भर्खरै :

सरकारको उपस्थिति खोइ ?

सरकारको उपस्थिति खोइ ?

-रास्वपा सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेज गरेको केही दिनमै अस्थायी, करार, ज्यालादारी कर्मचारी संयुक्त सङ्घर्ष समितिले असार ३१ गते आफ्नो सेवा निरन्तरताको माग राखी सिंहदरबार परिसरमा विरोध प्रदर्शन ग¥यो । सरकारमा पुगेका नेका, एमाले, माओवादीले विदेशीसँग ऋण ल्याएर कर्मचारीको तलब बढाउँदै शासन चलाएका थिए । ठीक त्यसरी नै रास्वपा सरकारले पनि कर्मचारीको बजेटमा २१ प्रतिशतसम्म तलब बढाउँदै शासन चलाउने तयारी ग¥यो । रास्वपा सरकारले अस्थायी, करार, ज्यालादारी कर्मचारीहरूको समस्या सम्बोधन नगर्दा यतिबेला सिंहदरबारभित्रै निषेधित क्षेत्रमा जुलुस निस्कियो । रास्वपा सरकारले आन्दोलनरत कर्मचारीको समस्या सम्बोधन गर्छ कि जुलुस चालू राख्छ ?
-पुँजीवादी देशमा बरोबर आइपर्ने आर्थिक सङ्कट यतिखेर नेपालले पनि भोगिरहेको छ । नेपालको बैङ्क तथा वित्तीय संस्थामा १५ खर्ब ६० अर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम (आर्थिक तरलता) थुप्रिएको सार्वजनिक भयो । अधिक तरलताको मुख्य कारणहरूमा न्यून कर्जा माग र बढ्दो विप्रेषण रकम हो । पुँजीवादी सरकारहरू आफूले उद्योग–व्यापार गर्न नहुने दाबी गर्छन् । निजी क्षेत्रले अधिक नाफा हुने भएमात्र कर्जा लिएर लगानी गर्छन् । यसकारण, अहिले नेपालका वित्तीय संस्थामा अधिक तरलता भएको हो । शासक दलहरू नेका, एमाले, माओवादी, रास्वपा मुखले समाजवादको कुरा गर्ने व्यवहारमा केही व्यक्तिको स्वार्थ पूर्तिमा लाग्ने हुँदा अधिक तरलता देखिएको हो ।
-कृषिप्रधान देश नेपालमा पैँतीस वर्षयता नेका, एमाले, माओवादी र रास्वपाको पालैपालो सरकार बनिरहेको छ । तर, कुनै पनि सरकारले किसानको हित हेरेन । रास्वपाको सरकार आएपछि किसानले गोलभेँडा प्रतिकिलो ८ रुपैयाँ तर बिचौलियाले ४५ रुपैयाँमा बेच्दैछ । यतिबेला गोलभेँडा खेती गर्ने किसानहरू माइतीघर मण्डलामा गोलभेँडा पोख्दै ‘हरियो क्रान्ति’ आन्दोलनमा छन् । मिटरब्याज पीडित, दूधको मूल्य नपाएका, उखुको भुक्तानी नपाएका, रासायनिक मल नपाएका किसानहरू यसरी नै आन्दोलनरत छन् । तर, सरकार आँखामा पट्टी बाँधेर बस्दै छ ।
-नेपाली जनता भारतबाट महँगोमा आयातीत ग्यासमा खाना पकाउन बाध्य छन् । यतिखेर रास्वपाको सरकारले १६५० मेगावाट जलविद्युत् भारतलाई बिक्री गर्ने तयारी गर्दै छ । रास्वपा सरकारले नेपालको बिजुली नेपाली जनतालाई सस्तोमा उपभोग गराई भारतसँगको व्यापारघाटा कम पार्नुपर्ने होइन ? के नयाँ दाबी गरेर आएको रास्वपा पनि नेका, एमाले, माओवादीजस्तो एउटै ड्याङको मूला हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *