भर्खरै :

भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न, उत्कृष्ट पाँच टोली सम्मानित

भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न, उत्कृष्ट पाँच टोली सम्मानित

भक्तपुर, १६ जेठ । भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ को समापन तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो । दुई दिन सञ्चालन भएको दाफा प्रदर्शनीमा ४६ टोलीले सहभागिता जनाएका थिए ।
समापन समारोहमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले बेलायती विद्वान ई. ए. पावेलले ‘भक्तपुर नहेर्नेले आधा संसार नहेरेसरह हुन्छ’ भन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक महत्वबारे चर्चा गर्नुभयो ।
उहाँले दाफा प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको भन्दै यस्ता कार्यक्रमहरूको अभिलेखीकरण गर्न सके नयाँ पुस्ताका लागि मार्गदर्शन र अध्ययन सामग्री बन्ने बताउनुभयो ।
ख्वप कलाकारहरूको सहरका रूपमा परिचित रहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई शिक्षित बनाउन कलेज स्थापना गरिनुका साथै कला–संस्कृतिमा अगाडि बढाउन सांस्कृतिक प्रशिक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले खेलकुद क्षेत्रमा समेत सकारात्मक प्रगति भइरहेको उल्लेख गर्दै जनतालाई शैक्षिक, सांस्कृतिक, खेलकुद तथा राजनीतिक रूपमा सचेत र सक्षम बनाउन निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो ।
देशमा विभिन्न समयमा भएका आन्दोलन र राजनीतिक घटनाक्रमबारे चर्चा गर्दै उहाँले ती विषयको गम्भीर अध्ययन र विश्लेषण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दाफा प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले आफ्नो घोषणापत्रअनुसार हरेक वर्ष सांस्कृतिक प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पूरा गर्दै यस वर्ष दाफा प्रदर्शनी आयोजना गरेको बताउनुभयो ।
एक दिन मात्र सञ्चालन गर्ने योजना रहे पनि ४९ वटा समूहको दर्ता भएकोले कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको जानकारी दिँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र संवद्र्धनमा निरन्तर काम गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुरका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण विदेशी सहयोगबिना स्थानीय जनताको साथ र सहभागितामा सम्पन्न गरिएको जानकारी गराउनुभयो ।
“सम्पदा पुनर्निर्माणमा हामीले विदेशी सहयोग लिएका छैनौँ, जनताको सहयोग र सहभागितामै काम गरेका छौँ । यही नै भक्तपुरको पहिचान बनेको छ,” उहाँले भन्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले १७८ वटा सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिँदै यस्ता सांस्कृतिक गतिविधिले परम्परा, संस्कृति र पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य बीमामा देखिएका विभिन्न समस्याबारे अवगत गराउँदै उहाँले सार्वजनिक सम्पत्ति संरक्षण र संवद्र्धन गर्नु सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले यो कार्यक्रम दाफा प्रदर्शनीमात्र नभई दाफा सम्मेलनकै रूपमा सम्पन्न भएको बताउनुभयो ।
उहाँले यस्ता सांस्कृतिक गतिविधिहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने विश्वास व्यक्त गर्दै सांस्कृतिक पक्ष नै मानव समाजको पहिचानको आधार भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “संस्कृति मानिसको अस्तित्व र पहिचानसँग जोडिएको विषय हो । ”
परम्परागत बाजागाजा, नाचगान तथा साङ्गीतिक गतिविधिले मानिसको मस्तिष्कलाई सक्रिय र सिर्जनशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै उहाँले भक्तपुरवासीहरू सांस्कृतिक गतिविधिमा निरन्तर संलग्न रहेकाले यहाँको सामाजिक र सांस्कृतिक वातावरण सुदृढ बनेको बताउनुभयो ।
उहाँले दाफा प्रदर्शनीले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र सम्पदाबारे सिकाउन महत्वपूर्ण अवसर प्रदान गरेको धारणा राख्दै यस्ता कार्यक्रम पुस्तान्तरणका लागि अत्यन्त फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सय वर्षपछिको भक्तपुरको सांस्कृतिक स्वरूप र पहिचानलाई मूर्त रूप दिन दाफा प्रदर्शनी महत्वपूर्ण रहेको बताउनुभयो ।
निर्णायकको तर्फबाट प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले भक्तपुर नगरपालिकाले पहिलो पटक दाफा प्रदर्शनी आयोजना गरी सांस्कृतिककर्मीहरूलाई उत्साहित बनाएको बताउनुभयो ।
ख्वप (भक्तपुर) लाई नेपालको सांस्कृतिक राजधानीका रूपमा चिनिने आधारमध्ये दाफा परम्परा पनि एक महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै प्रा.डा. श्रेष्ठले दाफा भजन वा साङ्गीतिक परम्परामात्र नभई नेवार समुदायको सांस्कृतिक जीवनशैली र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दाफा प्रदर्शनीले पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्नेछ र युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति बुझ्न तथा त्यसप्रति आकर्षित हुन प्रेरित गर्नेछ ।”
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैमा धन्यवादज्ञापन गर्नुभयो ।
प्रमुख अतिथि सुवालले दाफा प्रदर्शनीको अवसरमा घोषणा भएका उत्कृष्ट पाँच दाफा टोलीलाई प्रमाणपत्र तथा विशेष प्रोत्साहन प्रदान गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले सहभागी सम्पूर्ण दाफा टोलीलाई प्रमाणपत्र तथा लालाखिं मायाको चिनो र उपप्रमुख जोशीले निर्णायकमण्डललाई धन्यवादपत्र तथा मायाको चिनोसहित सम्मान गर्नुभएको थियो ।
दाफा प्रदर्शनी तथा प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि सांस्कृतिक क्षेत्रका अग्रज व्यक्तित्वहरू आशबहादुर माक, पञ्चलाल लाछिमस्यु, प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठ, बुद्धलाल मानन्धर, राजकुमार मानन्धर, श्रीभक्त सुवाल, रभिम कपाली तथा प्रवीण लाखा निर्णायकको रूपमा रहनुभएको थियो ।
दाफा प्रदर्शनीमा उत्कृष्ट घोषित भएका दाफा खलहरूमा कुथुछे दाफा भजन, खिँछे दाफा भजन, ज्याथा गणेश दाफा भजन, लाकोलाछेँ चपाल दाफा भजन तथा लाकोलाछेँ त्वाले दाफा भजन रहेका छन् । उत्कृष्ट दाफा खललाई लालाखिं, तँ, झ्यालिन्चा र प्रत्येक टोलीलाई नगद १५ हजार प्रोत्साहनस्वरूप प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *