भर्खरै :

उद्यमशीलताको बीउ पुँजी वितरण

उद्यमशीलताको बीउ पुँजी वितरण

भक्तपुर, २५ असार । वागीश्वरी कलेज कमलविनायकमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त उद्यमशीलताको निम्ति प्राप्त बीउ पुँजीको तेस्रो किस्ता बिहीबार एक कार्यक्रमका बिच वितरण गरियो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उद्यमी पूर्वविद्यार्थी निष्ठा कायस्थलाई रु. १२ लाख ६० हजारको चेक हस्तान्तरण गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोगले उद्यमी कायस्थको निम्ति पाँच वर्षको लागि रु. ३१ लाख ५० हजार रूपैयाँ बिनाब्याज र बिनाधितो ऋण प्रदान गरेकोमा ६० प्रतिशत यसअघि नै दिइसकेको थियो भने बाँकी ४० प्रतिशत बिहीबार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रजापतिले सीपबिनाको शैक्षिक योग्यताले मात्र रोजगारीको भर नहुने चर्चा गर्दै अब उद्यमशील विद्यार्थीले जागिर खोज्दै हिँड्नुभन्दा अरूलाई रोजगार दिने सोचका साथ अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “अनेक कानुनी झमेला होलान्, झन्झट नमान्नुहोला, कानुनी प्रक्रिया पूरा गर्नैपर्छ । बिनाधितो, बिनाब्याज ३१ लाख ५० हजार ऋण पाउनु भनेको सामान्य विषय होइन । यसको लागि उद्यमशील विद्यार्थीहरूमा दृढ इच्छाशक्ति, कार्यमा समर्पण र कडा मिहिनेतको खाँचो छ, दुःख नगरी कोही केहीँ सफल हुँदैन ।”
उहाँले भक्तपुर नगरपालिकाले पनि युवा उद्यमशील कार्यक्रमअन्तर्गत उद्यमी युवालाई ५–५ लाख रूपैयाँको ऋण प्रदान गर्दै आएको चर्चा गर्दै रोजगारीको लागि बिदेसिने नेपाली युवालाई सक्दो रोक्ने प्रयास सबैतिरबाट हुनुपर्ने बताउनुभयो ।
सङ्घीय सरकारले युवा उद्यमशीलताको लागि पर्याप्त बजेट व्यवस्था नगरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले रोजगारीको लागि सरकारको मात्र मुख ताकेर बस्न नहुने बरु स्वरोजगारको लागि आफैले सक्दो प्रयास गर्नु उत्तम हुने विचार व्यक्त गर्नुभयो ।
आजका विद्यार्थीहरू नै देशको भविष्य निर्माता भएकाले युवा जनशक्ति विदेश नगई स्वदेशकै सेवामा समर्पित हुन उहाँले विशेष आग्रह गर्नुभयो ।
कलेजका संयोजक ज्ञानसागर प्रजापतिले उद्यमशीलताको बीउ पुँजी प्राप्त गर्न सफल वागीश्वरी कलेज उद्यमशील क्षेत्रमा देशकै नमुना कलेजको रूपमा अघि बढिरहेको उदाहरण दिनुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई उद्योग, व्यापार, व्यवसायको नयाँ नयाँ परियोजनाको परिकल्पना गर्न सुझाव दिँदै अब छिट्टै नै पुनः नयाँ विद्यार्थीहरूलाई उद्यमशीलताको बीउ पुँजी वितरण गर्ने जानकारी दिनुभयो ।
उद्यमी विद्यार्थी निष्ठा कायस्थले कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई बीउ पुँजी प्राप्त गर्ने प्रक्रियासहितको आफ्नो अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा कलेजको मानविकी सङ्कायका इन्चार्ज राजन फेलु र शिक्षिका अविना श्रेष्ठले पनि बोल्नुभएको थियो ।
विश्वविद्यालय अनुदान आयोगबाट कलेजका विद्यार्थीद्वय निष्ठा कायस्थ र कृपा प्रजापतिले बीउ पुँजी प्राप्त गर्न सफल हुनुभएको थियो । अर्का विद्यार्थी कृपाले २४ लाख १० हजार ऋण प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *