भक्तपुर नगर कलाकार र सम्पदाले धनी नगर
- श्रावण २६, २०८३
भक्तपुर, २१ असार । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्त तथा बचत समूह परिचालन उपसमितिको आयोजना तथा ख्वप अस्पतालको प्राविधिक सहयोगमा मेनोपज (महिनावारी सुक्ने) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्थाबाट बचत तथा ऋण कारोबारका साथै नियमित सामाजिक क्रियाकलापहरू गर्दै आएको बताउनुभयो । उहाँले विगतमा दिएका सिलाइ तालिममा सहभागीहरूले आफ्नै व्यवसाय सञ्चालन गरेको स्मरण गर्नुभयो । उहाँले युवालाई लक्षित गरी यही असार २८ गतेदेखि फोटोग्राफी तालिम सञ्चालन हुने जानकारी दिनुभयो ।
ख्वप अस्पतालका महिला रोग विशेषज्ञ डा. कृष्णप्यारी दुगुजुले अन्य महिला रोगहरूलाई बढी प्राथमिकता दिई चेतनामूलक कार्यक्रम भइरहनुपर्नेमा जोड दिँदै मेनोपज (महिनावारी सुक्ने) सम्बन्धी चेतनामूलक कार्यक्रम अत्यन्त महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुभयो ।
उहाँले ४५ देखि ५५ वर्ष उमेर समूहका महिलाहरूमा महिनावारी सुक्ने समस्या देखापर्ने बताउँदै सोको कारण महिलाहरूमा यौन जिज्ञासामा कमी, निन्द्रा नलाग्ने हड्डी कमजोर हुने तथा मुटुरोगसम्बन्धी स्वास्थ्य समस्याहरू हुनसक्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले ती समस्याहरू हुन नदिन नियमित चिकित्सक परामर्श लिनुका साथै व्यायाम गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं उपसमितिका संयोजक तथा सभापति रत्नश्वरी चवालले मेनोपज महिलाहरूको जल्दोबल्डो समस्याको रूपमा लिन सकिने बताउँदै घरका छोरीहरूलाई सानै उमेरदेखि महिनावारीसम्बन्धी जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले महिलाहरूले आफ्नो शरिरमा भएको परिवर्तन र समस्याबारे आफ्नो श्रीमान् एवं परिवारलाई जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले बढ्दो उमेरसँगै रोग पनि बढ्दै जाने हुँदा नियमित चिकित्सक परामर्श लिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रवद्र्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो । औपचारिक कार्यक्रमपश्चात् सहभागी महिलाहरूको स्वास्थ्यबारे डा. कृष्णप्यारी दुगुजुसँग छलफल एवं अन्तरक्रिया गरिएको थियो ।
Leave a Reply