नयाँ पुस्तालाई सेवा गर्ने भावनाबाट अभिप्रेरित गर्नुपर्ने
- आश्विन २२, २०८३
भक्तपुर, २२ असोज । नेपाल क्रान्तिकारी महिला सङ्घ वाचुत्व खँचाको आयोजनामा बिहीबार महिला भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले ४६ वर्षदेखि नेपालभाषा साहित्य तःमुंज्याले सांस्कृतिक कार्यक्रममार्फत व्यापक कामदार जनताको हितमा आवाज उठाउँदै आएको बताउनुभयो ।
अध्यक्ष नारायणमान बिजुक्छेँले कल्पना गर्नुभएको ‘सयवर्षपछिको भक्तपुर’लाई मार्गनिर्देशक बनाई भक्तपुर नगरपालिकाले काम गर्दै आएको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य कवांले भन्नुभयो, “नेमकिपाले स्थापनाकालदेखि कामदार जनताको हितमा विभिन्न कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै जनतालाई सचेत पार्दै आएको छ । देश र जनताको निःस्वार्थ सेवा गर्नुबाहेक नेमकिपाको कुनै स्वार्थ छैन ।”
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलका सल्लाहकार कमलमैया सुवालले काम गरी खानेवर्गको पक्षमा उभिएको नेपालभाषा साहित्य तःमुंज्या भव्य रूपमा सफल पार्न आ–आफ्नो तर्फबाट सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको पुँजीवादी व्यवस्थाले कामदार महिलाको हित गर्दैन, कामदारवर्गका महिलाको भविष्य समाजवादी व्यवस्थाले मात्र उज्ज्वल बनाउनेछ । नेमकिपा समाजवादी व्यवस्था स्थापनाका लागि सङ्घर्षरत छ ।”
कार्यक्रममा वडा सदस्य हेरा ख्याजु र आयोजक समितिका धर्मलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।
भेलामा कार्तिक ६ र ७ गते गोल्मढीमा हुने नेपालभाषा साहित्य तःमुंज्याबारे गङ्गा वनमाला र स्मृति कासुलाले जानकारी दिनुभयो ।
Leave a Reply