भर्खरै :

छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न आर्थिक समितिको भेला

छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न आर्थिक समितिको भेला

भक्तपुर, २१ भदौ । छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सफल पार्ने उद्देश्यले गठित आर्थिक समितिको भेला तथा छलफल कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा तःमुंज्यालाई सफल बनाउन आर्थिक व्यवस्थापन, सहयोग सङ्कलन तथा जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा पीखुकगु नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्यालाई वर्गीय दृष्टिकोणबाट हेर्न आवश्यक रहेको बताउनुभयो । नेपालभाषा साहित्य तःमुंज्याले कामदारवर्गको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उहाँले तःमुंज्या र साहित्य गोष्ठीहरू नभएका भए धेरै साहित्यकार तथा कलाकारको जन्म हुने थिएन भन्नुभयो ।
नेपालभाषाको साहित्यिक विकासमा तःमुंज्याको महत्वपूर्ण योगदान रहेको बताउँदै अध्यक्ष कवांले साहित्य, कला र संस्कृतिको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
तःमुंज्या आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजूले कुनै पनि कार्यक्रमको मेरुदण्ड आर्थिक पक्ष भए पनि उपलब्ध स्रोत–साधनको उचित व्यवस्थापन गर्दै मितव्ययिता अपनाएर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
तःमुंज्याका सल्लाहकार विश्वराम कवांले समय परिवर्तनशील भएकोले समयअनुसार विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रको जिम्मेवारी छुट्टाछुट्टै व्यक्तिले लिएर काम गर्दा काम छिटो र प्रभावकारी हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा आर्थिक समिति संयोजक तथा कोषाध्यक्ष कृष्णगोविन्द लाखाजूले छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न सबै क्षेत्रबाट आर्थिक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । तःमुंज्यालाई सफल बनाउन आर्थिक समितिले समन्वयात्मक रूपमा काम गर्ने उहाँले बताउनुभयो ।
आर्थिक समितिका सदस्य तथा सरोकारवालाहरूको सहभागिता रहेको सो भेलाले आर्थिक व्यवस्थापनलाई व्यवस्थित गर्दै तःमुंज्यालाई प्रभावकारी र सफल रूपमा सम्पन्न गर्न आवश्यक पहल गर्ने निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *