भर्खरै :

‘पार्टी भिन्न भए तापनि शासक पार्टीहरूको नीतिमा तात्विक भिन्नता छैन’

‘पार्टी भिन्न भए तापनि शासक पार्टीहरूको नीतिमा तात्विक भिन्नता छैन’

भक्तपुर, १७ जेठ । ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा Voices : Social Science Perspective on Gender, Justice and Change विषयमा एकदिने राष्ट्रिय सम्मेलन आइतबार कलेजमा सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं ख्वप कलेज सञ्चालक समितिका संस्थापक अध्यक्ष प्रेम सुवालले सम्मेलनको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा सचिव सुवालले भन्नुभयो, “राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र हो । राजनीतिमा उमेरको पुस्तान्तरण वा पुरानो विचार लिने नयाँ पुस्ताको अर्थ छैन बरू, नीति परिवर्तनको महत्व हुन्छ ।
पैँतीस वर्षयता नेपालमा पुरूष र महिला दुवै लिङ्गबाट राष्ट्रपति र प्रधानमन्त्री भए तर आर्थिक विषय– सार्वजनिक संस्थानहरू निजीकरण गर्ने तथा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने भयो भने विदेशीसँग ऋण ल्याएर देशलाई नवउपनिवेश बनाउने विदेश मामिला भयो, उहाँले भन्नुभयो ।
देश बिक्री हुने भन्नुको अर्थ यहाँको ढुङ्गा–माटो–घर उठाएर लाने नभई विदेशीले यहीँकै राजनीतिक नेतृत्वलाई आफ्नो अनुकूल काम गराउने भएको उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क पाउने कानुनी व्यवस्था भए परिवर्तनमा मद्दत पुग्नेछ । क्युवाको परिवर्तनका नेता फिडेल क्यास्त्रोले महिलालाई शिक्षा दिनु परिवर्तनभित्रको परिवर्तन हुने बताउनुभएको हो । विदेशी विश्वविद्यालयका कलेजहरू सञ्चालन गर्न दिने सरकारको बजेटले नेपालका कलेजहरू खस्कँदै जानेछ ।”
संरा अमेरिका, भारत, इजरायल, इटाली, फ्रान्स, जर्मनीलगायत कतिपय देशमा दक्षिणपन्थी सरकार भएको, दक्षिणपन्थीको अर्थ प्रतिगामी वा प्रतिक्रियावादी हुने उल्लेख गर्दै उहाँले नेपालमा पनि दक्षिणपन्थी सरकार बन्नु खतरा भएकोतर्फ सतर्क गराउनुभयो ।
सरकारको बजेटमा साढे ६ खर्ब ऋण लिने र नेपालको बिजुली भारतलाई बेच्न सहज हुने गरी नेपाल विद्युत् प्राधिकरणलाई विभाजन गर्ने कुरा नेपालको हितमा नभएको सचिव सुवालले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा भइरहेको निर्वाचन निष्पक्ष नभएको बेला विदेशमा बसेकालाई अनलाइन मतदान र नेपालमा विद्युतीय मेसिनमा मतदानको तयारी गरिँदै छ । नेपालीलाई देशभित्र रोजगारी दिएर विदेशबाट मतदान गराउन नपर्ने व्यवस्था गर्नु जरूरी छ । भारत र संरा अमेरिकामा भएको विद्युतीय मतदान धाँधली भएको सार्वजनिक भइरहेको छ ।”
भदौ २३ गतेको निहत्था जनताको हत्या र भदौ २४ गतेको देशभरिझैँ आगजनी गर्नेहरूलाई फागुन २१ गतेको चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने थियो, त्यसो नहुनु गलत भएको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कम शुल्क र गुणस्तरीय शिक्षा दिन ख्वप कलेजहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
देश र समाजलाई अगाडि बढाउन योगदान गर्ने उेद्दश्यसहित कलेजले नियमितरूपमा राष्ट्रिय सम्मेलन गर्दै आएको उल्लेख गर्नुभयो ।
सम्मेलनको निष्कर्षलाई समाज र कलेजको हितमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिँदै भन्नुभयो, “कानुन निर्माण गर्दा व्यवहारिक पक्षलाई ध्यान दिनु जरूरी छ† कानुन बन्दैमा सबै ठीकठाक हुन्छ भन्ने होइन ।”
देशको माटो, हावापानी सुहाउँदो शिक्षाबिना देश विकास नहुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “कृषिप्रधान देश भने पनि देशको कृषि क्षेत्र समस्याग्रस्त छ, देशमा परनिर्भरता बढ्दो छ ।”
माटो र ढुङ्गा प्रयोग गरेर परम्परागत शैली तथा परम्परागत प्रविधिमा संरचना बनाउने मापदण्डसमेत सरकारसँग नभएको उहाँले बताउनुभयो ।
समान शिक्षा, रोजगारी, सम्पत्तिको सीमाङ्कन, महिला हिंसालगायत जघन्य अपराधीहरूलाई मृत्युदण्ड, उत्पादनका साधनहरूको सामाजिकीकरणले मात्र समाज परिवर्तन सम्भव हुन्छ, प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले लैङ्गिक समानता र सामाजिक न्याय हुनु जरूरी छ भन्नुभयो ।
समालोचनात्मक ढङ्गले अध्ययन र अनुसन्धानलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले समाजको विकास र न्यायको निम्ति सम्मेलन अर्थपूर्ण रहने अपेक्षा गर्नुभयो ।
नेपाल तथा एसियाली अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले भक्तपुर सांस्कृतिक नगरमात्र नभई सभ्यताको नगर पनि भएको र भक्तपुरले सभ्यता र संस्कृतिलाई जीवन्तता दिइरहेको छ भन्नुभयो ।
समाजमा परिवर्तन अवश्यम्भावी छ भन्दै उहाँले चेतनाले नै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *