भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

भक्तपुर, ३२ असार । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर तथा गरिब, जेहनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई सक्षम, इमानदार र जिम्मेवार इन्जिनियर बनेर देश र जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभयो ।
उहाँले ख्वप माध्यमिक विद्यालय स्थापना भएपछि त्यसैको निरन्तरतास्वरूप ख्वप इन्जिनियरिङ कलेज स्थापना भएको स्मरण गर्दै यस्ता शैक्षिक संस्थाहरूको स्थापनाले भक्तपुरलाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।
एक घर, एक स्नातक भन्ने अवधारणाले भक्तपुरको शैक्षिक तथा सामाजिक विकासलाई थप उचाइमा पु¥याएको उल्लेख गर्दै उहाँले ख्वप इन्जिनियरिङ कलेजबाट हरेक वर्ष ४०० भन्दा बढी इन्जिनियर उत्पादन भइरहेको जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले शिक्षा नै समाज रूपान्तरणको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै भक्तपुर त्यसको सफल उदाहरण बनेको बताउनुभयो । आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यले नगरपालिकाले विभिन्न प्रकारका छात्रवृत्ति वितरण गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले चालू आर्थिक वर्षदेखि भक्तपुर नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि अधिकतम ७ लाख रूपैयाँसम्मको शैक्षिक ऋण उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिँदै यसको सदुपयोग गरी आफ्नो भविष्य उज्ज्वल बनाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेज मात्र नभई माध्यमिक तहको शिक्षा पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम र दक्ष शिक्षक आवश्यक पर्ने भएकाले नगरपालिकाले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा विभिन्न तालिम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
उहाँले शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकलाई योग्य, दक्ष र अनुसन्धानमुखी बनाउनु आवश्यक रहेको उल्लेख गर्दै शिक्षामा गरिएको लगानीले समग्र समाजको विकास र रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ख्वप इन्जिनियरिङ कलेज भक्तपुर नगरपालिकाद्वारा सञ्चालन भइरहेको शैक्षिक संस्था भएकोले यसको उद्देश्य र योगदानबारे विद्यार्थीले बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले आफ्नै लगानीमा नयाँ कलेजहरू स्थापना गर्न नसकेको अवस्थामा अधिकांश नयाँ कार्यक्रम निजी क्षेत्रबाट उच्च शुल्कमा सञ्चालन भइरहेको उल्लेख गर्दै ख्वप इन्जिनियरिङ कलेजलाई भक्तपुर नगरपालिकाले आर्थिक तथा संस्थागत सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाको सहयोगकै कारण विद्यार्थीले गुणस्तरीय प्राविधिक शिक्षा तुलनात्मक रूपमा सहज शुल्कमा अध्ययन गर्न पाएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेजका प्राचार्य सुजन माकले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरणा र मार्गदर्शन प्रदान गर्ने बताउनुभयो । उहाँले कलेजले प्रत्येक सेमेस्टरका टपर विद्यार्थीलाई पनि विशेष कार्यक्रममार्फत छात्रवृत्ति प्रदान गर्ने नीति कलेजले अपनाएको जानकारी दिनुभयो ।
प्राचार्य माकले ख्वप इन्जिनियरिङ कलेज स्थापना भएको २५ औँ वर्ष विशेष कार्यक्रम तथा प्रदर्शनीसहित कलेजको वार्षिकोत्सव कार्यक्रम गर्ने तयारी गरिरहेको उल्लेख गर्दै कलेजले विभिन्न ६ वटा विधाअन्तर्गत छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । ती विधामा प्रवेश परीक्षाका उत्कृष्ट, आरक्षित कोटा, गरिब तथा जेहनदार विद्यार्थी, कक्षा १२ को नतिजाका आधारमा, सामुदायिक विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थी तथा खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी समावेश रहेको जानकारी दिनुभयो ।
उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले छात्रवृत्ति विद्यार्थीका लागि प्रोत्साहनको माध्यम भएको बताउँदै अनुशासित भएर अध्ययन पूरा गर्न र आफ्नो करियर विकासमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले प्राप्त अवसरको सदुपयोग गर्दै सक्षम र जिम्मेवार इन्जिनियर बन्न विद्यार्थीलाई प्रेरित गर्नुभयो ।
कलेजले यस वर्ष अनुशासित, गरिब तथा जेहनदार छात्रवृत्तिअन्तर्गत ८० जना विद्यार्थीलाई कुल रु. ३९ लाख ५६ हजार ४५२ वितरण गरेको छ । त्यसैगरी सेमेस्टर टपर छात्रवृत्तिअन्तर्गत १६० जना विद्यार्थीलाई कुल रु. ८ लाख ७६ हजार ३६५ प्रदान गरिएको छ ।
यसरी दुवै शीर्षकअन्तर्गत कुल २४० जना विद्यार्थीलाई रु. ४८ लाख ३२ हजार ८१७ बराबरको छात्रवृत्ति तथा फ्रीशिप वितरण गरिएको कलेजले जनाएको छ ।
ख्वप कलेज अफ इन्जिनियरिङमा गरिब तथा जेहनदार विद्यार्थीलाई रु. २३.५४ लाख छात्रवृत्ति वितरण
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विद्यार्थीलाई अध्ययनसँगै समाजका गतिविधिप्रति सचेत रहँदै भविष्यमा सक्षम, इमानदार र जिम्मेवार इन्जिनियर बनेर देश र जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिका देशकै व्यवस्थित रूपमा सञ्चालित स्थानीय सरकारको रूपमा परिचित रहेको उल्लेख गर्दै समाज पुस्तौँपुस्ताको रगत र पसिनाबाट निर्माण हुने भएकोले एउटै पुस्ताको आन्दोलनले मात्र आमूल परिवर्तन सम्भव नहुने बताउनुभयो । नयाँ पुस्ताले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।
उपप्रमुख जोशीले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने नारालाई आत्मसात् गर्दै भक्तपुर नगरपालिकाले कला, संस्कृति संरक्षण र प्रवद्र्धनमा निरन्तर कार्य गर्दै आएको बताउनुभयो । उहाँले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार ख्वप विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो ।
२०७२ सालको भूकम्पबाट महत्वपूर्ण पाठ सिक्दै नगरपालिकाले ‘सय वर्षपछिको भक्तपुर’ भन्ने दीर्घकालीन योजनालाई मार्गदर्शक दस्ताबेजका रूपमा कार्यान्वयन गरिरहेको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ गतेको आन्दोलनले २०७२ सालको भूकम्पभन्दा पनि बढी क्षति पु¥याएको धारणा व्यक्त गर्नुभयो । नगरपालिकाद्वारा सञ्चालित दुईवटा इन्जिनियरिङ कलेजले भक्तपुरको पुनःनिर्माणमा उल्लेखनीय योगदान पु¥याएको चर्चा गर्दै उहाँले आज भक्तपुर शैक्षिक गन्तव्यको रूपमा स्थापित भएको बताउनुभयो ।
कार्यक्रममा कलेजको छात्रवृत्ति सिफारिस समितिका संयोजक तथा कलेज सञ्चालक समितिका सदस्य रवीन्द्र ज्याख्वले ख्वप माध्यमिक विद्यालयको स्थापनापछि त्यसको निरन्तरता स्वरूप हालसम्म सातवटा शैक्षिक संस्था स्थापना भएको स्मरण गराउँदै ती संस्थाहरूले भक्तपुरलाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले ‘एक घर, एक स्नातक’ अवधारणाले भक्तपुरको शैक्षिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गर्दै ख्वप कलेज अफ इन्जिनियरिङसहित सातवटा शैक्षिक संस्थामार्फत प्रत्येक वर्ष करिब रु. ६ करोड बराबरको छात्रवृत्ति प्रदान गरिँदै आएको जानकारी दिनुभयो ।
आर्थिक अभावकै कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न प्रकारका छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो । सङ्घीय सरकारले आफ्नै लगानीमा पर्याप्त कलेज स्थापना गर्न नसकेको अवस्थामा अधिकांश नयाँ कार्यक्रम निजी क्षेत्रबाट उच्च शुल्कमा सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यले सातवटा शैक्षिक संस्था सञ्चालन गरिरहेको बताउनुभयो । विद्यार्थीले गुणस्तरीय प्राविधिक शिक्षा तुलनात्मक रूपमा न्यून शुल्कमा अध्ययन गर्न पाएको उहाँको भनाइ थियो ।
कलेजका प्राचार्य ई. सुनिल दुवालले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्ने तथा शैक्षिक उत्कृष्टता हासिल गर्न मार्गदर्शन प्रदान गर्ने बताउनुभयो । उहाँले ख्वप कलेज अफ इन्जिनियरिङले न्यून शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै आर्थिक रूपमा कमजोर विद्यार्थीले पनि सहज रूपमा अध्ययन गर्न सक्ने वातावरण कलेजले निर्माण गरेको बताउनुभयो ।
कार्यक्रममा कलेजका लेखा शाखा प्रमुख विष्णुप्रसाद सुवालले छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा प्रतिभाशाली विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस शैक्षिक वर्षमा कलेजले गरिब तथा जेहनदार छात्रवृत्तिअन्तर्गत ४८ जना विद्यार्थीलाई कुल रु. २३ लाख ५४ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको जनाएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा प्रवेश परीक्षा उत्कृष्ट छात्रवृत्ति, गरिब तथा जेहनदार छात्रवृत्ति तथा सेमेस्टर टपर छात्रवृत्तिसहित १४० जना विद्यार्थीलाई कुल रु. १ करोड ५० लाख बराबरको छात्रवृत्ति उपलब्ध गराइएको कलेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *