भर्खरै :

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे निर्णयको अंश – ३

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे निर्णयको अंश – ३

काठमाडौँं जिल्लाका प्रमुख जिल्ला अधिकारीले आयोगको अनुसन्धान समितिसमक्ष बयान गर्दा “मैले सबै प्रक्रिया पूरा गरेर कफ्र्यु लगाएको हुँ । गोली चलाउने (Live Firing) आदेश दिएको छैन । घुँडामुनि रबरको गोली चलाउने आदेश प्रहरी प्रमुखमार्फत दिएको हुँ” भनी स्पष्ट बयान गरेको देखिन्छ ।
आयोगको अनुसन्धान टोलीले संलग्न गरेको विवरणअनुसार भदौ २३ गते बेलुकासम्म काठमाडौँको बानेश्वर क्षेत्र र अन्य ठाउँमा १९ जना र विभिन्न अस्पतालमा उपचारको क्रममा २३ जनासमेत जम्मा ४२ जनाको मृत्यु भयो । Forensic Science and Ballistic report अनुसार मृत्यु हुने धेरै व्यक्तिको टाउको, घाँटी, छातिमा ५.५ mm धातुको गोली लागेको देखिन्छ भने थोरैको ७.७ mm धातुका गोली र एक जनालाई रबर बुलेट लागेर मृत्यु भएको देखिन्छ । त्यस्तो ५.५ mm र ७.७ mm का धातुका गोली घुँडामुनि नलागेर अधिकांशको छाती, टाउकोजस्ता संवेदनशील अङ्गमा लागेको देखिन्छ ।
समानुपातिक बल प्रयोगसिद्धान्तको दृष्टिबाट हेर्दा हिंसामा उत्रिएका प्रदर्शनकारीहरूसँग कुटो, पिक, पेट्रोल बमजस्ता घरेलु हतियार थिए भने सुरक्षा फौजले SLR, Insas जस्ता युद्ध क्षेत्रमा प्रयोग हुने हतियार प्रयोग गरेको देखिन्छ । साथै प्रत्यक्षदर्शीको भनाइ CCTV फुटेज र Video हेर्दा संसद् भवनमा तोडफोड गर्ने व्यक्तिलाई गोली नलागी संसद् भवनको दक्षिण र पश्चिम सडक पारी हिँडिरहेका निर्दोष व्यक्तिलाई गोली लागेको यथार्थ नकार्न सकिएन । यस अर्थमा समानुपातिक बलको सिद्धान्तअनुसार “जनधनको क्षति हुनबाट जोगाउन बल प्रयोग गरेको” भन्ने सुरक्षा फौजको जिकिरसँग सहमत हुन सकिएन । साथै भदौ २३ गते बानेश्वर क्षेत्रमा सुरक्षाफौजले भिड व्यवस्थापन गर्ने सिलसिलामा प्रयोग गरेको बल ‘अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्तअनुकूल’ थियो भनी मान्न सकिएन । यसर्थ, काठमाडौँ जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा भिड व्यवस्थापनमा खटिएका सुरक्षा निकायको जिकिरका आधारमा मात्र मानव अधिकार संरक्षणप्रतिको दायित्वबाट निजहरूले उन्मुक्ति पाउन सक्ने अवस्था हुँदैन ।
भदौ २४ गते बिहान ८ बजेदेखि नै कफ्र्यु लगाइए पनि प्रदर्शनकारीहरू सङ्घीय संसद् बानेश्वर, सिंहदरबार, माइतीघरलगायत काठमाडौँका सबै स्थान र देशैभरी कफ्र्युको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएको पाइन्छ । बिहानको करिब १० बजेदेखि देशैभरि विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताका घर, निजी व्यावसायिक प्रतिष्ठान, डिपार्टमेन्ट स्टोर, नेपाल बार एसोसियसनलगायत पेशागत सङ्घ–संस्थाका कार्यालय, सरकारी तथा पुरातात्विक महत्वका संसद् भवन, सिंहदरबार, सरकारी तथा निजी सवारी साधनहरू तोडफोड र आगजनी गर्ने कार्य सुरु गरेको देखिन्छ । त्यस्तै प्रदर्शनकारीहरूद्वारा सुरक्षा निकायका कर्मचारी विशेषगरी नेपाल प्रहरीका कर्मचारीहरूलाई खोजी खोजी कुटपिट गर्दा तीन जना प्रहरी कर्मचारीको हत्या भएको देखिन्छ ।
प्रदर्शनकारीहरूले विभिन्न प्रहरी कार्यालयबाट प्रहरीका हतियार, पोशाकहरूसमेत लुटी प्रदर्शन गर्दै हिँडिरहेको पाइयो । लुटिएका कतिपय हतियार हालसम्म प्राप्त हुन सकेको छैन । सोही दिन विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको घरमै प्रवेश गरेर कुटपिटसमेत गरेको देखिन्छ । सोही दिन विभिन्न स्थानका व्यापारिक तथा निजी भवनमा गरिएको आगजनीमा परी १९ जनाको मृत्यु भयो । त्यसमध्ये ११ जनाको हालसम्म पहिचान हुन सकेको छैन ।
२४ गते नै देशका ३६ वटा कारागारमा तोडफोड तथा आगजनी भयो भने २८ वटा कारागारबाट कैदीबन्दीहरू भागे । यसरी २४ गतेको प्रदर्शन अत्याधिक हिंसात्मक रहेको अनुसन्धान प्रतिवेदन र सङ्कलित अन्य सबुत प्रमाणहरूबाट देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *