स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिकाको स्काउट मास्टरको भेला
- आश्विन १६, २०८३
काठमाडौंँ, १६ असोज । निर्वाचन आयोगको आह्वानमा आयोगको कार्यालय जमलमा राजनीतिक दल र आयोगबिचको छलफल कार्यक्रम शुक्रबार भयो । विदेशमा रहेका नेपालीहरू तथा अन्तर जिल्लाबाट मतदानको व्यवस्था गर्ने तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग विषयमा उक्त छलफल आयोजना भएको थियो ।
छलफलमा सहभागी अधिकांश दलका प्रतिनिधिहरूले विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागी गराउने कुरामा सैद्धान्तिक विमत्ति नरहे पनि निकै ठुलो प्रक्रियागत चुनौती रहेको धारणा राखेका थिए ।
छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले निर्वाचनमा जटिलता बढाउनेतिरभन्दा पनि न्यूनीकरण गर्नेतिर लाग्न जरूरी रहेको र देशको निम्ति त्यही हितकर हुने धारणा राख्नुभयो ।
उहाँले विद्यमान अवस्थामा नै निर्वाचनको निष्पक्षता, स्वच्छताबारे प्रश्न बरोबर उठ्ने गरेको यथार्थ अस्वीकार गर्न सकिन्न भन्दै दोहोरो नागरिकता, विदेशमा नागरिकता लिइसकेको अवस्था जाँचबुझ गर्ने संयन्त्र, निकाय, प्रविधिबारे हामी कति तयार अवस्थामा छौँ ? त्यसको पनि अध्ययन–छलफल हुन आवश्यक छ भन्नुभयो । संसारमा प्रविधिको व्यापक दुरूपयोग भएका घटना तथा साइबर हमला भइरहेको तथ्यलाई बेवास्ता गर्न नमिल्ने बताउँदै केन्द्रीय सदस्य गोसाइले आफ्नो नियन्त्रणमा नहुने विदेशी प्रविधि प्रयोग गर्दा हामी कहाँ पुग्छौँ भनी प्रश्न उठाउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “निर्वाचन देशको सम्प्रभुता रक्षा वा देशको रक्षाको निम्ति गर्ने हो । के हरेक पटक त्यसको मूल्यमा हामी निर्वाचन गर्छौँ ? स्वदेशमै रोजगारी वा कामको अवसर दिने महत्वपूर्ण राष्ट्रिय हितबाट भाग्नेभन्दा पनि दीर्घकालीन हितलाई टेवा पु¥याउने काम होस् ।”
स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थानीय जनतालाई नै निर्णय गर्ने अधिकार दिनुपर्छ भन्ने नेमकिपाको ठहर रहेको प्रस्ट पार्दै अन्यथा स्थानीय निकायको विकास कहिल्यै हुनेछैन भन्नुभयो । उहाँले अगाडि भन्नुभयो, “हामी फेरि केन्द्रीकरणतिर जाँदै छौँ कि सङ्घीयता लागू गर्न चाहन्छौँ ? सङ्घीयताको मूल उद्देश्य त विकेन्द्रीकरण हो । देशलाई विकेन्द्रीकरण, सन्तुलित तथा समानुपातिक विकासतिर लानैपर्छ । जनसङ्ख्याको समेत केन्द्रीकरण देशको निम्ति घातक बन्दै छ । निर्वाचनको माध्यमबाट केन्द्रीकरणलाई अनुमोदन गरी देशलाई कमजोर नबनाऔँ ।”
उहाँले नेमकिपाले राज्यले कोष लगानी गर्ने र निर्वाचन प्रचारमा निजी लगानीको कडा विरोध गर्दै आएकोमा जोड दिँदै हामी अझै पनि त्यसको विपक्षमा छौँ, यो विषय देशको दीर्घकालीन हितमा छैन भन्नुभयो ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दल र आयोगको आपसी सहयोग एवम् सहकार्यमा लोकतान्त्रिक पद्धति बमोजिम निर्वाचनका सबै पक्षमा समयानुकूल सुधार गर्न सकिने भएको हुँदा सबै दलबाट उल्लेखनीय सहयोग प्राप्त भइरहेको र आगामी दिनमा पनि यस्तो सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा आयोगका निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर ज.ब.रा., गुरूप्रसाद वाग्ले, डा. राजीव सुब्बा र आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई समेतको उपस्थिति रहेको थियो ।
Leave a Reply