भर्खरै :

क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य

  • जेष्ठ १६, २०८३
  • डिफेन्स डिमोक्रेसी प्रेस स्टाफ
  • विचार
क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य

(क्युवाली क्रान्तिका नेता राउल क्यास्त्रोविरुद्ध अमेरिकाले अभियोग लगाउँदै गर्दा अमेरिकाको राष्ट्रिय सुरक्षा अभिलेखालयले केही दस्ताबेज सार्वजनिक गरेको छ । क्रान्तिपछि अमेरिका भागेका क्युवालीहरूको विमानमाथि गोलीबारी गरिएको घटनाक्रमबारे यी दस्ताबेजले वास्तविकता उजागर गरेका छन् ।)
क्युवाको लडाकु विमान ‘मिग’ (MiG) ले दुई निःशस्त्र ‘सेसना’ (Cessna) विमानलाई गोली हानेर आफ्नो तटबाहिर खसाल्नुभन्दा एक महिनाअघि अमेरिकाको ‘सङ्घीय उड्डयन प्रशासन’ (FAA) ले यसबारे सबैलाई सचेत पारेको थियो । सङ्घीय उड्डयन प्रशासनका एक अधिकारीले ‘उद्दारक दाजुभाइ’ (Brothers to the Rescue, BTTR) संस्थाका अचाक्ली उडानहरूले ‘क्युवाली सरकारलाई थप उक्साएको’ बताएकी थिइन् । ‘सबैभन्दा खराब स्थिति आइलाग्न सक्ने’ देखेर अमेरिकी विदेश मन्त्रालय चिन्तित बनेको उनको तर्क थियो । उनले भनेकी थिइन्, “त्यो स्थितिमा क्युवालीहरूले (BTTR) कुनै पनि विमानलाई खसाल्न सक्छन् र यसको लागि एफएए तयारी अवस्थामा बसेको राम्रो ।” राष्ट्रिय सुरक्षा अभिलेखालयले आज त्यो घटनाबारे अनेक दस्ताबेज सार्वजनिक गरेको छ । माथि उल्लेख चेतावनी एफएएको इमेलमा पढ्न पाइन्छ ।
एफएएका इमेल, मेमो र सन्देशहरूमा तत्कालीन क्लिन्टन सरकारका उच्च अधिकारीहरूको चासो प्रतिबिम्बित हुन्छ । बारम्बार क्युवाली हवाइ क्षेत्रमा घुसपैठ गर्नाले सङ्कट आउन सक्नेबारे उनीहरू सचेत थिए । बीटीटीआरले क्युवालाई भड्काउने ढङ्गले घुसपैठ गरिरहेको स्थितिमा क्युवाले आफ्नो भौगोलिक अखण्डता जोगाउन पाइला चालेका दिन विपत्ति उत्पन्न हुनेबारे क्लिन्टन सरकार अवगत थियो । सन् १९९५ को अगस्तमा अमेरिकी राष्ट्रपति कार्यालयमा बसेको बैठकको सार लेखिएको दस्ताबेज भन्छ, “भुइँबाट गोलीबारी गरेर बीटीटीआरको विमानलाई खसाल्ने सम्भावना अहिले ठुलो खतरा बनेको छ ।”
अमेरिकाको न्याय मन्त्रालयले बीटीटीआरका विमानहरूलाई खसाल्नमा क्युवाली नेता राउल क्यास्त्रोले खेलेको भूमिकालाई आधार बनाई अभियोग लगाउने तयारी चलिरहेको बेला नै माथिका दस्ताबेजहरू बाहिरिएका हुन् । त्यो बेला जनरल राउल क्यास्त्रो क्युवाका रक्षामन्त्री हुनुहुन्थ्यो । उहाँ फिडेल क्यास्त्रो सरकारको सैन्य कमान्डका उच्च अधिकारी हुनुहुन्थ्यो । यी दस्ताबेजमा नागरिक विमानमाथि हवाई हिंसा किन गरिएको थियो भन्ने सन्दर्भमा ऐतिहासिक विवरण पढ्न पाइन्छ ।
यी दस्ताबेजले विमान खसाल्नुका कारणहरू खुलाउँछन् । सन् १९९६ फेब्रुअरी २४ को त्यो घटना हुनुभन्दा अगाडि के भएको थियो भन्ने विवरण पनि दिन्छन् । त्यो घटनामा परेर क्युवाली मूलका पाँच अमेरिकीहरू मारिएका थिए । उनीहरू बीटीटीआरका सदस्य थिए । केही विवरण यसप्रकार छन् :
१. विमान खसाल्नुभन्दा एक वर्षअघिदेखि क्युवा सरकारले द्यत्त्च् को विमानले आफ्नो हवाई क्षेत्रभित्र पर्ने घना बस्तीहरूमा बारम्बार हजारौँ पर्चालगायत सामग्री खसालेकोमा पटकपटक विरोध प्रकट गरेको थियो । ती सामग्रीमा क्युवा सरकारविरुद्ध जनविद्रोह गर्न आह्वान गरिएको हुन्थ्यो ।
२. FAA ले विस्तृत छानबिन सुरु ग¥यो । उसले बीटीटीआरका अध्यक्ष होजे बसुल्टोलाई भेटेरै पटकपटक चेतावनी दियो; क्युवालाई ‘नजिस्क्याउन’ भन्यो । एफएएले त्यसका विमान चालकको लाइसेन्स खारेज गर्ने प्रक्रिया अघि बढायो तर त्यसलाई विमान उडाउन भने रोकेन । त्यसले बारम्बार उडानबारे गलत सूचना दिए तर उनलाई रोकिएन ।
३. ह्वाइट हाउसका क्युवासम्बन्धी अधिकारी रिचर्ड नुसियो, विदेश मन्त्रालयका उपमन्त्री पिटर टार्नोफ र यातायातमन्त्री फेडेरिको पिनालगायत अमेरिकाका धेरै उच्च अधिकारीले पटकपटक एफएएसामु आफ्नो चासो व्यक्त गरे । उनीहरूले बीटीटीआरका उडानहरू ठप्प पार्नुपर्ने र क्युवा आफ्नो सीमाको सुरक्षामा उत्रिन सक्ने सम्भावनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताइरहे । बसुल्टोको पखेटा बाँध्न उनीहरूको एफएएलाई दिएको दबाबले काम गरेन । क्युवाले विमान खसालेपछि मात्र एफएएले बसुल्टोविरुद्ध ठोस ‘विराम र रोक’ आदेश जारी ग¥यो । उसले बसुल्टोका क्रियाकलापलाई ‘अरूको जीउधनलाई खतरामा पार्ने असावधान वा लापरबाहीपूर्ण’ भन्यो ।
माथिका दस्ताबेजहरू सूचनाको हक ऐन
(FOIA) अन्तर्गत प्राप्त गरिएको थियो । अमेरिका विश्वविद्यालयका क्युवाविद् विलियम लियोग्रान्ड र अभिलेखालयका वरिष्ठ विश्लेषक पिटर कोर्नब्लूले लेखेको पुस्तक ‘क्युवा जाने पछाडिको बाटो : वासिङटन र हवानाबिच सम्झौताहरूको गुप्त इतिहास’ मा पनि यी कुरा उल्लेख छन् । यस पुस्तकले फिडेल क्यास्त्रोलगायत धेरै क्युवाली नेताले क्लिन्टन सरकारमार्फत बीटीटीआरका अचाक्ली उडानहरू रोक्न प्रयास गरेको र यसका लागि अनेक ‘पछाडिका बाटोहरू’ प्रयोग गरेको बताउँछ । सन् १९९६ को जनवरीमा क्यास्त्रोले अमेरिकी सांसद बिल रिचर्डसनसँग गोप्य सम्झौता गर्नुभयो । क्लिन्टन सरकारले बसुल्टोका उडानहरूलाई बन्द गर्ने वचन दिएको खण्डमा अमेरिकाका कतिपय राजनीतिक बन्दीलाई रिहा गर्ने क्युवाले बतायो । रिचर्डसनले अमेरिकी राष्ट्रपति क्लिन्टनले प्रतिबद्धता जनाइसकेको बताए । वास्तविकता भने अर्कै थियो । उनले ह्वाइट हाउसका सहयोगीसँग कुरा गरेका थिए । ती सहयोगीले यातायात मन्त्री पेनालाई एफएएमार्फत हस्तक्षेप गर्न भनेका थिए ।
माथि उल्लेख पुस्तक ‘क्युवा जाने पछाडिको बाटो’ अनुसार फेब्रुअरी २३ को रात ह्वाइट हाउसका क्युवा इन्चार्ज रिचर्ड नुसियोले राष्ट्रिय सुरक्षा सल्लाहकार स्यान्डी बर्जरलाई एउटा इमेल पठाए । इमेलमा बसुल्टोले भोलिपल्ट विमान उडाउने हुनाले सतर्क रहन भनिएको थियो । इमेलमा नुसियोको चेतावनी स्पष्ट थियो, “‘ब्रदर्स’ सङ्गठनका होजे बसुल्टोका अघिल्ला उडानहरूमा क्युवाली अधिकारीहरूले संयम अपनाउँदै आएका छन् । क्युवामा अचाक्ली तनाव छ । तसर्थ, क्युवालीहरूले यसपालि विमानलाई गोली हानेर वा जबरजस्ती खसालेर रोक्न सक्ने खतरा छ ।”
नुसियोले मायामीमा रहेका एफएए अधिकारीहरूलाई बोलाए र विमान रद्द गर्न आदेश दिए । तर, अधिकारीहरूले उनको आदेश मानेनन् । नुसियो अक्कबक्क परे । एफएए क्युवाली हवाई क्षेत्र उल्लङ्घन गरेकोमा बसुल्टोलाई चेतावनी दिनमात्र राजी भयो । माथि उल्लेख पुस्तकका लेखकहरूले विमान खसालेको त्यो घटनालाई ‘क्युवाको आकाशमा मञ्चन गरिएको ग्रीक त्रासदी’ भनेका छन् ।

दस्ताबेजहरू
दस्ताबेज १ :एफएए, सेसिलिया केप्सटेनीको इमेल । ‘क्युवामा अनधिकृत उडानहरू’ । सन् १९९६ जनवरी २२ । स्रोत : राष्ट्रिय सुरक्षा अभिलेखालय ।
दुई बीटीटीआर विमान खसाल्नुभन्दा एक महिनाअघि एफएए (एजेन्सी) की अधिकारी सेसिलिया केप्सटेनीले आफ्ना उच्च अधिकारीहरूलाई विदेश मन्त्रालयले ‘एजेन्सी’ लाई बीटीटीआरका नेता होजे बसुल्टोका थप उडानलाई रोक्न दबाब दिएको जानकारी गराउँछिन् । उनले उपविदेशमन्त्री पिटर टार्नफदेखि यातायात मन्त्री फेडेरिको पेनाले ‘बसुल्टोविरुद्ध हाम्रो मामिला बुझ्न’ भनेको उद्धृत पनि गर्छिन् । उनको इमेलमा लेखिएको छ, “सबैभन्दा खराब स्थिति आइलाग्न सक्छ र अबका केही दिनमा क्युवालीहरूले (बीटीटीआरका) कुनै पनि विमानलाई खसाल्नेछन् र यसको लागि एफएए तयारी अवस्थामा बस्नु राम्रो हो ।”
दस्ताबेज २ : एफएए, प्रतिवेदन । ‘उद्दारक दाजुभाइ’ सङ्गठन तथा ‘मायामीस्थित उडानसम्बन्धी जिल्ला कार्यालय’ का सम्बन्धमा स्थिति प्रतिवेदन । सन् १९९६ जनवरी । स्रोत : राष्ट्रिय सुरक्षा अभिलेखालय ।
विमान खसाल्नुभन्दा अगाडि बसेको एफएएको बैठक र पत्राचारसम्बन्धी यो दस्ताबेज ‘एजेन्सी’ को ‘मायामीस्थित उडानसम्बन्धी जिल्ला कार्यालय’ का प्रबन्धक माइकल थोमसले तयार पारेका थिए । यसमा बसुल्टोलाई एफएएका अधिकारीहरूले पठाएका चेतावनीहरूको वर्णन छ । यसमा सन् १९९५ अगस्तमा ‘ह्वाइट हाउसका क्युवा इन्चार्ज’ रिचर्ड नुसियोसँगको बैठकको पनि चर्चा छ । बीटीटीआरले हवानामाथि उक्साहटपूर्ण विमान उडाएर आकाशबाटै सडकका गल्लीहरूमा हजारौँ पर्चा र (विजेताको प्रतीक) तक्माहरू खसालेपछि त्यो बैठक बसेको थियो । बैठकसम्बन्धी वितरणको निष्कर्षमा लेखिएको छ, “भुइँबाट गोलीबारी गरेर बीटीटीआरको विमानलाई खसाल्ने सम्भावना अहिले ठुलो खतरा बनेको छ ।” लगत्तै प्रकाशित विदेश मन्त्रालयको वक्तव्यमा क्युवा सरकार अवैध घुसपैठबाट आफ्नो हवाइ क्षेत्र तथा भौगोलिक अखण्डताको रक्षा गर्न ‘कटिबद्ध’ रहेको उल्लेख छ ।
दस्ताबेज ३ : एफएए । ‘उद्दारक दाजुभाइ’ संलग्न घटना विवरण । सन् १९९६ जनवरी । स्रोत : राष्ट्रिय सुरक्षा अभिलेखालय ।
एफएएको यो अभिलेखमा सन् १९९५ को आरम्भदेखि १९९६ जनवरीसम्म एफएएका अधिकारीहरू र होजे बसुल्टोबिच भएका कुराकानी र पत्राचारको विवरण छ । यसमा बीटीटीआरलाई ‘पटकपटक क्युवाली हवाइ क्षेत्र उल्लङ्घन गर्न बन्द गर’ भनी दिइएको सूचना र चेतावनी पाइन्छ । यसबाट कर्मचारीतन्त्रको अक्षमता पनि उजागर हुन्छ । उनीहरूले बसुल्टोका उक्साहटपूर्ण कार्यलाई सदाका लागि बन्द गर्न नसकेको स्पष्ट हुन्छ । क्युवा सरकारले लगातार आफ्नो हवाइ क्षेत्र उल्लङ्घन गरिएकोमा विरोध जनाएको थियो । कर्मचारीतन्त्रले त्यसलाई सम्बोधन गर्न नसकेको माथिको दस्ताबेजबाट छर्लङ्ग हुन्छ ।
दस्ताबेज ४ : एफएए । ‘बीटीटीआर’ गोलीबारीको विवरण । सन् १९९६ फेब्रुअरी २४ । स्रोत : राष्ट्रिय सुरक्षा अभिलेखालय ।
यो दस्ताबेजमा सन् १९९६ फेब्रुअरी २४ को घटनाबारे एकएक मिनेटको जानकारी पाइन्छ । त्यो दिन क्युवाका लडाकु विमानले आफ्नो देशको तटबाहिर बीटीटीआरका दुई विमानलाई खसालेका थिए । माथिको दस्ताबेजमा क्युवा सरकारका उडान नियन्त्रक, बसुल्टो र एफएएका विमानचालकबिच भएको संवादको विवरण (ट्रान्सक्रिप्ट) पाइन्छ । बसुल्टोले ‘उद्दारक दाजुभाइ तथा यसका अध्यक्ष होजे बसुल्टोको तर्फबाट हार्दिक अभिवादन’ जारी गर्छन् र विमानहरू उत्तरी हवानामाथि उड्ने उद्घोष गर्छन् । त्यसपछि क्युवाली उडान नियन्त्रकले चेतावनी दिन्छन्, “उत्तरी हवाना क्षेत्र सक्रिय छ । नर्थ–२४ क्षेत्रमा घुसे तपाईँ खतरामा पर्नुहुन्छ ।” विवरणअनुसार बसुल्टोले जवाफ दिन्छन्, “२४ भन्दा दक्षिणतिर लागेपछि हामी खतरामा पर्छौँ भन्ने हामीलाई हर्दम थाहा हुन्छ । तर, क्युवालीहरूलाई मुक्त गर्न हामी राजीखुसी आउँछौँ ।” जवाफमा हवानाका हवाई निर्देशक लेख्छन्, “यो सूचना नोट गरेँ ।”
दस्ताबेज ५ : एफएए । ‘विराम र रोक’ को लागि आपत्कालीन आदेश र आज्ञापालनको आदेश (खेस्रा) । सन् १९९६ मार्च । स्रोत : राष्ट्रिय सुरक्षा अभिलेखालय ।
विमान खसालेर बीटीटीआरका चार विमानचालक मारिएपछि एफएएले बसुल्टोविरुद्ध ‘विराम र रोक’ आदेश जारी ग¥यो । आदेशमा उनलाई ‘अरूको जीउधनलाई खतरामा पार्ने असावधान वा लापरबाहीपूर्ण’ क्रियाकलाप गरेको आरोप लगायो । एफएएको निर्देशिकामा बसुल्टो र बीटीटीआरलाई ‘अहिले र पछि पनि गणतन्त्र क्युवाको भौगोलिक हवाई क्षेत्रभित्र कुनै पनि नागरिक विमान सञ्चालन गर्न विराम र रोक लगाउने आदेश’ दिइएको थियो ।
(स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *