भर्खरै :

भ्रष्टाचार गरेको सम्पत्ति सरकारीकरण गर्नुपर्ने

भ्रष्टाचार गरेको सम्पत्ति सरकारीकरण गर्नुपर्ने

भक्तपुर, ३ साउन । नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा साकोलानमा वि.सं.२०२६ असार १९ र वि.सं. २०२५ साउन २ गतेको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा शनिबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले आर्थिक असमानता भएसम्म भ्रष्टाचार हुने उल्लेख गर्दै पुँजीवादी व्यवस्थामा पैसाले जे गरेर भए पनि पैसा कमाउने मानसिकताबाट भ्रष्टाचारको गन्ध आउँछ भन्नुभयो । उहाँले भ्रष्टाचार गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्नुपर्नेमा जोड दिँदै सामन्त र पुँजीपतिवर्गको हितमा कानुन बनाउने सरकारले बहुमत जनताको प्रतिनिधित्व गर्ने छैन भन्नुभयो । नेमकिपाले पार्टी स्थापनादेखि भ्रष्टाचारविरोधी आन्दोलन गरिरहेको उल्लेख गर्दै उहाँले पुँजीवादी व्यवस्था रहेसम्म देशमा ठुल्ठुला भ्रष्टाचार भइरहने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय जगतलाई जनताको आँखामा धुलो छयाप्ने गरी ठुला भ्रष्टाचारीहरूलाई सानो सानो कारबाहीको नाटक गरिरहेको बताउनुभयो । उहाँले विदेशीहरूले नेपालको प्राकृतिक स्रोत साधन दोहन गर्न युवाहरूलाई भ्रष्ट बनाउने काम गरिरहेका छन् भन्नुभयो । उहाँले अहिलेको सरकार मजदुर, किसान, स–साना व्यवसायी र देशभक्त जनताको सरकार नभएको प्रस्ट पार्दै समाजवादउन्मुख संविधानअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राम प्रजापतिले भ्रष्ट आचरण नै भ्रष्टाचार भएकोले भ्रष्टाचार गराएर पार्टी फुटाउने गरेको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “नयाँ पुस्ताले पुरानो इतिहास थाहा पाउनु पर्दछ ।”
नेमकिपा भनपा ९ का अध्यक्ष कृष्णभक्त लवजुले विदेशी सहयोग र ऋणले देश विकास नभएको बताउँदै भ्रष्टाचारविरोधी आन्दोलन र मोहियानी हक आन्दोलनले भक्तपुरका जनताको जीवनस्तर उकासेको बताउनुभयो ।
नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामकृष्ण प्रजापति र के.बी. प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *