भर्खरै :

गोल्डेन गेट इङलिस स्कूलमा एसईई २०८२ का विद्यार्थीलाई सम्मान तथा बिदाइ

गोल्डेन गेट इङलिस स्कूलमा एसईई २०८२ का विद्यार्थीलाई सम्मान तथा बिदाइ

भक्तपुर १६ जेठ । गोल्डेन गेट इङलिस स्कूलले एसईई २०८२ का विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गरेको छ । विद्यालयका विद्यार्थीहरूले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै ४.० जीपीएसम्म प्राप्त गर्न सफल भएका थिए ।
कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यार्थीहरूको सफलतामा शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त मेहनतको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै नगर प्रमुख प्रजापतिले सफलतासँगै विभिन्न चुनौतीहरूको सामना गर्न सक्ने क्षमता पनि विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले जुनसुकै विषय अध्ययन गरे पनि आफ्नो क्षमता र रुचिको सही मूल्याङ्कन गरी त्यसै क्षेत्रमा विशेषज्ञता हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले शिक्षा केवल पैसा कमाउने माध्यम नभई असल, सभ्य र जिम्मेवार नागरिक बन्ने आधार भएको उल्लेख गर्नुभयो ।
“आफ्नो व्यक्तिगत हितका लागि मात्र होइन, समाजको हितका लागि पनि काम गर्ने सामूहिक भावना विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।
नगर प्रमुख प्रजापतिले विदेशमा उच्च शिक्षा हासिल गरे पनि प्राप्त ज्ञान, सीप र अनुभवलाई देश विकासमा उपयोग गर्न स्वदेश फर्किनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
देश निर्माणका लागि सधैँ विदेशको भर पर्न नहुने भन्दै सक्षम र दक्ष जनशक्तिले नेपालको विकासमा योगदान दिनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले नेपालको विकास अरू कसैले आएर गरिदिने नभई नेपालीहरू स्वयं सक्रिय रूपमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले योग्य, दक्ष र मेहनती विद्यार्थीका लागि अवसरको कमी नहुने र त्यस्ता व्यक्तिहरू बेरोजगार बस्नुपर्ने अवस्था नआउने धारणा व्यक्त गर्नुभयो ।
उहाँले प्रशंसाभन्दा आलोचनाबाट बढी सिक्न सकिने उल्लेख गर्दै आलोचनाले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्ने अवसर प्रदान गर्ने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले उच्च शिक्षाका अधिकांश अवसरहरू भक्तपुरमै उपलब्ध गराउने वातावरण निर्माण गरेको जानकारी दिनुभयो । गुणस्तरीय विद्यालय, कलेज तथा प्राविधिक शिक्षाका संस्थाहरूको विकासमार्फत भक्तपुरलाई शिक्षा, ज्ञान र विज्ञानको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले गोल्डेन गेट विद्यालयसँग आफ्नो विशेष भावनात्मक सम्बन्ध रहेको बताउनुभयो ।
“मैले पनि यस विद्यालयमा करिब ६ महिनाजति अध्यापन गराउने अवसर पाएको थिएँ। त्यसैले यस विद्यालयसँग मेरो भावनात्मक लगाव छ,” उहाँले भन्नुभयो ।
उहाँले शिक्षण पेसा आफूलाई सबैभन्दा मनपर्ने पेसा भएको उल्लेख गर्दै शिक्षा क्षेत्रले व्यक्तिको जीवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै शिक्षा नै समाज र राष्ट्र निर्माणको मुख्य आधार भएको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षा, अनुशासन र मेहनतले नै जीवनमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सिङ्ग लामाले विद्यालयले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको उल्लेख गर्दै यस वर्षको उत्कृष्ट नतिजा शिक्षक, विद्यार्थी र अभिभावकबिचको समन्वय तथा मेहनतको परिणाम भएको बताउनुभयो ।
विद्यार्थीका तर्फबाट मन्तव्य राख्दै ४.० जीपीए प्राप्त गर्ने विद्यार्थी रुबिशा मानन्धरले सफलता हासिल गर्न शिक्षकको मार्गदर्शन, अभिभावकको सहयोग र आफ्नै मेहनत महत्वपूर्ण रहेको बताउनुभयो ।
सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।
विद्यालयले २०४३ सालदेखि सञ्चालनमा रही गुणस्तरीय तथा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले यस वर्ष पनि उत्कृष्ट एसईई नतिजा हासिल गरी भक्तपुर जिल्लामै आफ्नो शैक्षिक पहिचानलाई थप मजबुत बनाएको छ ।
कार्यक्रममा विद्यालयका शिक्षक, पूर्वविद्यार्थी, अभिभावक सङ्घका अध्यक्ष बिकेस मानन्धरले आफ्ना अनुभव सुनाउँदै विद्यार्थीलाई उच्च शिक्षा तथा जीवनका आगामी चुनौतीहरूका लागि शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अञ्जु चिपालु जोशीले धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा प्रजिअ खड्कालाई विद्यालय परिवारका तर्फबाट स्वागत तथा बधाई ज्ञापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *