भर्खरै :

नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले “भक्तपुर काण्ड”

नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले “भक्तपुर काण्ड”

भक्तपुर, २१ भदौ । नेपाल मजदुर किसान पार्टी सूर्यविनायकको वडा नं. ९ काँक्राबारी समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवं भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला सदस्य एवं सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले पुँजीपतिवर्ग र सामन्तवर्गको विरोधमा किसानहरूलाई सचेत र सङ्गठित पार्दै किसान सङ्घर्षलाई अगाडि बढाएको र प्रतिक्रियावादी सङ्घसंस्थाभित्र गएर देश र जनताको निःस्वार्थ सेवा गरेकोले पञ्चायत राज्यलाई असह्य भएकोले षड्यन्त्रपूर्ण तरिकाले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले भक्तपुर काण्ड रचिएको बताउनुभयो । उहाँले भक्तपुर बाहिरका जनप्रतिनिधि र पार्टीका साथीहरूलाई समेत दुःख कष्ट दिएको बताउँदै अरूलाई सिध्याउँछु भन्ने पञ्चायती व्यवस्था आफै सिधेको चर्चा गर्नुभयो ।
उहाँले देशका ठुला भनाउँदा नक्कली कम्युनिस्टहरूले गर्दा कम्युनिस्ट आन्दोलन पछि परेको बताउनुभयो । ठुला पार्टीका नेता तथा कार्यकर्ताहरू विकासको नाममा भ्रष्टाचार गरी ब्रह्मालुट गरिरहेको बताउँदै उहाँले कार्यकर्ताहरू जनताको सेवाको लागि विकास निर्माणमा इमानदार, निःस्वार्थ भावनाले काम गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छेले भक्तपुर काण्डबारे चर्चा गर्दै नेमकिपाले जनमतसङ्ग्रहको बेला बहुदलको पक्षमा, सुस्तामाथि भारतीय विस्तारवादको थिचोमिचो र समाजवादी व्यवस्थाको लागि अघि बढेको असह्य भएर पार्टीलाई फसाउन खोजेको बताउनुभयो ।
उहाँले नेमकिपाको नेता तथा कार्यकर्ताको पक्षमा विशेष गरी महिला दिदीबहिनी, वकिल, पत्रकार, मानव अधिकारवादीहरूले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले हिजो ठुला भनाउँदा पार्टीहरू देश र जनताको पक्षमा काम गरेन भनेर भदौ २३ र २४ को जेनजी विद्रोहपछि गठित वर्तमान सरकारले पनि देश र जनताको हितमा खासै काम नगरेकोले जनता सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
जनताको टाउकोमा २९ खर्बभन्दा बढी विदेशी ऋण बोकाएर फेरि शिक्षा, स्वास्थ्य, बिजुलीमा थप कर लगाएर जनतालाई दुःख दिएको र ग्यास दैनिक उपभोग्य वस्तुमा महँगी र अभाव भएको बताउनुभयो ।
कार्यक्रममा काँक्राबारी पार्टी समितिका अध्यक्ष प्रेमबहादुर तामाङ, जितबहादुर तामाङ र बुद्ध लामाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *