भर्खरै :

दिवङ्गत सूर्यबहादुर वाइबाप्रति श्रद्धा सुमन अर्पण

दिवङ्गत सूर्यबहादुर वाइबाप्रति श्रद्धा सुमन अर्पण

काभ्रे, ३० जेठ । नेपाल मजदुर किसान पार्टी, काभ्रे जिल्ला समितिका सदस्य तथा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ काभ्रेका अध्यक्ष सूर्यबहादुर वाइबाको जेठ २२ गते असामयिक देहावसान भएकोमा दिवङ्गतप्रति श्रद्धा सुमन अर्पण कार्यक्रम मण्डनदेउपुर बालुवापाटीमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले दिवङ्गत व्यक्तिको योगदान लिपिबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“सबैको निम्ति लेख्ने, बोल्ने, सिकाउने अर्थात् ज्ञान र चेतना बाँडेर अरूलाई पनि माथि उठाउनुपर्छ” सांसद गोसाईले भन्नुभयो । उहाँले भन्नुभयो, “दिवङ्गत वाइबाले गर्न नभ्याएका बाँकी काम हामीले काँधमा बोक्नुपर्छ ।”
नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले समाजमा योगदान गरेका व्यक्तिको देह नरहे तापनि उनको कीर्ति अमर रहन्छ भन्नुभयो । दिवङ्गत सूर्यबहादुर वाइबाले देश र जनताको पक्षमा गीत गाएर चेतना दिने काम गरेको हुँदा उहाँको कीर्ति शेष भए तापनि अमर रहने वैद्यले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा काभ्रेका सल्लाहकारद्वय एन.बी. दुवाल र डा. हरिप्रसाद मानन्धरले दिवङ्गत सूर्यबहादुर वाइबा शिक्षासेवी र इमानदार असल शिक्षक भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपा मण्डनदेउपुर नगर समितिका अध्यक्ष कृष्णबहादुर तामाङ, पाँचखाल नगर समितिका पूर्वअध्यक्ष धनबहादुर तामाङ, नेमकिपा काभ्रेका सहसचिव मुना तामाङले शोकलाई शक्तिमा बदलेर देश र जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ काभ्रे र वालाम्हेन्दो सांस्कृतिक समूह नाल्दुमका कलाकारहरूले दिवङ्गत सूर्य वाइबाको सम्झनामा गीत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *