भर्खरै :

ती सिद्धि–गोपाल

ती सिद्धि–गोपाल

६ वर्षले जेठा–कान्छा थिए उनीहरू । जेठा ओखलढुङ्गामा जन्मेका थिए भने कान्छा काठमाडौँमा । दुवै थिए क्रान्तिकारी; क्रान्तिकारी कवि । दुवैमा राणाकालीन अन्धयुग चिर्ने लालसा थियो । दुवैमा व्यापक जनताको हितमा समाजलाई जगैबाट बदल्ने हुटहुटी थियो । यो हुटहुटीले दुवै आजीवन जले; दुवै पिरोलिए । उनीहरूले कल्पेको समाज बन्यो बनेन ? हामी सबै त्यसका साक्षी छौँ ।
आज पनि हामी सोधिरहेछौँ – आमा, के त्यो आउँछ र ?
आमा भन्छिन् – हो बा, त्यो आउँछ ।
आज पनि हामी गुनासो गरिरहेछौँ – नयाँ युग आएको छैन !
आमा भन्छिन् – बा आउनुभएको छैन ।

एक थिए सिद्धिचरण श्रेष्ठ
विसं. १९७५ मा सिद्धिचरण ६ वर्ष पुगे । त्यही वर्ष उनी पूर्वी नेपालबाट काठमाडौँमा आए । उनले देशी–विदेशी साहित्यको अध्ययन गरे । काठमाडौँमा आएको बौद्धिक जागरणका उनी एक सहयोद्धा बने । उनले साहित्य रचे । गङ्गालाल श्रेष्ठजस्ता क्रान्तिकारीका ‘दाइ’ बने, वैचारिक साथी बने ।
उबेला देश र देशवासी सामन्ती शासनले सिकिस्त थिए । त्यो नेपालबारे सिद्धिचरण लेख्छन् –
“देश सुतेको थियो, ब्युँझनेहरूलाई पनि उठ्न दिइएको थिएन । भयावह स्थिति थियो । चाकरी गर, कुनै राणाकहाँ गएर आफ्नो आत्मा बेच, नत्र तिनलाई जिउने हक छैन । कसैको अलिक जीवनस्तर बढेको, कसैले राम्ररी खाएलाएको देखियो भने त्यसलाई एक न एक पेच लगाई गिराइहाल्थे । फरियाको नाता त्यसबेलाको ठुलो इज्जत थियो – आफ्ना दिदी, बहिनी, छोरी या स्वास्नी पनि राणाको घरमा धाई, सुसारे राख्नमा पनि लाज नमान्ने दुनियाँ पार्दै लगिएको थियो । राणाहरूमा पनि सत्र भाइ खलकहरूको फूर्तिफार्ती हेरिसक्नु थिएन । कोही त्यस्तो राणा बाटोमा आएको देख्नासाथ चट्ट बाटोको एक छेउ लागेर सलाम ठोकिहाल्नुपथ्र्यो, यसो नगरेमा उनीहरूको कोपभाजन हुने डर थियो । मुखमा गाँस नै हडपिन केही बेर थिएन । विद्यार्थी या सरकारी कर्मचारी जो होस्, चाकरी गर्नु ठुलो बुद्धिमानी सम्झन्थ्यो । रोलवाला राणाहरू र उनीहरूका भाइ, छोरा, भतिजाहरूको दरबार या महलमा यस्ता चाकरीबाजहरूको ताँती लागिरहन्थ्यो । कोही राणा घोडा या मोटरमा बाहिर सवारी हुँदा ग्वारग्वारती मानिसहरू पछि लाग्थे । फलानाको दरबार बलियो छ भन्नु एउटा आहानजस्तै भइसकेको थियो । आफ्नो पढाइ र अरू ल्याकतद्वारा कसैले माथि उक्लन्छु भन्ने सपनामा पनि देख्न पर्दैनथ्यो । बुद्धिमान छौ त, पढेलेखेका छौ त के भयो, लाछी कुकुरजस्तो लुरुलुरु हिँड, मालिकहरूको अगाडि शिर ठाडो पारेर हिँड्नु ठुलो कसुर हो भन्ने कुरा पहिले सिक र त्यसैअनुसार व्यवहार गर । यसै गरेर आफ्नो भित्रको आत्मालाई स्वाहार पार अनि अनगिन्ती अदना जनतालाई दबाऊ, शोषण गर, राणाहरूको ढुकुटी भर । यही त्यसबेलाका जान्नेबुझ्नेहरूको सल्लाह हुन्थ्यो । यसरी एक राणापछि अर्को राणा प्रधानमन्त्री हुन्थे, दुनियाँको धनसम्पत्ति चुस्थे, आफ्ना छोरा, नातिहरूलाई पनि चुसाउँथे । अनि त्यो धनसम्पत्ति विदेशका बैङ्कहरूमा लगेर सञ्चित गर्थे । नेपालमा धनसम्पत्ति राख्न हुँदैन, यसको के भर भनेर सोच्थे । राणाहरूले यस देशलाई आफ्नो हो, जस्तै भए पनि हामी यही बस्नु छ भन्ने मात्र सोचेका भए पनि यस देशको केही सुधार हुँदो हो । यस देशमा भएका मोजमज्जा र सुविधाले अतृप्त भएर विदेशमा गई रन्डी र रक्सीमा पानीझैँ पैसा खर्च गर्न लागे । त्यसबेला खुट्टाले टेकेर हिँडे पनि मानिस, मानिस थिएनन्, भित्रभित्रै मनुष्यता स्वाहा भइसकेका मासुका पुतली मात्र थिए । गाउँगाउँमा गएर त्यहाँका राम्राराम्रा आइमाईहरूलाई ल्याएर राणाहरू दरबारमा हुल्थे । यस काममा राणाहरूका नोकरचाकर खटिएका हुन्थे । यसरी आइमाई हुलेर पनि मानिसहरू आफ्नो इज्जत गएको सम्झिन्नथे । यसरी राखिएका आइमाईहरूले जब पेट बोक्थे, यसमा एक जनाले पनि रानीसाहेब, दुलहीसाहेब बन्न पाए या पाएनन्, अरू कतिलाई बच्चा तुहाउन लाइन्थ्यो । यस क्रममा कतिको प्राण गए होला, त्यसको लेखाजोखा कसैले गरेको छैन । महाराजाधिराजलाई रक्सी र सुन्दरीहरूको घेरामा राख्नु, ब्रिटिशहरूले भनेबमोजिम गर्नु, देशलाई सकेसम्म अन्धकार र गरिबीमा राख्नु नै हाम्रो विजय हो भन्ने राणाहरू ठान्थे र तनमन दिएर यसै गर्थे । प्रधानमन्त्रीका नजिकका विश्वासी मानिस मात्र महाराजाधिराजकहाँ राखिन्थ्यो । अनपढ, गँवार र मूर्खहरूलाई महाराजाधिराजको नजिक रहने सहुलियत दिइन्थ्यो । दिनहुँ महाराजाधिराजको गतिविधि प्रधानमन्त्रीकहाँ जाहेर भइरहन्थ्यो । मनुष्यत्वको अलिकति मात्र पनि अभिमान भएका मानिसलाई पनि यो देश रहन लायकको थिएन ।”
त्यो कालरात्रिबाट देशलाई बाहिर निकाल्न र ‘रहन लायक’ बनाउन क्रान्तिकारीहरू रातदिन सल्बलाउन थाले । विसं. १९९३ मा ‘नेपाल प्रजापरिषद्’ खुल्यो । त्यही वर्ष अङ्ग्रेजी पढाइने पहिलो जनस्तरको पाठशाला खुल्यो – महावीर स्कूल । त्यहाँ पढाउने निहुँमा काठमाडौँका पढेलेखेका युवाहरूले हातेमालो गर्न थाले । उनीहरूले फ्रान्सेली र रुसी क्रान्तिको अध्ययन गर्थे, भारतमा चलिरहेको स्वतन्त्रता सङ्ग्रामबारे छलफल गर्थे । गोरखापत्र एकदम सीमित प्रतिमात्र छापिन्थ्यो । त्यसैले बाहिरको जानकारी लिन उनीहरू विदेशी पत्रपत्रिका र किताब मगाउँथे र पढ्थे । गोप्य पुस्तकालय चलाउँथे । साहित्यकै सही, जनस्तरबाट ‘शारदा’ पत्रिका चलाउँथे । कूट भाषामा राणाशासनको विरोध गर्थे ।
यही सिलसिलामा सिद्धिचरणले ती कविता लेखे, जसले गर्दा उनलाई राणाहरूले सर्वस्व हरणसहित १८ वर्ष जेल सजाय सुनाए । नेपालमै पहिलोपल्ट हडताल र क्रान्ति जस्ता शब्द प्रयोग गरेर उनले कविता लेखे ।
छोराको शोकमा लेखिएको ‘विश्वव्यथा’ शीर्षकको कवितामा उनले लेखे –
आज नखाऔँ नसुतौँ आओ
सब मिली हडताल मचाऔँ
कसरी चल्ला विधिको सृष्टि
लौ त्यसको पाइन हेरौँ ।
त्यसैगरी, विसं. १९९४ मा नेवारी भाषामा उनले लेखे –
क्रान्तिबिना थन दई मखु स्वच्छ शान्ति ।
(अर्थात्, क्रान्तिबिना हुँदैन यहाँ शान्ति ।)
कविताका यिनै हरफ लेखेको ‘आरोप’ विसं. १९९७ को कार्तिकमा राणा शासकले प्रजापरिषद्का नेता–कार्यकर्तासहित सिद्धिचरणलाई पनि बन्दी बनाए । पक्राउ परेका ३२ जनामा उनी आठौँ नम्बरका थिए । आफ्नो पक्राउबारे सिद्धिचरणले मार्मिक चित्रण गरेका छन् – ‘जेल संस्मरण’ मा ।
पाँच वर्षको जेल सजाय कटाउँदै गर्दा उनलाई नेल–सिक्री लगाउनुप¥यो । उनका बुबालाई पनि प्रजापरिषद्को सदस्य हुनाले पक्राउ गरियो । बुबाको निधन हुँदा उनले काजकिरिया गर्न पाएनन् । तर, जेलमा उनले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालालजस्ता देशका उच्च कोटीका सहिदलाई नजिकबाट चिन्न पाए । उनले टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, खड्गमान सिंह, चिनियाँलाल सिंह, गणेशमान सिंहलगायत विभिन्न कैदीबन्दीको चर्चा गरेका छन् ।
पाँच वर्षको कठोर कैदपछि सिद्धिचरण साथीहरूसहित विसं. २००२ सालमा रिहा भए । तर, सहिदहरूका मुहार र उदात्त विचारलाई उनले कहिल्यै बिर्सन सकेनन् । उनीहरूको आदर्शमा आफू जहिल्यै खरो उत्रिन नसकेको उनलाई लागिरह्यो । यो भावनालाई उनले आफ्नो प्रसिद्ध कविता ‘मेरो प्रतिबिम्ब’ (विसं. २००६) मा यसरी उतारे ः
क्यै हारेझैँ, क्यै बिर्सेझैँ,
को त्यो पथमा आइरहेको ?
कुकुरजस्तै लुरुलुरु हिँड्दै,
दुर्बलताले पीर निखन्दै,
को त्यो पथमा आइरहेको ?
दुइटा लट्ठी, एउटा ढुङ्गा,
ढुङ्गा मास्तिर एउटा फर्सी
राखी, यो हो मानिस भन्दै
बालकहरूले तानिरहेझैँ,
को त्यो पथमा आइरहेको ?
सत्य नचिन्ने, झूट अँगाल्ने,
गिर्दै तलतल म उठेँ भन्ने,
वातावरण नै दूषित पार्ने,
वरपर हेरी देख्न नसक्ने
कव त्यो पथमा आइरहेको ?
आकृति हो तर रूपविहीन,
भाषा हो तर भावविहीन,
मान्छे हो तर आत्माहीन,
चारैतिर बन्द विचार –
यो मेरो प्रतिबिम्ब हिँडेको ?
जेलमा क्रान्तिकारीहरूलाई भगाउने काममा एकजना गरिब ‘गोपी च्यामे’ ले जीवन अर्पित ग¥यो । जन्मले ऊ बाहुन थियो । तर, पेट पाल्न उसले जेलमा फोहर सफा गथ्र्यो । त्यसैले उसलाई सबैले ‘गोपी च्यामे’ भन्थे । उसको वर्णन गर्दै सिद्धिचरणले लेखे :
“हुन पनि हो, आफ्नू निम्ति होइन, देशकै निम्ति हामी यसरी जेलमा परेका थियौँ । शुक्रराज, धर्मभक्तलाई फाँसी दिइयो, दशरथ चन्द, गङ्गालाललाई गोली ठोकियो, उनीहरूकै डफ्फाका हामीहरू पनि विचार गथ्र्यौँ – यहाँबाट उम्की घरघरमा गएर यस निरङ्कुश शासनउपर विद्रोहको आगो फुकौँला । राणाहरूलाई हटाउनुको माने सबै गरिबहरूको बेचैती हट्नु, सबै निमुखाहरूले हक र इन्साफ पाउनु, जीवन विकासको निम्ति बराबरी मौका पाउनलाई जनता अगाडि भइरहेको सारा अप्ठ्यारो पन्छिनु, एउटा सुख शान्तिपूर्ण व्यवस्था कायम हुनु हो भन्ने हामीले सम्झेका थियौँ । अनि हाम्रो यही विचारको प्रतिछाया गोपीमाथि पनि पार्दै जान्थ्यौँ । भन्नुको तात्पर्य आफ्ना दलित–शोषितहरूको तमाम आशाको पूर्ति गर्ने देवदूतझैँ नै गोपीले हामीलाई सम्झेको थियो होला ।”
२००७ साल फागुनमा ‘क्रान्ति’ भयो; ‘प्रजातन्त्र’ आयो । तर, ‘गोपी च्यामे’ र ‘राममाया च्यामिनी’ जस्ता देशका तमाम गरिखाने जनताको अवस्थामा कुनै सुधार आएन । (राममाया सहिद दशरथ चन्दको मृत्यु हुँदा एक बहिनीको आँसु झार्ने जेलकी सफाइकर्मी थिइन् । उनी बन्दीहरूकी खबरे थिइन् ।) जनजीवनमा कुनै ‘क्रान्ति’ र ‘प्रजातन्त्र’ नआएको देखेर सिद्धिचरणले पछि लेखे :
पानी परिरहेछ,
हावा चलिरहेछ,
समयले अबेर ओढिसक्यो,
बत्ती बलिसक्यो,
भात पाकिसक्यो,
आमा कराउनु भइरहेछ –
बा आउनुभएको छैन ।
युग बदलिसक्यो,
राणा ढलिसक्यो,
भन्दछ जञ्जीर टुटिसक्यो,
अझ पनि आजादी आएको छैन,
प्रगति आएको छैन,
प्रजातन्त्र आएको छैन,
आमा कराउनु भइरहेछ –
बा आउनुभएको छैन ।
हाम्रो विचारको घुँयेत्रोले
हाम्रो कल्पनाको बज्रले
अन्धकारको टाउको फुटिसक्यो
अझ पनि नयाँ बिहान आएको छैन
नयाँ युग आएको छैन
नयाँ दिन खुलेको छैन
आमा कराउनु भइरहेछ –
बा आउनुभएको छैन ।

एक थिए गोपालप्रसाद रिमाल
सिद्धिचरण काठमाडौँ आउने वर्ष गोपालप्रसाद जन्मेका थिए । परिवार खातापिता थियो । उनलाई नपुगेको केही थिएन । तर, अध्ययन र चिन्तनको चस्का प¥यो उनलाई । कवि हृदयका रिमालले सानै उमेरदेखि साहित्यको अध्ययन गरे । उनी प्रकृतिलाई भन्दा बढी माया देशवासीलाई गर्थे । त्यही भएर उनले लेख्न थाले – जनतालाई माथि उठाउने र तिनले सजिलै बुझ्ने सिधा तर मिठा गीत अनि कविता । क्रान्तिको विषयमा विसं. २००० मा उनले लेखे एउटा प्रसिद्ध कविता – ‘आमाको सपना’
आमा, त्यो आउँछ र ?
“हो बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमीले एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।”
हो र आमा ?
“हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
त्यसकै छाया देख्ने आशा गरेकी थिएँ;
तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि;
तर त्यो मिठो गीतले तिमीलाई
आफ्नो बाँसुरी बनाएनछ !
त्यो तिमी नै होला भन्ने
मेरो यौवनभरिको सपना थियो !
जे होस् त्यो आउँछ; म आमा हुँ,
सारा सृजनशक्तिको मुख भएर
म भन्न सक्तछु,
त्यो आउँछ,
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छैनौ;
सत्य कुरालाई तिमी यसरी
चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ;
तिमी त्यसलाई आफै नै देख्न सक्ने, सहन सक्ने र
ग्रहण गर्न सक्ने हुनेछौ;
मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
सान्त्वना दिँदै बिदा हुनेछौ;
मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
मुसारिरहनुपर्ने छैन !
हेरौँला, त्यो हुरी भएर आउनेछ,
तिमी पात भएर पछ्याउनेछौ !
उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा
सारा जडता सगबगाएको थियो, बा;
त्यो आउनेछ, तिमी उठ्नेछौ !”
त्यो आउँछ कि आमा,
मधुर उषाले चराहरूको कण्ठलाई जस्तै
त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
“हो, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
अब म उठेँ, गएँ ।”
“तर त्यो तिमी नै होला भन्ने
मेरो यौवनभरिको सपना थियो !”
२००२ सालमा बुढा जुद्धशमशेर राजपाट त्यागी स्वामी महाराज बनेर रिडीतिर लागे । नयाँ प्रधानमन्त्री पद्मशमशेरले घोषणा गरे – मैले आफूलाई राष्ट्रको एक नोकर सम्झेको छु । ‘हिन्दुस्थान स्वतन्त्र हुन लागेको’ देखेर उनले नेपालमा ‘सुधारिएको राणा शासन’ मात्र टिक्ने देखे । त्यसैले सबैको रायसुझाव लिन उनले प्रश्नावली तयार गरेर भातरदार र बुद्धिजीवीबिच बाँडे । राणा आतङ्कबाट पीडित जनताबिच खैलाबैला मच्चियो ।
यहीबिच साथी दमनराजलाई भेटेर गोपालप्रसादले भने, “माथिबाट भएको सुधारले जनताको हित कदापि हुन सक्दैन । राणाहरूसँग पैसा छ, बुद्धि छ र अनुभव छ । त्यसैले माथिबाट भएको सुधारले नेतृत्वमा राणाहरूकै एकाधिकार हुनेछ । सुधारको थालनी त हामीबाट हुनुपर्छ । अनि पो यी राणाहरूलाई थाङ्नामा सुताउन सकिन्छ ।”
पद्मशमशेर कमजोर प्रवृत्तिका थिए । वास्तविक शक्ति मोहनशमशेरसँग थियो । यो थाहा पाएर ‘माथिबाट सुधार’ नहुने गोपालप्रसादले बुझे । उता भारतमा छापिने अखबारमा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा पार्टी खुलेको खबर छापियो । पार्टीलाई भारतका नेताहरूको आशीर्वाद थियो । त्यसको झन्डा पनि भारतको जस्तो ‘तिरङ्गा’ थियो । यो देखेर गोपालप्रसादले साथीलाई भने, “हेर, झन्डाको ढाँचा ¤ यो सूर्य भएको ठाउँमा चर्खा राख्न के बेर ¤ खै यसमा लक्ष्य र कार्यक्रम ? नेपालराज राणातन्त्रबाट मुक्त भएर स्वतन्त्र प्रजातन्त्र हुने कि भारतीय उप–महाद्वीपमा मिलेर परतन्त्र हुने ? चुपो लाग्नु भएन ।”
विसं. २००३ सालमा मोहनशमशेरसँग भेटेर गोपालप्रसाद र दमनराजले भने, “जमाना अर्कै भइसक्यो, भारत पनि स्वतन्त्र हुन लागिसक्यो, यस अवस्थामा एउटा राजनीतिक सङ्गठन खोल्न दिनु सबैको निम्ति कल्याणकारी हुन्छ ।” शासकहरूले नसुनेपछि जनतालाई जगाउन उनीहरूले पशुपतिनाथ र शोभाभगवती मन्दिरमा प्रार्थना कार्यक्रम सुरु गरे । गीत गोपालप्रसाद आफैले लेखे –
गर्दछु देश सेवा बल देऊ लौ मलाई
मबाट होस् सबैको आनन्द औ भलाइ ।
तिम्रै गरी पुकारा अर्पण गरेर भेटी
हामी भयौँ फुका सब दासत्वलाई मेटी
ए शम्भु लौ मलाई बल देऊ लौ मलाई
म गर्छु देशसेवा बल देऊ लौ मलाई ।
उनले एउटा पर्चा पनि खेस्रा गरे । त्यसमा ‘नेपाल नेसनल लिग’ नामक सङ्गठन खोल्ने कुरा उल्लेख थियो । सङ्गठनको कार्यक्रममा उनले निम्न विषय समावेश गरे :
१. अछुत उद्धार ।
२. सैनिक सेवामा जातिभेदको बन्देज हटाउने ।
३. नेपाली मात्रलाई गढीको राहदानी नपर्ने गराउने । हिन्दुस्थान जाँदा मात्र सिमानामा राहदानी व्यवस्था गर्ने ।
४. नारीशिक्षा प्रचार गर्ने ।
प्रार्थनामा मानिसको जमघट सयौँदेखि बढेर हजारौँ पुग्यो । सबैले आपसमा भेट हुँदा ‘जय नेपाल !’ भनेर अभिवादन गर्ने चलन थियो । केही दिनपछि गोपालप्रसादले नेपालको झन्डालाई कथ्य बनाएर अर्को गीत रचे :
रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो
ज्यूँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो ।
यो जन्मँदै जगतमा, कैयौँ प्रहार आए
साम्राज्य दुई हारे, हारेन शान हाम्रो
जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो ।
गाईसरि छन् साधु जो जो यहाँ जगत्मा
सबको शरण बलियो, जङ्गी निशान हाम्रो ।
शोभाभगवतीको प्रार्थना आन्दोलनमाथि पछि दमन भयो । गोपालप्रसाद लगायत सबै मुख्य नेताहरू पक्राउ परे । उनीहरूलाई मोहनशमशेरको गारतमा लगेर थुनियो । एक वर्ष कैदको सजाय काटेर २००४ साल चैतमा उनीहरू रिहा भए । त्यसपछि गोपालप्रसादले काङ्ग्रेसी राजनीतिमा चासो दिन थाले ।
देशको पहिलो संविधान जारी गर्ने पद्म शमशेर भारत पसे । गोपालप्रसाद वाक् स्वतन्त्रता, सङ्गठनको अधिकारजस्ता त्यसमा उल्लेख प्रावधान लागू गराउन चाहन्थे । काङ्ग्रेस त्यसबेला रेग्मी गुट र कोइराला गुटको तानातानबिच कलकत्ता र बनारसमा झुलिरहेको थियो । त्यसबाट आजीत भएर गोपालप्रसाद सङ्गठन निर्माणमा होमिए ।
२००५ सालमा गोपालप्रसादले नयाँ सङ्गठन खोले – नेपाल प्रजा पञ्चायत । ‘वैधानिक कानुन’ मा उल्लेख नागरिक अधिकारहरूलाई उपयोग गर्दै जनतालाई सङ्घर्षमा उतार्नु यस सङ्गठनको लक्ष्य थियो । सङ्गठनका अगुवा थिए – काङ्ग्रेस छोडेका त्रिपुरवर सिंह । काठमाडौँ, पाटन र भक्तपुरका शिक्षित व्यक्तिहरू त्यसमा सङ्गठित भए । जेलबाट टङ्कप्रसाद र रामहरिले त्यसमा समर्थन जनाए ।
पद्म शमशेर भारत भासिएपछि मोहन शमशेर प्रधानमन्त्री बने । २००५ वैशाख १ बाट व्यवहारमा आउने भनिएको ‘वैधानिक कानुन’ अलपत्र प¥यो । तैपनि, नेपाल प्रजा पञ्चायतले भदौ १ गते वैधानिक कानुनमा समर्थन जनाउँदै भेला ग¥यो । सरकारले त्यसमाथि दमन ग¥यो । यसको विरोधमा सत्याग्रह गर्ने योजना बन्यो । काठमाडौँ, पाटन र भक्तपुरका झन्डै ३ हजार नयाँ सदस्य थपियो । दशैँको मौका पारेर सत्याग्रह सुरु गर्ने तयारी चल्यो । दसैँको मौका छोपेर काठमाडौँ, पाटन, भक्तपुरमा आमसभाहरू हुन थाले । सत्याग्रहीहरूले इन्क्लाव जिन्दावाद, वैधानिक कानुन लागू गर, राजनीतिक बन्दी छाडिदेऊ, कानुनी राज गराइछाड्छौँ, पुलिसराज मुर्दावाद आदि नारा लगाउँथे । सरकारले रोक्न खोज्दा ‘कानुन’ मुताबिक सभा सङ्गठन गर्न नरोकियोस् भनेर हस्ताक्षर सङ्कलन गरी मोहनशमशेरकहाँ पठाइयो ।
नेपालकै पहिलो र भव्य जनआन्दोलन थियो यो । काठमाडौँ उपत्यकाभरि सत्याग्रहको रापताप थियो । यसको खबर प्रेमबहादुर कंसाकारजस्ता व्यक्तिहरूले भारतसम्म पु¥याए । कोइराला गुटले त्यसको स्वामित्व लिन खोज्यो । ‘झुलबाहिर बसेका लामखुट्टेजस्ता बनेका’ विश्वेश्वरप्रसाद कोइराला दुई साथीलाई साथ लिएर आन्दोलनको स्वामित्व लिन छद्म भेषमा काठमाडौँ आए । उनले गोपालप्रसादलगायत सत्याग्रहीहरूलाई भारत गएर दशैभरि आन्दोलनको भेल ल्याउनुपर्ने बताए । तर, सत्याग्रहीहरू मानेनन् ।
रेग्मी गुटले यो आन्दोलन ‘कोइराला गुटले चलाएको’ भनेर शमशेर खलकलाई कुरा लगाएपछि आन्दोलनमाथि कठोर दमन सुरु भयो । गिरफ्तारी र धरपकड सुरु भयो । राणाका सुराकीहरूको बिगबिगी चल्यो । सत्याग्रही र तिनका जहान परिवारमाथि हातपात र जोरजबरजस्ती भयो । राणा आतङ्क चरमचुलीमा पुग्यो । नक्खु र भद्रगोल जेल सत्याग्रही र क्रान्तिकारीहरूले भरिन थाल्यो । यातना र कुटपिटको आवाजले जेलका भित्ता थर्किन थाले ।
मुख्यमुख्य नेता कार्यकर्ता भूमिगत भए । यस्तैमा त्रिपुरवरसिंह प्रधान, विजयबहादुर मल्ल, गोपालदास श्रेष्ठ, प्रदीप्तमान सिंह, सूर्यबहादुर भारद्वाज, गणेशप्रसाद मानन्धर, सूर्यबहादुर ‘पिवा’, चन्द्रशेखर रघुवंशीलगायत अगुवा सत्याग्रहीहरू पक्राउ परे । आन्दोलन चलाउन गा¥हो हुन थाल्यो । २००५ माघसम्म पुग्दा नेपालको पहिलो जनआन्दोलन सेलायो । ‘गोरखापत्र’ ले आन्दोलन दबाउन सत्याग्रहबारे अनेक भ्रामक प्रचार ग¥यो । गोपालप्रसादले पर्चा लेख्दै ती लाञ्छनाको जवाफ दिइरहे । आन्दोलनमाथि भएको अमानवीय दमनलाई ध्यानमा राख्दै जनतालाई उनले आन्दोलन टुङ्गिएको जानकारी गराए । यसपछि उनी भारततिर लागे ।
भारतबाट फर्केपछि गोपालप्रसादलाई मोहनशमशेरले घरमा बोलाए । त्यही उनलाई पक्राउ गरियो । उनलाई कालकोठरीमा राखियो ।
२००७ सालपछि गोपालप्रसाद विक्षिप्त भए । उनी काठमाडौँमा भौतारिरहन्थे । उनको मुखबाट एउटा कविता झुन्डिरहन्थ्यो :
एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्छ ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्दछन्
गए भनी नदेखिएका फर्कीफर्की आउँदछन्
सुते भनी सम्झिएका सुरुसुरु हिँड्दछन्
मरे भनी फ्याँकिएका जुरुजुरु हिँड्दछन् ।
खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ ।
२००७ सालको ‘क्रान्ति’ गोपालप्रसादका लागि कुनै क्रान्ति थिएन । भारतको आडमा आन्दोलन गर्ने काङ्ग्रेस भारतको पिछलग्गू हुने जुन भविष्यवाणी गरेका थिए, त्यो साकार भयो । नेताहरूले मन्त्री खान भारत दौडाहा गरेको देख्दा उनी आक्रोशित हुन्थे । त्यो आक्रोशलाई उनी कवितामा उतार्थे । त्यसैले उनलाई ‘बहुला’ करार गरियो । तर, उनी बहुला थिएनन् । लाग्छ, सिद्धिचरणको यो कविता उनकै लागि लेखिएको थियो :
आमा तिनीहरूले जेसुकै भनून्,
म बहुला होइन ।
मैले गर्न नहुने केही गरेर हिँडेकै छैन,
बोल्न नहुने केही बोलेर हिँडेकै छैन ।
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु†
पेट छ खान पाऊँ भन्छु,
नाङ्गो भएर कोही नहिँडोस् भन्छु;
आवाज कानले सुन्न पाओस् भन्छु;
विचारलाई बोलीमा उतार्न पाओस् भन्छु;
यत्तिकैमा पनि तिनीहरू
मलाई बहुला भन्छन्,
आमा, म बहुला होइन ।
गोपालप्रसाद देशभक्त थिए । देश र जनताको लडाइँमा होमिन उनले सरकारी जागिर छोडे । देश–दुनियाँ भौतारिए । सङ्गठन गरे । गीत र कविताबाट देश र जनताको भित्री आवाज बोलिरहे । सहिदहरूलाई भजाउने विलासी र चुसाहा नेताहरूलाई देखेर उनले विसं. २०१८ सालमा एउटा कविता लेखे । यो कविता पछि पञ्चायती सेन्सरमा प¥यो । कविता यस्तो थियो –
आफूलाई बचाउन पनि बाँच्नैप¥यो,
जहान बच्चालाई बचाउन झन् चिरञ्जीवी हुनैप¥यो,
यो साझा फूलबारीको हरेक फूल चुस्नैप¥यो†
भोक र तिर्खा मेट्न यहाँ भोजमा चोक्टाचोक्ला लुछ्नैप¥यो,
माटो खाए माटो होइन्छ, मानिस खाए मानिस,
त्यसैले मान्छेले मान्छेलाई टोक्नैप¥यो,
मानिसहरू यो साझा फूलबारीमा निकै हुनैप¥यो,
त्यसैले सहिदहरूलाई सम्झनैप¥यो,
उनीहरूसित प्रेरणा लिनैप¥यो ।
सिद्धि–गोपालहरूले २००७ सालपछि नै ठम्याएको दृश्यमा आज पनि उति हेरफेर भएको छैन । जनताका दिन अझै आएका छैनन् । हिजोका कतिपय हुनेखानेहरू आज लखपति, करोडपति, अर्बपति, खर्बपति बनेको साँचो हो । तर, श्रमजीवी जनताको घरआँगनमा ‘प्रजातन्त्र’ र ‘क्रान्ति’ को घाम अझै झुल्केको छैन । गोपालप्रसादले दमनराजलाई भनेको त्यो वाक्य आज पनि सान्दर्भिक छ – सम्पत्ति, बुद्धि र शक्तिमा एकाधिकार जमाएको शासकवर्गले बक्सिस दिने परिवर्तनले हाम्रो हित हुँदैन, श्रमजीवीवर्गले आफ्नो लडाइँ आफै लड्नुपर्छ ।
स्रोत सामग्री
१. गोविन्दप्रसाद उपाध्याय, नेपालको प्रजातान्त्रिक इतिहास–सन्दर्भ
२. सिद्धिचरण श्रेष्ठ, सिद्धिचरणका जेल संस्मरण
३. दमनराज तुलाधर, दमनराज तुलाधर
४. प्रभात सापकोटा, म गोपालप्रसाद
५. विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त
६. सिद्धिचरण श्रेष्ठ, मेरो प्रतिबिम्ब७. गोपालप्रसाद रिमाल, आमाको सपना

Leave a Reply

Your email address will not be published. Required fields are marked *