भर्खरै :

उपभोक्ता शक्तिको भ्रम : खाद्यान्नलाई बजारीकरणबाट मुक्त गर्ने बेला किन भयो ?

  • असार २१, २०८३
  • गुन्नार रुन्डग्रेन
  • विचार
उपभोक्ता शक्तिको भ्रम : खाद्यान्नलाई बजारीकरणबाट मुक्त गर्ने बेला किन भयो ?

बजारमा उपभोक्ताकै हैकम चल्छ भन्ने भ्रम पुँजीवादी विचारधाराको एउटा अत्यावश्यक हिस्सा हो । यसले बजारलाई एउटा यस्तो लोकतान्त्रिक संस्थाको रूपमा चित्रण गर्छ, जसलाई मानिसहरूले आफ्नो वालेट (खल्ती) मार्फत मतदान गरेर नियन्त्रण गर्न सक्छन् । यदि बजारहरू लोकतान्त्रिक छन् भने, बजारलाई नै सकेसम्म धेरै कुराको जिम्मा लिन दिनु सबैभन्दा उत्तम हुन्छ – कथा यस्तै छ । केही मानिसहरूको वालेटमा अरूको भन्दा धेरै डलर हुन्छन् भन्ने तथ्यलाई बेवास्ता गर्ने हो भने पनि, यसले बजारले कसरी काम गर्छ भन्ने कुराको पूर्ण रूपमा विकृत चित्र प्रस्तुत गर्दछ । स्टिभ जब्सले भनेका थिए, “मानिसहरूलाई आफू के चाहन्छन् भन्ने कुरा तबसम्म थाहा हुँदैन, जबसम्म तपाईंले उनीहरूलाई त्यो देखाइदिनुहुन्न” र उनले आइफोनमार्फत यो प्रमाणित गरे । यो कुरा समय र स्थानको अझ ठुलो स्तरमा पनि उत्तिकै सत्य छ । अनि खाद्यान्नको मामलामा त यो विशेष रूपमा लागू हुन्छ ।
मानव जातिको लगभग सम्पूर्ण इतिहासमा, मानिसहरूले त्यही कुरा खाए जुन उनीहरू आफैंले वा उनीहरूको वरपरका अन्य मानिसहरूले खोजेर, शिकार गरेर वा माछा मारेर जम्मा गर्न सक्थे । ‘उपभोक्ताको माग’ ले उत्पादनलाई निर्देशित गर्छ भन्ने विचार हाम्रा पुर्खाहरूका लागि बुझ्नै नसकिने हुन्थ्यो । त्यतिबेला ‘उपभोक्ता’ भन्ने कुनै वर्ग नै अस्तित्वमा थिएन मात्र होइन, त्यहाँ कुनै स्पष्ट माग वा त्यस्तो माग व्यक्त गर्न सकिने बजार थिएन । म निश्चित छु कि मानिसहरूमा खानाका आफ्नै रोजाइहरू हुन्थे होलान् र कुनै दिन उनीहरूको समूहले पाकेको अन्जिर वा स्याउ खाएर रमाइलो गर्ने निर्णय गथ्र्यो होला भने अर्को दिन उनीहरू सफल शिकारबाट प्राप्त मृगको मासु लुछेर खान्थे होलान् । तर, मानिसहरूले आफ्नो पर्यावरणीय क्षेत्रमा, उचित प्रयासबाट जे उपलब्ध हुन्थ्यो, त्यही खान्थे । तत्कालीन समयमा जस्तै आज पनि, अधिकांश मानिसहरू आफ्नो समूहका अरू सदस्यहरूले जे खान्छन्, त्यही खान्छन् ।
कृषिको आगमनसँगै यसमा खासै ठुलो परिवर्तन आएन । कृषिप्रधान समाजमा खानाको दायरा झन् सीमित थियो (यद्यपि यो रूपान्तरण धेरैजसो मानिसहरूले विश्वास गरेभन्दा बढी अल्पकालिक र क्रमिक थियो), र उपभोक्ता मागको अवधारणा त झन् शिकारी र खानेकुरा खोज्ने संस्कृतिमा भन्दा पनि बढी अवास्तविक हुन्थ्यो । अधिकांश अन्नबाली फलाउनेहरू आफैंले उपभोग गर्थे, बाँकी रहेको हिस्सा आफन्त र समुदायसँग बाँडिन्थ्यो, देवीदेवताहरूलाई चढाइन्थ्यो वा विभिन्न शासकहरूद्वारा कब्जा गरिन्थ्यो । बजारजस्तो देखिने ठाउँमा त एकदमै सानो अंश मात्र बिक्री गरिन्थ्यो । जे जति कुराहरू उपलब्ध हुन्थे, ती पनि उपभोक्ताको मागका कारण नभई उत्पादनका लागि आवश्यक भौतिक र जैविक अवस्थाहरूका परिणाम हुन्थे ।

हाम्रा पुर्खाहरूले तय गरे कि हामी के खान्छौँ
सबैभन्दा आधारभूत कुराबाट सुरु गर्दा, हाम्रा पुर्खाहरूले निकै कम सङ्ख्यामा बालीनाली र पशुपक्षीहरूलाई घरपालुवा बनाए । हुन सक्छ, कहिलेकाहीँ उनीहरू कुनै खास स्वाद वा पोषणयुक्त तत्वको चाहनाबाट प्रेरित थिए होलान्, तर मुख्य रूपमा कुन कुरालाई घरपालुवा वा खेतीयोग्य बनाउने र कुनलाई नबनाउने भन्ने कुरा त्यहाँको वातावरणीय अवस्था र ती वनस्पति वा जनावरहरूको आफ्नै विशेषताद्वारा निर्धारित हुन्थ्यो । बाइसन भन्दा गाईको मासु बढी स्वादिलो हुने भएकोले गाईलाई घरपालुवा बनाइएको पक्कै होइन, बरु बाइसनलाई तह लगाउन गाह्रो भएर हो । त्यसैगरी, बुलरसको सट्टा कुरिलो वा डन्डेलायन (एक प्रकारको जङ्गली पहेँलो फूल) को सट्टा काउली/बन्दा (लेटुस) लाई खेती गरिनुको पछाडि पनि यही कारण थियो ।
एकपटक केही वनस्पति र बालीहरूलाई खेतीयोग्य बनाइसकेपछि र तिनको उत्पादन सजिलो तथा राम्रो हुन थालेपछि, हामीले आफ्नो स्वाद र उत्पादन प्रणाली दुवैलाई तिनै बाली अनुकूल बनाउन थाल्यौँ । यसले गर्दा खेती गरिएका बाली तथा पालिएका चौपाया र जङ्गली जीवहरूबिच सांस्कृतिक र भौतिक दुवै रूपमा एउटा ठुलो खाडल सिर्जना गरिदियो । यो निकै उल्लेखनीय कुरा हो कि, धेरैजसो ठाउँमा जहाँ कृषि बाहिरबाट ‘आयातीत’ प्रणालीको रूपमा भित्रियो वा आक्रमणकारी संस्कृतिहरूद्वारा फैलाइयो, त्यहाँका स्थानीय वनस्पतिहरूलाई सायदै खेतीयोग्य बनाइयो† बरु बाहिरबाट भित्याइएका बाली र चौपायाहरूलाई नै नयाँ वातावरण अनुसार अनुकूलित गरियो । म बस्ने र खेतीपाती गर्ने देश स्वीडेनमा, हामीले उब्जाउने लगभग कुनै पनि बालीको जङ्गली पुर्खा यहीँको होइन । यहाँ केही जङ्गली प्रजातिहरू उपलब्ध हुँदाहुँदै पनि (जस्तै कालो अङ्गुर (ब्ल्याक करेन्ट) र गाजर यहाँ जङ्गली रूपमा उम्रिन्छन्), हामीले हाम्रा रैथाने जङ्गली प्रजातिहरूलाई सुधारेर खेती गरेनौँ, बरु बाहिरबाट जे भित्याइयो त्यसैलाई अपनायौँ ।
हजारौँ वर्षदेखि विरलै मात्र नयाँ प्रजातिहरूलाई खेतीयोग्य बनाइनु आश्चर्यजनक छ  ।
वास्तवमा, हजारौँ वर्षदेखि प्रमुख बालीनालीहरूका रूपमा नयाँ प्रजातिहरूलाई सफलताका साथ खेतीयोग्य वा घरपालुवा बनाउने काम निकै कम हुनु आश्चर्यजनक छ । १८ औँ शताब्दीमा जर्मनहरूले सुगर बीटको विकास गरे, किनभने उनीहरूसँग उखु खेती गर्नका लागि औपनिवेशिक भूमि थिएन† त्यो पनि पहिले नै खेती गर्न थालिएको चुकन्दर (बीटरूट) को परिष्कृत रूप मात्र थियो । पछिल्लो समयमा माछाका केही प्रजातिहरूलाई व्यावसायिक रूपमा पाल्न थालिएको छ (यद्यपि माछा पालन लामो समयदेखि व्यापक रूपमा हुँदै आएको थियो) तैपनि, आज विश्वभर उपभोग गरिने खाद्यपदार्थहरूको अत्यधिक हिस्सा हजार वर्षभन्दा पहिले नै खेतीयोग्य वा घरपालुवा बनाइएका प्रजातिहरू हुन् ।
त्यसैले, कुन खानेकुरा उपलब्ध हुने र कुन नहुने भन्ने कुरा कुनै उपभोक्ताको मागले निर्धारण गरेको होइन । बरु, निश्चित खानेकुराहरूको उपलब्धताले नै हामीलाई ती चीजहरू मन पराउने बनाउँछ र फलस्वरूप हामी त्यसैको उपभोग गर्छौं ।
विश्वका विभिन्न भागका मानिसहरूको खानामा फरक–फरक प्राथमिकता हुनुको स्पष्ट कारण पनि यही नै हो । एसियामा पाकेको भात खानु वा युरोपमा पाउरोटी (ब्रेड) खानुको पछाडि उपभोक्ताको माग कारण होइन ।

विकल्पका सूत्रधारहरू
जब हामी सुपरमार्केटको सेल्फ अगाडि उभिन्छौँ वा टेबलमा बसेर रेस्टुरेन्टको मेनु पढिरहेका हुन्छौँ, त्यहाँ थुप्रै विकल्पहरू देखिन्छन् । एउटा ठुलो सुपरमार्केटमा झण्डै ५०,००० सम्म खाद्यसामग्रीहरू हुन सक्छन् । तथापि, यी खाद्यसामग्रीहरूको एउटा निकै ठुलो हिस्सा केवल पाँचवटा मुख्य चीजहरू – गहुँ, मकै, पाल्म आयल, चिनी र भटमासबाट बनेका हुन्छन् । अनि ती सामग्रीहरू मुट्ठीभरका ठूला कम्पनीहरूद्वारा उत्पादन गरिन्छन्, जसले केही सीमित प्रमुख स्थानहरूबाट मात्र यी कच्चा पदार्थहरू आयात गर्छन् । किसानहरूले पनि उद्योगले निर्देश गरेअनुसारका वा उद्योगले नै उपलब्ध गराएका बाली र तिनका प्रजातिहरू मात्र फलाउँछन् । कच्चा पदार्थदेखि उपभोक्तासम्म आइपुग्दा यसका अनेकौँ चरणहरू हुन्छन्, र ती सबै तहका सरोकारवालाहरूले के उत्पादन गर्ने, के नगर्ने, वा बिक्रीका लागि के उपलब्ध गराउने भन्ने निर्णय गर्छन् । शपिङ कार्ट र यातायात प्रणालीजस्ता सामान्य लाग्ने वस्तु तथा अवस्थाहरू र भान्साको उपलब्धता एवं त्यसको प्राविधिक पूर्वाधारले समेत उपभोगको ढाँचा निर्धारण गर्छन् ।
सरकारी नियमहरूले पनि विभिन्न प्रकारका उत्पादन र उत्पादन प्रणालीहरूलाई कडा रूपमा प्रतिबन्धित वा प्रोत्साहित गरेर ठुलो प्रभाव पारिरहेका हुन्छन् । कतिपय देशमा, यदि तपाईं काँचो (नउमालेको) दूध उपभोग गर्न चाहनुहुन्छ भने तपाईं आफैँसँग गाई हुनुपर्छ । स्पष्ट रूपमा भन्नुपर्दा, सरकार, कृषि सामग्री प्रदायक (मल, बीउ आदि बेच्नेहरू), खाद्य उद्योग र खुद्रा व्यापारीहरू नै खाद्य प्रणालीका वास्तविक निर्माता अर्थात् ‘विकल्पका सूत्रधारहरू’ हुन् र उनीहरूका निर्णयहरूले नै उपभोक्ताले के किन्न पाउने र के किन्न नपाउने भन्ने कुरा तय गर्छन् । आलु चिप्स राख्नका लागि छुट्याइएको ठाउँ ताजा आलुको तुलनामा दस गुणा बढी हुनु कुनै संयोग मात्र होइन । हामीले तरकारी बिक्री गर्ने उप्सलाको रेको–रिङमा यस्ता धेरै उत्पादनहरू पाइन्छन् जुन पसलहरूमा कहिल्यै उपलब्ध हुँदैनन् र त्यहाँ सुपरमार्केटमा पाइने ३ वा ४ प्रजातिका सट्टा २५ प्रजातिका आलुहरू उपलब्ध छन् ।
सरकार, कृषि सामग्री प्रदायक, खाद्य उद्योग र खुद्रा व्यापारीहरूले नै उपभोक्ताले के किन्न पाउने र के किन्न नपाउने भन्ने निर्णय गर्छन् ।
मानिसहरूले ठुलो परिमाणमा कुखुराको मासु खान्छन् तर भँगेरा वा स्टार्लिङजस्ता चराहरू सायदै खान्छन् । यो उपभोक्ताको रोजाइको परिणाम होइन, बरु हजारौं वर्षपहिले नै कुखुरालाई घरपालुवा बनाइएको तथ्यको उपज हो । तर त्यसो हुँदाहुँदै पनि, लामो समयसम्म कुखुराको मासु एउटा विलासिताको परिकार थियो र यसको उपभोग धेरै हुँदैनथ्यो (अमेरिकामा यसलाई ‘आइतबारे कुखुरा’ (Sunday chicken) भनिन्थ्यो, जसबाट तपाईं यसको दुर्लभताको अन्दाज लगाउन सक्नुहुन्छ) । सन् १९३० को दशकदेखि कुखुरा उत्पादनका औद्योगिक प्रक्रियाहरू विकास गरिए । यसका साथै, खाद्य उद्योग र रेस्टुरेन्टहरूले पनि कुखुराको मासु मन पराउँछन् किनभने यो जहिले पनि कमलो हुन्छ, यसलाई पकाउन/प्रशोधन गर्न सजिलो हुन्छ र यसको आफ्नै कुनै कडा स्वाद हुँदैन, जसले गर्दा तपाईं यसलाई जस्तो चाह्यो त्यस्तै स्वाद दिन सक्नुहुन्छ । यी सबै कुराहरू मिलेर कुखुराको मासुलाई विलासिताबाट दैनिक उपभोग्य वस्तुमा परिणत गरिदिएका छन्, र गो मांस (बिफ) वा सुँगुरको मासुको तुलनामा कुखुराको मूल्य नाटकीय रूपमा घटेको छ । पक्कै पनि, कसैले भन्न सक्ला कि अहिले उपभोक्ताहरू आफैं कुखुराको मासुको ‘माग’ गर्छन्, तर त्यो त वास्तवमा वास्तविकतालाई तोडमरोड गर्नु मात्र हो ।
अर्थशास्त्रमा समेत एउटा यस्तो ‘नियम’ छ, जसलाई ‘से को नियम’ (Say’s law) भनिन्छ । यसले भन्छ – “आपूर्तिले आफ्नो माग आफैं सिर्जना गर्छ ।” ‘उपभोक्ता शक्ति’ को यो अवधारणा विश्वका ती बहुसङ्ख्यक जनसङ्ख्याको अपमान पनि हो, जोसँग अत्यन्तै सीमित आर्थिक स्रोतहरू छन् र जसका विकल्पहरू असाध्यै सङ्कुचित छन् ।

सचेत उपभोक्ता
विशेष गरी वातावरणीय क्षेत्रमा, उत्पादन प्रक्रियामा सुधार ल्याउनका लागि उपभोक्ताको मागलाई एउटा औजारको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरामा ठुलो विश्वास राखिन्छ । तथापि, यदि हामी उपभोगको ढाँचा परिवर्तन गर्न चाहन्छौं भने, हामीले उपभोगलाई मुख्य रूपमा व्यक्तिगत उपभोक्ताहरूको कार्यको रूपमा मात्र हेर्नु हुँदैन । इनग्रिड स्टिग्वेलियसले आफ्नो शोधग्रन्थ प्रोड्युसिङ कन्जुमर्समा व्यक्त गरेझैँ, उपभोग भनेको “एउटा सामूहिक उपलब्धि हो, जसमा उपभोक्ताहरू आफैं कुनै खास कार्य गर्ने र उपभोग गर्ने क्षमताद्वारा निर्मित हुन्छन् र उनीहरू स्वयं पनि त्यस क्षमताको निर्माण प्रक्रियाका हिस्सा हुन्छन् ।” मैले माथि औँल्याएझैँ, हाम्रो खानाका बारेमा गरिने अधिकांश निर्णयहरू बजारमा कुनै ‘उत्पादन’ आइपुग्नुभन्दा धेरै पहिले नै लिइसकिएका हुन्छन् ।
मानिसहरू एक्लाएक्लै रहेका व्यक्ति होइनन् बरु उनीहरू सामाजिक र सांस्कृतिक प्राणी हुन् र हाम्रा मूल्य मान्यता, प्राथमिकता तथा कार्यहरू सामूहिक मापदण्डहरूमा धेरै हदसम्म आधारित हुन्छन् । मानिसहरू तिनै खानेकुरा मन पराउँछन् जुन उनीहरूको आफ्नै संस्कृतिसँग प्रतीकात्मक रूपमा जोडिएका हुन्छन् । मूलधारको संस्कृतिभन्दा पूर्ण रूपमा फरक विकल्पहरू रोज्ने मानिसहरू जस्तैः शाकाहार/वेगानिजमको उदय वा जलवायु–अनुकूल वा आग्र्यानिक खानेकुराहरू खानेतर्फको परिवर्तनको मामलामा पनि यही कुरा लागू हुन्छ ।
बजार र उत्पादनका विधिहरू उपभोक्ताद्वारा निर्देशित हुँदैनन् भन्ने कुरा स्पष्ट छ । उपभोक्ताको शक्तिको यो ढोङलाई उजागर गर्नु महत्वपूर्ण छ किनभने यो वर्तमान व्यवस्थालाई सही ठह¥याउने र सबै विकृतिहरूको जिम्मेवारी यसका सञ्चालकहरूको सट्टा ‘उपभोक्ता’ को टाउकोमा थुपार्ने एउटा ठुलो हतियार हो ।
जबसम्म तपाईं बजारमा एक क्रेताको रूपमा हुनुहुन्छ, तबसम्म तपाईंले सकेसम्म राम्रो र नैतिक विकल्पहरू रोज्नु नै बुद्धिमानी हुन्छ । मेरा विचारमा यसका तीनवटा नियमहरू छन्ः
– सकेसम्म थोरै मात्र उपभोग गर्ने,
– त्यस्ता चीजहरू मात्र किन्ने जसको उत्पादकसँग तपाईंको प्रत्यक्ष सम्बन्ध छ वा कम्तीमा ती कुराहरू कुन अवस्थामा उत्पादन गरिएका हुन् भन्ने कुराको गहिरो ज्ञान छ र
– नैतिक, सामाजिक र वातावरणीय रूपमा सही विकल्पहरू रोज्ने ।
बजार अर्थतन्त्रको दायराभित्रै रहेर पनि, बजारलाई आकार दिनको लागि उपभोक्ताको रूपमा भन्दा सचेत नागरिकको रूपमा काम गर्न सकिन्छ । कतिपय उत्पादन पद्धतिहरूमाथि प्रतिबन्ध लगाउन वा कृषि मजदुरहरूको अवस्था सुधार गर्नका लागि नियमहरू ल्याउन दबाब दिएर यो काम गर्न सकिन्छ । खाद्य उद्योग र खुद्रा व्यापारीहरूविरुद्ध राजनीतिक रूपमा पनि कदम चाल्न सकिन्छ । समग्रमा भन्नुपर्दा, प्रतिबद्ध मानिसहरूद्वारा गरिने बहिष्कार र खबरदारीले राम्रो उपभोक्ता छनोटको तुलनामा खाद्य शृङ्खलामा बढी प्रभाव पारेको देखिन्छ ।

उपभोक्तावादलाई अस्वीकार गरौँ
नैतिक उपभोक्ता छनोट अर्थात् ‘हरित उपभोक्तावाद’ अपनाउनुभन्दा पनि बढी महत्वपूर्ण कुरा उपभोक्तावादलाई नै चुनौती दिनु हो । खाद्यान्नप्रतिको ‘उपभोक्ता’ दृष्टिकोणले खानालाई खेतदेखि थालीसम्म केवल एउटा किनबेच हुने वस्तुमा सङ्कुचित गरिदिन्छ । यस्ता व्यापारिक वस्तुहरू बजारका लागि उत्पादन गरिन्छन्, जहाँ प्रत्येक सरोकारवालाले सामान बेच्नका लागि अरूसँग प्रतिस्पर्धा गर्छन् । वस्तु उत्पादनको यो प्रक्रिया समुदाय, वातावरण, अन्य जीवित प्राणी र मजदुर आदिको मूल्य चुकाएर मात्र अघि बढ्छ । त्यसैगरी, वस्तुवादी उपभोगले स्वास्थ्यमा गिरावट, मोटोपना र खानाको बर्बादीतर्फ लैजान्छ ।
बजारद्वारा मलजल गरिएको यस्तो वस्तुवादी दृष्टिकोण हाम्रो कल्याण र बाँकी जीवित संसारसँगको हाम्रो सम्बन्धलाई व्यवस्थित गर्ने उपयुक्त माध्यम पक्कै होइन । खाना नै यस सम्बन्धको सबैभन्दा केन्द्रीय कडी हो ।
त्यसैले, एउटा मुख्य कार्य भनेको विभिन्न माध्यमहरूबाट खाद्यान्नलाई बजारीकरणबाट मुक्त गर्नु हो । यो काम आफैँले खेती गरेर, सह–उत्पादन गरेर, उपहार दिएर र बाँडेर वा उत्पादक र उपभोक्ताबिच एउटा बलियो सम्बन्ध स्थापना गरेर मात्र सम्भव छ ।

स्रोत : गार्डेन अर्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *