भर्खरै :

भक्तपुर नगरव्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भक्तपुर नगरव्यापी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भक्तपुर, ९ साउन । भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालय र तचपाः पुचःको संयुक्त आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी विद्यालय उमेरका विद्यार्थीबिचको हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगितामा प्रभात ई. स्कूल प्रथम, ख्वप्रिङ ई. एकेडेमी द्वितीय, हिमालयन ग्लोरी ई. स्कूल तृतीय र वागीश्वरी मावि विद्यार्थी हित समिति चौथो हुन सफल भयो । उत्कृष्ट टोलीलाई वाग्मती प्रदेशसभा सांसद सृजना सैंजूले पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा अतिथि सैंजूले विद्यार्थीहरूले पाठ्यपुस्तकको अध्ययनसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक विषयमा जानकारी राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीले समाज बुझ्न पाउने अधिकार राख्छन्, अन्याय र शोषणको विरोधमा आवाज उठाउने हक छ र यही नै विद्यार्थी राजनीति हो ।”
भारतमा शिक्षा क्षेत्रमा देखिएको बेथितिविरूद्ध युवा विद्यार्थीहरूको आन्दोलन भइरहेको चर्चा गर्दै उहाँले नेपालको वर्तमान सरकारले नयाँ पुस्तालाई मौन राख्ने र जनतालाई हरेक शीर्षकमा भारी बोकाउने कार्य गरिरहेको बताउनुभयो । उहाँले नेपाली युवा विद्यार्थीहरूले सरकारका गलत क्रियाकलापको विरूद्ध सचेततापूर्वक सङ्घर्ष गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष कृष्णभक्त लवजूले जेनजी आन्दोलनबाट बनेको सरकारले जेनजीहरूको भावनाविपरीत शिक्षा र स्वास्थ्यमा कर लगाएको, विद्यार्थी राजनीतिलाई प्रतिबन्धित गरेको उल्लेख गर्दै पञ्चायती शैलीको शासन लामो समय नटिक्ने बताउनुभयो ।
वडाध्यक्ष रवीन्द्र ज्याख्वले नयाँ पुस्ताको बौद्धिक विकासका लागि नगरपालिकाले युवा पुस्तालाई लक्षित गरी अतिरिक्त क्रियाकलापहरू गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले स्थानीय पाठ्यक्रममार्फत भक्तपुरको कला, संस्कृति, इतिहास र स्थानीय विशेषताको विषयमा विद्यालय तहमा कक्षा सञ्चालन गरेदेखि नयाँ पुस्तामा स्थानीय विषयमा राम्रो जानकारी हुन थालेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष दीपिका लवजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरू जेनुषा कोजू, सुजी हेंग्वजू, सगुन धन्छालगायतले बोल्नुभयो ।
प्रथम हुने टोलीलाई ट्रफी र प्रमाणपत्र तथा टोलीमा सहभागी विद्यार्थीहरूलाई नगद पुरस्कार, पुस्तक उपहार तथा प्रमाणपत्र वितरण गरिएको आयोजकले बताएको छ । प्रथम हुने प्रभात ई. स्कूललाई रु. १५ हजार, द्वितीय हुने ख्वप्रिङ ई. एकेडेमीलाई रु. १२ हजार, तृतीय हुने हिमालयन ग्लोरी ई. स्कूललाई नगद रु. ९ हजार र चौथो हुने वागीश्वरी मावि विद्यार्थी हित समितिलाई रू. ६ हजार पुरस्कार वितरण गरिएको वडाध्यक्ष ज्याख्वले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *