भर्खरै :

सेवाकालीन तालिमका प्रशिक्षार्थीहरूद्वारा भक्तपुरको शैक्षिक क्षेत्रको अध्ययन भ्रमण

सेवाकालीन तालिमका प्रशिक्षार्थीहरूद्वारा भक्तपुरको शैक्षिक क्षेत्रको अध्ययन भ्रमण

भक्तपुर, २२ असोज । प्रदेश सुशासन केन्द्रमा सञ्चालित ३५ कार्यदिने सेवाकालीन तालिमका प्रशिक्षार्थीहरूले बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटी नगरपालिकाले सञ्चालन गर्दै आएको शौक्षिक कार्यक्रम शैक्षिक संस्थाको व्यवस्थापन, लगानी, छात्रवृत्ति, गुणस्तर अभिवृद्धि तथा स्थानीय पाठ्यक्रम, शैक्षिक संस्थाको अनुगमन समिति, अनुगमनको प्रभावकारितालगायतका विषयमा जानकारी लिएका थिए ।
अध्ययन भ्रमणको क्रममा नगरपालिकाको शिक्षा क्षेत्रमा गरिएको बजेट विनियोजन तथा लगानी, कलेज व्यवस्थापन समितिको भूमिका र कार्यसम्पादन, कलेज सञ्चालनबाट प्राप्त उपलब्धि तथा विद्यमान चुनौतीबारे प्रशिक्षार्थीहरूले जानकारी लिएका थिए ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा विभेद नहुने गरी शैक्षिक व्यवस्थापन गर्दै आएको जानकारी गराउँदै नगरपालिकाद्वारा सञ्चालित विभिन्न शैक्षिक संस्थाहरूमा देशभरका विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बताउँदै नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थामार्फत गुणस्तरीय तथा पहुँचयोग्य उच्च शिक्षा उपलब्ध गराउने प्रयास गरिरहेको बताउनुभयो ।
नगरपालिकाले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई शिक्षाबाट वञ्चित हुन नदिन छात्रवृत्ति तथा शैक्षिक ऋणको व्यवस्था गर्दै आएको बताउँदै नगरपालिकाबाट विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीका लागि वार्षिक करिब ४ करोड ५० लाख रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यु.ए.ए.) प्राप्त गरिसकेको र केही कलेजहरू प्रक्रियामा रहेको बताउँदै नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्यसमेत रहेको जानकारी गराउनुभयो ।
भक्तपुर नगरपालिकाले युवा विद्यार्थी लक्षित भाषा तथा सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउँदै उहाँले शिक्षा केवल औपचारिक डिग्री प्राप्त गर्ने माध्यम नभई जीवन र समाज रूपान्तरणको आधार हो भन्ने मान्यताका साथ नगरपालिकाले विभिन्न शैक्षिक तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
स्थानीय आवश्यकताअनुसारको शिक्षा प्रदान गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको बताउँदै उहाँले नेपालमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अग्रणी स्थानीय तहमध्ये भक्तपुर नगरपालिका रहेको जानकारी गराउनुभयो ।
अध्ययन भ्रमणको क्रममा प्रशिक्षार्थीहरूले नगरपालिकाअन्तर्गतका शिशु स्याहार केन्द्र, जनज्योति पुस्तकालय, नगरपालिकाको स्वामित्वमा सञ्चालित कलेज तथा सामुदायिक विद्यालयलगायत विभिन्न शैक्षिक संस्थाको स्थलगत अवलोकन गरेका थिए ।
अध्ययन भ्रमणमा पनौती नगरपालिका, काभ्रेपलाञ्चोकका वरिष्ठ शाखा अधिकृत शिवराम अधिकारी, कागेश्वरी मनोहरा नपा, डाँछी काठमाडौँका वरिष्ठ इन्जिनियर नवीन पाण्डे, चन्द्रागिरी नपा, बलम्बुका इन्जिनियर पारस थापा र किस्पाङ गाउँपालिका काहुले नुवाकोटका वरिष्ठ लेखा अधिकृत ऋषि अधिकारीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *