कम्युनिस्ट को हुन्, को होइनन् ?
- आश्विन १५, २०८३
बर्दिया, १६ असोज । नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिको आयोजनामा शुक्रबार भुरीगाउँमा कार्यकर्ता भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राजनीतिक पार्टीहरू देशभक्त हुनुपर्नेमा जोड दिँदै देशभक्त राजनीतिक पार्टीले मात्र नेपाली जनताको भरमा आन्दोलन गर्नेछ भन्नुभयो ।
विदेशी पैसा र विदेशीको सल्लाहमा आन्दोलन गर्ने र देश जलाउनेहरू देशघाती नै भएको र देशभक्तहरूले आफ्नो देशलाई जलाउन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंले विश्वमा तापक्रम बढाउन धेरै प्रदूषण गर्ने संरा अमेरिकालगायत साम्राज्यवादी देशहरू हुन् भन्नुभयो ।
नेपालले वातावरण जोगाउन फोक्सोको रूपमा काम गरिरहेको भए पनि भोटेकोसी बाढीजस्तो विपत्ति र क्षति व्यहोर्न बाध्य भएको चर्चा गर्दै उहाँले संसारमा प्रदूषण रोक्न न्यायप्रेमी जनता पुँजीवाद र साम्राज्यवादविरूद्ध उठ्नुपर्छ भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य बखतबहादुर थापाले गलत मानिसको सङ्गतबाट असल मानिस पनि फसाइन सक्नेप्रति सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै नेमकिपाका कार्यकर्ताहरूले देश र जनताको निःस्वार्थ सेवा गरिरहेका छन् भन्नुभयो ।
नेमकिपा बर्दियाका अध्यक्ष हरिलाल न्यौपानेले गएको वर्ष भदौ २३ मा उपद्रो मच्चाउनेहरूले नेपाललाई अर्को देशविरूद्ध प्रयोग गराउन खोजेका छन् भन्नुभयो ।
Leave a Reply