भर्खरै :

पाँचतले मन्दिरलाई विश्वको आठौँ आश्चर्यमा सूचिकृत गर्ने हो कि !

  • श्रावण ९, २०८३
  • विश्वराम प्रजापति
  • विचार
पाँचतले मन्दिरलाई विश्वको आठौँ आश्चर्यमा सूचिकृत गर्ने हो कि !

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले सिङ्गारिएको देश हो । यो विश्वमा छुट्टै पहिचान राख्न सफल सुन्दर देश पनि हो । यो देश हिमाल, पहाड, तराई त्यसअनुसारको भूमि, हावापानी, वनस्पति, जीव प्राणी र संस्कृतिले पूर्ण देश हो । यहाँको बेग्लै प्रकृति, मूर्त–अमूर्त सांस्कृतिक सम्पदाकै कारण युनेस्को (United Nations Educational Scientific and Cultural Organization UNESCO) ले नेपालको प्राकृतिक सम्पदा सगरमाथा राष्ट्रिय निकुञ्ज सन् १९८४ मा, चितवन राष्ट्रिय निकुञ्ज सन् १९७९ मा, भक्तपुर दरबार क्षेत्र, काठमाडौँ दरबार क्षेत्र, ललितपुर दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथलाई सन् १९७९ मा र लुम्बिनीलाई सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचिकृत गरिसकेको छ । यसले नेपालको शैक्षिक, वैज्ञानिक, सांस्कृतिक, आर्थिक र सामाजिक विकासमा ठुलो मद्दत गरेको छ ।
युनेस्कोले जोर्डनको सन् १९१२ मा निर्माण गरिएको वा पत्ता लगाइएको सांस्कृतिक सम्पदा पेट्रा (Petra) सहर, पेरुको सन् १९११ मा निर्माण गरिएको म्याचु पिक्च्यु (Machu–Picchu), ब्राजिलको रियो डि जेनेरियोको माउन्ट कोरको वाडोमा सन् १९२६–३१ सम्म पाँच वर्ष लगाएर बनाएको जिसस क्राइस्टको अग्लो मूर्ति, इटाली रोमको पहिलो शताब्दीमा बनेको कोलोजियम इन्टेरिअर (Colosseum interior) रङ्गशाला, भारतका आग्राको (सन् १६२८–५८) तीस वर्ष लगाएर बनाएको ताजमहल, चीनको सातौँ शताब्दीमा निर्माण गरिएको ग्रेटवाल र मेक्सिकोको ९–१० औँ शताब्दीमा बनाएको चिचेन इत्जा
(Chichen – Itza) पिरामिडलाई विश्वको सात आश्चर्य सांस्कृतिक सम्पदामा सूचिकृत गरेको छ । यी सम्पदाहरूले विश्वको शैक्षिक, वैज्ञानिक, सांस्कृतिक, आर्थिक विकासमा पक्कै सहयोग पु¥याएको हुन्छ ।
नेपाल र विश्वमा बेग्लै प्रभाव छोड्न सफल पाँचतले मन्दिरलाई पनि विश्वको आठौँ आश्चर्यमा सूचिकृत गर्न स्थानीय, प्रदेश र सङ्घीय तहको सरकारले प्रयास गर्ने कि । यो मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत भइसकेको छ । यो अग्लो पिरामिड शैलीमा निर्माण गरिएको विशिष्ट कलाकृतिले भरिएको विश्वकै सम्पदा हो । वास्तु र विज्ञान शास्त्रअनुसार निर्माण गरिएको उक्त मन्दिर इँटा, काठलगायतका सामग्रीको तौल, आकार अनि जग वर्गाकारमा सबै ठाउँमा आवश्यकताअनुसार काठकै बलियो चुकुल राखिएको छ । कहीँ पनि किला, फलामको प्रयोग गरिएको छैन । काठको विशेष खालको जोडाइ, चुकुलको प्रयोग र लचकताले नै वि.सं. १८९०, १९९०, २०४५, २०७२ सालको विनाशकारी भूकम्पबाट यो मन्दिर सगरमाथाझैँ उभिरह्यो ।
यो मन्दिर यसरी बलियो र कलाले भरिपूर्ण भएर नै होला भक्तपुरलाई जर्मनीका सम्पदाविद् निल्सगुत्साले सुन्दर जीवित सङ्ग्रहालय (Living Museum), जर्मनीकै नागरिक ह्यान्स बेन्जामिनले आधा विश्व घुमेको सहर भएको, बेलायती नगरिक ई.ए. पावेलले भक्तपुर अवलोकन गर्न छुटे आधा संसार छुटे सरह हुने, अमेरिकी पत्रकार एडवार्ड अलेक्जान्डर पावेलले भक्तपुर पुग्नु विश्वको आधाभन्दा बढी ठाउँमा घुम्नुजस्तो भएको बताएका छन् । नेपाललगायत विश्वका अन्य देशका इतिहास, संस्कृति, विज्ञान, प्रविधि आदिका विद्यार्थी, विज्ञलगायत पर्यटकहरूको अनुभव, प्रभाव आफ्नै ठाउँमा छ । त्यसैले यो मन्दिर नेपालको मात्र होइन विश्वकै शिक्षा, विज्ञान, प्रविधि, इन्जिनियर, इतिहास, संस्कृति आदिका विद्यार्थी, विद्वान, वैज्ञानिक र अन्य पर्यटकहरूका लागि स्वर्गजस्तो सुन्दर ठाउँ र विश्वविद्यालय पनि हो । यो मन्दिरले नेपालको मात्र होइन विश्वकै ध्यान खिचिरहेको छ । नेपालका तीनै तहका सरकारले यो मन्दिरलाई विश्वको आठौँ आश्चर्यमा सूचिकृत गर्न किन प्रयास नगर्ने ?
यस मन्दिरको विषयमा केही रोचक र महत्वपूर्ण तथ्य र जानकारीसहित बुँदागतरूपमा तल चर्चा गरिएको छ ।
१) यो मन्दिर राजा भूपतीन्द्र मल्लको पालामा वि.सं. १७८५ मा जनताले निर्माण गरेका थिए । त्यसैले यो मन्दिरले यहीँ असार ३१ गते प्रतिपदाको दिन ३२४ वर्षमा पुगेको जन्म दिन मनाइसकेको छ ।
२) नेपाल संवत् ८२२ पौष कृष्ण त्रयोदशी बुधबारदेखि असार सुदिं १ प्रतिपदामा निर्माण सम्पन्न भएको थियो । त्यसैले हरेक वर्ष निर्माण सम्पन्न भएको दिन असार प्रतिपदाको दिन पाँचतले मन्दिरको गजुरमा विधिवत पूजापाठसहित चन्द्रसूर्य अङ्कित पतः ध्वजा फह¥याएर जन्मदिन बुँसादाँ मनाउने गरिन्छ ।
३) यो मन्दिर पाँचतले झिँगटीको छाना, फलेटी, अगाडिपट्टि पाँचै फलेटीमा जोडी पहलमान, हात्ती, सिंह, शार्दुल र व्याधिनी देवीको मूर्ति राखिएको छ । माथि मन्दिर परिक्रमा गर्न मिल्ने गरी पाँच कवलसहितको दलाम निर्माण गरिएको छ ।
४) पाँचतलेको फलेटीमा देवी सिद्धिलक्ष्मीको सुरक्षार्थ तलबाट माथि क्रमशः जयमल र प्रताप पहलमान, (कुटुव) को जोडी, त्यस्तै हात्ती, सिंह, शार्दुल र व्यघ्रिनीको जोडी रहेका छन् ।
५) मन्दिरको चारै कुनामा गणेशका मन्दिरहरू रहेका छन् ।
६) मन्दिरमा ११,३५, ३५० वटा इँटा, १,०२,०३५ वटा तेलिया इँटा, २७,०८४ वटा उपा इँटा प्रयोग भएका र त्यसको लागि नगरको वरपर ८ ठाउँमा इँटा भट्टा खोलेर इँटा पोलेका थिए । चिकं अपा (इँटा) ठिमीबाट ल्याएका थिए ।
७) गजुरको तौल ४० धार्नी रहेको छ ।
८) गजुरमा ३७ तोला सुनको जलप लगाइएको थियो ।
९) मन्दिरमा पाँचतलाको झिँगटीको छाना रहेका छन् । पाँचतलामा गरेर ५२९ वटा फय् गाँचा (मान्छेले होइन प्राकृतिक हावाको चापले बजाउने घण्टी) रहेका छन् ।
क) सबभन्दा माथिको छानामा ४८ वटा
ख) दोस्रो छानामा ८० वटा
ग) तेस्रो छानामा १०४ वटा
घ) चौथो छानामा १२८ वटा
ङ) पाँचौँ छानामा १६८ वटा
बाँकी एउटा घण्टी कहाँ राखिएको छ भन्न सकिएको छैन ।
१०) मन्दिर निर्माण सम्पन्न भएको दिन (बुँसादाँ) मा सबै जातका गरी २० हजारलाई तः भ्वय (ठुलो भोज) खुवाइएको थियो । यो भोज मन्दिर बनाउन श्रमदान गर्ने जनतालाई खुवाइएको हुनुपर्छ ।
११) मन्दिरभित्र ९ वटा टाउको (सबभन्दा माथि १, बिचको पङ्क्तिमा ३ वटा र सबभन्दा तलको पङ्क्तिमा ५ वटा गरी जम्मा ९ वटा टाउको) र दायाँ बायाँ ८÷८ वटा गरी १६ विभिन्न अस्त्र समाएको हात भएकी सिद्धिलक्ष्मीको सुन्दर मूर्ति स्थापना गरिएको पढ्न र सुन्न पाइन्छ ।
१२) मन्दिरको गर्भस्थानमा बेताल भैरवमाथि सदासन गरेकी सिद्धिलक्ष्मी देवीको आकर्षक मूर्ति रहेको छ ।
१३) मन्दिरको उचाइ १०८ फिट (३३.२३ मि.) रहेको छ ।
१४) यो मन्दिर राजा महेन्द्रको पालामा वि.सं. २०१९ सालमा जीर्णोद्धार गरिएको थियो भने भक्तपुर नगरपालिकाले कुनै विदेशीसँग हात नथापिकन उपभोक्ता समितिमार्फत जनताको साथ र सहयोगमा वि.सं. २०५६ र आ.व. २०७६/७७ मा गरी दुई पटक जीर्णोद्धार गरिसकेको छ । यसले देशकै शिर ठाडो पार्ने काम गरेको छ ।
स्रोत : कान्तिपुर कोसेली, अन्य सञ्चार माध्यम

Leave a Reply

Your email address will not be published. Required fields are marked *