भर्खरै :

सरकारका चारओटै निकायलाई कमान्डमा राख्न असक्षम नेका र एमालेको सरकार

सरकारका चारओटै निकायलाई कमान्डमा राख्न असक्षम नेका र एमालेको सरकार

नेपालको संविधान २०७२ अनुसार प्रधानमन्त्री पद देशको मियोजस्तै हो । गत वर्ष भदौ २३ र २४ गतको उपद्रोलाई रोक्न असक्षम तत्कालीन प्रधानमन्त्री केपी ओली सुरक्षा निकायलाई कमान्ड गर्न नसकेको पुष्टि भयो । भदौ २३ गते अपरान्ह १२ः३० बजे नेपाली सेनाको टोलीलाई सिंहदरबारबाट सङ्घीय संसद् भवनतर्फ पठाइएको थियो । हिँडेर १५ मिनेटमा पुग्ने दूरीमा नेपाली सेनाको ट्रक सडक अवरोधको कारण अपरान्ह ३ बजेमात्र पुग्यो । त्यतिबेला बानेश्वर चोकमा झडप र सङ्घीय संसद् भवनको पर्खाल तोडफोडसहित गोली चलिसकेको थियो । तत्कालीन प्रम ओली यो संवेदनशील विषयमा कसरी सचेत भएनन् ?
भदौ २३ गते रातभरि सङ्घीय संसद् भवनको सुरक्षामा बसेको नेपाली सेनाको टोली भदौ २४ गते आगजनी सुरू भएपछि बाहिर किन निस्कियो ? के नेपाली सेनाको टोलीलाई आगजनी रोक्न लगाउने जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओलीको होइन ? ओलीले यो संवेदनशील विषय आफूलाई जानकारी नदिने संयन्त्रको भरमा ३–४ पटक प्रधानमन्त्री कसरी भए ? के ओली कतैबाट कुर्सीमा सुरक्षित गरिएका प्रधानमन्त्री थिए ?
तत्कालीन प्रधानमन्त्री ओली भदौ २४ गते बिहान ८ बजे आफू झन्डै दुईतिहाइको सरकारको नेतृत्व गरेको भनी राजीनामा नदिने र अपरान्ह १ः३० बजे आफू बसेको सरकारी निवास बालुवाटारमा समेत आगजनी सुरू भएपछि नेपाली सेनालाई राजीनामा बुझाएर १२ दिन गुमनाम हुनु कसैको सामु आत्मसमर्पण हो ? नेपालको संविधानअनुसार प्रम ओलीले राष्ट्रपतिलाई भेटेर राजीनामा दिनुपर्ने होइन ? नेपाली सेनालाई राजीनामा बुझाएर प्रधानमन्त्री ओली सैनिक हेलिकप्टरमार्फत गुमनाम हुन मिल्छ ? निश्चय नै मिल्दैन ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत वर्ष भदौ २४ गते आफूसमक्ष नआएको तत्कालीन प्रम ओलीको राजीनामा स्वीकृत गरी पुनः ओलीलाई अर्को व्यवस्था नभएसम्म कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएको पनि अचम्मको विषय हो । ओलीको राजीनामा स्वीकृत गरेका राष्ट्रपति पौडेलको पनि राजीनामा मागिएको र त्यतिबेला राष्ट्रपति पौडेल रोएर कुर्सीमा टाँसिरहेको पनि सार्वजनिक भयो । राष्ट्रपति पौडेललाई राजीनामा गराई पूर्वराजालाई नै सत्तामा ल्याउने तयारी भएको तर पूर्वराजाले आफूलाई हटाउने नेका, एमाले, तत्कालीन माओवादीहरूको लिखित आग्रह आउनुपर्ने जिकिर गरेको पनि सार्वजनिक भयो । देशमा यो सङ्कट आउनुमा बहुदलीय व्यवस्था पुनः स्थापनाको ३५ वर्षयता पालैपालो सरकारको नेतृत्व गरेका नेका, एमाले र तत्कालीन माओवादीसमेत असक्षम भएर नै हो ।
राष्ट्रपति पौडेलसमेत सरकारी निवास राष्ट्रपति कार्यालय छाडेर तीन दिन गुमनाम भएको सार्वजनिक भयो । राष्ट्रपतिले नेपाली जनतालाई जानकारी नगराई सरकारी निवास छाडेर गुमनाम हुनु कसको सामु घँुडा टेकेको हो ? यो प्रश्न पनि उठिरहेको छ । के तत्कालीन प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलको कमान्डमा सरकारका चारओटै निकाय कमान्डमा नरहेको हो ? भदौ २३ र २४ गतेको उपद्रोबारे छानबिन गर्न गठित आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन अध्ययनले यही बताउँछ । उक्त प्रतिवेदनअनुसार जो उपद्रोमा उत्रिए उनीहरू नै सरकारमा पुगे । यो अर्को अचम्म होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *