भर्खरै :

चितवनको कोराकमा नेमकिपाको प्रशिक्षण कार्यक्रम

चितवनको कोराकमा नेमकिपाको प्रशिक्षण कार्यक्रम

कोराक, २३ जेठ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति, चितवनको आयोजनामा समसामयिक विषयमा भेला एवम् प्रशिक्षण कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर वासीको प्रमुख आतिथ्यमा शनिबार राप्ती नपास्थित कोराकमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा केन्द्रीय सदस्य वासीले क्रान्ति भनेको व्यवस्था नै परिवर्तन हो भन्नुभयो । उहाँले रास्वपा सरकारको क्रियाकलाप मजदुर र किसानको पक्षमा नदेखिएको स्पष्ट पार्नुभयो ।
उहाँले जनतालाई सचेत र सङ्गठित नगरी आएको सरकारको आयु लामो हुन नसक्ने सङ्केत गर्नुभयो ।
उहाँले प्रविधिको विकास भए पनि शोषण गर्ने कुरा नफेरिएको र कामदारलाई कामअनुसारको ज्याला दिइरहेको छैन भन्नुभयो ।
नेमकिपा स्थापनाकालदेखि नै माक्र्सवादी सिद्धान्तअनुसार मजदुर र किसानलाई राजनैतिक रूपमा सचेत र सङ्गठित पार्दै आइरहेको बताउँदै उहाँले जनताको समर्थनबिना काम गर्न सकिँदैन भन्नुभयो । उहाँले नेमकिपाले भक्तपुरमा निर्वाचन घोषणापत्रअनुसार शिक्षा र स्वास्थ्यमा उदाहरणीय काम गरिरहेको बताउनुभयो ।
उहाँले अमेरिकाले तेलको लागि इरानलाई हमला गरेको कारण विश्वभरि ग्यास, पेट्रोल र डिजेलको अभाव भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष हरिप्रसाद दुवालको सभापतित्वमा सम्पन्न सो भेलामा विष्णु शर्मा, ज्ञानेन्द्र प्रजा, मोहनबहादुर प्रजा, अर्जुन प्रजा, सन्तबहादुर पाख्रिन, अस्मिता गुरुङ, प्रकाश चेपाङलगायतले बोल्नुभएको थियो ।
उक्त भेलाबाट हरिप्रसाद दुवालको संयोजकत्वमा नेमकिपा चौथो जिल्ला सम्मेलन तयारी समिति, चितवन गठन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *