भर्खरै :

टोलवासीहरूसँग राय सुझाव सङ्कलन कार्यक्रम

टोलवासीहरूसँग राय सुझाव सङ्कलन कार्यक्रम

भक्तपुर, २३ जेठ । भनपा ४ वडा कार्यालयको आयोजनामा शनिबार आ.व.२०८३८४ को लागि योजना छनोट गर्न स्थानीय कुथुमला भेगमा टोलवासीहरूसँग राय सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भयो ।
सभापति एवं भनपा ४ वडाका वडाध्यक्ष उपेन्द्र सुवालले पार्टीको चुनावी घोषणा पत्रअनुसार जनताको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखी सांस्कृतिक सम्पदा, मठ मन्दिर, ढुङ्गेधारा, पोखरी संरक्षणमा जोड दिँदै आएको बताउँदै १७० भन्दा बढी सम्पदा पुनः निर्माण सकिएको जानकारी गराउनुभयो । भनपाले जनताबिच गएर शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखेर देशकै नमुना नगरको रूपमा भक्तपुरलाई स्थापित गरेको जिकीर गर्दै शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको अध्ययन अनुसन्धानको लागि उचित बन्दोबस्त गर्दै आइरहेको बताउनुभयो ।
स्थानीय बलराम शिल्पकारले टोल छिमेकमा चोरीका घटनाबारे निगरानी राख्न सीसी क्यामेरा राख्नुपर्ने, सडक बत्ती जडान गर्नुपर्ने, माकचो गणेश जाने बाटो निर्माण गर्नुपर्ने, बिजुली तार व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।
प्राध्यापक हरिसुन्दर सुवालले विकास निर्माण कार्य उपभोक्ता समितिमार्फत हुँदा कम लागतमा काम सम्पन्न हुने र कला संस्कृति जगेर्नामा जनचेतना अभिवृद्धि गरी जन श्रमदान जुटाइ उत्कृष्ट उदाहरणीय काम गर्न सकिने विचार व्यक्त गर्दै सामाजिक कर्तव्य पालनामा ध्यान दिन सकिए सभ्य समाज निर्माण हुने भनाइ राख्नुभयो ।
वडा सदस्य कृष्णसुन्दर प्रजापतिले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा वडा सचिव इन्द्रप्रसाद मचामसी, वडा स्वास्थ्यकर्मी सरूजा प्रजापति, प्राविधिक सहयोगी पञ्चरत्न सैँजू, स्थानीय टोलवासी रामकृष्ण मूलगुठी, रेश्मी माक, कृष्णश्वरी कुसाथा, राजकुमार स्वनेप, राजेन्द्र चगुठीलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *