नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
कुमार कार्तिकेय
वैदिक सनातन हिन्दू धर्ममा मानिने देवताहरूमा कुमार पनि एक महत्वपूर्ण देवता हो । यिनका अनेक नामहरूमध्ये ‘स्कन्द’ पनि एक हो । यिनको महत्वलाई ध्यानमा राखेर नै होला प्रसिद्ध अठार वटा पुराणहरूमा एउटा ‘स्कन्द पुराण’ महर्षि ब्यासले रचना गरेका थिए । उक्त स्कन्द पुराणमा स्कन्दको जीवनीका साथै धर्म, संस्कृति, तीर्थ, देवदेवीहरूको महिमा, व्रत एवम् पूजाविधि र कथा तथा परम्पराबारे धेरै वर्णन गरिएको पाइन्छ । नेपाली जनमानसमा स्कन्द पुराणभित्रै पर्ने स्वस्थानी व्रतकथाबाट पनि स्कन्द कुमारबारे केही जानकारी पाइन्छ । यस्ता विभिन्न पौराणिक कथाअनुसार देवादिदेव महादेव र देवी पार्वतीका ज्येष्ठ पुत्रका रूपमा स्कन्द कुमार र कान्छो पुत्रका रूपमा गणेशलाई लिइन्छ ।
पौराणिक कथाअनुसार शिवको दिव्य तेज निस्केर विभिन्न माध्यम हुँदै अर्थात् अग्नी, षड्कृतिका, गङ्गाका गर्भ हुँदै कुमारको जन्म भएको थियो । यसरी कुमार प्रकट भएकोले यही अर्थमा यिनलाई ‘स्कन्द’ भन्ने नामकरण गरियो । आधुनिक चिकित्साशास्त्रअनुसार अग्नी, षड्कृतिका, गङ्गालाई कुमारका क्गचचयनबतभ ःयतजभच हरू मान्न सकिन्छ । यिनलाई विभिन्न अर्थमा विभिन्न नामले पुकारिने गरिन्छ । बग्नु, निस्कनु, प्रकट हुनु भन्ने अर्थमा स्कन्द, यिनको ६ वटा मुख पनि भएकोले षडानन्, शुभ ब्रह्म ज्ञानका दाताको अर्थमा सुब्रह्मण्य, रहस्यमय वा गुढ स्वरूप भएकोले गृह तथा कुकृत्य, कुतत्व, दुष्ट आदिलाई मारी रक्षा गर्ने भएकोले कुमार दक्षिण भारतमा ‘मुरूगन’ नामले यिनी अति लोकप्रिय एवम् प्रख्यात छन् । दक्षिण भारतको तामिल भाषाको ‘मुरूगु’ शब्दले सुन्दर, सदेव युवा, तेजश्वी, दिव्य ज्ञानले भरिपूर्ण आदि अर्थ दिन्छ र त्यही अर्थमा स्कन्द कुमारलाई मुरूगन भनी सम्मान गरिएको हो । यिनले आफ्नो पाँच वर्षकै उमेरमा अति क्रूर असुर ताराकासुरलाई मारी देवतालाई सुरक्षा प्रदान गरेकोले यिनलाई युद्ध र वीरताको देवताको रूपमा लिइन्छ । कुमार कार्तिकेयकी पत्नी देवराज इन्द्रकी छोरी देवसेना हुन् भने यिनको प्रमुख आयुघ बेल अर्थात् दिव्य भाला हो । त्यो दिव्य भाला उनलाई उनकी माता देवी पार्वती स्वयम्ले प्रदान गरेकी थिइन् । अज्ञानमाथि ज्ञानको विजय, अधर्ममाथि धर्मको विजय, साहस र शक्तिको प्रतीकको रूपमा उनको आयुघ भालालाई लिइन्छ । उनको बाहन मयुरलाई अहङ्कार, क्रोध र नकारात्मक प्रवृत्तिमाथि नियन्त्रणको प्रतीकको रुपमा लिइन्छ । त्यसैले यिनका चित्रहंमा यिनको बाहन मयुरले सर्पलाई दबाएको देखाइन्छ । यिनका ६ वटा मुखले ज्ञान, शक्ति, करूणा, साहस, वैराग्य र नेतृत्वजस्ता ६ वटा गुणहरूलाई सङ्केत गरेको भनिन्छ । ६ जना कृतिकाहरूले उनको बाल्यकालमा पालनपोषण गरेकाले यिनलाई कार्तिकेय पनि भनिन्छ । उनको ६ वटा मुखले यिनै तथ्यहरूलाई प्रतिबिम्बित गर्दछ । यिनी देवराज इन्द्रका सैनिकहरूका अधिपति अर्थात् सेनापति पनि हुन् ।
स्वस्थानी व्रतकथामा वर्णन गरिएअनुसार आफ्ना पिता शिवको आज्ञाअनुसार कुमार आफ्नो बाहन मयुरमा सवार भई सुमेरू पर्वतमा कठिन परिश्रमका साथ परिक्रमा गरी फर्किँदा भाइ गणेशले मातापिता अर्थात् शिव पार्वतीलाई परिक्रमा गरी खुसी पारी देवदानवमुनि मानव कसैले पनि कुनै खास कार्यसिद्धिका लागि वा सामान्य पूजाआजामा पनि सर्वप्रथम सिद्धि गणेशको पूजा गरेपछि मात्र अरू पूजाआजाको कार्य सुरू गर्नुपर्ने बरदान पाइसकेको थाहा पाएर कुमार कार्तिकेय अलमलमा परे । यो देखेर शिवले आफ्नो ज्येष्ठ पुत्रलाई सम्झाउँदै भनेछन् कि तिम्रो भाइलाई सबैभन्दा पहिले पूजा गर्नुपर्ने बरदान दिए पनि त्यो पूजा उनको मूर्तिमा मात्र हुनेछ तर तिम्रो पूजा सबभन्दा सूक्ष्म प्रतीकको रूपमा पहिले पूजा तिम्रै हुनेछ भनी सम्झाए । भक्ति योगका प्रतीकको रूपमा गणेशलाई लिइन्छ । खरो शब्दमा भन्नुपर्दा भक्तिलाई चाकडीको रूपमा पनि लिन सकिन्छ । यसले गर्दा गणेशलाई धेरैले रूचाउँछन् र उनको मूर्ति मन्दिरहरूमा प्रशस्त पाइन्छन् । कुमार कार्तिकेयलाई इमानदारीपूर्वक आफ्नो कर्म, परिश्रम र प्रयासमा विश्वास गरी लोकहितको लागि अभियानमा लाग्ने प्रवृत्तिको प्रतीकका रूपमा लिइन्छ । उनलाई ज्ञान योगका प्रतीकका रूपमा लिइन्छ ।
पिखालखु :
नेपालको नेवार समुदायका बस्तीहरूमा रहेको बहाबही एवम् घरहरूको मूल ढोका अगाडि पत्थरले बनेको एउटा कमल आकारको मण्डल राखिएको पाइन्छ । यसलाई नेवारहरू आफ्नो भाषामा ‘पिखालखु’ भन्दछन् । ढुङ्गाको यो कमल आकारको मण्डललाई क्षेत्रपाल वा कुमार दुवैको रूपमा लिइन्छ । क्षेत्रपाललाई अर्काे अर्थमा भैरव मान्ने चलन छ । भैरव पनि शिवकै अंश मानिन्छ । अर्काे कुमार पनि शिवकै अंश हुन् । त्यसो हुँदा त्यो ढुङ्गाको मण्डल अर्थात् ‘पिखालखु’ लाई कुमार वा क्षेत्रपाल भन्ने गरिएको छ । यिनीहरू दुवै देवतालाई नेवार समुदायले आफ्नो रक्षककै रूपमा पुजिँदै आएको छ । नेवार समुदायका मानिसहरू कुनै पूजाआजा धार्मिक कार्य अनुस्थानका लागि घर बाहिर निस्किने बित्तिकै पिखालखुमा पूजा गर्दछन् । यति मात्र होइन कुनै पनि कारणले घरबाट निस्कने बित्तिकै पिखालखुलाई आदर, सम्मान, भाव प्रकट गरी अन्यत्र लाग्दछ । यो परम्परालाई हिन्दू तथा बौद्ध नेवार समुदाय दुवैले मान्दै आएका छन् । अचेल ‘पिखालखु’ धातुहरूबाट पनि बनेको पाइन्छ । यसलाई आफ्नो घरको सीमा रेखा माने पनि हुन्छ । कुमार, क्षेत्रपाल वा पिखालखुलाई आस्था एवम् विश्वासका साथ पूजा सम्मान गरेपछि मनमा सन्तोष र विश्वास हुन्छ कि आफूले कुनै पनि खालका अन्याय, अत्याचार, उत्पीडन, शोषण नगर्ने र गर्नेलाई पनि निरूत्साहित पारी सदा सत्कर्म, नैतिक एवम् उचित कर्ममा लाग्नको लागि प्रेरणा मिलेको आभास हुन्छ । बाहिरबाट घर भित्रिँदा पनि त्यो कुविचार र कुकृत्यहरू बाहिरै राखी प्रवेश गर्ने प्रेरणा दिन्छ । सदैव कर्म परिश्रम, इमानदारी, नैतिकतामा लाग्ने प्रक्रियालाई कुमार वा पिखालखुको पूजाले मनोवैज्ञानिक रूपमा प्रेरित गरेको पाइन्छ । कुमार प्रजनले यही तथ्यलाई सङ्केत गरेको देखिन्छ ।
सिठी नखाः (कुमार षष्ठी)
शिव पुराणमा उल्लेख भएअनुसार कुमार कार्टीकेयको जन्म जेष्ठ शुक्ल षष्ठीको दिन देवी गङ्गाबाट भएको मानिन्छ । त्यसैले हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिनलाई कुमार कार्तिकेयको जन्म दिनको रूपमा मानिन्छ । यो दिनलाई कुमार षष्ठी पनि भनिन्छ । यो दिन नेवार समुदायका मानिसहरू सिठी नखाः वा सिठी नख भनी एउटा महत्वपूर्ण चाडको रूपमा मान्दछन् । नेवार समुदायले वर्षभरी मान्दै आउने चाड पर्वहरूमा सिठी नखाः अन्तिम चाड हो । उक्त समुदायले मान्दै आएको हरेक वर्षको देवाली पूजाको लागि यो दिनलाई लगभग अन्तिम दिन मान्दछन् । साथै कुल परम्पराअनुसार देवाली पूजाको दिन थाहा नभएकाहरूले यसै दिन देवाली पुजा गर्ने पनि चलन छ । यो सिठी नखाःको अघिल्लो दिन नेवारहरू आफ्नो घर बस्ती लितपोट, सफासुग्घर गरी यो चाडको दिन नुहाईधुवाई गरी सफा शुद्ध हुने गर्दछन् । हरेक चाडपर्वको लागि यसरी नै तयारी गर्ने नेवारहरूको परम्परा नै हो । यो दिन विशेषतः मासु, मुगी, केराउ, गहुँ आदिका बाराहरू ६ किसिमका रोटीलगायत सम्हे बजी फलफूल पूजा सामग्रीहरू आदि राखी नेवारहरू कसैले पुजा कोठामा र धेरैजसोले आफ्नो घरको छिँडीमा गोलो मण्डलाकार गरी गाईको गोवरले लिपि शुद्ध पारी त्यसमा षट्कोण लेखी त्यसलाई कुमार कार्तिकेयको प्रतीक मानी पूजा गर्दछन् । यही बेला त्यसै स्थान धर्ती माताको पनि पूजा गरिन्छ । सम्पूर्ण पूजा विधि सकेपछि मूलतः विभिन्न बारा एवं चटामरी समयबजी तथा अन्य परिकार पनि राखी कुमार भगवानको प्रसादको रूपमा आफ्ना परिवारका सदस्यहरू सम्मिलित भई भोज खान्छन् । भोलिपल्ट छोरीबेटी नातिनातिनाहरूलाई पनि घरमा बोलाई ख्वाइन्छ । यसरी सिठी नखाः मनाइने चलन छ ।
सिठी नखाःको दिनलाई वातावरण दिवसको रूपमा पनि लिन सकिन्छ । कुमार कार्तिकेय देवीगङ्गाका पुत्र भएकोले गाङ्गेयको नामले पनि पुकारिन्छ । त्यसो हुँदा कुमार कार्तिकेयको गङ्गा अर्थात् जलसित पनि सम्बन्ध भयो । सायद त्यसैले पनि हुनसक्छ कुमार षष्ठी वा सिठी नखाःको दिन नेवार समुदायमा आ–आफ्ना बस्तीमा भएका जलाशयहरू जस्तै : पोखरी, इनार, ढुङ्गेधारा, कुवा आदि सामूहिकरूपमा सफा गर्ने परम्परा छ । यसबेला वर्षा भएको हुँदैन तर यो जेठ महिनापछि असार–साउनमा वर्षात् हुन्छ । त्यसैले वर्षात् सुरू हुनुभन्दा अगाडि यी जलाशयहरूमा पछि पानी भरिँदा फोहर नभई सफा रहने भयो । यसरी कुमार कार्तिकेयको जन्म दिन जलाशयहरू सफा गरी वातावरणलाई शुद्ध सफा पार्ने परम्परा अचेल पनि कायमै छ । अर्कोतर्फ विचार गर्दा गर्मीलाई गर्मीले नै मास्न गर्ने सिद्धान्तअनुरूप समयबजी बारा मासु आदि पौष्टिक तथा गर्मी पैदा गर्ने खाद्यवस्तुहरू हुन् । यसले आउँदो रोपार्इंको लागि कृषकहरूलाई स्वास्थ्य र शारीरिकरूपले सक्षम पनि पार्ने भयो ।
सिठी नखाःको दिन कुमारको विशेषरूपले पूजा गर्ने जात्रा पनि गरिन्छ । यसको लागि कतै कतै गुठीको पनि व्यवस्था गरिएको हुन्छ । कुमार कार्तिकेयको थोरै मूर्तिहरू पाइन्छन् । भक्तपुरको सूर्यमढी टोलमा रहेको वाकुपति चाँगुनारायण मन्दिर परिसरभित्र कुमारको प्रस्तर मूर्ति रहेको मेरो मित्र प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । त्यस्तै उहाँ भक्तपुरकै टौमढी टोलमा रहेको नारायण चोकमा पनि अर्को कुमारको मूर्ति रहेको बताउनुहुन्छ । मध्यकालीन कुमारको शिलामूर्ति धुलिखेलमा पनि पाइन्छ । काठमाडौँको जैसीदेवलमा कुमारको मूर्तिसहितको एक मन्दिर छ । त्यसलाई नेवारहरू आफ्नो भाषामा ‘सिठी द्यो’ अर्थात् सिठी देवता भन्दछन् । कुमार षष्ठीको दिन यहाँ पूजा हुन्छ । भोलीपल्ट बेलुकी कुमार देवतालाई खटमा राखी भव्य जात्रा गर्ने चलन छ । सिठी नखाःका दिन विभिन्न गुठीबाट कुमार कार्तिकेयको पूजा गरिन्छ । यो दिन भक्तपुर नगरभित्र टौमढी टोलको तलतिर कुमारी मन्दिर जाने बाटोमा चण्डी भगवतीको मूर्ति मन्दिर छ र देवीको पूजाआजा गरिन्छ । खटमा राखी जात्रा पनि गरिन्छ । सोही दिन देवीको प्रसादको रूपमा मासुका टुक्राहरू क्वाछेँ टोल देवी कुमारीको घरको झ्यालबाट भक्तजनहरूमाझ खसाली दिन्छ । यो देवी जात्रा एवं प्रसाद दिने चलन करिब २०२०/२२ सालबाट मात्रै सुरू भएको थियो भनी मेरा अर्का विद्वान मित्र विनोदराज शर्मा बताउनुहुन्छ । छोटोमा भन्नुपर्दा सिठी नखाःको दिन काठमाडौँ उपत्यकाका नेवारहरू कुमार कार्तिकेय र धरतीमाताको विशेष पूजा गरी विशेष गरी वः, चटामारी समयबजीलाई प्रमुख खाद्यवस्तु खाई कुमारको सम्मान गरी सिठी नखाः अर्थात् सिठी चाड मनाउँछन् । कुमार कार्तिकेयलाई वर्षा, कृषि र समुदायको रक्षा गर्ने रक्षक, कल्याण गर्ने देवता भनी पुज्ने गरिन्छ । यही अवसरमा कुमार कार्तिकेयको नाममा जलाशयहरू सफा गरी आउँदो वर्षा ऋतुमा खेतीपातीको लागि रोपाईंको लागि तयार भएर बस्दछन् । हाम्रा विभिन्न सांस्कृतिक पर्वहरूले हामीलाई विभिन्न तरिकाले अनुशासित हुन, नैतिकवान् हुन, मानवता र सामूहिकता नबिर्सन, प्रकृति अनुकूल जीवनशैली र आचरणहरू अवलम्बन गर्नका साथै सकेसम्म प्रकृति र प्राकृतिक सम्पदाहरूको संरक्षण गर्न अभिप्रेरित गरेको पाइन्छ । यस्तो संस्कृतिको व्यवस्था मिलाउने हाम्रा पूर्वजहरूप्रति हामी सदा आभारी रहनेछौँ ।
सन्दर्भ ग्रन्थहरू :
१. जोशी, हरिराम : प्रदीप अभिनव संस्कृति विश्वकोष
२. नेपालभाषा एकेडेमी, येँ महानगरपालिका (प्रकाशक) : नेवाः सांस्कृतिक ज्ञान कोष, संस्कृति व सम्पदा
३. बज्राचार्य, पुण्यरत्न – हाम्रो चाडपर्व
४. रिजाल कमल – पौराणिक पात्र र मिथकहरू
५. शर्मा, ऋषिप्रसाद – नेपाल राष्ट्रिय चाडपर्व
Leave a Reply