सार्वजनिक गरिएको छैन । अमेरिकी सैन्य शक्तिका पीडितहरूलाई सार्वजनिक रूपमा चिनिने सम्मान विरलै दिइन्छ ।
यी गैर–न्यायिक हत्याहरूले अमेरिकी विदेश नीतिको परिचित दोहोरो मापदण्ड झल्काउँछन् ः अमेरिकाको आफ्नै हिंसा वैध हुन्छ, जबकि उसका विरोधीहरूको हिंसा आत्मरक्षाकै मामिलामा पनि अवैध मानिन्छ ।
सत्ता परिवर्तनलाई ‘न्याय’ को रूपमा पुनः प्याकेजिङ
यो विचाराधीन अभियोग दशकौँ पुरानो हिसाब चुक्ता गर्ने साधन मात्र होइन† बरु, यसले कमजोर फौजदारी आरोपहरूलाई ‘सत्ता परिवर्तन’ र सम्भवतः सैन्य हस्तक्षेपका लागि कानुनी बहानामा बदल्ने वर्तमान विदेश नीतिलाई मद्दत गर्दछ ।
एनबीसी न्यूजका अनुसार, ट्रम्प क्युवाली सरकारले सत्ता टिकाइराख्न सकेकोमा झन्झन् निराश बन्दै गएका छन् र अभूतपूर्व प्रतिबन्ध र इन्धन नाकाबन्दीले मानवीय सङ्कट निम्त्याउँदा पनि किन सत्ता ढलेन भनी आफ्ना सल्लाहकारहरूलाई सोधिरहेका छन् । प्रशासनका अधिकारीहरूले क्युवाली सरकार यसै वर्षको अन्त्यसम्ममा ढल्ने विश्वास गरे पनि ट्रम्पलाई यो समयसीमा अपर्याप्त लागेको छ ।
आर्थिक युद्धले क्युवाली सरकार ढाल्न असफल भएपछि रक्षा मन्त्रालयले क्युवाविरुद्ध सम्भावित सैन्य कारबाहीको योजना बनाइरहेको छ । अब कमी छ त केवल एउटा कानुनी बहानाको । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गर्न जायज ठहराइएको लागूऔषध–आतङ्कवादको आरोप क्युवामा सजिलै लागू गर्न सकिँदैन । दशकौँदेखि अमेरिकी गुप्तचर समुदायको साझा निष्कर्ष छ कि क्युवाले आतङ्कवादलाई संरक्षण दिँदैन । साथै, स्टेट डिपार्टमेन्टले लामो समयदेखि क्युवालाई लागूऔषध नियन्त्रणमा अमेरिकाको मुख्य साझेदार मान्दै आएको छ ।
यस्तो अवस्थामा क्यास्ट्रोविरुद्धको अभियोगले सैन्य कारबाहीका लागि एउटा कमजोर भए पनि कानुनी आधार प्रदान गर्ने देखिन्छ । यो मुद्दा जवाफदेहीताको दीर्घकालीन खोजी नभई वाशिङटनले क्युवाविरुद्ध सुरु गर्न लागेको नयाँ र थप हिंसात्मक चरणको कानुनी जग मात्र हो ।
स्रोत

 https://www.bellyofthebeastcuba.com
Image : https://ichef.bbci.co.uk
एजेन्सीहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *