भर्खरै :

अन्तरविद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न

अन्तरविद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न

भक्तपुर, १६ असोज । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा बरदायणी आविको संयोजनमा शुक्रबार अन्तरविद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा आधारभूत विद्यालय समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजन विद्यालयका प्रधानाध्यापक एवम् कार्यक्रमका सभापति कृष्णगोपाल आचार्यले आधारभूत विद्यालय समिति स्थापनाबाट विद्यालयबिच समन्वयसँगै शिक्षकशिक्षिकाबिच विभिन्न गतिविधि सञ्चालनमा सहकार्य भइरहेको बताउनुभयो ।
उहाँले आधारभूत विद्यालय समिति भक्तपुरबाट अवकाश प्राप्त शिक्षकशिक्षिकालाई समयसमयमा सम्मान गरिरहेको बताउँदै विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धिका लागि शारीरिक, मानसिक र बौद्धिक क्षमता अभिवृद्धि हुने विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
प्रतियोगिताका निर्णायक बुद्धिचालका अन्तर्राष्ट्रिय रेफ्री अर्थात् चिफ आर्विटर ज्ञानेन्द्र खाइजुले खेललाई चेससँग जोडेर वैज्ञानिक रूपमा मूल्याङ्कनका लागि स्वीस लिगबाट खेल सञ्चालन भएको बताउनुभयो ।
कसिमला पाँय् प्रतियोगितामा पुरुष शिक्षकतर्फ सन्तति आविका सत्यराम कासिछ्वा प्रथम, गणेश माविका कृष्णभक्त केसी द्वितीय, तारा माविका पूर्णप्रसाद थिके तृतीय तथा जनसेवा आविका जीवन सुवाल सान्त्वना हुनु भएको थियो ।
महिला शिक्षकतर्फ गणेश माविका लक्ष्मीशोभा न्याईच्याई प्रथम, बालसेवक आविका बिमला त्योछिन द्वितीय, भीम आदर्श आविका उर्मिला प्रजापति तृतीय तथा नवीन आविका राज्यलक्ष्मी सैँजु सान्त्वना भएका थिए ।
प्रतियोगितामा विजयी शिक्षकहरूलाई आधारभूत विद्यालय समितिले वार्षिकोत्सवको अवसरमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरी सम्मान गरिनेछ ।
आधारभूत विद्यालय समिति भक्तपुरमा तीन वटा माविसहित जम्मा २४ वटा विद्यालय रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *